साँल्दाजुका बाँसबारी जुत्ता
कक्षाकोठामा अंग्रेजी पाठ घोकिन्थ्यो, हुबहु वाक्य र प्याराग्राफ कण्ठै हुन्थ्यो । तर, यो “सब्जेक्ट–भर्व–अब्जेक्ट” कहिल्यै अलग अलग थाहा थिएन ।
‘लु मलाई बहुत खुसी लाग्यो है केटा । मेरो कोठाको खाटमुनि काठेबाकसमा मेरा एक जोर जुत्ता छन् । अलिक ठूलो भए पनि तुना कसेर लगाउनू । अब ९ कक्षामा गइस्, जुत्ता लगाएर स्कुल जानू । ती बाँसबारी कम्पनीका हुन्, फेरि जुत्ता लगाएर भकुन्डो नखेल्नू नि... !’
यसरी मेरो जीवनमा बाँसबारी जुत्ता के जोडियो, खुसीको सगरमाथा पलाउन सुरू भयो । कुदेर बुइँगल कोठामा पुगेँ । एउटा लामो काठेबाकस, जसमा खोयाको छिस्किनी लगाइएको थियो, घरक्क उचालेँ । त्यहाँ भेटिए, फाटेको तन्नाको फेरमा बाँधिएका बाँसबारी जुत्ता । जुत्तासँग एक जोर जगेडा मोजा पनि थिए तर निकै पुराना नीला रंगका मोजाको माथिल्लो गोलाकार इलास्टिक समयको फेरबदल सम्झिएर दिक्क मानेजस्तै ‘निहुरमुन्टी न’ बनेका थिए ।
पुरानै भए पनि बाँसबारीको सानसौकत सानो थिएन । कतिसम्म भने सिंगो गाउँमा बाँसबारीको जुत्ता कसले लगाउँछ भनेर सोधीखोजी गर्ने हो भने पनि थाहा भइहाल्थ्यो, पण्डितको साहिँलो छोरा । त्यसपछि स्वभावत: पालोक्रममा त्यस्तै प्रश्नको यस्तो जवाफ आउला भन्ठानेको थिएँ, पण्डितको कान्छो छोरा । तर, यस्तो स्थिति कहिल्यै आएन ।
दमक नगरको डाँडागाउँमा रहेको हिमालय माविको प्रांगणसँग मेरो प्रिय बाँसबारी बुटको कहानी जोडिएको छ । सरकारी स्कुल भए पनि नियम–कानुनमा कडाइ थियो । बिहान ९.४५ मा पुग्नैपर्ने स्कुलमा झन्डै १० मिनेट राष्ट्रगान र अरु नियम–कानुन सिकाइ हुन्थे । हाई स्कुलको ठूलो मैदानमा पिटी खेलाउने लाइनमा अक्सर लाखमान आङदम्बे, कर्णबहादुर थापा, डिल्ली ढुंगेल, सुनिल थापा, बद्री बराल, विनोद दाहाल, सोम खनाल एकै हारमा हुन्थ्यौँ । यीमध्ये अलिक कमजोर काँटको म र डिल्ली थियौँ ।
हो, यहीँनेर मेरा बाँसबारी जुत्ताको कमाल सुनिन्थ्यो अथवा देखिन्थ्यो । गोडाफाट–सतर्कमा सबैभन्दा चर्को ध्वनिमा बुट बजार्नेमा म हुन्थेँ । मेरो त त्यति साह्रो हुति थिएन होला, त्यो सबै तरक्की बाँसबारी जुत्ताको थियो । हो, साना सुइखुट्टे पाइतालामा बडेमाका जुत्ता उनिएका छन् । यी जुत्ताको आकारै बढाउने गरी भित्रपट्टि मोजा र थोत्रा कपडाको बुजो कोचिएको छ । गोडाबाट जुत्ता झर्ने पो हो कि भन्ने भयमा सनपाटको डोरीजत्रै तुना बाँधिएको छ । सकेसम्म अरुले आँखा लगाइदिऊन् भन्ने लागेर खुट्टा बजार्दै बाटो काट्ने मेरो स्वभाव नजानिँदो गरी हुर्किसकेको थियो ।
स्कुलको पिटी लाइनअघि जब हेडसर छविलाल सिटौला देखा पर्नुहुन्थ्यो, तब बढी सर्तक हुनुपथ्र्यो । अरु मास्टर भने विद्यार्थीले पिटी खेलेका छन्/छैनन्— त्यो मात्रै हेरिरहेका हुन्थे भने हेडसर हरेक विद्यार्थीको खुट्टाको पोजिसन हेर्दै लाइन अघिपछि गर्नुहुन्थ्यो । गोडाफाट–सतर्क गर्दा वल्लो–पल्लो लाइनका साथीभाइ पनि चनाखो भएर मतिर हेर्थे, जहाँबाट हरेक पटकको बुट बज्रेर धूलो उडिरहेको हुन्थ्यो ।
एक दिन निकै खुसीको कुरा भयो, हेडसरका नजर एकाएक मेरा जुत्तामा परे । निकै परदेखि तन्किँदै आएर उहाँ पिटी लाइनमा मेरो छेउमै आएर उभिनुभो । अनि, धाप मार्दै भन्नुभो, ‘कान्छा, साँल्दाजुका जुत्ता लाएर आइस् ?’
