टिपटिपे बाछिटा मात्रै
वियोगको कथा हो, मनसुन ।
सुबिन भट्टराईको लेखनको खुराक प्रेम हो । उनी आफ्नो लेखाइमा प्रेमलाई मुख्य र एक मात्र विषय बनाउँछन् । आफ् नो तेस्रो उपन्यास अर्थात् चौथो कृतिसम्म आइपुग्दा सुबिन लेखाइमा परिपक्व देखिए पनि कथा र प्रस्तुतिमा चाहिँ खाइलाग्दो हुन सकेका छैनन् । पहिलो कथासंग्रह कथाकी पात्रमा लेखाइका हरेक पक्षमा सुबिन जति जबर्जस्त र अब्बल देखिन्थे, भर्खरै बजारमा आएको उपन्यास मनसुन पढ्दा थाहा पाइन्छ, सुबिन कमजोर छन् । यो कृतिमा उनी बढी नै हतारिएका छन् । सायद, युवापुस्तामाझ अधिक रुचाइएका सुबिनलाई लेख्नैपर्ने बाध्यताले गालेको जस्तो लाग्छ ।
वियोगको कथा हो, मनसुन । सुभान र मनसुनबीच प्रेमको आरोह/अवरोह छ । सुभानले मनसुनलाई पाउन मरिहत्ते गरेको कुरालाई मूलकथा बनाइएको छ । त्यसबाहेक सुभानका दुई साथीको उपकथा पनि समेटिएको छ । खासै महत्त्व नभएको उपकथालाई बिर्सने हो भने मनसुनमा सुभान र मनसुनको प्रेमसंघर्ष मात्रै छ ।
रामेश्वर नामक साथीको बिहेमा जन्त जाँदा मनसुनलाई पहिलोपटक देखेपछि सुभान ऊप्रति आकर्षित हुन्छ । कथा सुरु हुँदा सुभान आफ्नो साथी रामेश्वरको बिहेमा जन्ती जाँदाको प्रसंग छ । राम्री मनसुनप्रति तत्कालै आशक्त भएर सुभान उसलाई फकाउने मेसोमा लाग्न थाल्छ । सँगै हुन्छ, सुभानको साथी सुन्दर । मनसुनलाई हात पार्न सुभान र उसको साथी सुन्दरको घम्साघम्सीसहित कथा अघि बढ्छ । सुरुआती पृष्ठमा कथानकले बेस्कन नताने पनि पढिरहँदा किताब एक हिसाबले ठीकै लाग्छ । प्रेम मिसिएको मनसुनले पाठकलाई लछप्पै नपारे पनि टिपटिपे बाछिटाले धेरथोर रुझाउने चेष्टाचाहिँ गरेकै छ ।
मनसुनसँगको सामीप्य जब अगाडि बढ्दै जान्छ, कथाको गति पनि अघि बढ्छ । कुरकुरे बैँसमा रुमल्लिएका ठेट्ना–ठेट्नीहरूलाई सुभान र मनसुनको प्रेम संवाद रमाइलो लाग्ने खालको छ ।
प्रमुख पात्र सुभानले मनसुनलाई पाउन गरेको प्रेम–संघर्ष नै कथाको पोयो हो, जसलाई फुकाइरहने प्रयास लेखक गरिरहन्छन् । कता कता मनसुनको कथा सुबिनको पहिलो उपन्यास समर लभसँग मेल खाएजस्तो पनि लाग्छ । मेल खाएको यस अर्थमा कि, दुवै कथाका मूल पात्र (पुरुष) प्रेमका लागि हरतरहका संघर्षमा लीन हुन्छन् । यद्यपि, सफलता हासिल गर्न हम्मेहम्मे पर्छ । अनि, प्रमुख महिला पात्रले भने प्रेम अनेक तरिकाले लत्याइरहन्छन् । समर लभको दोस्रो भागका रूपमा साया आयो । यसै गरी, मनसुनको पनि दोस्रो भाग लेख्न मिल्ने गरी चलाखीपूर्ण ढंगमा अन्त्य गरेका छन् लेखकले ।
मनसुनले सुभानलाई अन्तत: अस्वीकार गर्छे । सुभानको छटपटाइसँगै कथाको पनि अन्त्य हुन्छ ।
