धच गोतामे : नभनिएका कुरा
धचको लेखन यति सटीक हुन्थ्यो कि सल्लाह दिने आवश्यकतै पर्दैन थियो ।

मेरो साहित्यिक जीवनमा मेरा तीनै दाइ धनुषचन्द्र, गोपालचन्द्र र ईश्वरचन्द्रको प्रभाव छ । यहाँ धनुषचन्द्र अर्थात् धच गोतामेबारे लेख्नुपर्ने भएकाले म त्यसैमा सीमित हुन्छु ।
धच गोतामे बन्नुअघि धनुषचन्द्र, धनुषचन्द्र गोतामेको नाउँले लेख्दथे । उनका कैयौँ अप्रकाशित हिन्दी कविताको एउटा कापी नै थियो वीरगन्जमा । त्यो कवितासंग्रहको शीर्षक उनले दिएका थिए, नीहारिका । शीर्षक बुट्टेदार किसिमले लेखिएको थियो । त्यो पाण्डुलिपि अहिले पाइन्न होला । तर, मैले पूरा पढेको थिएँ । प्रकाशित भएको भए ‘नीहारिका’ नै उनको प्रथम प्रकाशित कृति हुन्थ्यो । सुन्दर अक्षरमा, छायावादी–प्रगतिवादी प्रभावका ती कविता प्रभावकारी थिए । उनले पछि नेपालीमा लेख्न थाले । उनका केही रचना नेपालीमा प्रकाशित छन् तर अलि पछि । उनको मैले पढेको प्रथम प्रकाशित रचना ‘कहानीको प्लट’ थियो, जुन श्यामप्रसादको पत्रिका सेवामा प्रकाशित भएको थियो । त्यसबखत श्यामप्रसाद वीरगन्जमै थिए र त्यो पत्रिका ‘सेवा’ वीरगन्जबाटै प्रकाशित भएको थियो ।
मलाई लाग्छ, यो ००८/१० तिरको कुरो हो । केटाकेटी बेला नै भए पनि दाजुको कथा भनेपछि मैले रमाइलो मानेर पढेको थिएँ, धेरै नबुझे पनि ।
उनी राजनीतिमा ००४ सालतिरै लागेका हुन् । त्रिजुद्ध्र स्कुलबाट राणाविरोधी राजनीतिमा लाग्यो भनेर उनी र श्यामप्रसादलाई निष्कासित गरिएको थियो । त्यसपछि धनुषचन्द्रले भारतबाटै म्याट्रिकुलेसन उत्तीर्ण गरे । मुजफ्फरपुरको जीबीबी कलेजमा उनी आईए पढ्थे । पछिसम्म उनका किताबमा धनुषचन्द्र गौतम, जीबीबी कलेज, मुजफ्फरपुर लेखिएको हुन्थ्यो । अब त्यो कलेजको नाम फेरिएको छ ।
आईए गरेपछि धनुषचन्द्रको पढाइ केही वर्ष खण्डित भयो । ती उनका संघर्षका दिन थिए । उनी नेपाल कम्युनिस्ट पार्टीमा राम्रै तहसम्म पुगेका थिए । शान्तादेवीसित विवाहको केहीपछि सम्भवत: ००८/९ सालतिर उनी काठमाडौँतिर लागे । त्यहाँ पर्याप्त संघर्ष गरे । यहाँसम्म कि उनको दैनिक गुजारा पनि प्रभावित हुन्थ्यो । आफ्ना संस्मरणमा यो कुरा राम्ररी लेखेका छन् । त्यस्तो संघर्षका बीचसमेत उनले बीए र एमएको पढाइ सिध्याए । शिक्षकसम्म बने उनी । उनीकहाँ पछिसम्म पनि ट्युसन पढ्नेहरू आइरहन्थे ।
