[निबन्ध] चुरुस
के मनबहादुरको मगज बिग्रेको छ ? नत्र उनले किन भन्छन्, “चार–पाँच सय वर्ष नै भयो होला, मैले चुरुस खान थालेको ।”
मनबहादुर चुरोटका पुरानै अम्मली हुन् । पहिलापहिला सुल्पामा तमाखु भरेर खाए ।
कुनै बेला बिँडी पनि खाए । अचेल चुरोट पिउँछन् । एक दिन कसैले सोध्यो, “मनबहादुर दाइ, तपाईंलाई सबैभन्दा मीठो लाग्ने कुरा के हो ?”
उनले एक सेकेन्ड पनि अबेर नगरी जवाफ दिइहाले, “चुरुस !”
हो, उनलाई चुरोटजति मीठो कुनै परिकार लागेन । उनलाई चुरोटजति उपयोगी वस्तु केही लागेन । उनलाई चुरोटजति भरपर्दो कोही लागेन । चुरोटले उनलाई सुखमा पनि र दु:खमा पनि साथ दियो । चुरोटले रोग लाग्दा सन्चो बनायो । दमले सास बटारिँदा चुरोट नै ओखती भयो । पेट मडारिँदा चुरोटले निको पार्यो । अनिदो रातमा चुरोटले नै मीठो निद्रा दियो उनलाई । पीर पर्दा चुरोटले नै मन हलुका बनायो । अनि, किन नभनून् उनले, “मेरो त जिन्दगी नै चुरुस हो ।”
के मनबहादुरको मगज बिग्रेको छ ?
नत्र उनले किन भन्छन्, “चार–पाँच सय वर्ष नै भयो होला, मैले चुरुस खान थालेको ।”
तर, उनी बहुलाएका हुँदै होइनन् । गाउँमा बस्ने सबैको तीनपुस्ते थाहा छ उनलाई । सबै घरको सुखदु:ख थाहा छ उनलाई ।
को कहिले जन्मियो, को कहिले मर्यो ? कसले कुन गाउँकी, कसकी छोरीसित बिहे गर्यो ? कसकी छोरी कुन गाउँका कसका छोरासित बिहे गरेर गई ? कसकी छोरी कति वर्ष भयो माइत नआएकी ? कसकी बुहारी कति वर्षपछि माइती गइन् ? गाउँमा पहिला कोसित कति मुरी फल्ने खेत या कति मानो बिउ जाने बारी थियो ? कसले कति मुरी मार्सी फलाउँथ्यो र कसले कति भेडा पालेको थियो ? ककसले, कहिले, कुनकुन साहूसित सापट लिए र ऋण तिर्न नसकेर कोको घरबार बेचेर सुकुम्बासी भए र कोको नफर्किने गरी इन्डियामा कुल्ली र दरबान बन्न गए ? को–कहिले मुग्लान भासियो ? कुन नेताले कति सालमा कुन चुनाव जितेको ? कुन नेता चुनाव जितेपछि गाउँ नै फर्किएर नआएको ? यति सबै कुरा सम्झने मान्छेलाई के बहुला भन्न सकिन्छ ? अहँ, सकिन्न ।
तर, उनले चार–पाँच सय वर्षदेखि चुरुस खाइरहेछु भन्ने कुरा फेरि पनि असंगत र बहुलट्ठी किन लाग्छ ?
