शम्भुनाथ सम्झना
दुईजिब्रे माक्र्सवादीहरूको नेपालमा खाँचो थिएन । तर, भारतदेखि आएर शम्भुनाथले पनि त्यस्तै ‘परिचय’ दिए । सत्ताको स्वाद चाखीचाखी माक्र्सवादी हुने हरू यता पनि थिए, त्यताबाट त्यस्तै मान्छे आएका रहेछन् ।
उनले दोहोर्याइरहे, ‘माक्र्सवादीहरूले तीन कुरामा ख्याल गर्नैपर्छ– आत्मनिरीक्षण, संवाद र पुन:गठन ।’ उनको निष्कर्ष थियो, भारतीय प्रगतिशील साहित्य आन्दोलनमा त्यही तीन चीजको कमी छ । नेपालमा वामपन्थी लेखकहरूबीच हुने गरेको आपसी संवाद र सम्बन्धको चाहिँ उनले प्रशंसा गरे ।
चार वर्षअघि नेपाल आएका भारतीय प्रोफेसर तथा चिन्तक शम्भुनाथ नेपाली प्रगतिशील फाँटका लेखकका लागि एउटा आकर्षण थिए । इच्छुक सांस्कृतिक प्रतिष्ठानले उनलाई आफ्नो वार्षिक गोष्ठीमा सहभागी हुन नेपाल निम्त्याएको थियो । शम्भुनाथ भन्नासाथ उनको संस्कृति की उत्तर कथा पुस्तक सम्झना हुन्छ । नेपालमा वाम–पृष्ठभूमिका चालू पाठकहरूबीच यो पुस्तक चर्चित नै हो । निनु चापागाईंले अनुवाद गरेको र वेदनामा छापिएको उनको ‘उपभोक्तावादलाई प्रत्युत्तर’ शीर्षकको रचनामा पनि यता धेरैको ध्यान पुगेको थियो । यो निबन्ध त्यसपछि अरू केही साप्ताहिक, मासिक पत्रिकाले पुन:प्रकाशन गरे र अनूदित पुस्तकमा पनि संकलित भयो । यसरी चिनिएका/पढिएका लेखक आउँदैछन् भन्ने थाहा पाएपछि एक महिनाअघिदेखि नै गोष्ठी मेरो व्यग्र प्रतीक्षामा परेको थियो ।
प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा इच्छुक प्रतिष्ठानको ‘राष्ट्रिय संस्कृति र सांस्कृतिक साम्राज्यवाद’ विषयक गोष्ठी उद्घाटन भयो । शम्भुनाथले माक्र्सवादीले तीन कुरामा ध्यान दिनुपर्ने कुरा त्यहीँ दोहोर्याएका हुन्, आत्मनिरीक्षण, संवाद र पुन:गठन । कार्यक्रमको सुरुमै उनले भने, ‘नेपाल र भारतलाई दुई सपुतले जोडेका छन्, एक गौतम बुद्ध र अर्को भानुभक्त ।’ ‘भानुभक्तले नेपाल–भारतलाई कसरी जोडेका रहेछन् ?’ मेरो छेउमै बसेकी साथी विभूति भट्टराईले मेरो कानमा खुसुक्क सोधिन्, ‘यो त मैले बुझिनँ नि, संगीतजी ।’ ‘सुन्नूस्, सुन्नूस्, भन्लान् नि, कसरी जोडे ?’ मैले मञ्चतिरै इसारा गरेँ ।
त्यसपछि शम्भुनाथले केहीबेर गौतम बुद्धका बारेमा ‘ओरियन्टल’ व्याख्या गरे : पूर्वीय दार्शनिक, जिससभन्दा पनि अघिका, उनको नाममा किन संवत् नचलाउने, हामीलाई पश्चिमाहरूले आफ्ना दार्शनिक र आफ्ना मान्यता मात्रै कसरी थोपर्छन् आदि–आदि । उनले भानुभक्तको महत्त्वमाथि प्रकाश पार्न थाले, ‘भानुभक्त नेपालका महान् सन्त कवि हुन् । उनी राजतन्त्रका विरोधी र गणतन्त्रवादी कवि थिए । उनको साहित्यबाट भारत र नेपालको जनस्तरको सम्बन्ध बनेको छ ।’ अरे, यी नाथ के भन्दैछन् ? भानुभक्त गणतन्त्रवादी ?
