सुकरातको सहरमा
ग्रीकहरु दुनियाँमा सबैभन्दा कामुक जाति मानिन्छन् । हुन पनि ग्रीसेली साहित्यमा वर्णित पुरूषहरुको कामवासना र त्यसले ल्याउने समस्या देखेर म सुरूमा छक्क परेको थिएँ ।
एथेन्स सहरका सडकमा डुल्दै गर्दा मलाई लाग्यो, चौबिस सय पचास बर्षअघि सुकरात पनि सायद यसै गरी यी सडकमा डुल्थे होलान् । सन् २०१५ को क्रिसमसको साँझ थियो । बजारमा धेरै भीड त थिएन तर सुकरातको पालामा झैँ पर्यटकलाई कुरेर बसेका अनगिन्ती सामानहरुको लस्कर थियो । सुकरातले घुम्ने भनिएको बजारमा म आफ्ना दुई छोरा, आमा र श्रीमतीसँग त्यसै गरी डुलिरहेको थिएँ । फरक के थियो भने सुकरातले संसार छाडेको चौबिस सय पचास बर्षपछि हामी उनको बजारमा अपरिचित यात्री भएर घुमिरहेका थियौँ ।
ग्रीस घुम्ने योजना बनाउँदा हामी सबै उत्साहित थियौँ । कारण, ग्रीस त्यो भूमि हो, जसले सुकरातलाई जन्माएको थियो । जसले सत्य बोलेबापत ज्यान गुमाउनुपरेको थियो । ग्रीस त्यो भूमि हो, जसले विश्वलाई पहिलो पटक खेलकुदमार्फत भाइचारा बढाउन सकिन्छ भनेर प्रमाणित गरेको थियो । यो भूमिले जिसस क्राइस्ट जन्मनुभन्दा ७ सय ७६ वर्षअघि ओलम्पिक खेलको सुरूआत गरेको थियो । यो त्यही भूमि हो, जसले पाइथागोरसजस्ता प्रसिद्ध गणितज्ञ जन्माएको थियो । पाइथागोरस नै ज्यामितीय र गणितीय सिद्धान्तका जन्मदाता हुन् । गणित र विज्ञानका यावत् सूत्रहरुमा प्रयोग गरिने थिटा, बेटा, अल्फा, गामा, पाई, फाई, सिग्मा आदि सिग्नलहरु ग्रीक अल्फाबेट हुन् र पृथ्वी गोलो छ कि च्याप्टो छ भनेर पहिलो पटक बहस चलाउने हिम्मत पनि ग्रीसले नै गरेको थियो । प्लेटो र एरिस्टोटलजस्ता प्रख्यात दार्शनिकहरु पनि ग्रीसले नै जन्माएको थियो, जसको विचारको जगमा आजको विश्व हिँडिरहेको छ । अपूर्ण नै सही, आधुनिक प्रजातन्त्रको पहिलो खाका पनि ग्रीसले नै कोरेको थियो ।
ग्रीसले आजको संसारलाई के दिएको छैन ? भ्रष्टाचारले प्रजातन्त्रलाई बर्बाद बनाउँछ भन्ने स्वीकारोक्तिको बीजारोपण ग्रीसमा भएको मानिन्छ । जंगली मानिसलाई सभ्यतातर्फ डोर्याउन सहरको बनाउनुपर्छ भनेर त्यसको योजनाबद्ध विकास गर्ने पनि ग्रीस नै थियो । राज्यमा शिक्षा, कला र स्वास्थ्यको त्रिवेणीमै मानिस सभ्य हुन्छ भन्ने सोच पनि ग्रीसले नै बुझेको थियो । यही कारण त्यहाँ इलियड र ओडिसीजस्ता महाकाव्य लेखिए । मानिसको मनलाई विरेचन गर्न नाटक महत्वपूर्ण हुन्छ भन्ने बुझाउन त्यहाँ विशाल नाट्यकेन्द्र खोलिए । विभिन्न किसिमका स्वास्थ्य प्रयोगशाला बनाइए । आजको आँखाले हेर्दा यी कुरा सामान्य लाग्न सक्छन् तर भर्खरै सभ्यता सिक्दै गरेको मानिसका लागि ग्रीक सभ्यताले दिएको योगदान अतुलनीय छ ।