तपाईं उनीसित सोध्नूस्, “तपाईंले चार–पाँच सय वर्षदेखि चुरुस खाइरहेको कुरा त मैले पत्याइनँ दाइ ।”
जवाफमा उनी थोते गिजा देखाएर खितित्त हाँस्नेछन् र भन्नेछन्, “साँचो कुरा पत्याउने जमाना अब कहाँ छ र ? हो, मैले चार–पाँच सय वर्षदेखि नै चुरुस तानिरहेको छु । दलमर्दन शाहले नुवाकोटका सेनापतिको टाउको काट्दा पनि मैले चुरुस तानिरहको थिएँ । ११ सय गोर्खाली सेना मकवानपुर चढाइ गर्दा पनि म चौतारोमै बसेर सुल्पा तानिरहेको थिएँ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गर्दा पनि मैले चुरुस तानिरहेको थिएँ । उनले कीर्तिपुर हान्दा पनि म यही गाउँको चौतारोमा बसेर चुरुस तानिरहेको थिएँ । मैले चुरुस तान्दातान्दै नेपालको सिमाना टिस्टादेखि किल्ला काँगडासम्म पुगेको हो । मैले चुरुस तानिरहेकै बेला जंगबहादुर जन्मिएको खबर पाएको हुँ । कोतपर्वका बेला पनि मैले चुरुसै खाइरहेको थिएँ । सुगौली सन्धिका नाममा नेपालको ठूलो भूभाग अंग्रेजलाई सुम्पँदा पनि मैले चुरुसै खाइरहेको थिएँ । कहिले ब्रिटिस लाहुरे भएर, कहिले भारतको सिपाही बनेर नेपालीहरु अनेक–अनेक लडाइँमा मरिरहेको खबर आइरहँदा पनि म चुरुसकै धूँवा उडाइरहेको थिएँ ।”
के उसो भए मनबहादुर चार–पाँच सय वर्ष बाँचिसके ? यसको जवाफ भने कसैसित छैन गाउँमा । किनभने, हरेक पुस्ताले जब गाउँमा आँखा उघार्यो, उसले त्यति बेलादेखि नै मनबहादुरलाई देखेकै हो । गाउँका हजुरबुबासरहका बूढापाकाले पनि भन्छन्, “मेरो बाजेले पनि मनबहादुरका अनेक किस्सा सुनाइरहन्थे । उनले उतिबेला पनि चुरुस खान्थे रे ।”
“मैले चुरुस तान्दातान्दै सात सालअघि कांग्रेसले क्रान्ति गर्यो । मैले चुरुस खाइरहकै बेलामा पञ्चायती व्यवस्था आयो । मैले चुरुस पिउँदापिउँदै बहुदल आयो । जनयुद्धका नाममा सेना र माओवादीबीच गोली हानाहान हुँदा पनि मैले चुरुस नै सल्काइरहेको थिएँ । राजा वीरेन्द्रको वंश सखाप हुँदा पनि म त चुरुसकै कस लिइरहेको थिएँ । मैले भर्खर चुरुस सल्काएर एक दुई सर्को तान्न मात्र के भ्याएको थिएँ, नेपालमा गणतन्त्र घोषणा भइहालेको थियो ।”
वाह ! क्या गजबका कुरा सुनाउँछन् मनबहादुरले ।
…
तर, मनबहादुरले झूटो भने बोलेकै होइनन् । नेपालको इतिहाससित उनको चुरुसको साइनो गाँसिएको ठीक साँचो हो । उनी नेपालका हरेक परिवर्तनका पक्का साक्षी हुन् । उनले धूँवा उडाइरहेकै ठाउँ वरपरबाट इतिहासका अनेक घटनाक्रम नदीझैँ सलल्ल बगेर गएका हुन् भन्ने कुरामा कसैले कुनै शंका व्यक्त नगर्दा हुन्छ ।
अचम्म भने लाग्छ, चार–पाँच सय वर्षअघि जन्मिएका मनबहादुरले आफ्नो जीवनकालमा अनेक राजनीतिक उतारचढाव देखे र भोगे । मान्छेमान्छेबीचको असमानता र विभेद हटाउने नाममा भएका अनेक परिवर्तन र लडाइँहरु देखे । परिवर्तनसँगै देशमा अनेक स्वादिला परिकारहरु पनि त आएकै हुन् । विभिन्न कम्पनीका बियर र रक्सी पनि त आएकै हुन् । मान्छेको जिब्रोमा हस्तक्षेप गर्ने अनेक चकलेट र बिस्कुटहरु पनि त आएकै हुन् । तर, उनलाई चुरुस मात्रै किन मीठो लागेको ? चुरुस मात्रै किन प्रीतिकर लागेको ?
