[निबन्ध] छ–पांग्रे ग्यास च्याम्बर
साँच्चै, सिन्डिकेट त तोडियो क्यारे ! तोडियो भन्छन्, तोडियो होला । खाँदिएर, गुम्सिएर यात्रा गर्नुपर्ने दु:खी नागरिकको बाध्यता तोडिएको छैन ।
म को हुँ ?
मान्छे हुँ कि इँटा हुँ ?
मान्छे हुँ कि भेडाबाख्रा हुँ ?
मान्छे हुँ कि गुन्द्रुक हुँ ?
कसैको कठालो समातेर गर्नुपर्ने प्रश्न हुन् यी । तर, व्यस्त छन् मेरा हात, बसको डन्डी समाउनमा ।
हरेक दिन खात लाग्छु, चाङ लाग्छु, हुलिइन्छु, कोचिइन्छु, च्यापिइन्छु, खाँदिइन्छु । अमानवीयकरणको एउटा प्रक्रियामा सरिक हुन्छु । यसरी यो देशको सार्वजनिक यातायात मलाई मान्छेबाट तल खसाल्न उद्यत छ ।
दालभातसहित जिन्दगीका यावत् धन्दा चलाउन म दिनमा ५० किलोमिटरजति गुड्छु । चार वटा बस चढ्छु । घर–अफिस, अफिस–घरको यो सतत चक्करमा कहिलेकाहीँ कवि पाशलाई सम्झन्छु ।
सबसे खतरनाक होता है
मुर्दा शांति से भर जाना
न होना तडप का सब सहन कर जाना
घर से निकलना काम पर
और काम से लौटकर घर जाना
सबसे खतरनाक होता है
हमारे सपनों का मर जाना ।
यो देशको सार्वजनिक यातायात मेरा सपनाहरु मार्न उद्यत छ ।
कहिलेकाहीँ मलाई गणित–प्रवीण बन्ने लहड चल्छ । हिसाब गर्न मन लाग्छ, मैले जीवनको कति समय बस कुरेर बिताएँ होला ? भरिलो बैँसमा मैले प्रेमिकाको त्यति प्रतीक्षा गरिना होला, जति म बसको प्रतीक्षा गर्छु ।
ठ्याक्कै तेइस वर्ष भएछ, सार्वजनिक यातायातको सिकार भएको । नियमित सिकार । यो काँठको बासिन्दा केन्द्र–काठमाडौँको सेवामा हाजिर हुन थालेको पनि एक जुग भयो । म त्यसरी नै उपस्थित हुन्छु सहरमा, जसरी युगौँदेखि सभ्य काठमाडौँले कोर्काली भन्ने काँठ दूध, सागपात, तरकारी, फलफूल बोकेर एकाबिहानै उसको दैलोमा उपस्थित हुन्छ । बस चढेर काँठ काठमाडौँ आउाछ, जसरी आउाछु म ।
सडकमा बस मात्रै गुड्दैन, झुन्ड–झुन्डको दादागिरी पनि गुड्छ, जसलाई सिन्डिकेट भनिन्छ । साँच्चै, सिन्डिकेट त तोडियो क्यारे ! तोडियो भन्छन्, तोडियो होला । लोकसेवा आयोगको परीक्षामा सोधिन सक्ने एउटा प्रश्नमा तोडियो होला– कसको कार्यकालमा यातायातको सिन्डिकेट तोडियो ? तर, व्यवसायीको मनोमानी तोडिएको छैन । खाँदिएर, गुम्सिएर यात्रा गर्नुपर्ने दु:खी नागरिकको बाध्यता तोडिएको छैन । हिजो पनि बस छ–पांग्रे ग्यास च्याम्बर थियो, आज पनि बस छ–पांग्रे ग्यास च्याम्बर नै हो ।
जिन्दगी संघर्ष हो । दुनियाँमा यो जति थोत्रो वाक्य कुन होला ? विश्वप्रसिद्ध व्यक्तित्वदेखि टोलवरिपरि चर्चा–सीमित–व्यक्तिसम्मका मुखबाट निक्लने यो अभिव्यक्तिको गुरुत्व र वजन कहीँ प्रमाणित हुन्छ भने बसमा हुन्छ । चढ्नु, हूलको हिस्सा हुनु, जीउ बंग्याएर उभिनु, पेलिनु र भएभरका असुबिस्ता र असुविधालाई आत्मसात् गर्नु...। जिन्दगी संघर्षबाहेक अर्थोक के हुन सक्छ ?