यति महफ्वपूर्ण भूमिमा हामीलाई बोकेको स्वीस एयरको विमान एथेन्समा ओर्लंदा साँझ ५ बजेको थियो । एयरपोर्टबाहिर निस्कँदा इतिहासको यति ठूलो विरासत र क्रिसमसको रौनकका बीचमा यो भूमिमा ठूलो चहलपहल र भीड होला भन्ने मेरो अनुमान गलत साबित भयो । न सहरमा चाडपर्वमा हुने जाम थियो, न त पश्चिमा सभ्यताको रौनकयुक्त पर्व मानिने क्रिसमस र नयाँ वर्षको चहलपहल नै । एथेन्स सहर आर्थिक मन्दीका कारण विगतका सारा गौरव लुकाएर अरु नै केही खोजिरहेको छ भन्ने प्रतीत हुन्थ्यो ।
एयरपोर्टबाट करिब एक घन्टाको यात्रा गरेर अम्बेलोकिपी ट्रेन स्टेसन नजिक अलेक्सान्द्रास सडकको जफोलिया होटल छिर्दासम्म मैले मानिसका अनुहारमा पाउने विशेष आल्हादित भाव पाउन सकिनँ । आर्थिक मन्दीले ग्रीस थिलथिलो भएको प्रसंग नपढेको होइन तर क्रिसमस र नयाँ वर्षमा देखिने उमंगको कुनै पदचाप त्यहाँ देखिएन । समयले कसरी मान्छेको आयु मात्रै होइन, सहर र देशकै खुसी पनि बिरानो बनाइदिन्छ भन्ने कुरा बुझ्न त्यही एक झल्को नै पर्याप्त थियो ।
एथेन्समा एभरेस्ट
ग्रीसमा ‘एभरेस्ट’ नामको फास्टफुड रेस्टुराँ देख्दा मेरो आँखामा एकाएक खुसी र आश्चर्य दुवै लाग्यो । खुसी यस अर्थमा कि यही चेन रेस्टुराँका कारण नेपालको नाम यहाँ धेरैले सुनेका रहेछन् । हामी नेपाली हौँ भनेर परिचय दिइरहँदा अरु केही युरोपेली मुलुकमा झैँ नेपल्स (?) भन्दै लेघ्रो तानेको दृश्य त्यहाँ दोहोरिएन । आश्चर्य यस अर्थमा कि हामीले सान र गौरव महसुस गर्ने यो नाम विदेशी नागरिकले यहाँ ५० वर्षअघि नै ‘प्याटेन्ट’ गरिसकेका रहेछन् । केही समयअघि अस्ट्रेलियाको सिड्नीमा ‘काठमांडू’ नाम गरेको एउटा प्रसिद्ध कपडा पसलमा हामीले केही किनमेल गरेका थियौँ । पछि थाहा भयो, त्यो ‘काठमांडू’ ब्रान्डको पसल पनि न्युजिल्यान्डका एक नागरिकले प्याटेन्ट दर्ता गराएका रहेछन् ।
सन् १९६५ मा सुरू भएको ग्रीसको फास्टफुड एभरेस्ट चेन रेस्टुराँका शाखाहरु देशका सबै प्रमुख सहरमा रहेछन् । डाउनटाउन सिन्टाग्माको एभरेस्ट रेस्टुराँमा पस्दा सँगै जोडिएको म्याकडोनाल्ड्समा भन्दा त्यहाँ मानिसको घुइँचो बढी थियो । सिट नपाएर केही बेर कुरेरै भए पनि कफी खाने मनसाय देखाउँदै गर्दा त्यहीँ घरजम गरेर बसेका कृष्ण पोखरेल भन्दै थिए, ‘एभरेस्ट रेस्टुराँ विश्वका चर्चित अरु चेन रेस्टुराँभन्दा कम छैन ।’ रमाइलो के भने एभरेस्ट नाम भए पनि त्यहाँ कुनै नेपाली परिकार पाइँदैन । नेपालको गौरवगाथाको ट्याग भिरेर ग्रीसको एभरेस्ट रेस्टुराँ आफ्ना ग्राहकलाई पश्चिमा शैलीमै स्यान्डविच, पिज्जा, सलाद, पाइज, टोस्ट, केक र थरीथरीका जुस बेचिरहेको थियो र त्यसैमा रमाइरहेको देखिन्थ्यो ।
