अनुभूति» डियर मेहरा अंकल
धेरैपटक डेरा सर्ने कुरा चल्यो तर घरबेटी बाको सविनय व्यवहार र अपनत्वले बी–१९ बाट हलचल हुन सकिएको होइन ।
मेरा घरबेटी बाले बडो अधैर्य भएर पर्खने एउटा साइत थियो, ६ सेप्टेम्बर ।
“बेटा, इस बार चिकेन कबाब, बिरयानी और बियर लाएगें, और हो सके तो एक अच्छाखास्ता केक भि लाएगें । सुबह से सामतक तुम्हे यहीँ रहेना होगा ।”
“ठीक है अंकल मैं हुँ ना...।”
त्यो मिति आउनु केही महिनाअघिबाटै यो रामरमाइलोको योजना बुन्न सुरु हुन्थ्यो । दिल्लीमा बी–१९, जंगपुरा एक्सटेन्सन ठामठेगानाका मेरा घरबेटी बा ६ सेप्टेम्बर २०१५ मा ८६ वर्ष लाग्दै थिए । तर, बाको आनीबानी र दैनिकी केटौले खालको थियो । यदाकदाका शुक्रबारे मुडहरूमा साँझपख तल्लो तलामा बस्ने घरबेटी बाको फोन आउँथ्यो, “बेटा † आज मौसम थोडा सुहाना है, दो चिल्ड बियर लेके आ जाना, पैसे मेरे पास हैँ । फिर आन्टीको मत बताना, पैसे किसने खर्च किया...।”
एच आर मेहरा अर्थात् हुकुमत राय मेहरा । भारत–पाकिस्तान विभाजनको राजनीतिक भागबन्डामा परेर लाहोरबाट सपरिवार सन् १९४९ मा दिल्ली उत्रिएका एक असल मनुवा । त्यसपछि एक सरकारी दफ्तरमा सामान्य तहका जागिरे । अनि, ६० माथिका दुई छोरा र ८० नाघेकी श्रीमतीसँगको रस्साकसीमा दिन गुजारिरहेका एक कट्टर हिन्दु पितामह ।
जंगपुराको बी–१९ घरसँग मेरो जागिरे अड्डाको साइनो गाँसिएको १० वर्षभन्दा बढी भइसक्यो । पुरातन शैलीमा बनेको चारतले घरको सबैभन्दा माथिल्लो तलामा रहेको डेराघर अलिक जीर्णकाय र पुरातात्त्विक महत्त्वको सम्पदाजस्तो छ । धेरैपटक डेरा सर्ने कुरा चल्यो तर घरबेटी बाको सविनय व्यवहार र अपनत्वले बी–१९ बाट हलचल हुन सकिएको होइन ।
झन्डै २० वर्षे उमेरमा आफू जन्मे–हुर्केको देश/गाउँ छाडेर ‘बटवारा’ खेप्दै भारत छिरेका मेहरा वर्तमानभन्दा बढी इतिहासमा रमाउने पात्र हुन् । “त्यसबेलाको लाहोरको कुरै नगरौँ, त्यति सुन्दर र मिलेको समाज दुनियाँमा अर्को थिएन,” गत वर्ष फेब्रुअरी महिनामा अफिसियल काममा म पाकिस्तान जाने पत्तो पाएपछि मेहरा अंकलले थुप्रै पटक दोहोर्याउँदै भनेका थिए, “लाहोर मध्यचोकको हफिज फ्रुट कर्नर, अनारकली रेस्टुराँ, लाहोरमा पाइने हलुवा, जालीदार जलेबी, लस्सी अनि अलिक पर्तिरको रेडलाइट एरिया हिरा मन्डीको रमझम...उफ के कुरा गर्नु र ?”
