[अनुभूति] ग्याड्सहिलको गोरेटो
वरपर नियाल्छु । शान्त वातावरणमा बोटबिरूवाले छोपिएको छ यो विशाल परिसर अनि भव्य घर । केही गाडी छन् । सुन्दर बगैँचा छ । केही कुर्सी पनि छन् । म थकाइ मेट्न बस्छु । केही बेर त भइसक्यो खोइ कोही पनि देखिँदैनन् ।
![[अनुभूति] ग्याड्सहिलको गोरेटो [अनुभूति] ग्याड्सहिलको गोरेटो](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2016/miscellaneous/08122016061707kl.jpg&w=900&height=601)
किन झलक्क देख्दै छु मिस हभिसह्यामजस्तो कोही ?
किन चिच्याइरहेछ टुहुरो पिपको दर्दनाक समय ?
किन यस्तो लाग्दै छ, फेरि अर्को एक बालक विद्यालय छाडी अघि बढ्दै छ, कारखानातिर ?
सायद केन्ट, रोचेस्टरतिर हिँडेको ओभरग्राउन्ड (ट्रेन)को बढ्दै गएको स्पिडसँगै नजिकिँदै छन् एक एक गरी चाल्र्स डिकेन्सका पात्रहरू । उनको गाउँ रोचेस्टर जाने समय मिलेको छ बल्ल । थाहै नपाई बितिसकेछन् लन्डन बसाइँका गोडातिनेक वर्ष । लन्डनबाट ५० किलोमिटरको दूरी दक्षिण–पूर्वी लन्डन । स्टेसनबाट दुई मिनेटमा देखापर्छ, रोचेस्टर टाउन सेन्टर ।
डिकेन्सले त सन् १८७० मै छाडेका हुन् यो ठाउँ तर पनि चाल्र्समय छ समय अझै ।
उनकै पात्र र पुस्तकका नाममा खुलेका रहेछन् कति पब, रेस्टुराँ र अरू पसल पनि । आँखा ठोक्किजान्छ कप्परफिल्डमा । डिकेन्सको उपन्यासको एक पात्र, जसको नाममा खुलेको छ पब । अर्को पसलको नाम ‘एक्सपेक्टेसन’ देख्छु । हुन सक्छ डिकेन्सकै उपन्यास ग्रेट एक्सपेक्टेसन्सको सम्झना । यी नामहरू एउटा लेखकको सम्झना र सम्मान दुवै हुन् । डिकेन्स अभावका कारण विद्यालय छाडी कारखानामा काम गर्न बाध्य भएका थिए । त्यही अभावले पिरोलिएका बालक आज विश्वप्रसिद्ध लेखकको रूपमा हुन्छ, मानिसहरूको दिलमा बसेको छ ।
(त्यो चरम गरिबीबाट उम्किएर उनले नाम, दाम, सम्मान सबै पाए । क्या गज्जब लाग्छ उनको जीवन । उनका पात्रहरू पनि चाहे ओलिभर होस् या पिप, उनीजस्तै गरिबी र अभाव झेल्दै अघि बढ्छन् र अन्त्यमा नाम र दाम दुवै कमाउँछन् । उनकै भोगाइको आडमा उभिएका कारण त्यति जीवन्त भएका होलान् उनका पात्र ।)
भीडभाड पटक्कै छैन । मौसमले साथ दिएको छ । घमाइलो छ दिन । रैथाने गोरा बूढाबूढीहरू देखिँदै छन् क्याफे, पब र रेस्टुराँबाहिर राखिएका कुर्सीहरूमा । कपडादेखि फूलसम्मका साना तर चिटिक्क परेका पसल छन् । लन्डनको बजारभरिका हाइस्ट्रिट ब्रान्डभन्दा भिन्न छुट्टै मौलिकता र सुवास बोकेका पसलहरू ।
खासमा ब्रिटिसहरू स्थानीय उत्पादन नै रुचाउँछन् । त्यो आत्मीयता हो, आफ्नोपनाको । एकपटक अमेरिकी कफी कम्पनी स्टारबक्सको करको विषयलाई लिएर निकै हल्लीखल्ली मच्चिएको थियो । विदेशी कम्पनी त्यसमा पनि कर छलेको कुरा सार्वजनिक भएपछि उनीहरू नतातिने कुरै भएन । स्टारबक्सका कामदारहरूले पनि निकै गाली र सास्ती भोग्नुपरेको थियो । स्टारबक्सलाई खेदो गरिरहँदा ब्रिटिस कफी कम्पनी कोस्टाको भने पपुलारिटी निकै अकासिएको थियो त्यो समय । सत्य हो, कतै मनको कुनामा आफ्नो मानिस, चीज र देशप्रति आत्मीयता हुन्छ नै । यो सानो बजारभरि त्यही देख्दै छु ।