ओहो, कत्रो खुसीको कुरा !
हेडसरले मलाई हात समाउँदै पिटी लाइनको अगाडि ल्याउनुभो । ‘देख्यौ त, यो ९ कक्षामा पढ्ने देविन्द्रले साँल्दाजुका जुत्ता लाएर स्कुल आएछ । यति भन्नलाई यसलाई यहाँ ल्याएको होइन मैले । बरु ती साँल्दाइ को थिए, के थिए भन्न ल्याएको हुँ । मलाई सधैँ प्रेम गर्ने, म र मेरोभन्दा पनि हामी र हाम्रो भन्न रुचाउने, अंग्रेजी–नेपाली दुवै भाषाका जानकार, मृदुभाषी गोविन्दलाई तिमीहरुले चिनेका छौ ? गोविन्दराज भट्टराई क्या, लेखक–साहित्यकार पनि । हो, त्यही गोविन्दको भाइ कान्छो हो यो । यसले आज लगाएका जुत्ता तिनै गोविन्दका हुन् । कस्तो रमाइलो बात,’ हेडसर छविलाल फटाफट बोलिरहे । म साँल्दाजुबारे सुनाइएको बयान, त्यसमा आफ्नो झुन्डिएको पहिचान र अन्त्यमा बाँसबारी जुत्ताको फुँदा सम्झेर कहिले रोमाञ्चित अनि अर्को छिनभरमै लज्जित बनिरहेँ ।
त्यसदिन जेनतेन हेडसरका पन्जाबाट उम्किएँ ।
जीवनमा सधैँ ठूला काम अथवा कुराले खुसी साट्न सकिन्छ भन्ने केही छैन । यदाकदा मायाप्रेम जोडिएका ससाना अथवा जडौरी चीजबिजमा पनि खुसी खोज्न सकिन्छ । जस्तो: साँल्दाजुका बाँसबारी जुत्ता ।
यही अपनत्वका कारण हरेक दिन बिहान हलोजुवा नार्नुअघि म लामो काठे बाकसमा राखिएका बाँसबारी छाला जुत्ता पुछिरहेको हुन्थेँ । कतिबेर हलो बिसाएर घर फिरौँ र यी जुत्ता सिउरेर स्कुल पुगौँ जस्तो हुन्थ्यो । बेलुका स्कुलबाट फिरेपछि पनि जुत्ता खोलेर काठे बाकसमा राख्थेँ । गनाउने मोजाको पनि उति पर्वाह हुन्नथ्यो । तन–मन–वचन जुत्तामै अडिएको थियो । हरदम घरेलु वा बाहिरी पाठपूजाका काममा व्यस्त भइरहने पिताजी पनि मेरो जुत्तामोह देख्दा भन्नुहुन्थ्यो, ‘अलिक फारो गरेर लगा है भाइ, फेरि दसैँसम्म नपुग्ला । साँल्दाजु त फारो गरेर लाउँथ्यो ।’
म भने मनमनै भनिरहेको हुन्थेँ, के फारो गर्नु ? जिन्दगीमा पहिलो पटक मेरा खुट्टाले जुत्ता भेटेका छन्, त्यो पनि बाँसबारी । जे त होला, लगाइन्छ ।
अरु बेला रतुवा खोलाछेवैमा रहेको चारमाने कुमालको अधियाँ खेत बिहानभर जोतेर स्कुल पुग्दा बिहानको १० बजे नाघिसकेको हुन्थ्यो । तर, साँल्दाजुका जुत्ता मेरा जिन्दगीमा आएपछि १० नबज्दै स्कुल पुग्न थालेको हुन्थेँ । बरु, जोताइको मेलो छाडिन्थ्यो तर जुत्ताको उमंग र ऊर्जा कायमै राख्न स्कुलको पिटी–टाइममा पुगिसकेको हुन्थेँ ।