आर्थिक मन्दीको असर
घुमघामको सुरूआत हामीले एथेन्स सहरको केन्द्र प्लाकामा पैदल यात्राबाट सुरू गयौँ । प्लाकामा प्राय: सबै रेस्टुराँले ग्राहक तानातान गरिरहेको देख्दा आर्थिक मन्दीले सबैलाई असर पारेको छ भन्ने प्रस्टै देखिन्थ्यो । प्लाका हाम्रो ठमेलजस्तै पर्यटकीय केन्द्र रहेछ ।
भोलिपल्टदेखि हामीले प्राचीन दरबारहरुको अवलोकन सुरू गयौँ । एथेन्सको मुख्य आकर्षण भन्नु नै अक्रोपोलिसको पार्थेनोन मन्दिर वरपरका क्षेत्र रहेछन् । त्यहाँको प्राचीन थिएटर र पार्थेनोन टेम्पल हेर्दा हेर्दै ३ बज्यो । प्राचीन क्षेत्र भएकाले हेर्नैपर्ने ठाउँ निकै रहेछन् । तर, ३ बजे सबै स्थान बन्द हुने भएकाले हामी बाध्यतापूर्वक निस्कियौँ । बाँकी रहेको समय सूर्यास्त अवलोकन गर्न लिकाबेटस डाँडातिर लागियो । यो डाँडाबाट मनमोहक सूर्यास्त अवलोकन गर्न मिल्छ । किंवदन्ती अनुसार कुनै समयमा यो डाँडामा ब्वाँसाहरु डुल्ने गर्थे रे ! यही विश्वासका आधारमा त्यो पहाडको नाम लिकाबेटस अर्थात् ब्वाँसा डुल्ने पहाड राखिएको रहेछ ।
ग्रीसमा कुनै मन्दिर, संग्रहालय वा पार्क घुम्न जाँदा हतारिँदै पुग्नुपर्छ । जतिसुकै पर्यटक हुन्, त्यसबाट जतिसुकै आम्दानी आउने किन नहोस् तर सबै कार्यालयहरु बिहान १० बजे खुलेर ३ बजे नै बन्द भइसक्छन् । पर्यटकले खर्च गरेकै पैसाले जेनतेन चलिरहेको ग्रीसेली अर्थतन्त्रप्रति कर्मचारीहरु उदासीन थिए । यही कारण हामीले अक्रोपोलिस क्षेत्रका प्रसिद्ध टेम्पल अफ ज्युस, प्राचीन आगोरा, रोमन आगोरा, केरामिकोस सिमेट्रीजस्ता स्थान हतारमा घुम्नुपर्यो । हामीकहाँ म:म जति प्रचलित छ, झन्डै त्यही अवस्था यहाँ शुब्लाकी नामको परिकारको रहेछ । रोटीभित्र मासु र्याप गरेर बनाइने शुब्लाकी खाएपछि मात्र एथेन्स घुम्नुको आनन्द पाइने सुनेपछि हामीले पनि त्यसको स्वाद लियौँ ।
ट्याक्सीमा बढीमा चार जना मात्र यात्रा गर्न सकिन्छ । तर, हामी पाँच जना थियौँ । दुईवटा ट्याक्सी लिनुपर्ने हाम्रो समस्या बुझेर ट्याक्सीवालाहरुले केही थप पैसा तिरेको अवस्थामा एउटैमा सहर घुमाइदिने अनौठो प्रस्ताव राखे । युरोपमा यसरी नियमविपरीत बढी मानिस चढाएर ट्याक्सी चलाएको मैले अन्त कतै देखेको छैन । जर्मनीमा त त्यो कुनै पनि मूल्यमा सम्भव छैन । ग्रीसमा पनि कानुनी रुपमा सायद त्यो वर्जित नै होला तर आर्थिक मन्दीको चपेटाले उनीहरु यसो गर्न बाध्य थिए ।
कामुकतादेखि अर्बपतिसम्म