बिचरा † लाहोर गाउँबस्ती छाडेकै ६५ वर्ष भइसकेको छ । सायद उसबेलाका कोही पनि चिनारु र आफन्त अब बाँचेका नहोलान् । तैपनि, मेहरा अंकल हठी बनेर भनिरहेका थिए, “त्यो जुसवाला हफिजलाई भन्नु, एचआर मेहरा अझै बाँचेकै छ, तिमीलाई सधैँ सम्झन्छ...।”
यति भनेर मेहरा अंकल एकैछिन एकोहोरिन्थे अनि सुनाउँथे :
“आया था
दोस्तों का काफिला लेकर
कुछ जुदा हो गए
और कुछ खुदा हो गए
बाँकी जो बैठे थे–
कुछ गुमसुदा हो गए
फिर भी मैं रहा
अकेला का अकेला...।”
***
लाहोरको रसरंगी बस्तीका छिटफुट कुरा गरे पनि मेहरा अंकल जहान–परिवारका अगाडि भने बढो अदब राखेर कुरा गर्थे । सकेसम्म सात्विक र सत्संगी कुरा गर्न रमाउँथे । तर, अलिक एकान्तिक माहोल बन्यो भने सम्झिहाल्थे, अनेक गुमसुदा क्षणहरू ।
“सुरेन्दर था बडा बिन्दास, वो लन्च–डिनर भी किसी फाइभ–स्टार होटल से मगवाता था । फरेनर और डिप्लोम्याटके साथमें वो ज्यादा रहा करता था । बादमें दिनेश आया, एक बेमिसाल लड्का । वह सुबह–साम माजा (ड्रिंक्स) पिया करता था । गोपाल और महेश दोनो ज्यादा स्कलर लोग थे,” काठमाडौँबाट बी–१९ मा अड्डा जमाउन आएका पत्रकारबारे इतिवृत्ति खुलाउँदै मेहरा अंकल भनिरहेका हुन्थे ।
चारतले घरको दोस्रो तलामा घरबेटी मेहरा बाको बसोवास छ । त्यसकारण पनि माथिल्लो तलामा को आयो, को गयो भन्ने उनी ख्याल गरिरहेका हुन्थे । अलिक नौलो अनुहार वा स्त्रीलिंगी कोही पाहुना आएको सुँइको पाएमा फोनमै भए पनि सोधिरहेका हुन्थे, “बेटा, सब ठीकठाक तो है ना ?”
ती स्त्री पाहुना कहिले गाउँले आफन्त हुन्थे अथवा कोही पत्रकार मित्र पनि हुन्थे । ‘गेटटुगेदर’को हुलमुलमा स्वभावत: एक–दुई जना स्त्री मित्र हुन्थे नै । तर, घरबेटीको घ्राण–शक्ति बढो तिखो थियो– केरकार गरिहाल्ने ।
विश्वास र निकटताको साइनो भनेको जता–जुनै भूगोलमा उभिए पनि उस्तै हुँदोरहेछ । विशेषत: स्वास्थ्य उपचारका लागि आइरहने अथवा अशक्त हाउभाउका पाहुनाका निम्ति घरबेटी बा निकै संवेदनशील थिए । मोरङ, रमाइलोबाट ब्यान्डेज गरिएको हात लिएर उपचारमा दिल्ली धाइरहने राजकुमार बराल दम्पतीको स्थितिबारे मेहरा घरबेटीले सबै कुरो पत्तो पाएका रहेछन् । झन्डै तीन वर्षअघि एउटा आपराधिक प्रवृत्तिको घटनामा परेर देब्रे हातमा काँधदेखिको जुइनोबाटै नजोडिएको असहज अवस्था बेहोर्दै राजकुमार दाइ दिल्लीको गंगाराम अस्पताल धाइरहेका थिए । मेरा ती आफन्तका बारे घरबेटी बा सधैँ सोधिरहेका हुन्थे । अनि, भित्री दराजको कुनोमा राखेको भारतीय रुपियाँको गड्डी देखाउँदै भन्थे, “बेटा † ऐसे भला मानुष के लिए कभी भी चाहिए तो बोलना, मेरे साथ हमेसा ५० हजार से ज्यादा डिपोजिट रहता है । यह पैसेका हिसाब भी अभि नहीं चाहिए, बोलना...सिर्फ ।”