बिहानभरको थकाइ र अनेक तनाव लिएर स्कुल पुग्दा सात सयभन्दा बढी विद्यार्थीले मेरै खुट्टातिर हेरिरहेका हुन् कि झैँ लाग्थ्यो । केटीको लाइनमा उभिएका र अलिक हुनेखाने वर्गका अनिता नेपाल, पुनम प्रधान र बबी राईहरु भने मेरा गोडातिर हेरेर खिसिट्युरी गरिरहेका हुन् कि झैँ लाग्थ्यो । आ जे होस्, होस् भन्दै म आफ्नै दुनियाँमा फर्कन्थे, खुसीको दुनियाँ ।
स्कुलमा हेडसर छविलाल खाली ठाउँ भर्ने शिक्षकजस्तो पनि हुनुहुन्थ्यो । अरु कोही विषयगत शिक्षक आएनन् भने कक्षा लिन पुगिहाल्ने ! अंग्रेजी, नेपाली, गणित वा विज्ञान जे भए पनि कक्षा हल्टु हुनै नदिने । एक दिन संयोगले अंग्रेजीका सोम खनाल सर स्कुल नआएको खाली पिरियड आइपरेछ । खिरिलो ज्यानका हेडसर छड्के काइदामा लगाएको ढाकाटोपी मिलाउँदै कक्षामा आइहाल्नुभयो ।
‘लु आज, म केही ग्रामरका कुरा बुझिहेर्छु’ भन्दै कक्षाको बीच भागतिर बसेको मेरातिर आएर उभिनुभयो । ‘लु उठ् कान्छा, म एउटा सेन्टेन्स भन्छु, त्यसमा सब्जेक्ट, भर्व, अब्जेक्ट पहिल्याएर भन् त !’ भन्दै मेरै डेस्कको आडैमा उभिनुभयो । अनि, छिनभर बिसाएर अगाडिको कालोपाटीमा लेख्दै भन्नुभयो, ‘राम प्लोज द फिल्ड !’
ओहो, म पानीपानी भएँ । कक्षाकोठामा अंग्रेजी पाठ घोकिन्थ्यो, हुबहु वाक्य र प्याराग्राफ कण्ठै हुन्थ्यो । तर, यो ‘सब्जेक्ट–भर्व–अब्जेक्ट’ कहिल्यै अलगअलग थाहा थिएन । यसो वरपरका साथीभाइलाई हेरेँ, कतै केही संकेत पाइन्छ कि भनेर तर सबै घोसेमुन्टो लाइरहेका थिए । कक्षाको फस्र्ट केटो मेरै हालत यस्तो भएपछि अरुको के हुन्थ्यो ? बरु, केटी पंक्तिका अनिता, पुनमहरुका भने चेहरा चम्किला देखिन्थे । बोर्डिङ स्कुल पढेर आएका उनीहरुलाई सायद सब्जेक्ट–भर्व–अब्जेक्ट थाहा थियो कि ?
‘ए, साँल्दाजुका बाँसबारी बुट लगाउँदैमा साँल्दाजु होइन्छ ? अब १० कक्षामा जान लागेको केटो सब्जेक्ट–भर्व–अब्जेक्ट आउँदैन भने के गोलखाडी जान्छस् ? पख्लास्, साँल्दाजुलाई भन्दिन्छु, तँ नाथुलाई !’ हेडसर मतिर डस्टर तेस्र्याउँदै भनिरहनुभएको थियो ।
मलाई भाउन्न भयो । पसिनाले शिरदेखि तल जुत्तासम्मै म भिजेँ, लफ्रक्कै ।
सायद त्यस दिन सब्जेक्ट–भर्व–अब्जेक्टको त्यो जवाफ अनिता नेपालले दिएकी थिइन् क्यारे ! अनि, जसोतसो कक्षाको एक घन्टे टाइम पनि सकियो । त्यसपछि कक्षाकोठामा गफको नयाँ जुइनो फुक्यो, बाँसबारी जुत्ता लगाउँदैमा केही नापिन्न, सब्जेक्ट–भर्व–अब्जेक्ट पो आउनुपर्छ त !
