[पुस्तक समीक्षा] औसत महिलाको साझा संघर्ष
स–साना घरेलु सन्दर्भ र व्यवहारको वर्णनबाट कुनै समयको ग्रामीण नेपाल बुझ्न सघाउँछ ।
लालटिनको उज्यालोमा
लेखक : सरस्वती ज्ञवाली
प्रकाशक : अक्षर क्रियशन
पृष्ठ : २४४
मूल्य : ३२० रुपियाँ
नेपाली ग्रामीण महिलाका दु:ख के हुन् ? ‘अघि बढ्न’का निम्ति महिलाले के–कस्ता अप्ठ्यारा घुम्तीहरू छिचोल्नुपर्छ ? नेता–पत्नीका सुख–दु:ख के हामीले सोचेजस्तै हुन्छन् ? सरस्वती ज्ञवालीको आत्मकथा लालटिनको उज्यालोमा यिनै प्रश्नहरूको उत्तर खोजिएको छ । उनले सरल भाषामा आफ्नो पढाइदेखि बिहेसम्म र राजनीतिदेखि जागिर र परिवार सम्हाल्दाको दु:ख पस्केकी छिन्, जहाँ आफ्नो बढप्पन देखिएला कि भनेर उनी सतर्क देखिन्छन्, पतिको तारिफ होला कि भनेर सजग देखिन्छिन् । यो नै पुस्तकको सौन्दर्य हो । त्यसैले भन्नैपर्छ, एमाले नेता प्रदीप ज्ञवालीपत्नीका रूपमा मात्रै उनलाई बुझ्नु अन्याय हुन्छ । आफ्ना कैयन् सपनाहरूलाई एकातिर पन्छाएर, आफ्नै दु:ख र संघर्षको पहाडमा उभिएर परिवार धानिरहेकी सरस्वतीको जीवनयात्राको कथा हो, लालटिनको उज्यालोमा ।
बालखैमा बिहे गरिदिने परिवारको निर्णयसँग विद्रोह गरेकी, पढाइ पूरा गरेरै छाड्ने अठोट बोकेकी, पढाइ र राजनीतिलाई सँगसँगै अघि बढाएकी र बुहारी, आमा र राजनीतिक कार्यकर्ताको भूमिका सँगसँगै निभाउँदाका जटिलता झेलेकी सरस्वतीको उतारचढावले भरिएको जिन्दगी नै पुस्तकको सार हो । आफ्नो कथा भन्ने क्रममा उनले समकालीन महिलाका संंघर्षलाई पनि स्थान दिएकी छिन् । तर, त्यो पर्याप्त भने देखिँदैन । आफूसँग जोडिन आउने बग्रेल्ती पात्रको नाम यथेष्ट विशेषणबिना थोपर्नु पुस्तकको कमजोरी हो भने गुल्मी, पाल्पा र अर्घाखाँचीको भौगोलिक ज्ञान नभएका र उक्त भेगभन्दा बाहिरका पाठकले पढ्दा ठाउँ–ठाउँमा प्रस्टताको अभाव झल्किनु पुस्तकको खोट हो ।
स–साना घरेलु सन्दर्भ र व्यवहारको वर्णनबाट कुनै समयको ग्रामीण नेपाल बुझ्न सघाउँछ । साथै, एउटै समाजमा पुरुषका निम्ति राजनीति सजिलो र महिलाका निम्ति दुरुह हुनुको कारण देखाउँछ पुस्तकले । तर, राजनीतिक यात्रामा महिला र पुरुषलाई समाज व्यवस्था, परिवार र संस्कारले कसरी फरक पार्छ भन्ने देखाउन पर्याप्त तुलना गरिएको छैन । सरस्वतीले यस्तो तुलना गर्ने अवसरलाई छाडे पनि विभेदकारी पछौटे नेपाली समाजको चरित्र भने प्रस्ट बताएकी छन् ।
विभिन्न पात्र र प्रवृत्तिमाथि सरस्वतीले सतर्क भएर आलोचना गरेकी छिन् । पारिवारिक असली भूमिकाबाट टाढिएका आफ्नै श्रीमान्माथि उनले प्रश्न तेस्र्याएकी छिन् । तर, प्रश्नमा पनि धारभन्दा धेरै प्रेम मिसिएको छ ।
