‘नेपाल मामिलामा मोदी कमजोर’ – गुरचरण दास
नेपालप्रति मेरो ठूलो सम्मान छ । नाकाबन्दीपछि जनमानसमा भारतप्रति पैदा भएको वितृष्णाबारे पनि अवगत छु ।
तपाईंको नयाँ पुस्तकको शक्ति के हो ?
मानिसले अधिकांश अवस्थामा व्यक्त गर्न नसक्ने केही अतृप्त इच्छा हुन्छन् । तिनलाई आख्यान र गैरआख्यानका माध्यमबाट बाहिर ल्याउन उचित ठानेँ । कामसूत्र विशेषत: सम्भोगमा मात्र केन्द्रित छ भन्ने धेरैको बुझाइ छ । त्यो भ्रम पनि हटाउनु थियो । पुस्तक राम्ररी चलिरहेको छ । म सन्तुष्ट छु ।
पुराना कृतिको सफलताले नयाँको बिक्री चुलिन सहयोग गरेको हो ?
मेरा हकमा पक्कै हो । डिफिकल्टी अफ बिइङ गुड अत्यधिक रुचाइयो । यो लेखक राम्रो लेख्दो रहेछ भन्ने छाप सबैमा परेकैले अन्य पुस्तक पनि सफल भए ।
कसरी अथ्र्याउनुभएको छ कामलाई ?
कामको परिभाषा विशाल र विराट छ । यसलाई शिक्षाका रुपमा पनि लिन आवश्यक छ । मानिसका अनेकौँ इच्छा–आकांक्षा हुन्छन् । ती पूरा हुन नसक्दा पैदा हुने एक किसिमको तनावले उत्कर्ष छुँदै जाँदा त्यसले उसको मानसिक अवस्थामै असर पुर्याइरहेको हुन्छ । त्यस्तो अवस्थामा उसका अरु आयामका प्रगति सम्भवै छैन । त्यसैले कामलाई म मानिसको मानसिक स्वास्थ्य भन्न रुचाउँछु ।
यही विषय किन रोज्नुभयो ?
यस विषयमा पहिले नलेखिएको होइन । तर, ती सम्पूर्ण रुपले ज्ञानवद्र्धक लाग्दैनथे । पाठकले कुनै पुस्तक पैसा तिरेर किन्छ भने त्यसबाट थोरबहुत ज्ञान पनि पाउनुपर्छ भन्ने मेरो धारणा हो । यसअघि धर्मबारे द डिफिकल्टी अफ बिइङ गुडमा लेखेँ । अर्थबारे इन्डिया अन्बाउन्डमा लेखेँ । त्यसैले अहिले कामको विषय रोजेको हुँ ।
तस्बिरहरू : संजोग मानन्धर
उसो भए अब मोक्षबारे पनि लेख्नुहुन्छ होला...
लेख्दिनँ । किनभने, म मोक्षमा विश्वास गर्दिनँ । पुरुषार्थमा धर्म, अर्थ, काम र मोक्ष पर्छन् । तर, म सुरुका तीन मात्र मान्छु । तीबारे थप लेख्दै जाने सोच छ ।
पुस्तकको आवरणमा भएका फूलहरूको केही अर्थ छ ?
पक्कै छ । पाँच फूलले प्रेमका पाँच खण्ड बुझाउँछन् । तलको सेतो फूल पहिलो चरण हो, जसमा दुई व्यक्ति एकअर्काको नजिक आउँछन् र प्रेममा पर्छन् । त्यसैबेला हो, वासनाको जन्म हुने । माथिको रातो फूल दोस्रो चरण हो । त्यसमा उनीहरु आफ्ना अभिलाषा मनभित्र सीमित राख्दैनन्, एकअर्कासमक्ष अभिव्यक्त गर्छन् । आफ्नो सम्बन्धलाई मूर्त रुप दिने विषयमा सोच्न थाल्छन् । सबैभन्दा माथिको सेतो फूलको झुप्पाले ती दुईको आत्मीयता बुझाउँछ । यही चरणमा अधिकांश प्रेमी विवाहबन्धनमा बाँधिन्छन् । नीलो फूल तिनको सम्बन्धको निर्णायक समयको प्रतीक हो । प्रेम सधैँ एकनास रहँदैन । पश्चिमा मुलुकमा भएको भए ‘डार्लिङ, हामी अब डिभोर्स गरौँ’ भन्न सजिलो हुन्थ्यो । यहाँ अधिकांश अवस्थामा सन्तानको मोह र सामाजिक बन्धनले पनि मानिसलाई बाँधेर राख्छन् । त्यसैले नचाहँदा–नचाहँदै पनि सम्बन्धको आयु बढाउनेबारे यताका मान्छे सोच्छन् । पाँचौँ चरणमा त्यो इच्छा पनि मरेर जान्छ ।
पश्चिमाभन्दा पूर्वीय समाज कामका विषयमा संकुचित हो ?
