काठमान्डुको बैठककोठामा खोलो पसेपछि
‘हेलो सर, म त आइपुगेँ तपाईंको बैठककोठामा ।’‘के पारा हो भाइ तेरो ? यसरी अरुको घरमा बिनाअनुमति आउने हो ? यति असभ्य र अशिष्ट हुन मिल्छ ?’‘म खोला हुँ । खोलाले कल–बेल बजाउँदैन, सर !’
‘हेलो सर, म त आइपुगेँ तपाईंको बैठककोठामा ।’
‘के पारा हो भाइ तेरो ? यसरी अरुको घरमा बिनाअनुमति आउने हो ? यति असभ्य र अशिष्ट हुन मिल्छ ?’
‘म खोला हुँ । खोलाले कल–बेल बजाउँदैन, सर !’
‘के बजाउँछ त ?’
‘खोलाले त बाह्र बजाउँछ, सर ! जस्तो कि म तपाईंको बाह्र बजाउन आइपुगेको छु । तपाईं काठमान्डुले मलाई मिचेर, मेरो स्वच्छन्दतालाई, मेरो स्वतन्त्रतालाई, मेरो प्रवाहलाई निमोठेर मेरो बाह्र बजाइदिनुभएको छ । बाह्रको बदला बाह्र बजाउन म पनि पसेको छु, यहाँको बैठककोठामा ।’
‘दुई–चार हात मिचेको न हुँ । यसै पनि मेरो स्वभाव र प्रवृत्ति मिचाहा नै हो । मिचाहाले मिच्छ । काठमान्डु हुँ म । यति त मेरो अधिकारै हो । तैँले मैले तय गरिदिएको बाटोमा हिँड्नुपर्छ ।’
‘चिप्लेकिरा त आफ्नै बाटोमा हिँड्छ भने म त खोला हुँ, सर ! म अरुले तोकिदिएको बाटोमा हिँड् दिनँ । अरुले निर्धारण गरिदिएको मार्गमा हिँड्नलाई म न कसैको शिष्य हुँ, न कसैको कार्यकर्ता ।’
‘जमिन दिनदिनै गायब भइरहेको छ । तँलाई अलिकति मिचेर, च्यापेर, अँचेटेर थोरै जमिन हासिल गरेँ त मैले के बिराएँ ? त्यसमाथि तेरा खातिर शानदार पर्खाल लगाइदिएको छु, दायाँ–बायाँ ।’
‘यो जमिनको भोकले एक दिन तपाईंलाई खान्छ, सर ! अनि, पर्खालप्रतिको यो उग्र प्रेमले एक दिन तपाईंलाई किच्छ । मेरो एउटा प्रश्न छ ।’
‘भो गर्नुपर्दैन । काठमान्डुलाई प्रश्न मन पर्दैन ।’
‘प्रश्नदेखि किन यति डराउनुहुन्छ ? आत्मा सङ्लो नभएपछि यस्तै हो । देशमा अचेल किन यस्तो प्रश्नद्वेषी पर्यावरण बनाउनुभएको ?’
‘अनि शासन कसरी गर्नु त ? हरेक सवाल सत्ताका लागि एउटा खतरा हो । प्रश्नको अनुहारै, हेर् त भाइ, कति कुरुप छ ? हँसियामुन्तिर सानो टिकी ! टिकीलाई मेट्ने हो । हँसियाविरुद्ध तरबार चलाउने हो । र, निष्कण्टक राज गर्ने हो ।’
‘ताज्जुब लाग्छ, यति घटिया सोच बोकेर पनि कोही बाँच्न सक्छ !’
‘बाँचेको छु, बाँच्नेछु युगगुगसम्म । अब तँ जा भाइ । थाङ्ने गफमा रमाएर बस्ने फुर्सद छैन मलाई ।’
‘तपाईं काठमान्डु किन कोहीसँग संवाद गर्न रुचाउनुहुन्न ? म त संवाद गर्न आएको हुँ । वर्तमानको दुःख बताउन आएको हुँ, भविष्यको मन्त्रणा गर्न आएको हुँ । रित्तो हात के आउनु भनेर अलिकति बाढी कोसेली लिएर आएको हुँ ।’
‘यही त तेरो गल्ती भो, भाइ । मकहाँ पनि बाढी लिएर आउने हो ? काठमान्डुलाई बाढी सुहाउँदैन ।’
‘बाढी कसलाई सुहाउँछ त ?’