०१६ तिर सरकारी सेवामा प्रवेश गरेपछि उनको संघर्ष केही स्थिर भयो । अर्थात् ‘हाहाकार’बाट ‘टिउटिउ’ अवस्थामा आयो । आफ्ना सन्तानहरूका साथ जागिरे जीवनले धान्न अत्यन्त कठिन थियो तर उनी अगाडि बढ्दै गए । काठमाडौँको डुगमबहीलमा उनको डेरा थियो, जहाँ पछि म पनि थपिन पुगेको थिएँ । यहीँ आफ्नो लेखन प्रतिभा पनि उनले पुन: संयोजित गरे । यस पटक उनको प्रतिभा, कथा, कविताभन्दा समालोचना र अनुसन्धानात्मक लेखतर्फ लाग्यो ।
डुगमबहीलको घरमा धेरै साहित्यकार आउँथे । ती बसेर विभिन्न साहित्यिक कुरा गर्थे, जुन सुनेर म अत्यन्त लाभान्वित हुन्थेँ । केही लेखक उनलाई आफ्ना कृति पनि छोडेर जान्थे समीक्षार्थ । मैले कतिवटा नेपाली पुस्तक त्यहीँ पढेको थिएँ । धनुषचन्द्रको एउटा पुस्तकालय थियो, सानै । त्यहाँ नेपाली–हिन्दीका पत्रपत्रिका र पुस्तक हुन्थे । म ती सब पढेर पनि आफ्नो समय बिताउँथेँ । यस बखतसम्म वीरगन्जमै कैयौँ लेखकका हिन्दी लेखनी पढिसकेको थिएँ । त्यहाँ आएर तिनै लेखक सजिलोसित प्राप्त हुँदा मलाई झन् रमाइलो लाग्थ्यो ।
विजय मल्ल, आनन्ददेव भट्ट तथा अन्य कति लेखकका पुस्तक, धनुषचन्द्रकहाँ समीक्षार्थ आउँथे, धनुषचन्द्रले तिनको समीक्षा लेखे पनि, नलेखे पनि म भने ती पुस्तक पढ्थेँ । आनन्ददेव भट्टको एउटा पुस्तक ओमर खय्यामलाई जवाफ त मैले त्यहीँ पहिलो पटक पढेको थिएँ र आनन्ददेव भट्टसँग साहित्यिक रूपमा परिचय भएको थिएन ।
कन्या मन्दिर हाई स्कुलमा उनी शिक्षक थिए । त्यहीँ कृष्णचन्द्रसिंह प्रधान पनि शिक्षक थिए । परिचय पहिले नै हुँदो हो, त्यहाँ निकटता भयो । कुनै दिन कृष्णचन्द्रले धचलाई सल्लाह दिएका थिए रे, ‘तपाईं–हामीजस्ताले के कथा–कविता मात्र लेखेर बस्नू, समालोचना ठीक छ ।’ धनुषचन्द्र पनि समालोचना लेख्थे तिनताक । उनले समीक्षात्मक र अनुसन्धानात्मक कैयौँ लेख लेखे, ती चर्चित पनि भए । तिनमा एउटा शक्तिबल्लभको नाटक ‘हास्यकरम्व’बारेको अनुसन्धान र अर्को समकालीन नेपाली कविताको बृहत् अध्ययन निकै चर्चित भए ।
धेरैअघि हामी वीरगन्जमा खेलिरहेका थियौँ, कसैले कुरा गर्यो धनदाइले हृदयचन्द्रसिंह प्रधानको उपन्यासको समालोचना गर्नुभएको छ, त्यसको प्रतिउत्तरमा हृदयचन्द्रले पनि छापेका छन् आदि । मैले त्यो लेख त पढ्न पाइनँ तर धनुषचन्द्रको समालोचनाबारे पहिलो पटक थाहा पाएको त्यही थियो ।
त्यसबाहेक पनि उनले कथा र कविता पनि प्रकाशित गराए ।
उपन्यास घामका पाइलाहरू लेख्दा उनीसँग जीवनको अनुभव त छँदै थियो, पर्याप्त साहित्यिक अनुभव पनि थियो ।