कोस्टास नामका ट्याक्सी ड्राइभरसँग हामी पाँच जना त्यसै गरी यात्रा गर्न थाल्यौँ । एक दिन बिहानै होटेलबाट हामी कोरिन्थ क्यानलका लागि निस्क्यौँ । राजधानी एथेन्सबाट केही घन्टाको ड्राइभपछि त्यो पर्यटकीय क्षेत्र पुगिँदो रहेछ । यात्रा गर्नुअघि धेरै कुराको ज्ञान राख्ने प्रयास गरे पनि कोरिन्थ खाडी र आजियान सागरलाई जोड्ने साढे ६ किलोमिटर लामो यो क्यानलबारे मैले यसअघि सुनेको रहेनछु ।
पानामा क्यानल र स्वेज क्यानलजस्तै पर्यटकीय र आर्थिक दृष्टिले कुनै जमनामा यो क्यानल पनि प्रसिद्ध रहेछ । १९औँ शताब्दीको उत्तराद्र्धमा निर्मित यो क्यानल निर्माणमा ठूलो खर्च लागे पनि अहिले उपयोगमा छैन । २१ मिटर चौडाइ भएको भूकम्पीय दृष्टिले जोखिमपूर्ण क्षेत्र र भौगोलिक अवस्थाका कारण ठूला जहाज पार गर्न नसक्ने भएकाले केवल पर्यटकलाई देखाउन मात्रै अहिले यसको उपयोग भइरहेको छ । यो क्यानल घुमुन्जेल मेरो मनमा भने अल्पदृष्टिले विकास गर्ने हो भने त्यो केवल देखाउने वस्तु मात्रै हुँदो रहेछ भन्ने लाग्यो । यति विशाल संरचना केही फराकिलो गरी बनाइएको भए अहिले पनि त्यहाँबाट ठूला जहाज वारपार गर्न सक्थे ।
कोरिन्थ क्षेत्रमा हेर्नैपर्ने अर्को आकर्षण प्राचीन कोरिन्थको भग्नावशेष रहेछ । ठूलो क्षेत्रफलमा फैलिएको यो पुराताफ्विक क्षेत्र सरसर्ती घुम्न मात्रै पनि एक घन्टा लाग्यो । त्यसपछि भने हामी कोरिन्थ क्यासलतिर लाग्यौँ । एक घन्टा डाँडा उक्लिएर पुग्नुपर्ने उक्त क्षेत्रमा हिँडिरहँदा केवलकार बन्नुअघिको मनकामना गएको याद आयो । ३० वर्षअघि काठमाडौँमा पढ्दा मनकामना दर्शन गर्न मैले त्यसै गरी पहाड चढेको थिएँ । डाँडाको टुप्पामा पुगेपछि भने उकालो चढ्दाको सबै दु:ख बिर्साइदियो । त्यहाँबाट कोरिन्थ सहर र खाडीको मनमोहक दृश्य देख्न सकिँदो रहेछ, चन्द्रागिरि डाँडाबाट काठमाडौँलाई हेरेजस्तै ।त्यहाँबाट फर्कंदा हामी बाटोमा पर्ने लुत्राकी समुद्री तटमा रोकियौँ । ग्रीसका केही समुद्री तटहरु कञ्चन पानी र सफा बालुवाका कारण विश्वप्रसिद्ध छन् । कोरिन्थ खाडीको लुत्राकी तट पनि तिनै प्रसिद्ध तटमध्ये एक रहेछ । राजधानी एथेन्स सहर नजिकै पर्ने भएकाले पनि होला ग्रीष्मयाममा यो तटमा मानिसहरुको घुइँचो लाग्छ भनेर कोस्टास बताउँदै थिए ।
यात्रुहरुलाई घुमाउँदा घुमाउँदै कोस्टास त्यस क्षेत्रका हरेक कुरामा पारंगत भइसकेका रहेछन् । उनका अनुसार ग्रीकहरु दुनियाँमा सबैभन्दा कामुक जाति मानिन्छन् । हुन पनि ग्रीसेली साहित्यमा वर्णित पुरूषहरुको कामवासना र त्यसले ल्याउने समस्या देखेर म सुरूमा छक्क परेको थिएँ । पुरूषको यही कमजोरीको फाइदा त्यहाँका महिलाले लिने गरेको र कतिपय देवताहरुसमेत समस्यामा परेको कुरा इलियड र ओडिसीका कथाहरुमा परेका छन् । कोस्टाससँग कुरा गरिरहँदा उनले विगतमा मात्र होइन, ग्रीसेली जनता अहिले पनि उस्तै कामुक रहेको उदाहरण दिएर बताइरहेका थिए ।