अहिलेको सन्दर्भमा मात्र भन्नुपर्दा हो । महाभारतकालमा यस्तो थिएन । यस विषयमा सबै खुलेर कुरा गर्न सक्थे, केहीले रोक्दैनथ्यो । युधिष्ठिरले आफ्ना पितामह भीष्मसँग यस विषयमा निर्धक्क कुरा गरेको एक कथा छ । त्यति मात्र होइन, त्यस समयका महिला पनि यससम्बन्धी केही बोल्न हिच्किचाउँदैनथे । कामवासनासम्बन्धी इच्छामा खुलेर बोल्न सक्थे ।
त्यसो भए द्रौपदी र कर्णबीचको आकर्षणले किन मूर्त रूप लिएन ?
त्यहाँ प्रेम मात्र होइन, जातको पनि कुरा आयो । राजकुलका हुँदाहुँदै आमाले त्यागेका कारण कर्णले कहिल्यै राजर्षि जीवन अनुभव गर्न पाएनन् । ‘सुतपुत्र’ भनी सम्बोधन गरिन्थ्यो उनलाई । कृष्णले द्रौपदीलाई नसम्झाएका भए उनी सायद कर्णकै चयन गर्थिन् । कृष्णले कर्णलाई भने द्रौपदीको श्रीमान् हुने एक अवसर दिएका थिए । कौरवलाई त्यागी पाण्डवको पक्षमा आए कुन्तीको जेठो छोरा भएकै कारण द्रौपदीमाथि उनको हक लाग्ने लोभ देखाएका थिए । तर, कसैले नअपनाएका बेला दुर्योधनले एक राज्यको राजा नै बनाइदिएका कारण उनको मानमर्दन गर्न कर्णको मन मानेन । जात र निष्ठाका कारण त्यो आकर्षण आकर्षणमै सीमित भयो ।
नेपाली साहित्य पढ्नुभएको छ ?
नेपाली साहित्य खासै पढेको छैन । मन्जुश्री थापाका पुस्तक भने पढेको छु । म उनको फुपाजु हुँ । म एक कुशल लेखक पक्कै हुँ तर कुशल पाठक भने होइन । मलाई थाहा छ, एक राम्रो लेखक हुन थुप्रै अध्ययन आवश्यक छ । त्यसैले नेपाली साहित्य मात्र होइन, अन्य साहित्य पनि काम नपरी पढ्दिनँ ।
भारतले अपनाएको परराष्ट्र सम्बन्धलाई कसरी हेर्नुभएको छ ?
नेपाल मेरो ससुराली हो । त्यसैले यस देशप्रति मेरो ठूलो सम्मान छ । नाकाबन्दीपछि जनमानसमा भारतप्रति पैदा भएको वितृष्णाबारे पनि अवगत छु । नरेन्द्र मोदी एक कुशल प्रधानमन्त्री हुन्, त्यसमा कुनै सन्देह छैन । तर, परराष्ट्र सम्बन्धका विषयमा भने उनी कमजोर रहेछन् । उनले पहिले आएर चिल्ला कुरा गरे, सबैको मन जिते । अब जे गरे पनि नेपालबाट उनले त्यो सम्मान पुन: प्राप्त गर्न सक्ने छैनन् । म पाकिस्तानमा जन्मेको हुँ । भारत–पाकिस्तानको सम्बन्धबारे त सबै जानकार नै छन् ।
भनेपछि भारतले तपाईंलाई सहर्ष स्वीकार्यो ?
मेरा कृति भारतमा बेस्टसेलर छन् । नस्वीकारेको भए कसरी हुन्थे ? पहिले के भारत, के पाकिस्तान ! विभाजनअघि दुवै एकै थिए । विभाजनका बेला म चार वर्षको मात्र थिएँ । मेरो परिवारकी एक सदस्य विभाजनका समयमा मारिइन् । कुनै समयमा म ‘वान–नेसन’ को सिद्धान्तमा विश्वास राख्थेँ । अ फाइन फेमिली नामक मेरो पुस्तकको पात्र पनि सोही सिद्धान्तको पक्षमा छ । तर, अहिले सोच्दा जे भयो, राम्रै भयोजस्तो लाग्छ ।
डिफिकल्टी अफ बिइङ गुरचरण दास के होलान् ?
अरुका डिफिकल्टी जे हुन्, मेरा पनि तिनै हुन् । सुरुमा एक कम्पनीको मालिक थिएँ, अहिले पूर्णकालीन लेखक हुँ । पहिलेभन्दा अहिले गाह्रो छ । विभिन्न भाषाका पत्रिकामा मेरा लेख तथा विचार नियमित छापिन्छन् । यही जिम्मेवारीको डिफिकल्टी छ, बाँकी सबै ठीक छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...