पब, कफीसप, लाइब्रेरी, चर्च आदि लन्डनका प्रत्येक साना–ठूला टाउनका कमन कुरा हुन् । टाउन सेन्टरमा बरालिँदै गर्दा परिजान्छ नजर रोचेस्टर क्याथिड्रलमा । यो लन्डनकै दोस्रो पुरानो क्याथिड्रलले नौ सय वर्षभन्दा लामो इतिहास बोकेको छ । अझ पनि उही सुदूर समयको न्यानो छ कि जस्तो । यी भित्ता, भुइँ र ढुंगाहरू छुँदा त्यही पुरानो समयमा फुत्त पुगेजस्तो अनौठो अनुभूतिले घेरिएकी छु । साह्रै विशाल छ यो क्याथिड्रल । सिलिङ त कता हो कता माथि । रंगीचंगी सिसा र त्यसमा कुँदिएका छन् क्राइस्टका जीवनका अनेक चित्र ।
केही भाग अझै पनि बन्दै रहेछ । नेपथ्यमा बज्दै छ, सुमधुर धुन । विवाहदेखि न्वारन र अन्य कर्मकाण्ड पनि यहाँ हुन्छ । क्याथिड्रल पस्नेबित्तिकैको भुइँका धेरै ठाउँमा हेयर लाइज द बडी अब....कुँदिएको देख्दा अचम्मित भएर त्यहीँको कर्मचारीलाई जिज्ञासा राख्दा अनौठो उत्तर पाउँछु । ती नाम भएकाहरूलाई त्यहीँ गाडिएको रहेछ तर अहिले भने त्यसलाई अन्तै सारिसकिएको छ रे ! अचम्म ! देउता र मरेका मानिस एकै ठाउँ । यही परिसरमै विशाल ग्रेभयार्ड पनि छ । हाम्रै संस्कारजस्तो लाग्छ । लास जलाउने काम तीर्थस्थलमै हुन्छ हाम्रो पनि । चाहे पशुपतिमा होस् या स्वयम्भूमा या अन्तै । जन्म र मृत्यु नै जीवनको सत्य । यो क्याथिड्रलले फेरि एकपटक जीवनको एकदमै नजिक पुर्याइदिएको छ ।
खासमा आजको मेरो खोज डिकेन्सको घर तर यो सुन्दर क्याथिड्रलसँग पो भेट भयो । खोज्दै छु डिकेन्सको घर । अझै भेट्दिनँ । ठानेकी थिएँ, टाउन सेन्टरमै होला । होइन पो रहेछ ।
खोज जारी छ ।
नेटले झुक्याइदियो । देखाएको थियो रोचेस्टर, केन्ट भनी डिकेन्सको ठेगाना । अनि, ठानेकी थिएँ, यही टाउन सेन्टरमै होला । अलिकबारको सोधखोजपछि बल्ल थाहा भो, रोचेस्टर पुग्नुभन्दा एक स्टेपअघिकै हाइयाम भन्ने स्टेसनमा पो झर्नुपर्ने रहेछ । अब नफर्की भएन । रोचेस्टर स्टेसनबाट फर्कने ट्ेरनमा चढ्छु । अलिक बिरानो मान्दै झर्छु हाइयाम स्टेसन । अबचाहिँ चाँडै नै डिकेन्सको घरमा पुग्ने आश पलाएको छ । स्टेसनबाट बाहिरिएपछि त तीनछक्क । सुनसान छ । घरहरू एकदम पातला । प्रत्येक घरका अगाडि चिटिक्कको बगैँचा अनि गाडी तर मान्छेहरू भने गायब । मान्छे भेटिने आशामा दृष्टि डुलाउँछु वरपर । अहँ, देखा पर्दैनन् । बरू देखिन्छ पाक्दै गरेको जौका पहेँलपुर सुन्दर फाँटहरू ।
अलमलमा छु । अब कता जाने ? कसलाई सोध्ने ? उफ डिकेन्सले फसाए । यसै बखत परबाट एउटी महिला आउँदै गरेको देखिन्छ । उज्यालिन्छ मन । नजिक आइपुग्नेबित्तिकै सोध्छु, डिकेन्सको घर कता होला ?
