(पुस्तक समीक्षा) सीमान्तवर्ती स्वर
महेश पौड्यालको कवितासंग्रह शून्य प्रहरको साक्षीका प्रायः कविता निराशावादी भए पनि तिनले सीमान्तका आवाज मुखरित गरेका छन् ।
महेश पौड्यालको कवितासंग्रह शून्य प्रहरको साक्षीका प्रायः कविता निराशावादी भए पनि तिनले सीमान्तका आवाज मुखरित गरेका छन् । पौड्यालका कविता रोमान्टिक कविहरुले भनेजस्तो स्वतःस्फूर्त जन्मिएका होइनन् । बरु यी कविता परिस्थितिका उपज हुन् । आफू बसेको समाज, देश र विश्व नै एक्लोपना, निराशा, अस्तव्यस्तता र अराजकतामा जकडिएका बेला कविले सिर्जना गर्ने कविता ती विशेषताभन्दा बाहिर जान कठिन हुन्छ । समाज विकृत हुँदा निराशा लेखिनु बाध्यता बन्दो रहेछ ।
गरिबका नाममा हुने व्यापार, श्रमिकलाई नै थर्काएर श्रमिकको कविता वाचन गर्ने, बाँच्न ‘जल्लाद’ को काम गर्नुर्पुर्ने बाध्यताको कथा, जातमाथि गरिएको राजनीति सबै निराशा बोकेका हाम्रै समाजका कथ्य हुन् ।
अरुको पीडा वा हर्षमा अरुचि देखाउनु आधुनिक समाजको विशेषता हो । थोरै सम्भावना अर्थात् जूनकिरीको उज्यालोमा बृहत् उज्यालोको सम्भावना देख्ने आधुनिक युगको विशेषता झल्काउने कविता र राम्रो मात्र देख्न खोज्ने हाम्रा आाखा पनि पोखिएका छन् । यस संग्रहमा समाविष्ट कविताले जीवन र मृत्युलाई चियाउने प्रयास गरेका छन् ।
कविले समयलाई बलवान् देखाएका छन् । ‘जन्मदिन’ कविता यसको उदाहरण हो, जसमा खराउ खसेर रथ रोक्न आग्रह गर्ने राजा ऋतुपर्णलाई सारथि वाहुकले त्यो सम्भव नभएको जानकारी गराउँछन् किनकि समय द्रुत गतिमा अघि बढिसक्छ, एकपलमा नै हजार योजन यात्रा भइसक्छ । मानव जीवन नाशवान् भएकाले घमन्ड गर्नु बेकार छ भन्दै आगोका लप्का वारपार गर्ने पुतली र मान्छेको चोलालाई तुलना गरेका छन् कविता मान्छे र पुतली’ मा ।
केही कवितामा कविले गाउँको र सहरिया जीवनको तुलना गरेका छन् र गाउँले जीवन राम्रो देखाएका छन् । गाउँमा बा–आमाका सपना डोकामा पनि अडिन्छन् तर सहरमा आँखाबाट चुहिन्छन् र झर्छन् भन्दै कविले सहरिया जीवनप्रति निराशा पोखेका छन् । मान्छे जति व्यस्त भयो, उति एक्लो हुन्छ भन्ने भाव बोक्छ कविता । त्यसैगरी कर्णालीलाई नै बेचेर विमान चढ्ने र त्यस क्षेत्रलाई नै अवहेलना गरेको प्रति उनको विमति छ भने श्रमिकका दुःखमा ऐक्यबद्धता छ ।
सबल पक्षका बाबजुद कविता संग्रहले केही प्रश्न उठाएको छ । कवितालाई एक बौद्धिक खेल मानिन्छ तैपनि कविताको लम्बाइबारे छलफल गर्दा यिनले विशेष परिभाषा माग गर्न सक्छन् । जीवनलाई अति निराश देखाउँदा पाठकलाई कस्तो प्रभाव पार्ला ? कवितामा नेपाल लेख्नुपर्छ भन्ने अभियन्ताले आफ्ना कवितामा कति नेपाल लेखेका छन् ? के नेपाल चिनाउने शब्द ‘सगरमाथा’ र ‘बुद्ध’ मात्र छन्, जुन उनका कवितामा बारम्बार दोहोरिएका छन् ?
डिजिटल समयमा लामा कविताका लागि पाठकको धैर्य कम हुँदै गरेको सत्यलाई दृष्टिगत गर्दै यी कविता लेखिएको प्रस्टै बुझिन्छ । साथै, जुनसुकै मुद्दामा पनि कवि प्रतिपक्षमा रहनु र सीमान्तका आवाज मुखरित गर्नु उनको सबभन्दा सबल पक्ष हो । प्रायः कवितामा उनले सीमान्तकृतका आवाज उठाएका छन्, जसबाट आम मान्छेका पक्षधर हुन् भन्ने बुझिन्छ ।
पुस्तक : शून्य प्रहरको साक्षी | स्रष्टा : महेश पौड्याल | प्रकाशक : शिखा बुक्स | पृष्ठ : १२५ | मूल्य : २०० रुपैयाँ |
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...