उनले घामका पाइलाहरू लेख्ने जमाना अद्भुत थियो । यस बखतसम्म धनुषचन्द्रले आफ्नो साहित्यिक नाम धच गोतामे राखिसकेका थिए । त्यसकारण घामका पाइलाहरूको लेखक धच गोतामे भए । धच गोतामे राख्नाका विभिन्न कारण थिए, जसलाई उनले ‘संज्ञा–सर्वनाम’मा उल्लेख गरेका छन् ।
वीरगन्जमा प्राय: धच गोतामे, गोपाल गोतामे र म बस्थ्यौँ । धच हिजोसम्म लेखेको घामका पाइलाहरूको अंश सुनाउँथे । सल्लाह माग्थे । कहिलेकाहीँ दिन्थ्यौँ पनि । तर, उनको लेखन यति सटीक हुन्थ्यो कि सल्लाह दिने आवश्यकतै पर्दैन थियो । हामी त उनको लेखनलाई अभिभूत भएर सुनिरहन्थ्यौँ । उनी भन्थे, धुरे दंगल गर्ने होइन । उनैले हामीबीचको साहित्यिक चर्चालाई ‘दंगल’ नाम दिएका थिए ।
धच गोतामे बहुमुखी प्रतिभाका धनी थिए र उनीजस्तो ‘परफेक्सनिस्ट’ लेखक मैले कमै देखेको छु । कवितामा भूपी शेरचनको विम्ब–उपमा मलाई मन पर्छ भने गद्यमा धच गोतामेको विम्ब र उपमा उम्दा लाग्छन् ।
नेपाली साहित्यका एक अनुभवी साधक हुन् उनी । जे लेखे अनन्य साधक भएरै लेखे । उपन्यास लेख्नेताका उनलाई कसैले कथा–कविताबारे सोध्यो भने भन्थे, ‘अब अहिले खुद्रा लेख्दिनँ ।’
मलाई राम्ररी थाहा छ, घामका पाइलाहरूमा मदन पुरस्कार पाउनेमा उनी विश्वस्त थिए । मलाई अचम्म लाग्छ, विश्वस्त भएर लेख्नु र पाउनु, यस्तो लेखक मलाई थाहा छैन ।
म पुनामा विद्यावारिधि गर्दै थिएँ । बीचमा एक पटक काठमाडौँ आएर हिलभ्यू भन्ने होटलमा बसेँ । त्यहाँबाट दाजुकहाँ फोन गरेँ । भाउजूको आवाज सुनियो, “धुरुबाबुले थाहा पाउनुभएन ?”
“अहँ, के भाउजू ?”
“दाजुले मदन पुरस्कार पाउनुभयो नि !”
वास्तवमा मलाई थाहा थिएन । त्यसपछि म दाजुको घर बत्तीसपुतलीतर्फ लागेँ । वास्तवमा जुन उपन्यास घामका पाइलाहरूमा पुरस्कार पाइएको थियो, त्यसका समापन अध्यायहरू म अध्यनरत पुनाको डेक्कन कलेजमै धच गोतामेले लेखेका थिए । लेखिसकेको दिन दाजु–भाउजू, म, स्वस्ति, ईशान र शुभ्रता पूरा परिवार, अलिक पर रहेको शिव–कैलाश रेस्टुराँमा गएर सेलिब्रेट गरेका थियौँ । धचले नै लिएर गएका थिए ।
उपन्यासको अन्य समालोचकीय चर्चा म गर्न चाहन्नँ । त्यसको वर्णित इतिहास वीरगन्जको पनि इतिहासको हिस्सा हो । त्यो कुरा अब यथार्थमा छैन, केवल घामका पाइलाहरूमा भेटिन्छ, जीवन्त रूपमा ।
घामका पाइलाहरूका कतिपय पात्र उनले यथार्थ जीवनबाटै लिएका छन् । त्यसमा औपन्यासिक रङ भरेर ती पात्रहरूलाई जीवन्त र अमर बनाइदिएका छन् । कल्पनाको प्रचूरता छ । तापनि, उनले यथार्थ घटना, यथार्थ पात्रहरूलाई इतिहासबाट ल्याएर आफ्नो उपन्यासमा अविस्मरणीय बनाएका छन् । कहीँ नजानिँदो गरी आफैँ पनि कुनै पात्रमा प्रवेश गरेका छन् ।
