पिटरको संगीत नजर
दार्जिलिङमा अंग्रेजी संगीत सुनेर हुर्केका पिटर ६० को दशकको मध्यतिर नेपाल भित्रिँदा नेपाली संगीतको दायरा साह्रै सीमित थियो । नेपाली संगीतको सिंगो आकाश रेडियो नेपालले एक्लै थामेजस्तो थियो । संगीतको सबैभन्दा महत्त्वपूर्ण पाटो वाद्यवादन हेयको सिकार भएको थियो त्यो बेला ।
कुनै जमाना थियो दार्जिलिङमा, जहाँ अम्बर गुरुङलाई मियो बनाएर युवाहरु संगीत अभ्यास गर्थे । नेपालमा राजकीय सम्मान पाएका तिनै गुरुङका चेला पिटर जे कार्थकले दार्जिलिङ र काठमाडौँको संगीत–साइनोलाई उजागर गरेका छन्– नेपाली म्युजिकमेकर्समा । संगीतमा लामो अध्ययन र अभ्यास गरेका पिटर स्थापित उपन्यासकार हुन् । नेपाली र अंग्रेजी दुवै भाषामा पकड राख्ने पिटरको यो पुस्तकले उनको संगीतसँगको सामीप्य मात्रै खोलेको छैन, नेपाली सुगम संगीतको संक्षिप्त रेखाचित्र पनि कोरेको छ ।
अगमसिंह गिरीको शब्द ‘नौलाख तारा उदाए’ अम्बर गुरुङको स्वर–संगीतमा घन्किन थालेपछि नै दार्जिलिङ र नेपालको सांगीतिक सम्बन्ध गाँसिएको मानिन्छ । शेक्सपियरले भनेजस्तै संगीतमा यस्तो मोहकता हुन्छ, जसले एउटा खराब वस्तुलाई पनि असल रुपमा ढाल्न सक्छ र असललाई हानिकारक रुपमा । दार्जिलिङको पहाड, गाउँ, चिया बगानलाई गुन्जायमान गरे पनि यो गीत तुरुन्तै राजनीतिको प्यान्डोरा बक्समा परिणत भएको दाबी गर्छन् पिटर । उनी भन्छन्– ‘प्रवासी समुदायको विरोध गानलाई भारत सरकारले ‘एन्टी–नेसनल’ को रुपमा व्याख्या गर्यो ।’ भनिन्छ, ‘ नौलाख तारा’ कै कारण गुरुङले हुँदाखाँदाको सरकारी जागिर छाड्नुपर्यो दार्जिलिङमा । हुन त, प्रत्यक्ष सरकारी निलम्बनमा परेका थिएनन् अम्बर । यस्तै असहजताबीच ससाना सांगीतिक कार्यक्रममा खुम्चिएर बसेका गुरुङ राजा महेन्द्रको बोलावटबाट नेपाल आए । ‘नौलाख तारा’ लाई उठानबिन्दु मानेर दार्जिलिङ र नेपालबीच एक प्रकारको सांगीतिक जुहारी नै चलेको थियो । ‘फर्क है फर्क’, ‘नजाऊ फर्की नेपाल’ र ‘अल्झेछ क्यारे पछ्यौरी’ जस्ता गीतलाई नेपाली जातिको प्रवास यात्रा र पुर्ख्यौली भूमिमोहको अभिव्यक्ति मान्न सकिएला । भित्री चेला पिटरलाई अम्बरका सारा बहिखाता थाहा हुनु आठौँ आश्चर्य भएन । त्यसैले संगीतसम्बद्ध आफ्ना लेखमा बारम्बार अम्बरको नाम लिन्छन् उनी ।
आधुनिक नेपाली संगीतमा दार्जिलिङको अध्यायलाई झिकिदिँदा त्यो इतिहास नै अर्धमृत हुने ठहर मर्मज्ञहरुको छ । दार्जिलिङ बसाइमा संगत गरेका संगीतकर्मीहरु सम्झँदा पिटर नोस्ताल्जियाले भिजेका छन् । गोपाल योञ्जन, अरुणा लामा, पुष्प नेपाली, अगमसिंह गिरी, रञ्जित गजमेर, कर्म योञ्जन, तारादेवी, दिव्य खालिङ, बच्चु कैलाशजस्ता संगीतकर्मीसँगका रोचक घटनावलीका कारण पनि पुस्तक आकर्षक लाग्छ । नेपाली संगीतकी ‘नाइटिंगेल’ मानिने अरुणा लामासँग संगम क्लब आउजाउ गर्दा पिटरको बाक्लो सान्निध्य देखेर धेरैले अनेक अफवाह फैलाएछन् । तर अग्रज अरुणा लामा र आफूबीचको सम्बन्धबारे पिटरले स्पष्टीकरण दिएका छन्– ‘तिनीहरुलाई अरुणा र मबारे राम्ररी थाहा थिएन । हाम्रो सम्बन्ध पूरापूर ‘प्लेटोनिक’ थियो ।’ इन्द्रबहादुर राई, ईश्वरबल्लभका औपचारिक–अनौपचारिक चेला पिटरले विभिन्न ठाउँमा संगीत पढाए । लाग्छ, उनको नसा–नसामा सुरताल दौडिरहन्छ । लेखक वसन्त थापाको अनुरोधमा पिटरले ‘अदर इन्काउन्टर्सः दार्जिलिङ’ लेखेका छन्, जसमा शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बालगायत र स्वयं आफैँमाथि पनि पोट्रेट गरेका छन् । ‘अदर इन्काउन्टर्स’ मा ध्रुव केसी, माणिकरत्न, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, झलकमान गन्धर्वमाथि पिटरले खर्चेका शब्दमा अति नै कन्जुस्याइँ देखिन्छ । पिटरले यी संगीतकर्मीमाथि बरु अर्को पुस्तक लेख्न सक्थे । लाग्छ, एकाध अनुच्छेदमा यी संगीतकर्मीलाई खुम्च्याउनु एक खालको अपमानै हो ।
दार्जिलिङमा अंग्रेजी संगीत सुनेर हुर्केका पिटर ६० को दशकको मध्यतिर नेपाल भित्रिँदा नेपाली संगीतको दायरा साह्रै सीमित थियो । नेपाली संगीतको सिंगो आकाश रेडियो नेपालले एक्लै थामेजस्तो थियो । संगीतको सबैभन्दा महत्त्वपूर्ण पाटो वाद्यवादन हेयको सिकार भएको थियो त्यो बेला । वाद्यवादकलाई ‘अछूत’ देख्ने वर्णवादी दृष्टि व्याप्त थियो । उदार समाजमा हुर्केका पिटरलाई छुवाछूतग्रस्त समाज साँघुरो लाग्नु स्वाभाविकै थियो । अर्को समस्या थियो– यताका संगीत हस्तीलाई दार्जिलिङेले आफ्नो भाग खोसिदिन्छन् भन्ने शंका र भय । यस्तो परिवेशमा काठमाडौँमा टिक्नु लेउ लागेको ढुंगामा उभिनु बराबर मुस्किल थियो । तापनि अम्बर गुरुङलाई आदर्श मान्ने पिटरले काठमाडौँमै आफ्ना अभ्यास र ज्ञानलाई घोटिरहे । उनले सांस्कृतिक रुपमा समृद्ध त्यसबेलाको काठमाडौँलाई संगीतको कोणबाट मध्ययुगको ‘वेस्टल्यान्ड’ भनेका छन् ।
कुनै जातिको सांस्कृतिक इतिहासलाई मूल्यांकन गर्ने एउटा उत्तम कसी संगीत हो । मानव जातिको विश्वभाषा मानिने संगीतमा नेपाली इतिहास चिहाउने सानो आँखीझ्याल मात्रै यो पुस्तक बनिदियो भने पिटर जे कार्थकको सफलता माने हुन्छ । पढ्दा–पढ्दै अपुग लाग्नु यो किताबको सीमा हो किनकि अधिकांश लेख अखबारको शब्दसीमालाई ध्यानमा राखेर लेखिएका हुन् । पिटरको स्वीकारोक्ति छ– ‘यो पुस्तक मेरो व्यक्तिगत संस्मरण–संग्रह हो, न कि कुनै अर्थमा ऐतिहासिक अभिलेख ।’ तर यो पुस्तकलाई समाजशास्त्रीय अध्ययनको सन्दर्भ सामग्री बनाउन सकिन्छ ।
पुस्तक : नेपाली म्युजिकमेकर्स | लेखक : पिटर जे कार्थक | प्रकाशक : हिमाल बुक्स | पृष्ठ : २०८ | मूल्य : ८५० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...