एक प्रसंगमा सरस्वतीलाई घरबेटीले भन्छिन्, ‘नानी लोग्नेमान्छेको मन त ढुंगाको हुँदो रहेछ । बच्चा यस्तो बिरामी हुँदा नआएको बाउ अरू बेला किन चाहियो ?’ घरबेटी आमैको तीखो भनाइ र श्रीमान्बारे समाजमा फैलिने अनेकन् अफवाह सुनेका बेला उनी लेख्छिन्, ‘मेरो त्यस्तो असल लोग्ने भएर पनि यिनीहरूले हेपे । बहुदल आएको यत्रा वर्षमा पनि मेरो लोग्ने यो हो भनेर कुनै दिन सँगै हिँड्ने मौका पाइएन ।’
३२ वर्षेे वैवाहिक सहयात्रा, एक्लै बिताएको ६ वर्ष, आठ वर्षदेखिको गृिहणी यात्रा–अनुभूति हो, यो पुस्तक । सरस्वतीको जागिरे हन्डरले औसत नेपाली महिलाको साझा संघर्ष बताउँछ । राजनीतिक फेरबदलले जागिरे जीवनमा पारेको अप्ठ्यारो, बौद्धिक अपांगता भएकी छोरी हुर्काउनुको जटिलता र संवेदित आमाको संवेदना/पीडा पुस्तकमा छाम्न सकिन्छ ।
आफैँ राजनीतिमा होमिएको र निरन्तर राजनीतिमा सक्रिय श्रीमान् भएकाले पनि सरस्वतीले राजनीति र खासगरी कम्युनिस्ट राजनीतिको चरित्रलाई केही हदसम्म उद्घाटित गरेकी छिन् । राजनीति कति क्रूर खेल हो भन्ने पुस्तकमा खुलाइएको छ । पार्टी विभाजनपछि प्रदीप ज्ञवालीमाथिको आक्रमण र उपचारका क्रममा देखाइएका व्यवहार र स्वास्थ्य–लाभको कामना गर्नसमेत कन्जुस्याइँ गर्ने कामरेडहरूको चरित्र पढ्दा राजनीति संवेदनहीन या दयाहीन रहेको भान हुन्छ । सरस्वतीले राजनीतिका साना घटनाहरूलाई पुस्तकमा ठाउँ दिएर नेपाली राजनीतिको चरित्र र यसमा अन्तरनिहित तत्त्वबारे आमपाठकलाई बुझ्ने मौका दिएकी छिन् ।
बदख्वाइँ गर्न समाचारको सहारा लिने प्रवृत्तिले कति दु:ख दिन्छ भन्नेबारे लेखेकी छिन् । तर, त्यस्ता पत्रिका कुन–कुन थिए भन्नेबारे भने उनले खुलाएकी छैनन् । अनेक सन्दर्भमा जोडिन आउने सबै पात्रको नाम खुलाउने लोभमा पुस्तकका केही पाठ कमजोर बनेका छन् ।
विविध सन्दर्भहरूको सिलसिलेबार वर्णनमा पुस्तक कैयन् ठाउँमा चिप्लिएको छ । कहीँ–कतै सन्दर्भहरू नदोहोरिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
जब आमा सरस्वतीको अनुभूति आउँछ, त्यतिबेला उनका शब्द कपासजस्ता हलुंगा र संवेदनशील बन्छन् । तर, राजनीतिज्ञ सरस्वतीको भाषा खस्रो छ । जब उनी प्रदीपकी श्रीमतीका रूपमा प्रस्तुत हुन्छिन्, उनको भाषा जिम्मेवारीको भारी बोकेर उभिएको महिलाको जस्तो देखिन्छ । आँसुको घुट्कासँगै अपमान पिएको, मुटु घोच्ने तीखा शब्दवाण पचाएको, दु:खका अनेकौं घुम्ती आइरहँदा पनि गतिवान् बनेकी सरस्वती आफ्ना विचारमा प्रस्ट छिन् । आफ्नो बुझाइको सत्यतामा अडिग देखिन्छिन् । उनीसँग भावनाको सघनता मात्रै छैन, विचारको प्रस्टता पनि छ । उनीसँग कर्तव्यको पहाड मात्रै छैन, त्याग गर्ने साहस पनि छ । उनी लेख्छिन्, ‘हाम्रो यात्राको डुंगाले हामीलाई कहिले पनि भावनाको छालमा बग्न दिएन ।’
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...