युद्धको दस्तावेज
युद्धका सकस र कहरलाई नजिकबाट भोगेका नेपालीका लागि यो पुस्तक निकै आत्मीय लाग्न सक्छ । युद्ध जुनसुकै भूगोलमा मच्चिए पनि घाउ र आँसुको व्याकरण उस्तै हो ।
जब मनले कसैलाई भरोसा गर्न सक्दैन, तब मान्छेको अन्तिम विकल्प हुँदो रहेछ आत्मसंवाद । त्यही ऐकान्तिक आत्मसंवादको प्रतिफल हो- डायरी अफ अ योङ गर्ल । एन फ्य्राङ्क १२ जुन, १९४२ मा लेख्छिन्, ' प्रिय डायरी’ मैले आजसम्म कसैलाई भरोसा गर्न सकेकी छैन । आशा छ- तिमीलाई विश्वास गरेर म आफ्ना सारा रहस्य बताउन सक्छु । तिमी मेरो ठूलो सहारा हुनेछौ । सदा तिम्रो साथको कामना गर्छु ।' आफ्नो १३ औँ जन्मदिनमा बाआमाले दिएको डायरीमा एनले सारा लुप्त भावनालाई अक्षरमा अनुवाद गर्ने सोच बनाइन् । १ सेप्टेम्बर १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्धको रापतापमा यहुदी हुनुका नाताले एन परिवार पनि सन्त्रासको घेरामा थियो । किशोरजन्य रुमानी भावनामा बयेली खेलिरहेकी एनको दैनिकीमा ह्यारीको प्रवेश हुन्छ अचानक । स्कुलसँगै जाने त्यो लज्जालु युवकको प्रस्तावमा एन भन्छिन्- 'तिम्रो र मेरो बाटो एउटै हुन्जेल हामी सँगै जान सक्छौँ ।' दार्शनिक लाग्ने परिपक्व उत्तर दिने एनको दैनिकीमा एक महिनापछि नै अकल्पनीय मोड आउँछ ।
यो डायरी आठ जना यहुदीले भोगेको यस्तो समयको व्यथा हो, जो मृत्युको चेतावनीयुक्त कर्कश ध्वनि र जिउने आशाको त्यान्द्रोमा हल्लिरहेको छ । तर, एनको आशा छ- कुनै दिन यो धरतीमा परिस्थिति बदलिनेछन्, क्रूरताको अन्त्य भएर शान्ति छाउनेछ । डायरीका पाना जति पल्टिँदै जान्छन्, उति जातीय अहंमा उठेका युद्धसँग घृणा र आक्रोश उम्लिँदै जान्छन् । जातीय प्रभुत्व कायम राख्न ६ वर्षसम्म चलेको द्वितीय विश्वयुद्धमा ६१ देशले हिस्सा लिएको मानिन्छ । विश्वलाई नै सोभियत संघ र अमेरिका गरी दुई ध्रुवमा बाँडेको द्वितीय विश्वयुद्धलाई इतिहासकार जेम्स जालले 'हिटलरको युद्ध' भनेका छन् । प्रथम विश्वयुद्धका घाउ भुल्न नपाउँदै आइलागेको द्वितीय विश्वयुद्धले समाजका विभिन्न प्रशाखामा दूरगामी प्रभाव छाड्यो । स्थानान्तरण, विस्थापन, अभिघातदेखि नृंजातीय संघर्षका अनेक आयामसम्म त्यो महासमरलाई जोडेर हेर्न सकिन्छ । तर एन फ्य्राङ्कको यो डायरीलाई युवा जीवन र अलगावको कोणबाट बढी अध्ययन गर्न सकिएला ।