युरोपमा सबैभन्दा कम अपराध हुने देश पनि ग्रीस नै रहेछ । यो युरोपको सबैभन्दा बढी भूकम्पीय जोखिम क्षेत्र पनि हो र धेरै पानीजहाजहरु बनाउने देश पनि । कतिसम्म भने विश्वभरिकै जहाजमध्ये झन्डै १६ प्रतिशत पानीजहाज ग्रीसमा छन् । गोर्खालीहरु युद्ध गर्न बहादुर मानिएझैँ युरोपमा ग्रीक जातिलाई बहादुर योद्धाका रुपमा गणना गरिँदो रहेछ । एडोल्फ हिटलर र विन्स्टन चर्चिल दुवैले दोस्रो विश्वयुद्धमा ग्रीक योद्धाको प्रशंसा गरेको कुरा मैले कतै सुनेको थिएँ ।
यात्राभर कोस्टासले होमर, सोक्रेटस, एरिस्टोटल, प्लेटो, आर्किमडिज, पाइथागोरस सबैको चर्चा गर्दै गए । उनले आफूले बोलिरहेको भाषा तीन हजार वर्ष पुरानो भएकामा गौरव पनि गरिरहे । त्यति मात्र होइन, ग्रीसमा १८ वर्षभन्दा माथिका नागरिकले निर्वाचनमा अनिवार्य रुपमा मतदान गर्नुपर्ने रहेछ । युरोपका अन्य देशजस्तो छोराछोरी हुर्किसकेपछि लाखापाखा लाग्ने चलन यहाँ रहेनछ । ओलिभ तेल उत्पादनमा ग्रीस तेस्रो स्थानमा रहेछ । कतिपय ठाउँमा सात सय वर्ष पुराना रुखहरुमा पनि ओलिभका फल लाग्ने रहेछन् । ग्रीसमा दुई हजारभन्दा बढी टापुहरु रहेछन् र युरोपको एक मात्र अफिसियल ओर्थोडक्स क्रिस्चियन धर्म मान्ने देश र अत्यधिक मार्बल उत्पादन गर्ने देश पनि यहीँ रहेछ । युरोपमा स्वीजरल्यान्डपछि बढी हिमाल र पहाड भएको देश ग्रीस नै रहेछ ।
ग्रीसेलीहरु आजको जस्तो आर्थिक दुरावस्थामा आउनुको सबै दोष युरोपेली संघका अरु देशलाई दिँदा रहेछन् । युरोपेली संघले ग्रीसको अर्थतन्त्र उद्धार गर्न सयौँ अरब युरो लगानी गरिसकेको प्रसंग मैले कोट्याउँदा कोस्टासलगायत त्यहाँ भेटेका प्राय: सबै उल्टै मसँग रिसाए । युरोपियन युनियनकै कारण आफ्नो यस्तो अवस्था आएको धारणा उनीहरु पाल्दा रहेछन् । बुझ्न कठिन भएन, केही राजनीतिक दलले आफ्नो भोट सुरक्षित राख्न र आफ्ना कमजोरी लुकाउन दोषजति युरोपियन युनियनलाई दिँदा रहेछन् र जनताले त्यसलाई पत्याउँदा रहेछन् । हामीकहाँ मात्रै होइन, युरोपजस्तो मुलुकमा पनि राजनीतिक दलले जनतालाई गुमराहमा राख्ने गर्दा रहेछन् ।
ग्रीसेलीहरु जर्मनीसँग बढी नै असन्तुष्ट रहेछन् । केही मानिसले त हिटलरले दोस्रो विश्वयुद्धमा ग्रीसको बैंकमा रहेको सबै सुन लुटेर लगेकाले नै अहिलेको अवस्था आएको ठान्दा रहेछन् । यही कारण अब जर्मनीले ब्याजसहित त्यो सबै फिर्ता गर्नुपर्छ भन्ने उनीहरुको माग छ । उनीहरुको विचारमा हिटलरले लगेको सबै रकम फिर्ता पाउने हो भने सन्तान दरसन्तानलाई समेत केही नगरी खान पुग्छ । यी कुरा सुनिरहँदा मलाई भने अचम्म लाग्यो । खासमा मानिसहरु इतिहासलाई आफ्नो अनुकूल व्याख्या गर्छन् नै । हिटलरका कारण जर्मनी आफैँ पनि पीडित राष्ट्र हो । ७५ वर्षअघि भएका ज्यादतीको हिसाबकिताब अहिलेको पुस्तासँग मागेर उनीहरु दुई देशको सम्बन्धमा तिक्तता भरिरहेका थिए ।
