पुस्तक - कतै छुटेको समाज
आशा गरौँ, अबका उनका यात्रामा यसपटक छुटेका कुरा पक्का सामेल हुनेछन् र अपूरो यात्रा संस्मरणले पूर्णता पाउनेछ ।
लेखकको नजर ज्यादै तीखो हुन्छ । उसले बाहिरी आवरण मात्र होइन, भित्री कुरा पनि हेर्ने कोसिस गर्छ । जस्तो कि, निर्मल बर्मा घुमेका ठाउँको समाज, विगत, वर्तमान, केही घटना सबै मनन गर्छन् । त्यसैले त उनका यात्रा संस्मरण बहुचर्चित छन् ।
‘चीडोँ पर चाँदनी’को यात्रा संस्मरणमा उनी आइसल्यान्ड जान पूर्वी र पश्चिम जर्मनी पार गर्छन् । त्यो यात्राकै क्रममा उनी पाठकलाई लैजान्छन् विगतमा । हिटलरको समय, युद्ध, पीडा, रक्तपात, मृत्यु, आतंक सारा घुम्छन् मानसपटलमा । उनी अझै झस्कन्छन् बाटामा उभिरहेका भग्नावशेष देखेर । घाँटी अठ्याउन आइपुग्छ, त्यो नरसंहारको समय अनि पाठकलाई पनि लैजान्छन् उही अँध्यारो विगततिर ।
यात्रा निबन्धको मज्जा त्यहाँ पाइन्छ, जब पाठक पनि लेखकसँगै यात्रा गर्न सक्छन् । तर, भीष्म उप्रेतीको संस्मरणमा पाठक अलि अलगिन्छन् किनभने उनीसँग यात्रामा स्थानीय एकदमै थोरै आउँछन् । उनी एक्लै–एक्लै यात्रा गर्छन् । यो कमजोरी या विशेषता दुवै हुन सक्छ लेखकको ।
त्यसो त मन फुकाएर घुम्छन् निबन्धकार, कवि भीष्म उप्रेती । सजिलो ठाउँ होइन, पहाड उक्लिन्छन् । ५ हजार ४ सय १६ मिटरको थोरांला पास छिचोल्छन् । सजिलो छैन उचाइ नाप्न । साहस र धैर्य चाहिन्छ । उनको त्यही यात्राको वर्णन हो, अन्नपूर्णको फेरो ।
यात्राको रोमाञ्चकतासँगै अनिश्चितता र जोखिम पनि बोकी हिँड्नुपर्छ यात्रीले । १३ जनाको जम्बो टोली खतरा मोली हिँडिदिन्छ त्यो यात्रामा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जुराइदिएको यात्रा । मस्र्याङ्दी तीरको दगुराइ, धारापानीको बिसौनी, मनाङ सदरमुकाम चामे बसाइ, मनाङ बजारको सुन्दरता अनि ठाउँ ठाउँमा कविता गोष्ठी अनि बाटामा भेटिने सुन्दरी पर्यटकसँगको आँखा जुधाइको मादकता पनि । यात्राको मिठास यही हो । हिमालपारिको देश मनाङ र मुस्ताङको लठ्याउने सुन्दरता । नशालु हिमालअघिल्तिर नशा त लाग्ने नै भयो । त्यसैले होला यति कष्ट सहेर पनि उक्लिदिन्छन् ती पहाडहरू ।
लेखकले भनेजस्तै सौन्दर्य एउटा नशा रहेछ जीवनको । र त, हिमालको सुन्दरतामा आफैँलाई भुलिदिने हामी जीवन त्यही बिताएकाहरूको असीम कष्टका बारेमा कल्पनासम्म गर्न भ्याउँछौँ/भ्याउँदैनौँ ? सधैँ उक्लिनुपर्ने ती अजंगका पहाड र मुटु नै कठ्यांग्रिने हिउँ चिसोको अनुभव गर्न सक्छौँ कि सक्दैनौँ ?
कवि दिनेश अधिकारीले उहिल्यै एउटा कवितामा उठाएका थिए कर्णालीवासीको चोटिलो यथार्थ । प्लेन चढी पुग्नेलाई राराको मोहकताले भावविह्वल पारे पनि सधैँ त्यही दु:ख गर्नुपर्नेले त भोकको, शोकको र रोगको राराबाटै पार नपाउँदा कता राराको नील गहिराइ परख गर्न भ्याउँछन् र ? हो, त्यही कुराको फेर फुस्काएका छन् लेखक उप्रेतीले उनको यात्रामा ।
यति हुँदा पनि यात्रा त फेरि विशेष नै छ । कारण उनीहरू ठाउँ ठाउँमा कविता गोष्ठी गर्छन् । यात्राकै क्रममा लेखेका कविता गाउँलेको उपस्थितिमा सुनाउँछन् । लेखकले त्यही यात्रामा सुनाएका कविता पनि राखेका छन् पुस्तकमा । वास्तवमा बाटो त कहाँ आफ्नो हुनू ? आफ्नो भन्नु यात्रा र त्यसका भोगाइ मात्र हुन् । उनी सत्यको उजागर गर्छन् अनायासै । यात्राको अर्को ख्याल नगरिएको पक्ष पनि उनी खुलाइदिन्छन् । जब कतै पुग्नुको हतार हुन्छ, त्यस बखत त्यहाँ पुग्ने दृढताले बल दिन्छ र उत्साह जगाइदिन्छ । तर, जब पुगिन्छ त्यो ठाउँमा एकछिन अलमलिन्छौँ विजयको उल्लासमा, त्यसपछि गाँज्न थाल्छ थकानले । अब फर्कनुको चटारोले नराम्ररी पेल्छ र शिथिल पारिजान्छ यात्रीहरूलाई । त्यही अनुभूति उनी पोख्छन्, जब थोरांला पासबाट झर्नुपर्ने समय आउँछ ।
थकान, होटलको बसाइ, अलिकति हिमाली सौन्दर्य र कविता गोष्ठीहरूको सपाट वर्णनभन्दा पर पुग्न सकेका छैनन् लेखक । हिमालको सौन्दर्यमै मस्त हुँदा समाज छुटेको छ । यस्तो दुर्लभ यात्रामा उनले त्यहाँको जनजीवन, समाज, स्थानीयको खुसी, पीडा, भोगाइ, चेतना आदिसँग पनि नजिक हुन सक्नुपथ्र्यो कि ? कसरी एक लेखक खालि हिमालको कुमारी सौन्दर्यले मात्र तानिन सक्छ ?
अन्नपूर्णको कठिन र रोमाञ्चक यात्रालाई अझ विशेष बनाइदिन सक्थे लेखकले । यात्रामा धेरै कुरा छुटेको भए पनि यो वर्णन पढ्दा लेखक भने बहुत आनन्दित भएको भेटिन्छ । ठीकै होला, आफूले महसुस गरेपछि न अरूलाई गराउन सकिन्छ । आशा गरौँ, अबका उनका यात्रामा यसपटक छुटेका कुरा पक्का सामेल हुनेछन् र अपूरो यात्रा संस्मरणले पूर्णता पाउनेछ ।
अन्नपूर्णको फेरो
स्रष्टा : भीष्म उप्रेती
प्रकाशक : गौँथली
मूल्य : १५० रुपियाँ
पृष्ठ : १३१