अनि कसैलाई सोध्न पनि मन लाग्ला, “उहिलेदेखि अहिलेसम्मका कुनै राजा या नेताले किन उनलाई साथ नदिएका ? किन कोही आफन्त बनेर उनको दु:खदर्दमा साथ दिन नआएका र किन चुरोटलाई मात्र उनले आफ्नो सुखदु:खको साथी ठान्न बाध्य भएका ?”
प्रश्न सोध्यो, मनबहादुर थोते हाँसो छर्छन् र फेरि चुरोट तान्छन् । अनि, बुङबुङ धूँवा उडाउँछन् । उनको मुखबाट उडेको धूँवा उनकै शिरको ब्रह्माण्डमा गोलगोल घुमिरहन्छ । त्यही धूँवाबाट निर्माण हुन्छ एउटा विराट शून्य ।
के युगौँदेखि मनबहादुर हराइरहेको शून्य त्यही हो ?
…
“म चुरुस खाइरहेकै बेलामा पृथ्वीनारायण शाह आए र भने, हिँड् मने उपत्यका हान्न जाऊँ । बहादुर शाह आए र भने, हिँड् मने, हामी मिलेर नेपाल ठूलो बनाउन जाऊँ । एक सर्को चुरुस तानेको मात्र के थिएँ, भीमसेन थापा आए र भने, हिँड् मने मलाई नेपालको मुख्तियार बन्नु छ, तँ उपत्यका आइज र मलाई ९३ जना भाइभारदारको हत्या गर्न सहयोग गर् । म चुरुस खाँदाखाँदै जंगबहादुर आए र भने, हिँड् मने कोतमा आफन्तहरुलाई सिध्याउन जाऊँ । मैले चुरुस सल्काइरहेकै बेला विश्वेश्वरप्रसाद कोइराला आए र भने, मनबहादुर, तिमी पनि मसँगै क्रान्तिमा हिँड । मैले चुरुस खाइरहेकै बेला प्रचण्ड आएका हुन् र मलाई जनयुद्धमा लाग भनेकै हुन् । म नेपालका हरेक लडाइँ र हरेक क्रान्तिमा सहभागी भएको छु ।”
त्यसपछि उनले आफ्नो जिउबाट कमिज फुकाल्छन् र देखाउँछन् अनेक चोट । गोली र छर्राका अनेक घाउ । निधारमा देखाउँछन्, लात्ती र घुस्साका प्रहारले बनेका अनेक रङका दागहरु ।
लाग्छ, मनबहादुरले नपाएको कुनै चोट छैन । लाग्छ, मनबहादुरले नसहेको कुनै प्रहार छैन । लाग्छ, मनबहादुर नियतिका अनेक चोटपटक सहने मान्छेका रुपमा उभिएका इस्पात हुन् । लाग्छ, फलाम या वर्षांैदेखि अनेक यामका हावाहुरी र वर्षात सहिरहेका अग्राख हुन् ।
…
उनी चुरोटको धूँवा उडाउँदै बसिरहेका थिए । उनका छोरा आए र भने, “अब हामी खाद्यको चामल लिन लाइन बस्न जान्छौँ ।”
फेरि एक दिन नातिहरु आए र भने, “अब हामी पैसा कमाउन खाडी जान्छौँ ।”
छोराहरु खाद्यको चामलका लागि लाइन बस्न गएदेखि र नातिहरु खाडी गएदेखि उनको खेतले मार्सी फलाउन छाड्यो । नाति त खाडी हिँडिहाल्यो, छोरो भने खाद्यको चामलको रक्सी बनाएर खान थाल्यो । मनबहादुरले भात खान, पाउन छाडे र झन् बढ्ता चुरोट खान थाले । गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ भनेर जनता जगाउँदै हिँडेका पनातिहरु एकदिन मनबहादुरनिर आए र उनको खाट हटाउँदै भने, “यहाँ टिभी राख्नुपर्छ र भारतबाट आउने कौन बनेगा करोडपति हेर्नुपर्छ ।”
त्यसपछि मनबहादुरले ढाड टेकाउने गरेको भित्तोमा टिभी झुन्डियो र सुनाउन थाल्यो, ‘सारे जहाँ से अच्छा हिन्दोस्ताँ हमारा..’