यता जर्मनीले भने ग्रीसको आर्थिक मन्दी हटाउन युरोपियन युनियनका अन्य मुलुकभन्दा बढी नै रकम सहयोग गरिरहेको छ । अहिलेसम्म युरोपियन युनियनले ग्रीसलाई आर्थिक मन्दीबाट उकास्न करिब दुई सय अर्ब युरो खर्च गरिसकेको छ, त्यसमध्ये जर्मनी एक्लैले ६८ अर्ब युरो सहयोग गरेको छ । जर्मन करदाताले तिरेको यति ठूलो रकम ग्रीसलाई सहयोग गर्न खर्चिएको भन्दै जर्मन चान्सलरको विरोधसमेत भएको थियो । उता ग्रीसेलीहरु भने इतिहासलाई देखाएर जर्मनीलाई धारे हात लगाइरहेका छन् । यो राजनीति मेरा लागि यात्रा अवधिभर रमाइलो अनुभव दिन पर्याप्त थियो ।
यात्रा गर्दै जाँदा कोस्टासले बाटोमा कुनै जमानाका विश्वप्रसिद्ध अर्बपति अरिस्तो ओनासिसका बारेको कथा सुनाए । पानीजहाज कम्पनीका मालिक अर्बपति ओनासिसको सन् १९७५ मा मृत्यु भएपछि उनको व्यापार साम्राज्यको अधिक हिस्सा उनकी नातिनी अथिनाले बेचेर हिँडिछन् । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीकी पत्नी ज्याक्लिनले केनेडीको मृत्युपछि ओनासिससँग अर्को विवाह गरेकी थिइन् । र, ओनासिसले आफू बस्नका लागि किनेको स्कर्पिओस नामको सिंगो टापु सन् २०१३ मा एक रूसी अर्बपतिले किनेको खबरपत्रिकामा आएको थियो । ओनासिसको त्यति ठूलो साम्राज्यको त्यो हाल भएको देख्दा सन्तानका लागि भनेर सम्पत्ति जम्मा गर्नु व्यर्थ रहेछ भन्ने महसुस भइरहेको थियो ।
एक साताको भ्रमण सकेर फर्कंदै गर्दा मेरो मनमा विश्वका ठूलठूला सभ्यता कसरी समयक्रममा ढल्दै जान्छन् र हराउँछन् भन्ने कुरा चिन्तन गर्न मन लागिरहेको थियो । प्राचीनकालमा अति विकसित मानिएको सिन्धुघाटी सभ्यताको अहिले नामोनिसान छैन । कुनै जमानामा सूर्यास्त नहुने बेलायती साम्राज्य खुम्चिएर अहिले सानो टापुमा सीमित भएको छ । भारतको विशाल मुगल साम्राज्य केही सय वर्षमै हराएर गयो । र, आँखैअगाडि सोभियत साम्राज्यको पतन भयो र त्यसै गरी ग्रीसको झण्डै चौबिस सय पचास बर्ष सभ्यतामा अहिले नराम्ररी खिया लागेको छ ।
पश्चिमी सभ्यताको उद्गम विन्दुमा उभिएर म सोचिरहेको थिएँ, संसार परिवर्तनशील मात्रै होइन, क्षयशील पनि रहेछ ।
(लेखकलाई ट्विटरमा पछ्याउनुहोस् »»» @Jibalamichhane)
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...