नेपाली अर्थतन्त्रको सरल व्याख्या
यस पुस्तकको मुख्य कमजोरी भनेको पुस्तक लेख्दै गर्दा लेखकले प्रयोग गरेका सन्दर्भ सामग्रीको उचित व्यवस्थापन नहुनु हो ।
नेपाली अर्थतन्त्रसम्बन्धी नेपालीमै लेखिएका पुस्तक अत्यन्त कम छन् । गजेन्द्र बुढाथोकीको समकालीन नेपाली अर्थतन्त्रले यसको अभावलाई केही हदसम्म पूरा गरेको छ ।
यो पुस्तकमा समकालीन नेपाली अर्थतन्त्रका विभिन्न पक्षको चर्चा गरिएको छ । अर्थशास्त्र सामान्य मानिसले बुझ्ने भन्दा परको विषय हो र यसलाई बुझ्न अर्थशास्त्र मज्जैले पढ्नुपर्छ भन्ने भनाइको ठीक विपरीत, बुढाथोकीले सरल रूपमा नेपाली अर्थतन्त्रको विश्लेषण यस पुस्तकमा गरेका छन् । तर, यस पुस्तकले नेपाली अर्थतन्त्रसम्बन्धी नयाँ विचार र विश्लेषण दिन्छ भन्ने अपेक्षा राखेर पढ्ने पाठकलाई भने निराश बनाउँछ ।
१५ अध्यायमा रहेको यस पुस्तकका सबै विषय हामीले दैनिक पढ्दै सुन्दै आएका विषय नै हुन् । लेखकले तिनै विषयलाई आधार मानेर पुस्तक तयार गरेका छन् । यो पुस्तक अर्थशास्त्रका सैद्धान्तिकभन्दा व्यावहारिक र दिनानुदिन चर्चा गरिने विषयप्रति बढी केन्द्रित छन् । कुनै विषयलाई गहन रूपमा प्रस्तुत गर्ने भन्दा पनि नेपाली अर्थवृत्तमा चर्चामा रहने विषयको सरसर्ती र सरल व्याख्या यो पुस्तकमा पाइन्छ ।
समाजवादउन्मुख भनिए तापनि समकालीन नेपाली अर्थतन्त्र लाभखोर पुँजीवाद, मिलेमतो पुँजीवाद, सिन्डीकेटजस्ता विषयले चपेटामा परेको छ भन्ने लेखकको विश्लेषण नकार्न सकिँदैन । यी विषयलाई समाधान गर्न नीतिगत सुधारका सुझाव समेट्न सकेको भए पुस्तक उत्कृष्ट हुने थियो ।
पुस्तकले आत्मनिर्भर अर्थतन्त्रका आधार भनेर जलस्रोत, कृषि, खनिज, जडीबुटी, परम्परागत शिल्पजस्ता विषयलाई महत्त्व दिए पनि के यसबाहेक अन्य क्षेत्रमा लाग्दा नेपाली अर्थतन्त्र आत्मनिर्भर नहुने नै हो त भन्ने प्रश्न उब्जिन्छ । विश्व बजारीकरणको अहिलेको युगमा आत्मनिर्भर हुनेभन्दा पनि भ्यालु चेन (मूल्य शृंखला)मा समाहित भएर आफ्नो स्थान बनाउँदा पनि नेपाली अर्थतन्त्र आत्मनिर्भर हुन्थ्यो कि ?
पुस्तकले हामीले सधैँजसो चर्चा गर्ने ऊर्जा, जलविद्युत्, कृषि, वनसम्पदाजस्ता विषयमा लेखकको मन्तव्य समावेश गरेको छ । यस पुस्तकको सबल पक्ष भनेकै यसको सरल प्रस्तुति हो । लेखकले सकेसम्म सरलीकृत रूपमा पाठकलाई नेपाली अर्थतन्त्र र यसका आयामहरू बुझाउन प्रयास गरेका छन् । आर्थिक उदारीकरणपछिको नेपाली अर्थतन्त्र कुन अवस्थामा छ र यसका आयाम के के हुन् भन्ने विषयमा यो पुस्तकले यथेष्ट जानकारी दिन्छ । यीसँग सम्बन्धित नीतिको समीक्षा पनि छ ।
नेपाली अर्थतन्त्रका संरचनागत समस्या भन्ने अध्यायमा पुस्तकले उठाएका विषय समयसापेक्ष भए पनि पर्याप्त छैनन् । पुस्तकको सबैभन्दा महत्त्वपूर्ण अध्याय, विकास : विकृति र व्यवस्थापन हो । यस अध्यायले नेपालको विकासमा देखापरेका विकृतिको चर्चा गरेको छ । विकास आयोजनाको कार्यान्वयन, दातृ निकायमार्फत हुने खर्च, उपभोक्ता समितिमार्फत गरिने विकास नेपालको विकास प्रक्रियामा देखिएको विकृति हो भन्ने लेखकको भनाइ छ । यसै अध्यायमा नेपाललाई विकासको कुन मोडल उपयुक्त छ भनेर चर्चा गरिएको छ । सिंगापुर, मलेसिया र गुजरातमा अपनाइएको विकासका विभिन्न मोडलबारे लेखकले गरेको विश्लेषण प्रशंसनीय छ ।
पुस्तकले उठाएको महत्त्वपूर्ण विषय नेपालको अनौपचारिक र छाया अर्थतन्त्र हो । नेपालमा छाया अर्थतन्त्र र पुँजी पलायनसम्बन्धी लेखकले व्यक्त गरेको चिन्ता जायज छ ।
अर्थशास्त्रमा चासो राख्ने विद्यार्थीहरूका लागि यो पुस्तक सन्दर्भ पुस्तक हुन सक्छ भने नीति–निर्माण तहमा रहेका व्यक्तिहरूका लागि समेत यस पुस्तकले उठाएका कतिपय विषय महत्त्वपूर्ण छन् ।
लेखक यो पुस्तकलाई अझै विश्वसनीय र नेपाली अर्थतन्त्रसम्बन्धी राम्रो दस्तावेज बनाउने अवसरदेखि भने चुकेका छन् । यस पुस्तकको मुख्य कमजोरी भनेको पुस्तक लेख्दै गर्दा लेखकले प्रयोग गरेका सन्दर्भ सामग्रीको उचित व्यवस्थापन नहुनु हो । पुस्तकले हामीले के गर्न सकेका छैनौँ भन्ने विषयमा धेरै नै चर्चा गरेको छ तर नेपालको विकासका लागि ध्यान दिनुपर्ने कुरा के के हुन् भनेर यी कमै चर्चा गरेको छ । लेखकले यसको जिम्मा पाठकलाई नै सुम्पेको भान हुन्छ ।
पुस्तकमा लेखकले नेपाली अर्थतन्त्रसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाद्वारा प्रकाशित अध्ययन, रिपोर्ट र पुस्तकहरूले गरेका विश्लेषण र तथ्यांकको राम्रो प्रयोग गरेका छन् तर पुस्तकमा उल्लेख गरिएका कतिपय तथ्यांक र सन्दर्भ सामग्री सूची हेर्न चाहेमा सजिलै उपलब्ध हुनुपर्नेमा त्यसो गरिएको छैन । सन्दर्भ सामग्रीको सूची भएको भए पुस्तक अझ विश्वसनीय हुने थियो ।
समकालीन नेपाली अर्थतन्त्र
लेखक : गजेन्द्र बुढाथोकी
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : २५४
मूल्य : ३५० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...