हामी आश्चर्यचकित नै भयौँ । हलभरिका सहभागीले एक–अर्कातिर हेर्दै आँखा जुधाए । सबै चकितम् चकित । नेपालमा गणतन्त्र स्थापनाको आन्दोलनसँगै कला–साहित्यका क्षेत्रमा पनि गणतान्त्रिक चेतनाका बारेमा बहस हुन थालेका छन्, भर्खरै । अधिकांश ठूला भनिएका र स्थापित कविहरू कसरी राजतान्त्रिक चेतनाबाट दीक्षित थिए भन्ने अध्ययनहरू छिटफुट हुन लागेका छन् । शम्भुनाथको रचना अनुवाद गर्ने निनु चापागार्इंले गरिमामा लामो लेख लेखेर भानुभक्तलाई ‘सामन्तवादी कवि’ र ‘राजभक्त कवि’ भनेका थिए । तर, भारतबाट निम्त्याइएका ‘माक्र्सवादी पाहुना’ले माक्र्सवादीहरूकै बीचमा उभिएर भानुभक्तलाई नै राजतन्त्रविरोधी कवि भन्छन्, बाबै ।
उनले आफ्नो आप्तवाक्यलाई यसै छोडेनन्, सप्रसंग व्याख्या गर्दै भने, ‘ भानुभक्तको समय भनेको कठोर राजतन्त्रको बेला थियो । त्यो बेला राजालाई कविताको विषय बनाउनुपर्ने हुन्थ्यो । राजा–महाराजालाई नै नायक बनाएर कविता लेख्ने चलन थियो । तर, भानुभक्तले राजाको सट्टा मर्यादा पुरुषोत्तम रामलाई नायक बनाएर कविता रचे । यसकारण उनी राजतन्त्रविरोधी कवि हुन् ।’
शम्भुनाथले गोष्ठीभरि आफ्नो पुस्तकमै गरिएका तर्कहरू अघि सार्दै उपभोक्तावादी संस्कृतिको नकारात्मक प्रभावबारे सविस्तार चर्चा गरे । पुँजीवादले मान्छेको संवेदनशीलता मार्दै गरेका उदाहरण सुनाए । साम्राज्यवादले पूर्वीय मुलुकहरूमाथि सांस्कृतिक आक्रमण गरिरहेका विश्लेषण पेस गरे ।
***
प्रगतिशील लेखक संघले उनकै स्वागतमा थापाथलीमा भेटघाट आयोजना गर्यो । प्रलेसका तत्कालीन अध्यक्ष अमर गिरीले उनको स्वागतमा छोटो मन्तव्य राखेपछि शम्भुनाथ बोले ।
उनले भने, ‘यो उपभोक्तावादी समाजमा तपाईं कति चतुर हुनुहुन्छ, त्यही तपाईंको शक्ति हो । तपाईं कति धूर्त हुनुुहुन्छ, तपाईं त्यति नै ज्ञानी कहलिनुहुन्छ । ज्ञानको परिभाषा अब धुर्तताले लिएको छ, टापटिप गरेर गफ दिँदै हिँडे हुन्छ, किताबहरू पढिरहनुपर्दैन ।’
सुनेर हामी दंग थियौँ । तर, आफ्नो अघिल्लो दिनको वैचारिक प्रवचनको व्याख्या उनले यहाँ पनि दोहोर्याए । भानुभक्तलाई ‘क्रान्तिकारी’ कविका रूपमा पुष्टि गर्न खोज्दै भने, ‘भानुभक्तले तत्कालीन राजतन्त्रविरुद्ध उसको समानान्तरमा रामलाई नायक बनाएर काव्य लेखे । यो तत्कालीन राजतन्त्रविरुद्ध उभिने काम थियो । तसर्थ, उनी राजशाहीका विरुद्धमा थिए ।’
एक चरण त मलाई झोँक पनि चल्यो । यो शम्भुनाथ बूढाको के पारा हो ? भारतबाट आएर हामीलाई भानुभक्त क्रान्तिकारी कवि भन्ने उपदेश दिने ? एक झमट प्रतिवाद गरौँ कि भनेर चलमलाएँ पनि । तर, सुन्नेहरू सबै ध्यानपूर्वक सुन्दै थिए र मुसुमुसु हाँस्दै थिए । आफैँले डाकेका पाहुना न परे, हामीसँग त्यहाँ हाँस्नुको विकल्प थिएन । कहिलेकाहीँ हाँसेर पनि गलत विचारको प्रतिवाद गर्नुपर्दो रहेछ । यही सोचेर म पनि मुसुमुसु हाँसेँ ।