‘बाढी त तराईलाई सुहाउँछ । ऊ त बाढीसँगै खाइखेली गरेर हुर्केको हो । तँ त तराईतिर पो छिर्नुपर्छ । फुसका झुपडी बगाउनू, गरिबका घरखेत बगाउनू, वस्तुभाउ बगाउनू, गरिबलाई बगाउनू...’
‘साँच्ची, अरु के–के सुहाउँछ मधेसलाई ?’
‘आगलागी सुहाउँछ, शीतलहर सुहाउँछ, सर्पको डसाइ सुहाउँछ...’
‘ताज्जुब लाग्छ, यति विषाक्त सोच बोकेर पनि कोही बाँच्न सक्छ !’
‘बाँचेको छु, बाँच्नेछु युगगुगसम्म । भो पुग्यो भाइ, अब । तेरो ‘नोट अफ डिसेन्ट’ दर्ता भइहाल्यो । जा अब । मेरो मुड खराब भइसक्यो । झन् आजको दिन रमाइलो गरुँला भन्ठान्याथेँ । दुई किलो मटन पनि लिएर आएको थिएँ । यसो दुई पेग ह्विस्की लगाउँला, मनसुनको मज्जा लिउँला भनेको त...। अनि, रतिक्रीडा पनि... सोचेको थिएँ... झरी परेको बेला...रतिक्रीडा दोब्बर स्वादिलो हुन्छ...। तैँले बिथोल्नुसम्म बिथोलिस्, भाइ !’
‘देशमा गर्भवती महिला एक फाँको सुक्खा च्युराका निम्ति तड्पिरहेका छन्...तपाईं भने...।’
‘ए भाइ, मेरो आफ्नै शासकीय लय छ, जो हत्तपत्त भंग हुँदैन । यस्ता साना–तिना आकस्मिकताले पनि छोयो भने त म काठमान्डु कसरी हुन सक्छु ? सिंगै देशलाई शोकधुनले छोपे पनि म त चुट्किला सुनेर, सुनाएर हाँस्न सक्छु । अँ, एउटा फ्रेस जोक छ सुन्छस् ? आइहालिस्, मस्त हाँसेर जालास् ।’
‘देशमा प्रहसनको महामारी चलेको छ भन्नुको मतलब हर कोहीलाई हाँस्ने सुविधा हुन्छ भन्ने होइन । तपाईं काठमान्डुलाई पो कार्टुन–क्यारेक्टर हुने छूट छ । म त खोला हुँ, जोकर होइन ।’
‘ठूलो कुरा गर्छस् ? राष्ट्रघाती... !’
‘म कसरी राष्ट्रघाती भएँ ?’
‘तँ कहाँ गएर मिसिन्छस्, हाम्लाई था’ छैन र ?’
‘तपाईं कहाँ गएर मिसिनुहुन्छ ? हाम्लाई पनि त था’ छ ।’
‘बढ्ता जान्ने पल्टिएर बहस नगर् । म थाकिसकेँ...।’
‘तपाईंका फोहोर, मयल, पाप, बदनियत बगाउँदा–बगाउँदा म झन् कति थाकेको हुँला ?’
‘मेरो बैठककोठामा छिरेको छस्, मैसँग विवाद गरिरहेको छस् । जो चोर, उसैको ठूलो स्वर !’
‘हो सर, यहाँको स्वर अत्यन्त चर्को र ठूलो छ । मेरो कानको जाली फुट्छ कि क्या हो ?
‘अब म सहन सक्दिनँ । मेरो अभिमान आहत भइसक्यो ।’
‘अभिमान कि अहंकार ?’
‘जे ठान्छस्, त्यही सही ।’
‘सर, यो संसारमा हरेक चीजको आयु हुन्छ । अहंकारको पनि हुन्छ । अहिलेलाई त म गएँ तर फेरि आउँछु । कुनै न कुनै स्वरुपमा आउँछु ।’
‘पर्वाह छैन मलाई ।’
‘हेरुँला काठमान्डु सर, कहिलेसम्म बेपर्वाह हुन सक्नुहुँदो रहेछ, तपाईं ?’
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...