मुडी स्वभावको सुभान मनसुनसँग चियाभेट मात्रै गर्न भए पनि काठमाडौँबाट धरानसम्म आऊजाऊ गर्न थाल्छ । प्रेमको फिलिङ्गोले भुसको आगो भएर दुवैलाई बिस्तारै गाँज्दै लैजान्छ । मनसुनको दोधारे प्रवृत्तिबारे गन्ध आउन थालेपछि कथाले बिस्तारै नयाँ मोड लिएको अनुभूति हुन्छ । बाल्यकालीन साथीलाई अधिक मन पराएकी मनसुन सुभानसँग प्रेममा पूर्ण रूपमा लीन हुन सक्दिन/चाहन्न ।
कथामा द्वन्द्व निम्त्याउने लेखकीय तरिका ठीकठाक लाग्छ । तर, पात्रहरू हुर्काउने, बढाउने र उनीहरूले निर्वाह गरिरहेको चरित्रमा तिनलाई परिपक्व बनाउने काममा सुबिनले प्रशस्त कन्जुस्याइँ गरेको महसुस हुन्छ । चरित्र निर्माण कुनै पनि कथाको साह्रै नै महत्त्वपूर्ण पक्ष हो । यसमा यथेष्ट मिहिनेतको अभावमा पात्रहरू कमजोर हुन्छन् । घटनाहरूमा तिनको उपस्थिति र भूमिका निर्वाह गर्ने चालढालमा कमजोर देखिन्छन् । उपन्यासको मूल पात्र सुभानको चरित्र चित्रण पनि बलियो देखिँदैन ।
मनसुनबारेका धेरै कुरा तथा उसको चरित्र चित्रणका लागि चाहिने खुराकहरू पनि अपुग देखिन्छन् । साथै, सुभानका साथीहरू रामेश्वर र सुन्दरबारेका केही कुरो जान्ने अपेक्षा हुन्छ पाठकमा । अझ भनौँ, हजुरबुबासँगको सुभानको उठबसको कथा पनि केही तन्काइएको खण्डमा बेस हुन्थ्यो । उपकथा, पात्रहरूको प्रस्तुतिजस्ता कुरालाई लेखकले छोटो छोटो गरी प्रस्तुत मात्रै गरेका छन् । त्यसैले, उपन्यासलाई राम्रो ‘ फिनिसिङ’ दिने मसिना कुराको अभाव छ कथामा ।
उल्झन भएका प्रेम नै सुन्दर लाग्छन् । प्रेम गर्नेहरूको आरोह/अवरोहको गाथाले मन निचोरोस्, धुरुक्कै पारोस्, साहित्य, सिनेमाका त्यस्तै ट्रेजेडीयुक्त खुराकहरू सुपरहिट भएका छन् । सुबिनको यो उपन्यासमा मन निचोरिएर धरधरी रुवाउने पक्षको प्रशस्त अभाव छ । भाषिक पक्षको कुरा गर्दा यसपालि सुबिन निकै परिपक्व देखिन्छन् । पुस्तककै सबैभन्दा बलियो पक्ष यसको भाषा हो । कथानक र चरित्र चित्रणमा भएको कमजोरीलाई भाषागत पक्षले केही भरथेगचाहिँ पक्कै गरेको छ ।
पाठकका आ–आफ्ना रोजाइ हुन्छन् । त्यो रोजाइ उमेर अनुसारका हुन्छन् । गम्भीर साहित्यमा रुचि भएका पाठकका लागि यो पुस्तक सही खुराक हुँदैन । केटौले उमेरका तन्नेरी, जसका लागि प्रेम एउटा कौतूहल पनि हो, त्यस्ता पाठकलाई मनसुन उपयुक्त रोजाइ हुन सक्छ । हलुका मानिने प्रेमको विषयलाई उपन्यासका आवश्यक पक्ष राम्ररी समेटेर गम्भीर ढंगमा प्रस्तुत गरिए यस्ता साहित्यका पाठकको संख्या बढ्ने थियो ।
मनसुन
लेखक : सुबिन भट्टराई
प्रकाशक : फाइनप्रिन्ट
पृष्ठ : २५४
मूल्य : ३१८ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...