कुनै बेला हाम्रो काँठतिर एक टुक्रा जग्गा बेचेर भए पनि मोटरसाइकल किन्ने चलनैजस्तो बसेको थियो । बीस–बाइस वर्षअघि होला । त्यतिबेला मोटरसाइकलको नम्बर प्लेटमा बा.अ.फ. लेखिएको हुन्थ्यो । जसले जग्गा बेचेर बाइक चढ्यो, त्यसलाई हामी उडाउाथ्यौँ– ‘बारी अब फर्किंदैन ।’ जमिनप्रेमी आमाबाउले सन्तानलाई माटो बेचेर मोटरसाइकल किन जुटाइदिन्थे होलान् ? सायद ती आफ्ना सन्तानलाई बसबाट मुक्ति दिन चाहन्थे ।
बसलाई म ग्यास च्याम्बर देख्छु । बसलाई म ग्यास च्याम्बर भन्छु । छ–पांग्रे ग्यास च्याम्बर । चारपांग्रे ग्यास च्याम्बर पनि हुन्छ, माइक्रोबस ।
म रुट नम्बर २२ को यात्रु हुँ । नाम दक्षिणकाली यातायात । पुरानो बसपार्कदेखि दक्षिणकाली मन्दिरसम्म करिब २० किलोमिटरको यात्रा गर्दा (ग्यारेन्टी दिन्छु) बेहोर्ने हैरानी र पट्यारले तपाईंलाई लाग्नेछ– सहरबाट यति दूरदराजमा आइपुगियो कि अब भेटिइनेछन् आदिम गाउँबस्ती । तर, तपाईं फर्पिङमा हुनुहुनेछ, ऐतिहासिक नगरी फर्पिङ ।
पंक्तिकार हरेक दिन कवि पाशले खतरनाक तोकिदिएको अफिसबाट घर जाने क्रममा पुरानो बसपार्क पुग्छ । त्यसपछि सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कुलेश्वर, बल्खु, सुन्दरीघाट, चोभारगेट, चोभार डाँडो (जसलाई लभ डाँडो पनि भनिन्छ), हिमाल सिमेन्ट, चुन कारखाना, लप्सीको बोट, टौदह स्कुल, टौदह, पानी ट्यांकी, खहरे र मूलपानी डाँडा । करिब १० किलोमिटरको यात्रा । थप यति नै यात्रा गरेपछि पुगिन्छ दक्षिणकाली ।
दक्षिणकाली यातायातका बसहरु घुइँचोका लागि विख्यात छन् । एउटा बसमा कति मान्छे अट्छन् ? मैले आजका मितिसम्म भेउ पाउन सकेको छैन । अचम्मको गणित लागू हुन्छ, दक्षिणकालीको बसमा– ‘एउटा बसमा जति पनि मान्छे अटाउँछन् ।’ कोचाकोच मान्छे हुन्छन् र पनि कन्डक्टर भनिरहेको हुन्छ, ‘अलि–अलि सरौँ है, सरौँ ।’ ख्याल गर्नुभएको छ ? यो कन्डक्टर भन्ने जीव अचम्मको दृश्य शक्तिले लेस हुन्छ । जहाँ तपाईं चार अम्मल ठाउँ देख्नुहुन्न, त्यहाँ उसले चार जना मान्छे अटाउने ठाउँ देख्छ । देख्छ मात्रै होइन, अटाएरै छाड्छ ।