छोटो फुर्सदमा म घरबेटी बालाई लिएर कहिले एम्स अस्पताल पुगिरहेको हुन्थेँ, कहिले सेवानगरको मछली बजार त कहिले जेएनयू (विश्वविद्यालय)को ढावा सेन्टर । मेहरा अंकल यी सबै घटनाक्रमलाई बडो प्रेमपूर्वक स्वीकार गर्थे । यताको नेपाली समाजमा प्रवासी भनेर बाहिर (दार्जीलिङ, आसाम, मणिपुर, बर्मा)बाट आएका नेपालीलाई जे–जसरी सम्बोधन गरिन्छ, त्यस्तै भारतमा पनि मेहरा अंकलजस्ता परिवारका हकमा बिझाइरहने स्थिति हुँदोरहेछ– ‘ आउटसाइडर’ उपमा ।
यसकारण पनि मेरा घरबेटी जो कोहीमाथि हत्तपत्त विश्वास गरिहाल्ने मनस्थितिमा हुँदैनथे तर विश्वास गरिसकेपछि ती सम्बन्धमा चुइगम थिए, टाँसिएर बस्ने । आउटसाइडर भनेर अरूले घोच्ने गरेको कुरासँग सधैँभर कोहीसँग तर्क गरेर अथवा अड्डी थापेर साध्य हुँदैनथ्यो पनि । त्यसबेला मात्रै आफ्नो स्वाभिमान र अरूले दिएको आजादीको अन्तर थाहा पाउन सकिन्थ्यो । अरू उपाय पनि केही थिएन । बरू घरैअगाडि सब्जी/जुस बेच्न आउनेसँग मोलमोलाइका बेला चर्को स्वरमा भनिरहेका हुन्थे, “तुम्हे क्या लगता है, मैं भी १९४९ से यहाँपर हुँ । मेरेको भी सब मालुम है...।”
यो वयोवृद्ध उमेरमा देख्ने–सुन्ने–चाख्ने सबै तन्तु उत्तिकै सक्रिय भएको अवस्था आफैँमा आनन्दलाग्दो पनि थियो । तर, यही चनाखो स्थितिका कारण यदाकदा आइपरेको अर्थको अनर्थ पनि उत्तिकै स्मरणीय छ । बी–१९ दफ्तरमा चलिआएको प्रचलन अनुसार एक वर्षअघि दसैँ पर्वको एउटा साँझमा साथीभाइ र निकटस्थमाझ एउटा ‘गेटटुगेदर’ आयोजना भएको थियो । दिल्लीको दौडधुप र सबैजसो इष्टजनको धपेडीमाझ स्वभावत: साँझ ८ बजेदेखि मात्रै जमघट सुरु भयो । त्यो भीडमा केही निकटस्थ महिला मित्रहरू पनि आएका थिए ।
स्वभावत: दिल्लीको हाहुमाझ रमाएका पत्रकार/उद्यमी/कूटनीतिक मित्रहरूमध्ये धेरैजसो एक हातमा बियरको ग्लास र अर्को हातमा चुरोटको पुतपुताइरहेको ठुटो समात्नुमै आनन्द मानिरहेका थिए । बी–१९ को चौथो तलाबाहिर बार्दलीमा उभिएका केही महिला आगन्तुक पनि यही पोजिसन (बियर–चुरोट)मा थिए । रातको ११ बजेपछिको यो रमझम दृश्य बी–१९ सामुन्नेका सरदार अंकल (घरबेटी बाका मित्र)ले देखेका रहेछन् । जे होस्, रातको १ बजेतिर खानपिन सकियो । सबै आ–आफ्नो बाटो लागे पनि ।
भोलिपल्ट बिहान ७ बजेतिर राम्ररी आँखा खुलेकै थिएन ।
मेहरा अंकलको फोन आइहाल्यो, “बेटा ! थोडी देर के लिए जरा निचे आना...!”
केही बित्यास पो पर्यो कि ? म कुदेर तल गएँ ।
बाहिर बरन्डामा निस्किएर मेहरा अंकलले मेरो काँधमा हात राख्दै सुनाए, “हां बेटा, पहेले भी ऐसा गेटटुगेदर होता रहता था । इस मामले में सुरेन्दर, दिनेश, महेश सब बहुत कामयाव थे । लेकिन मेरेको पता हुआ कि कोही सराब–सिगरेट पिनेवाली लड्कियाँ थी कल...। मेरा यह कहेना है, बेटा, जो भी करना है दिनमें करो, रातमें मत करो...।”
यति भनेर अलिक उतर्सिएको मुडमा उनी आफ्नो कोठामा छिरे । म आफ्नो कोठातिर उक्लेँ । तैपनि, धेरै समयसम्म दिमागमा उत्रिरह्यो, “बेटा ! जो भी करना है दिनमें करो, रातमें मत करो...।”
***
मेहरा अंकल मात्रै होइन, घरबेटी आमा सुदर्शन पनि उत्तिकै मायालु लाग्थिन् । पन्जाबी (शिख) कुलवंशबाट आएकीले खानपिनमा निकै सोखिन थिइन् । टेलिभिजनमा ‘खानाखजाना’ कार्यक्रम हेरेरै त्यसबाट अनेक परिकार पकाउन सिक्ने मेहरा आन्टी पनि भेट हुनासाथै आफ्नो माइतीघरको
