(पुस्तक समीक्षा) बसाइँसराइ बयान
जनकराज सापकोटाको नेपाली उपन्यासमा बसाइँसराइ : दुःखदेखि दुःखसम्ममा ८ दशकयताको नेपाली समाजको बसाइँसराइको चित्रण छ ।
जनकराज सापकोटाको नेपाली उपन्यासमा बसाइँसराइ : दुःखदेखि दुःखसम्ममा ८ दशकयताको नेपाली समाजको बसाइँसराइको चित्रण छ । २० उपन्यासका पात्रले किन बसाइँ सर्ने मेलो गर्छन् भन्ने प्रश्नको मूल उत्तर खोज्नु लेखकको ध्येय हो ।
पुस्तकले नेपाली समाजमा रहेको बसाइँसराइको नयाँ पाटो उजागर गर्दै यसलाई नयाँ विधाका रुपमा उभ्याउने जमर्को पनि गरेको छ । वैज्ञानिक लेखनमा रुचि राख्ने पाठकलाई लाग्छ, पुस्तकलाई पूर्ण प्राज्ञिक बनाउन लेखकले बसाइँसराइका परिवेशमा निर्मित सिद्धान्त र दक्षिण एसियाली सन्दर्भका विभिन्न प्राज्ञिक अध्ययनलाई हाम्रो परिप्रेक्ष्यअनुसार दाँज्दै तथ्य र तर्कसाथ विश्लेषण गर्नुपर्थ्यो ।
केही क्लासिक नेपाली उपन्यासमाथि गरिएको अध्ययनमा समाजशास्त्रीय फ्रेमका मिहीन वर्णन छन् । उपन्यास चयनको आधार प्रस्ट नभए पनि यी पुस्तक नेपाली समाजको चरित्रको प्रतिनिधि हुन् भनेर चित्त बुझाउने ठाउँ छँदै छ ।
८० वर्षअघि र हालको नेपाली समाजको चरित्र कस्तो थियो, उतिबेला बसाइँ सर्नुपर्ने बाध्यता वा रोजाइ के थिए र अहिलेको परिप्रेक्ष्यमा पात्रले सोही काम किन र कसरी रोज्ने गरेका छन्, ती बाध्यता हुन् कि रोजाइ भन्ने बुझ्न छानिएका यी उपन्यासले सघाउन सक्छन् ।
पात्रहरुले बसाइँसराइ गर्नुको विभिन्न कारण पत्ता लगाउने र तिनको विश्लेषण गर्दा सापकोटाको जिरह आन्तरिक वा बाह्य बसाइँसराइको मुख्य कारण आर्थिक पाटो हो । समृद्ध भविष्यको खोजीमा पात्रहरु भवसागरको ऐँठनमा पर्छन् । उपन्यासका केही पात्र गाउँले साहूको शोषण र दमनबाट आजित भएर गाउँ छाडेर हिँडेका छन् भने केही कमाउने, रमाउने र धनी बन्ने सपना देखेर थातथलो छाडेका छन् । कोही तत्कालीन शासक वर्गको कोपभाजनमा परेर हिँडेका छन् । सामाजिक प्रतिष्ठा र आर्थिक हैसियत बलियो रहेका पात्रको विभिन्न प्रसंग केलाउँदै लेखकले सोतालाजस्ता उपन्यासको विश्लेषण गर्दै निर्क्योल गर्छन्, केही समृद्ध भए पनि तत्कालीन शासकले आम जनताको समृद्धि देखिनसहेर जनता बसाइँ हिँड्न बाध्य थिए ।
पुस्तकको निष्कर्ष छ, उपन्यासका पात्र जिन्दगीमा केही हात लाग्ने आकांक्षा पछ्याउँदै बसाइँ सर्ने गरेका हुन् तथापि यिनीहरुले अन्ततः दुःख नै भोग्नुपरेको छ, समृद्धि हात लाग्ने त परको कुरा । यस्ता दुःखका अनवरत शृंखला अन्त्य गर्ने लालसा ६२ वर्षअघि बसाइँ उपन्यासको पात्रमा देखिएको थियो, अहिले पनि उस्तै परिबन्दमा परेर विमानस्थलमा लाम लाग्ने १८ वर्षे कुनै नेपाली युवाको कथा पनि रुपमा खास भिन्न छैन, सारमा छ कि ! नेपाली समाजको दुःखहरणको सिलसिलामा यो ८० वर्षमा खास परिवर्तन के आयो त ? यसै प्रश्नको उत्तर खोज्न समाज विज्ञानमा रुचि राख्नेहरुलाई पुस्तकमार्फत आह्वान गरिएको छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...