मैले आशा गरेजसरी नै बाटो बताइदिन्छिन् । त्यहीँबाट उकालो चढ्नुपर्ने रहेछ । लगभग २० मिनेट उक्लिएपछि माथि थुम्कोमा ग्याड्सहिल प्लेस भन्ने ठाउँ आउँछ, त्यहीँ छ रे उनको घर । तर, अचेल त्यहाँ म्युजियम केही छैन बरू एउटा स्कुलचाहिँ छ पो भन्छिन् । म्युजियम पो होला भन्ने ठानेकी थिएँ । अर्कै कुरा सुनियो । यति खबर दिने उनीप्रति सकेसम्मको आभार व्यक्त गर्छु अनि लाग्छु उकालो । घाम चर्को छ । सुनसान र एकदमै अपरिचित ठाउँको एक्लो हिँडाइ । सकस भएको छ तर चाहना मेरै हो । सम्झन्छु, मिस हभिसह्याम (डिकेन्सको चर्चित उपन्यास ग्रेट एक्सपेक्टेसन्सकी मुख्य पात्र, जो विवाहको पूरा तयारी भएपछि हुनेवाला लोग्नेले छाडिदिन्छ र जीवनभर नै त्यही पुरानो वेडिङ ड्रेस र एउटा मात्र जुत्ता लगाएर बसिरहन्छे)लाई ।
मिस हभिसह्यामको जस्तो सकस त पक्का छैन । चित्त बुझाउँदै निधारमा उम्रिएका पसिना पुछ्दै उक्लिरहन्छु । बाटाभरि पनि अघिको जस्तै चिटिक्क तर सुनसान घर भेटिन्छन् । कस्तो अचम्म !
मान्छे नै बस्दैनन् कि क्या हो यी घरहरूमा । बाटोमा पनि कोही भेट्दिनँ । केवल एक–दुई कार मलाई उछिनेर हुइँकिन्छन् । घाम भए पनि रूख झ्याम्म छ, त्यसैले शीतल छ । निकैबेरको हिँडाइपछि भने देखिँदै छ समतल ठाउँ, घरहरू, मानिसहरू अनि चर्चको चुचुरो । अबचाहिँ आइपुगियो भन्दै छ मन । तर, होइन रहेछ । म पुग्नुपर्ने ग्याड्सहिल त (एक जना मानिसलाई सोध्दा थाहा लाग्छ) अझै माथि पो पर्छ रे ! तिर्खाले व्याकुल छु । एउटा अफ लाइसेन्स (खुद्रा पसल)मा पस्छु पानी किन्न । पक्कै गोराको पसल होला ठानेकी थिएँ । तर, पसले देख्दा चकित । पसल त इन्डियनको पो । आज सबै थोक मैले सोचेको विपरीत हुँदै छ । जे होस्, कम्तीमा पसल भेटियो । पानी पिउन पाइयो । यही नै लाख भयो मलाई । हिँड्न सुरु गरेको २० होइन, ३० मिनेट नै भइसक्यो अब त । गाह्रो हुन थाल्दै छ ।
त्यस महिलाले भनेजस्तै अब टाकुरामै पुगिसकेँ । तर, डिकेन्सको केही नामोनिसान छैन । म बिलखबन्दमा परेकी छु । आजको दिन नै बित्न लागिसक्यो तर खोजेको ठाउँ भेटिन्न । ती महिलाले भनेको कुरा सम्झना हुन्छ । उनले डिकेन्सको घरमा त म्युजियम होइन, स्कुलचाहिँ छ भनेकी थिइन् । अबचाहिँ थाल्छु, स्कुल खोज्न । अलि पर रूखै रूखको माझमा एउटा घर देखापर्छ । म त्यतैतिर लाग्छु । नभन्दै एउटा सानो साइनबोर्ड झुन्डिएको रहेछ गेटमा, ‘वेलकम टू ग्याड्सहिल स्कुल ।’ ओहो मन त कति हो कति बेगिन्छ खुसीले । धकाउँदै गेट खोलेर भित्र पस्छु । चकमन्न छ । के भाको यस्तो आज कतै पनि भेट्दिनँ मान्छे !