आधा शताब्दी पुरानो सानसौकत बताउन थालिहाल्थिन् ।
अझ आत्मीय क्षण त्यसबेला आइपथ्र्यो, जब गाउँघरतिरबाट मेरा कोही निकटस्थ, आफन्तजन जंगपुरा आइपुग्थे । आफ्नै परिवारझैँ गरेर मेहरा बा–आमाले पनि आतिथ्य गर्थे– कुल्चा, छोले–भटौरे, जुस, चिया खुबै ख्वाउँथे । सक्दो रम्थे/रमाउँथे । हौसिएरै आफन्तमाझ बयान गर्थे, “देबेन्दर, मेरा अगले जनमका बेटा है । ये रामनामी है, हरदम राधेराधे कुर्ता पेहनता है । और, सादगी इतना है– लौकीका जुस बहुत पिता रहता है ।”
उमेरमा वयोवृद्ध भइसके पनि उनीहरू कोही बाहिरियाले आफूलाई ‘फादर, ग्रान्ड–पा’ भनेको रुचाउँदैनथे । ‘अंकल’ सबैभन्दा उपयुक्त सम्बोधन हुन्थ्यो । कहिलेकाहीँ अंकल र मबीच जुगलबन्दी चल्थ्यो, एक/दुई ‘चिल्ड’ किङ्फिसर छेउमा भएको मुडमा । म कसोकसो पाकिस्तान भ्रमणका, इस्लामावाद, कराँची वा लाहोरका गफ सुनाउँथे । माइतीको जन्तु पनि प्यारो स्टाइलमा बा पनि लाहोरकै गफमा रमाउँथे ।
एकदिन बाले कुरो निकालिहाले, लाहोरको । हाफिजको जुस सेन्टरसँगैको अघिल्लो गल्ली, जहाँ रेडलाइट एरिया हिरा मन्डी थियो, गए/नगएको सोधे । उनीहरू उहिले रमिता हेर्न जान्थे रे त्यहाँ । मैले पनि सुवेल भण्डारी भन्ने विदेशी टाइपको पत्रकार साथीसँग रमिता हेर्न गएको भन्दै उनको जिज्ञासा मेटेँ । र, थपेँ, “मैले त्यहीँ आसपासबाट हिरा मन्डी नामको एउटा पुस्तक पनि किनेको छु, जसमा एक वेश्याको लाहोर–दैनिकी लेखिएको छ ।” उनी खुसी भए र त्यो पुस्तक आफूलाई पनि पढ्न दिनू भने । तर, पुस्तकको कभरमा भने टाइम्स अफ इन्डिया पत्रिकाको खोल लगाइदिन उनको आग्रह थियो । नत्र, हिरा मन्डी भन्नासाथै आन्टीले उनीबारे अनेक शंका गर्न थाल्छिन् । मेहरा अंकलले जे भने, मैले त्यही अनुसार गरेँ ।
त्यसबेला लाहोरबाट फिर्दा मैले उनलाई हफिजको दोकानछेवैमा पाइने लाहोर–हलुवाको प्याकेट ल्याइदिएको थिएँ । त्यस दिन त्यो उपहार पाएर उनी गहभरि आँसु पार्दै रोएका थिए । त्यो हलुवा सानो चम्चाले कोट्याउँदै उनले महिना दिनसम्म खाएका थिए । लाहोर–हलुवाको त्यो खाली बट्टा अझै पनि मेहरा निवासमा सजाएरै राखिएको छ, अपनत्व आँखामा उत्रने गरी ।
***
दिल्लीबाट काठमाडौँ फिरेको धेरैपछि ५ सेप्टेम्बरका दिन मात्रै मेहरा अंकलसँग फोनवार्ता भयो । मैले फोन गरेकामा उनी प्रसन्नचित्त सुनिए । उनी ६ सेप्टेम्बरमा पर्ने आफ्नो ८७औँ बर्थ–डेको तयारीबारे बताउँदै थिए, “आजतक मैं जिन्दा हुँ बेटा । तेरे लिए मै आनेजानेका प्लेन टिकट भी भेजुंगा । जैसे भी हो, तुम एकबार आ जाओ ।”
हत्तेरी ! घरबेटी मेहरा अंकलले मायाप्रेमको वर्षात् गराइदिएजस्तो भो । यो साता परेको जन्मदिनको तपार्इंलाई हार्दिक बधाई । तपाई कम्तीमा सय वर्ष बाँच्नूस् ।
म यसपाला बी–१९, जंगपुरा आउन त सकिनँ । तैपनि, ह्यापी बर्थ–डे डियर मेहरा अंकल !
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...