थाहा छैन, हेडसरले मसँग जोडिएको सब्जेक्ट–भर्व–अब्जेक्ट काण्ड साँल्दाजुलाई सुनाउनुभयो वा भएन । तर, मेरो मन–मस्तिष्कमा त्यस दिनबाट सधैँभन्दा बढी र बाक्लो भयको बादल छाइरह्यो । यो काण्डपछि म स्कुल जाँदा भने बाँसबारी जुत्ता लगाउन नसक्ने हविगतमा पुगेको थिएँ । उही फित्तावाल भुक्के चप्पलमा म उत्रिएको थिएँ ।
यदाकदा पिताजीले घरबाट टमाटर, लौका, फर्सी बेच्न पठाउनुहुन्थ्यो । म सानो डोको वा डालो लिएर बीच बजारको वलबहादुर राई दोकानेकहाँ पुग्थेँ । कहिले पारि रतुवा खोलाको पुल नाघ्दै सीतापुरी मावलसम्म जान्थेँ, तिनै बाँसबारी लगाएर । यो भित्री बस्ती, बजार वा पशुहाटमा कसले सोध्थ्यो र, सब्जेक्ट–भर्व–अब्जेक्ट ?
बी–बीचमा साँल्दाजु भाङबारी घर आइरहनुहुन्थ्यो, कहिले बडेमाको रेडियो बोकेर, कहिले साइकल लिएर । कहिले गुँदपाकको पोको त कहिले हर्लिक्स लिएर । साँल्दाजुको छायाँछवि मेरा लागि काबुलीवाला कथाको हितैषी बूढोजस्तो थियो, केही न केही उपहार बोकेर आइरहने एउटा प्रिय पात्र ।
मनैमनमा सोचिरहन्थेँ, धन्य ! साँल्दाजुलाई सब्जेक्ट–भर्व–अब्जेक्ट काण्ड भने थाहा रहेनछ ।
सेन्टअपको परीक्षामा अरु सबै विषयमा ७० प्रतिशतको हाराहारी नम्बर आए पनि त्यही सब्जेक्ट–भर्व–अब्जेक्टको विषय अर्थात् अंग्रेजीमा ५० पनि नछोएको उत्तीर्णांक मार्कसिटमा थियो । अनि, अचम्मै भयो, एकाएक ।
त्यही नतिजा आएको बेलुकै छिमेकी कमल प्रसाईं सरको घरमा फोन बज्यो, सबैले सुनिने गरी । त्यो साँल्दाजुले काठमाडौँबाट गरेको फोन रहेछ । सिंगो गाउँमा कमल सरकै घरमा मात्रै फोन थियो । बोलावट आएपछि म फोन उठाउन पुगेँ । साँल्दाजुको स्वर सुनियो । ‘तँ भोलि त्यहाँबाट नाइट गाडी चढ्नू । पर बिरनाबारी कुलु दाइ पनि काठमाडौँ आउँदै छ, सँगै आउनू, आइहाल्नू है । तेरा किताब, लुगाफाटा सबै लिएर आउनू । त्यहाँ माइली भाउजू अथवा बासँग खर्च माग्नू, झट्टै है !’ फोनमा एकोहोरो कुरो मात्रै थियो ।
म एसएलसी दिने सुरसार गरिरहेको थिएँ । तर, साँल्दाजुले काठमाडौँ बोलाउनुभयो । सायद हेडसरले सब्जेक्ट–भर्व–अब्जेक्टको कुरो भन्दिएको पो हो कि भन्ने पनि लाग्यो । रातारात गुन्द्रुक–सिन्की, मस्यौरा, सातु पोको पारेर म भोलिपल्ट काठमाडौँ जाने भइसकेको थिएँ । मनमा अलिअलि खुसी, कौतूहल र अन्योल थियो ।
बाआमाले फाटिसकेका बाँसबारी जुत्ता भने साथमा लैजान दिनुभएन । बरु, बुबाले भोलिपल्टै कपडाका जुत्ता किनदिनुभयो । ‘राजाको गाउँ जाँदा नयाँ जुत्ता लगाएर जानुपर्छ,’ बुबाले भन्नुभयो ।
बाँसबारी जुत्ताको औधि मायाप्रेम फर्किएर आएजस्तो भइरहेको छ । जिन्दगीमा बिर्सनलायक कुरा कति धेरै होलान् । तर, साँच्चिकै सम्झन चाहेका कुरा निकै थोरै हुने रहेछन् । यी थोरैमध्ये प्रमुख एउटा हो मेरा लागि त्यही, बाँसबारी जुत्ता ।
धन्यवाद साँल्दाजु ! धन्यवाद बाँसबारी जुत्ता ! जसका कारण म आज यो संघर्षशील जिन्दगीको सब्जेक्ट–भर्व–अब्जेक्ट खुट्याउन सक्ने स्थितिमा छु अथवा यस्तै भ्रममा उभिन सक्ने भएको छु ।
(लेखकलाई ट्विटरमा पछ्याउनुहोस् »»» @registandiary)
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...