जर्मनीद्वारा पोल्यान्डमा आक्रमण गरिएपछि सुरु भएको द्वितीय विश्वयुद्धले मानवीय क्षति मात्रै गरेन, विश्व राजनीतिमा ठूल्ठूला मोड पनि ल्याइदियो । यसैको परिणाम हो- दार्शनिक जगत्मा विसंगतिवाद-अस्तित्ववादले खुट्टा घुमाउनु । जीवन र मृत्युका मूल्यमाथि अनेक प्रश्नचिह्न उठे । फ्रित्ज पापेनहाइमले द एलिनेसन अफ मोडर्न म्यानमा भनेका छन्- 'आधुनिक युद्धको विनाशपछि भावनाको पुनर्निर्माणभन्दा सहर र पुल, प्राविधिक उपकरण र आर्थिक-वित्तीय संस्थानको पुनर्निर्माण रफ्तारमा बढेको छ । द्वितीय विश्वयुद्धपछि युरोपबाट प्रकाशित अनेक रिपोर्टमा अन्य कैयौँ मुद्दामा मतभिन्नता होला तर त्यसमा मतैक्य पाइन्छ । विस्मयकारी शीघ्रतासाथ भौतिक पुनर्निर्माण गरे पनि यस्तो लाग्छ- निराशा र हताशाले युरोपीय चिन्तनलाई बलियोसँग पक्रेको छ ।'
राजनीतिसँग उति चासो नभएको चुल्बुले उमेरकी एनको दैनन्दिनी पनि अलगावमा फस्न पुग्यो, युद्धकै कारण । प्रेमको अर्थ बुझ्न खोज्दै गरेकी एउटी किशोरी 'गुप्त भवन' को चौघेरामा कैद भएपछिको दुई वर्षलाई पढ्दा पीडानुभूतिले भिज्छ पाठक । एनको बुबाकै कार्यालयमा साँघुरो क्षेत्रमा बन्दी आठ मनुवाका लागि प्रत्येक सास मुस्किल छ । खाना-समय सधैँ तनावपूर्ण रहे पनि कहिलेकाहीँ हँसीमजाक चल्छ, भान डानले 'बकम्फुसे' गफबाट मनोरन्जन दिन्छिन् । बाहिरी आकाशमा गोलाबारुदको आवाज सुन्दा लाग्छ- यी प्राणी फगत मृत्यु कुरिरहेका छन् । तर एनको एउटै कामना छ- शान्ति र स्वतन्त्रता । आफ्नै खोकी र हाच्छ्युसँग तर्सिनुपर्ने विवशताबीच एन आफैँसँग प्रश्न गर्छिन्- 'यहुदी वा गैरयहुदी कसैले म रमाइलो र मोजमस्तीकी भोकी किशोरी हुँ भन्ने कुरा बुझ्ला ?' कहिलेकाहीँ सोच्छिन्- 'हामी आठै जना आफैँप्रति दुःखी हुन थाल्यौँ भने के होला ? अमिलो र असन्तुष्ट अनुहार बस्न थाल्यौँ भने त्यसले हामीलाई कहाँ पुर्याउला ?'
विश्वप्रसिद्ध यो असाधारण डायरीमा एनको चित्र यस्तो छ- जिन्दगीलाई बेहद प्रेम गर्ने जिद्दी युवती, जो आफ्नी आमासँग स्नेह र नवोदित कामुकताका लागि संघर्ष गर्छिन् । आफ्नै असहनीय दुःखसँग लडिरहेकी एन बाहिरी असहजताप्रति पनि उत्तिकै संवेदनशील छिन् । न्यारेसनमा समेत निखार भएकी एनलाई लाग्छ- यसरी खुम्चिएर बाँच्नुभन्दा आफू र आफ्नो परिवार एकसाथ मर्न पाए हुन्थ्यो । एनको १५ औँ जन्मदिनको दुई महिनापछि सुराकीको सहयोगमा गुप्त भवनमा छापा मारिन्छ । गेस्टापोको आँखामा एनको डायरी परेन, जसलाई विश्वयुद्धको एउटा दस्तावेज भन्न सकिन्छ । युद्धको ज्वालाबाट बच्न सफल एनले टाइफसको महामारीमा परेर ज्यान गुमाइन् ।
खगेन्द्र गिरीद्वारा अनुवादित यो डायरीले दुई भाषाबीच सिर्जनात्मक अन्तक्रिर्या गराएको छ । युद्धका सकस र कहरलाई नजिकबाट भोगेका नेपालीका लागि यो पुस्तक निकै आत्मीय लाग्न सक्छ । युद्ध जुनसुकै भूगोलमा मच्चिए पनि घाउ र आँसुको व्याकरण उस्तै हो ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...