मंगलबार र शनिबार हामी बीच ठाउँका बासिन्दाका लागि दक्षिणकालीको बस चढ्नु युद्ध जित्नुबराबर हो । तपाईंलाई अलिकति कल्पनाशील बनाउने अनुमति दिनुहोस् । दिमागमा दृश्य खिच्न थाल्नुहोस् । (कुनै) शनिबार १० बजेतिर म सपत्नी तीन वर्षको छोरो बोकेर उभिएको छु, मूलपानी डाँडामा । षाण्चक्री साधन आउँछ, रोकिन्छ । हामी चढ्छौँ । बसभरि भक्तजन छन् । रातो टीकाले निधार ढाकेका, गलामा माला लाएका । लामो र्याकभरि भाकलमा चढाइएका कुखुराका भालेहरु लम्पसार छन् । बसभरि धर्मातीहरु छन् र हामी एक हातले डन्डी समाउँदै अर्को हातले अप्ठेरो गरेर छोरो बोकिरहेका छौँ । मेरी श्रीमती च्याँठिन्छिन्, ‘कसैले त (हाम्रो बाबु) बोकिदिए हुने नि ! वाँ’ भने धर्म गरेर आएका रे ! धर्माती रे !’
मलाई धर्मातीहरुको औकात थाहा छ । मलाई दक्षिणकाली मन्दिरको औकात पनि थाहा छ । अनि, प्रताप मल्लको पनि औकात थाहा छ । किंवदन्ती छ– नौ–दस वर्षकी बालिकालाई प्रताप मल्लले जबर्जस्ती करणी गर्यो । ती अबोधको मृत्यु भयो । पाप कटाउन प्रताप मल्लले दक्षिणकाली मन्दिर बनाउन लगायो । ‘दक्षिणकालीको बस सधैँ यस्तै हो’– हरेक यात्रुको एउटै टिप्पणी हुन्छ । सधैँ भीडग्रस्त, सधैँ च्यापाच्याप । तर, सत्य के हो भने सार्वजनिक यातायात बेथितिको ‘नेम’, ‘मिडिल नेम’ र ‘सरनेम’ तीनै थरी नाम भएकाले दक्षिणकालीको मात्र होइन, साँखु, थानकोट, कीर्तिपुर, सुन्दरीजल, भक्तपुर, बनेपा, लेले सबैतिरको बस सधैँ यस्तै हो । नेपालभरिकै बस सधैँ यस्तै हो ।
बसमा भीड छ । घुँडा कटकटी खाने सत्तरी वर्षीय वृद्ध उभिएका छन् । ढोलजत्रो भुाडी लिएर नौ महिनाकी गर्भवती उभिएकी छिन् । बिरामी उभिएका छन् । ‘अपांगता’ को पीडाले ग्रस्तहरु उभिएका छन् । म उभिएको छु । तपाईं उभिनुभएको छ । र, उभिएको छ एउटा प्रश्न । यो देशमा रेल कसलाई चाहिएको हो ?