मनबहादुरले चुपचाप टिभी हेरिरहे र चुरोटको धूँवा उडाइरहे ।
बाँझो खेत देखेर मन दुखाएका मनबहादुर एक दिन कस्सिए । उनी कोदालो बोकेर खेततिर लागे । खेत खने, सम्याए । सदरमुकामबाट बिउ किनेर ल्याए र चुरोट उडाउँदै फलाए केही मुरी धान ।
उनी ओठमा चुरोट च्यापेर धान काट्दै थिए, उनका अगाडि ठिंग उभिन आइपुगे अनेक रङका विदेशीहरु । कोट–पाइन्ट लगाएका विदेशी र तिनका एजेन्टहरु । तिनले धान माडिरहेका मनबहादुरका हात च्याप्प समाते र भने, “तैँले हाम्रो देशको बिउले फलाइस् यो धान । हामीलाई रोयल्टी चाहिन्छ ।”
मनबहादुरले दुई चार चुरोट दिएर फकाउन खोजे परदेशीहरुलाई । मानेनन् तिनीहरु । तिनीहरुले मनबहादुरको खेत कब्जा गरे । उनीहरुले लगे सबै धान । र, जाने बेलामा भने, “तिमीलाई आवश्यक पर्यो भनेफेरि हाम्रो बिउ किन्न आउनू । फेरि धान फलाउनू । फेरि हामीलाई रोयल्टी तिर्नू ।”
मनबहादुर जिल्ल परे र चुपचाप चुरोट उडाए । फेरि धूँवाको चक्कर बन्यो उनको शिरमाथिको ब्रह्माण्डमा । उनले त्यही ब्रह्माण्डमा उल्टोपुल्टो अनेक बल्ड्याङ खाए र फेरि आफ्नै गाउँको जमिनमा पछारिए ।
केहीअघि केही सुकिलामुकिला आए र चुरोट खाइरहेका मनबहादुरसित भने, “हामी तपाईंको घरसम्मै ल्याइदिन्छौँ समानता ।”
मनबहादुरले उनीहरुले भनेकै कागजातमा ल्याप्चे लगाइदिए ।
केही दिनपछि फेरि अर्कोथरी आए र भने, “हामी तपाईंको आँगनसम्मै समृद्धि ल्याइदिन्छौँ ।”
मनबहादुरले चुरोट तानीतानी तिनका कागजातमा पनि ल्याप्चे लगाइदिए ।
मनबहादुरका हत्केला हेर्ने हो भने देखिनेछन् चुरोटले पहेँलिएका औँलाहरु, कठोर श्रमले पारेका ठेलाहरु र कहिले पृथ्वीनारायण शाह, कहिले भीमसेन थापा, कहिले जंगबहादुर, कहिले बीपी बाबु र कहिले कमरेड प्रचण्डका आदेशमा लगाएका अनेकन ल्याप्चेका दागहरु ।
अचम्म नमान्नूस्, बस् यति कुरो बुझ्नूस्, एउटै मनबहादुरको उमेर चार–पाँच सय वर्ष भएको हैन । ती त पुस्तौँदेखि समान दु:ख, समान पीडा र समान समस्या भोग्दै आएका मनबहादुरका अनेक पुस्ता हुन् । अनेक रुप हुन् । अनेक संस्करण हुन् । नियति नफेरिएपछि नाम किन फेर्ने ? नियतिले अनेक मनबहादुरलाई एउटै मनबहादुर बनाएको छ ।
(गरिबहरुलाई नामले कहाँ चिनिन्छ ? तिनीहरु त नियतिले चिनिन्छन् ।)
इतिहास फेरियो, भूगोल फेरियो, राजनीति फेरियो । मनबहादुरको के फेरियो ?
यही प्रश्न मनबहादुरलाई सोधियो भने उनले उसरी नै आफैँले सल्काएको चुरोटबाट उडेको धूँवाको ब्रह्माण्डमा हराउँदै जवाफ दिनेछन्, “केही फेरिएन । बस्, मैले पिउने गरेको चुरुसको नाम फेरियो हजुर ।”
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...