वरपर नियाल्छु । शान्त वातावरणमा बोटबिरूवाले छोपिएको छ यो विशाल परिसर अनि भव्य घर । केही गाडी छन् । सुन्दर बगैँचा छ । केही कुर्सी पनि छन् । म थकाइ मेट्न बस्छु । केही बेर त भइसक्यो खोइ कोही पनि देखिँदैनन् । ढोका नढक्ढकाइ भएन । लम्किन्छु उतै । ढोकैको भित्तामा केही लेखिएको छ । नजर परिजान्छ । डिकेन्सका बुबाले उनलाई भनेका कुरा पो रहेछन्, ‘जब तिमीले आफूलाई सारा समस्याहरूबाट टाढा राखेर मिहिनेतसाथ काम गर्नुपर्ने हुन्छ, सम्भवत: तिमी यहीँ बस्न आउनेछौ ।’
उनका बुबाले भनेजस्तै हुन्छ । पोर्ट्समोथमा जन्मेर केही समय लन्डनमा बसे पनि टेल अब टू सिटिज, ग्रेट एक्सपेन्टेसन, डेविड कप्परफिल्डजस्ता ज्यादै चर्चित उपन्यास यहीँ बसेर लेख्छन् उनी । यही ठाउँमा गरेको सिर्जनाका कारण उनी जुगजुग बाँचिरहनेछन् । यस्ता महान् व्यक्तिले समय बिताएको यस परिसरमा टेक्न पाउनु मेरा लागि ठूलो सौभाग्य । यो ठाउँ खोज्न जुन दु:ख भोगेकी थिएँ, ती सारा कतै नेपथ्यमा बिलाइसके । गद्गद् छु । बेल बजाउन यसो लम्किँदा जिज्ञासा भरिएको नजरसहित ढोका खोल्छिन्, एउटी महिलाले । म अलिकति संकोचमा पर्छु । अर्काको प्रोपर्टीभित्र पसेर यसरी हेर्नु ठीक त होइन । म हतारहतार आफू आउनुको कारण खोल्छु । उनी मुस्कुराउँदै कुरो बुझाइदिन्छिन्, “यो चाल्र्स डिकेन्सकै घर हो । अहिले चाहिँ एउटा विद्यालय सञ्चालनमा छ यहाँ । तर, म्युजियम बनाउने निर्णय भइसकेको छ । स्कुल सार्न अलिकति समय लाग्ने भएकाले मात्रै ढिला भएको हो ।”
बल्ल पो कुरा बुझियो । यही घर त हो, जहाँ ५८ वर्षकै उमेरमा सन् १८७० मा डिकेन्सको मृत्यु भएको थियो । अब यो ठाउँमा त उनको म्युजियम बन्नैपर्यो नि ! उनी बसेको लन्डन हल्बर्नको घर भने पहिले नै म्युजियम बनाइसकिएको छ । अब यो घरमा पनि उनका धेरै कुरा संगृहीत हुनेछन् । (मेरो यात्रा सन् २०१३ को हो । यी तीनवर्षे अवधिमा सायद बनिसक्यो कि संग्रहालय !)
निकै समयपछि आज यो दूरदेशबाट त्यस समयलाई सम्झँदा मीठो अनुभूति भइरहेछ । यस्तो पनि लाग्दै छ, मजस्तै कोही न कोही अलमलिँदै, अल्झिँदै, सोध्दै, खोज्दै पनि पुग्दै होलान् डिकेन्ससँग आत्मीयता साट्न त्यो ग्याड्सहिलको गोरेटो ।