घामका पाइलाहरूकी अणु एक काल्पनिक पात्र हो तापनि ऊबेलाको नेपाल रेल्वेको वातावरणले त्यो पात्र दियो । हुन सक्छ, यात्रुमध्ये नै कुनै दिन कुनै अणु रेलबाट ओर्लेकी होस् र धचले एउटा गज्जबको पात्रको निर्माण त्यसैको भरमा गर्नुपरेको होस् । अमलेन्दु भट्टाचार्य कोही हो भन्ने थाहा नभए पनि रेल्वेमा लोकोमोटिभ इन्जिनियरहरू हुन्थे, ती बंगाली पनि हुन सक्थे । तिनकै आधारमा हुन सक्छ, एउटा अमलेन्दु बनेको होस् । पवनमा त कति कुरा लेखकले आफ्नै पनि भरेका छन्, कति भने काल्पनिक छन् । धचको एक बखतको सवारी साइकल नै थियो, किशोरावस्थामा पवनलाई पनि साइकल चढेकै देखाइएको छ ।
अर्को उनको महत्त्वपूर्ण उपन्यास हो, यहाँदेखि त्यहाँसम्म । त्यसमा त झन् थुप्रै पात्रको यथार्थका आधारमा चित्रण गरिएको छ । संगीतकार कृष्णात्रे, भाखीजीजस्ता पात्र हुन् वा वीरशमशेरले तराईमा गराएको संगीत–समाजजस्तो घटना, सबमा यथार्थको आधार छ । कुनै पनि पात्र वा घटना जस्ताको तस्तै केही न केही भने आएको छैन । त्यसरी नै आएको छ, जसरी उपन्यासका लागि जरुरी हुन्छ ।
उनको लेखनको एक उल्लेखनीय विशेषता हो ‘बिट’ । यो ‘बिट’ त मैले धच जति कुनै लेखकमा पाउन बाँकी नै छ । कवितामा भूपीको ‘बिट’ जुन स्तरको छ, धचको गद्यमा त्यही स्तरको छ । त्यसको अर्को सटीक प्रयोग उनका हास्य–व्यंग्यात्मक रचनामा पनि पाइन्छ । मधुपर्कमा जब उनका केही हास्यव्यंग्य निबन्ध प्रकाशित भए, मेरो मान्यता छ नेपाली हास्यव्यंग्यमा केही नयाँ थपिएकै हो । उनको यो ‘बिटिनेस’ सर्वत्र फिँजिएको छ, उपन्यास, यात्रा–संस्मरण, कविता, यहाँसम्म कि उनको मैले पढेको प्रथम प्रकाशित कथा ‘कहानीको प्लट’मा पनि यसको प्रयोग गरिएको छ ।
धच गोतामेको लेखनका विशेषताहरू केलाइन त केलाइएको छ, अझ धेरै बाँकी छ । तर, यो जरुरी छ भन्ने ठान्छु ।
म मेरा दाइहरूबाट साहित्यिक रूपमा पनि धेरै प्रभावित छु । मेरो लेखकको निर्माणमा यिनको भूमिका छ । यिनीहरू साहित्यिक नभएको भए म लेखक बन्ने थिएँ/थिइनँ, भन्न सक्दिनँ । धनुषचन्द्रको डुगमबहीलको डेरामा जस्तो साहित्यिक चर्चा वा वातावरण पाइन्थ्यो, त्यो मेरा लागि एउटा सिंगो स्कूल बराबर छ ।
धच गोतामेको निधन १० वर्षअघि मंसिर महिनामा भएको थियो । त्यसको केही समयपछि धचका एक घनिष्ठ मित्र रामप्रसादसँग भेट भयो, दाजु उनलाई ‘रामजी’ भनेर सम्बोधन गर्थे । उनले भने, “मान्छे गएको त नराम्रै हो तर जानू त यसै गरी जानू ।”