मलाई त (सायद तपाईंलाई पनि) अलिकति सुबिस्ता दिने बस चाहिएको छ । यो देशका सडकभरि साझा यातायातका जस्ता ठूला र फराकिला बस चाहिएका छन् । ‘झार्ने, टिप्ने र दौडिहाल्ने’ महानगरका जस्ता बस चाहिएका छन् । झ्यास–पतिंगर यातायातका पत्करे डोकाजत्रा बसहरु चढ्दा–चढ्दा, तिनका देहभित्र खाँदिदा–खाँदिदा वाक्क भइसकेँ म । ‘चमेरे सिट’ (उभिएर बसको डन्डी समाइएको अवस्थालाई भुक्तभोगी यात्रुहरुले दिएको परिभाषित शब्दाबली) मेरो नियति बन्नु हुँदैन ।
डन्डी समातेर उभिँदा कहिलेकाहीँ म रोचक मनोदशामा पनि हुन्छु । भोल्तेयर भन्थे, ‘एउटै त क्रिस्चियन थियो दुनियाँमा, निर्दयीहरुले उसलाई पनि शूली चढाइदिए ।’ म पनि दुनियाँमा एउटै छु, आफ्नै खालको । मलाई पनि सार्वजनिक यातायातका गुण्डाहरुले...। तर, दैनिक हुने मेरो क्रुसिफिक्सन अलिक संकीर्ण र अलिक साँघुरो हुन्छ । म जिससले झैँ हात फिाजाउन कहाँ पाउाछु र ? बसको डन्डी समातेका हात खुम्चिएका हुन्छन् । खुट्टाको अवस्थिति चाहिँ मेरो पनि क्रसमा टाँगिएका जिससको जस्तै हुन्छ ।
कुनै बेला त उभिँदा–उभिँदा यति गाह्रो हुन्छ कि कसैले सिट छोडिदिन्छ भने बदलामा उसलाई सिंगै पृथ्वी दिऊँजस्तो लाग्ने ! तर, सिट छोडिदिने कसले ? बसभित्रको वर्गीय समाजमा उभिने र बस्ने दुई वर्ग हुन्छन् । सिटमा बस्नेहरु मोबाइलमा घोप्टिएका हुन्छन् । खै, कता पो सुनेँ– यो घोप्टे युग हो । घोप्टे युगमा सबै घोप्टिएका हुन्छन् । मोबाइलमा, ल्यापटपमा, ह्यान र त्यान ग्याजेटमा । अचेल बसमा कसैले पत्रिका पढेको देखिँदैन । घोप्टे युगकै करामत हो यो ।
तेइस वर्षमा बसका आकारप्रकार, रुपरङ कति फेरिए होलान् ! तर, तिनका भित्तामा लेखिइने दुइटा वाक्य जस्ताको तस्तै छन् । ‘पाकेटमारदेखि सावधान !’ र ‘ आफ् नो सामानको सुरक्षा आफैँ गर्नुहोला !’ पाँच सात वर्षयता बसहरुले पशुपतिनाथलाई चटक्कै छोडिदिए । नत्र हरेक बसमा ‘श्री श्री श्री पशुपतिनाथले रक्षा गरुन् !’ लेखिएका हुन्थे । सायद पशुपतिनाथबाट रक्षा र कल्याणका मामिला पार नलाग्ने सत्य बोध गरियो । अहिले अर्को एउटा वाक्य पनि हरायो– ‘हामी सबै मिलीजुली यात्रा गरौँ !’ मलाई मिलीजुलीको बिजोग देख्दा भाउन्न हुन्थ्यो । बसैपिच्छे यसका ह्रस्वदीर्घ फरक–फरक हुन्थे– ‘मीलीजुलि’, ‘मिलिजुलि’, ‘मीलीजूली’, ‘मिलिजूली’...। मैले मिलीजुलीका सहस्र रुप तथा औतार देखेको थिएँ ।
बसलाई म ग्यास च्याम्बर देख्छु । बसलाई म ग्यास च्याम्बर भन्छु । छ–पांग्रे ग्यास च्याम्बर । चारपांग्रे ग्यास च्याम्बर पनि हुन्छ, माइक्रोबस ।
हिटलरले लाखौँ यहुदी संहार गरेथ्यो, ग्यास च्याम्बर प्रयोग गरेर ।
मान्छेका रुपमा मेरा विभिन्न आयाम छन् । छ–पांग्रे ग्यास च्याम्बर प्रयोग गरेर मेरा ती आयाम संहार गरिँदै छन् । हाइड्रोजन साइनाइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यासको प्रयोगबिनै ।
हजारौँ ग्यास च्याम्बर सञ्चालन गरेको थियो, नाजी जर्मनीले । भनिन्छ– हिटलर ग्यास च्याम्बर निरीक्षण गर्न कहिल्यै गएन ।
यो देशका शासक पनि त बस चढ्दैनन् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...