पछि अनौपचारिक छलफलमा केही साथीहरूले भानुभक्तलाई नेपालमा त्यसरी हेरिन्न है, कम्तीमा पनि माक्र्सवादी खेमामा त उनलाई परम्परागत कविकै रूपमा लिने चलन छ भनेर उनलाई अवगत गराए । उनको प्रवचन सुनेपछि मैले मेरा एक जना भारतीय साथी कविता कृष्णपल्लवीलाई सोधेँ, ‘यी शम्भुनाथ कस्ता मान्छे हुन् त्यता ?’ कविताले मलाई उनका बारेमा केही जानकारी लेखेर र केही उनीसँग सम्बन्धित समाचार र लेखहरूको लिंक पठाएर सहयोग गरिन् । पछि थाहा भयो, उनी लामो समय भारतीय संसद्वादी कम्युनिस्ट पार्टी सीपीएमको नजिक रहेर साहित्यकर्म गरेका रहेछन् । कलकत्ताको सत्ता दाहिने हुँदा यिनी त्यहाँको विश्वविद्यालयमा हिन्दीको विभागाध्यक्ष रहेका र सत्ताको सहयोग लिएर कलकत्तामै साहित्यको हिन्दी मेला आयोजना गर्दा रहेछन् ।
पश्चिम बंगालमा ममता बनर्जीको ‘बाढी’बाट संसदीय कम्युनिस्टहरू बढारिएको नेपालका जिज्ञासुहरूलाई पनि ज्ञान छ । कलकत्ता क्षेत्रका ‘माक्र्सवादी’ विद्वान्हरू कम्युनिस्टहरूलाई पाठ पढाइहिँड्ने पण्डितमा रूपान्तरित भइसकेका छन् भन्नेचाहिँ यता कमैलाई थाहा छ । शम्भुनाथ एउटा त्यस्तै पण्डित रहेछन् । कमलादी र थापाथलीमा उनले नेपालका माक्र्सवादीलाई पनि किस्ता–किस्ता उपदेश दिए । अरू त अरू नेपालको इतिहास र सभ्यताबारे पनि ‘ज्ञानदान’ गरेर अनि भानुभक्तबारे बिलकुल फरक तर्क गरेर यिनले नेपाली ‘नाथ’हरूलाई पनि उछिने । किनभने, नेपालमा भानुभक्तलाई गणतन्त्रवादी भन्ने आँट अहिलेसम्म कसैले गरेको थिएन ।
उनले गौतम बुद्ध र भानुभक्तलाई नेपाल र भारत जोड्ने ‘दुई पुल’ भने । त्यो उनको नेपालीको मन जित्ने बठ्याइँ थियो, मोदीको जस्तै । जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा बुद्ध जन्मस्थलको चर्चा गरेका थिए, त्यसरी नै शम्भुनाथले पनि जानीबुझीकन बुद्धको प्रसंग ल्याएका थिए । उनले बुद्धलाई नेपालको विभूति मान्दैनन् भन्ने पुष्टिचाहिँ उनी नेपाल आउनुभन्दा दुई महिनाअघि प्रकाशित ‘सभ्यता के आख्यान’ शीर्षकको लेखले गर्छ । ज्ञानोदय पत्रिकामा दुई किस्ता छापिएको १३ पृष्ठ लामो लेखको एउटा मुख्य भाग बुद्धसँग जोडिएको छ । तर, त्यहाँ कहीँ पनि उनले बुद्ध लुम्बिनी (हालको नेपाल)मा जन्मे–हुर्केको चर्चा गर्दैनन् ।
लेखको दोस्रो किस्ता भारतमा इसालाई केन्द्र बनाएर संवत् चलाइनु तर इसाभन्दा पाँच सय वर्षअघिका बुद्धको संवत् प्रचलनमा नहुनुको कारण साम्राज्यवादीहरूको प्रभाव हो भन्ने तर्कबाट सुरु गरेका छन् । यही तर्क उनले कमलादीमा पनि गरे । फरक के भने उनले कमलादीमा बुद्धलाई नेपालका विभूतिका रूपमा चर्चा गरे, लेखमा चाहिँ भारतीय सभ्यताका सन्दर्भमा मात्रै उल्लेख गरेका छन् । यो एक प्रकारको बौद्धिक बठ्याइँ हो, जहाँ जे बोल्दा प्रशंसा पाइन्छ, त्यही बोलिदिने मौकावाद ।
दुईजिब्रे माक्र्सवादीहरूको नेपालमा खाँचो थिएन । तर, भारतदेखि आएर शम्भुनाथले पनि त्यस्तै ‘परिचय’ दिए । सत्ताको स्वाद चाखीचाखी माक्र्सवादी हुनेहरू यता पनि थिए, त्यताबाट त्यस्तै मान्छे आएका रहेछन् । थापाथलीको जमघटमा उनले ‘दलित, महिला वा आदिवासीहरूले कहिल्यै साम्राज्यवादको विरोध गर्दैनन्’ भने । दलित, जनजाति, महिलालगायत उत्पीडित समुदायले आफ्नो हक खोज्न थाले भने साम्प्रदायिक वा जातिवादी भनेर सराप्ने चलन त यता पनि उस्तै छ ।
कवि राजु स्याङ्तानले शम्भुनाथलाई एउटा राजनीतिक प्रश्न गरे, ‘भारतमा मोदी उभारको कारण के हो ?’ जवाफमा यी चिन्तकको तर्क थियो, ‘मोदीको सफलता केन्द्रीयतावादीहरूको असफलता हो ।’ मोदीको उदय कर्पोरेट स्वार्थका कारणभन्दा कम्युनिस्ट वा कांग्रेसहरूको विकल्पका रूपमा भएको हो भन्ने उनको आशय देखिन्थ्यो । उनले भारतका सबै कम्युनिस्ट र कांग्रेससमेतलाई केन्द्रीयतावादी दल भन्दै आलोचना गरे । केही समय पहिलेको जनसत्ता पत्रिकामा उनले लेखेका थिए, ‘एलिट अहंवादका कारणले उत्तर भारतका जनतामा मोदीको लोकप्रियता बढेको हो ।’ उनको यस्तो तर्कको सीपीएमसम्बद्ध लेखक अरुण माहेश्वरीले आलोचना गरेका थिए ।
शम्भुनाथले अरू पनि केही रमाइला तर्कहरू गरे । ‘फेसबुकले कनेक्सन बन्छ, रिलेसन बन्दैन’ भन्दै प्रविधि–प्रयोगको विरोध गर्दा फेसबुकमा नपसेका वा यसको उपयोगिता नबुझेका सहभागीले कमलादीमा ताली पिटेका थिए । प्रलेसको कार्यक्रममा पनि उनले मोबाइल र ल्यापटप बोक्नेहरूलाई खिसीटिउरी गर्दै भने, ‘तपाईंसँग मोबाइल छ, फरवार्ड हुनुहुन्छ । मसँग कलम छ, म ब्याकवार्ड छु ।’ हरक्षेत्रको आफ्नो अन्तरविरोध हुन्छ र त्यसको द्वन्द्वात्मक गतिशीलता हुन्छ भन्ने विज्ञानको कखरा बुझेको मान्छेले प्रविधिको उपयोगिताबारे यस्तो निषेधात्मक धारणा बनाउँदैन ।
शम्भुनाथको प्रतिवाद साहित्यकार आहुतिले गरे, ‘सुरुसुरुमा वाष्प इन्जिन बन्दा त्यही फुटाउन गएका थिए मजदुरहरू । पछि मात्रै उनीहरूले बुझे, यो हामीले फुटाउने होइन, प्रयोग गर्ने चीज रहेछ । फेसबुक पनि त्यस्तै हो । बनाएको पुँजीपतिहरूले नै हो तर यसको उपयोग हामी माक्र्सवादीहरूले पनि गर्नुपर्छ, सके कब्जै गर्नुपर्छ ।’ आहुति भर्खर–भर्खर फेसबुकमा रत्तिँदै थिए । फेसबुकमा रमाउन नसकेका पाका लेखकहरूचाहिँ शम्भुनाथकै तर्कमा रमाएका देखिन्थे ।
भारतीय कवयित्री/संस्कृतिकर्मी कात्यायनीले एक अखबारमा लेखेको त्यति नै बेला मैले पढेको थिएँ, ‘साहित्य, कला र संस्कृतिका क्षेत्रमा अधिक सक्रिय र अग्रणी भूमिकामा रहेको बौद्धिक समुदाय अधिकांशत: विशेष सुविधाभोगी उच्च मध्यवर्गबाट नै आउँछ । त्यसमा जो कथित वामपन्थी छ, उसको चरित्र अझ घटिया अवसरवादी छ । किनभने, ऊ सबैभन्दा बढी शब्द–छल र मुद्रा–छल गर्छ । वास्तवमा यो असली वामपन्थी नै होइन । यो दुईरंगी, मेरुदण्डविहीन, कायर, पद–पीठ–पुरस्कार–लोलुप सामाजिक जनवादी हो, संशोधनवादी जडवामन हो ।’ कात्यायनीले शम्भुनाथलाई नै तोकेर भनेकी होइनन् तर शम्भुनाथको नेपाल आगमनमै मलाई त्यस्तो पढ्ने संयोग परेछ ।
भारतका भन्दा नेपालका माक्र्सवादीहरूले गरिरहने संवादको प्रशंसा पनि गरेका थिए शम्भुनाथले । यतिखेर यताका वामपन्थीहरूले पनि भन्न थालेको बेला छ– आत्मनिरीक्षण, संवाद र पुन:गठन । वाम–बाटो र एकता–संवाद झन् बढी चर्चामा चढेको बखत छ यता । तर, कात्यायनीका शब्दले मलाई अहिले झन् बढी घोचपेच गरिरहेका छन्– ‘बौद्धिक समुदाय जो कथित वामपन्थी छ, उसको चरित्र अझ घटिया अवसरवादी छ । किनभने, ऊ सबैभन्दा बढी शब्द–छल र मुद्रा–छल गर्छ, ऊ दुईरंगी र कायर छ ।’
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...