सहनशील नै सफल
कुनै बेला टोनी ब्लेयरभन्दा उनकी श्रीमती चेरी ब्लेयर लोकप्रिय थिइन् । पहिलो पटक चुनाव लड्दा दुई जनाबीच सहमति भएछ- जित्नेले राजनीति गर्ने र हार्नेले घर सम्हाल्ने ।
र
कुनै बेला टोनी ब्लेयरभन्दा उनकी श्रीमती चेरी ब्लेयर लोकप्रिय थिइन् । पहिलो पटक चुनाव लड्दा दुई जनाबीच सहमति भएछ- जित्नेले राजनीति गर्ने र हार्नेले घर सम्हाल्ने । चेरीले हारिन् । टोनी राजनीतिमा होमिए । उनले पुराना साथी र मजदुर संगठनका तेजिला मानिसको सहयोगमा राजनीति हाँके । उनका यस्तै रोचक यात्रालाई समेटिएको छ, ब्लेयरमा । विभिन्न भागमा प्रकाशित यो जीवनीशृंखला तयार पार्दा हजारौँ वृत्तचित्र र सयौँ अन्तवार्ताको सहयोग लिइएको दाबी एन्थोनी सेल्डनको छ । ब्लेयरको जन्मदेखि प्रधानमन्त्रीसम्मको यात्रालाई रोचक शैलीमा चित्रण गरिएको किताबबाट युवा नेतृत्वले दुई पाठ लिन सक्छ । एक, मुलुकको समृद्धियात्रामा व्यक्तिभन्दा रणनीति नै प्रमुख कारक हुँदो रहेछ । दुई, एकै व्यक्तिले लामो समयसम्म सत्ता ओगट्नु हुँदैन । पुरानो परिपाटीबाट राजनीतिको रथ अघि नबढ्ने देखेपछि ब्लेयरले नयाँ पुस्ताको जोस र दृष्टिलाई राजनीतिको मूल प्रवाहमा निर्णायक बनाए । गोर्डन ब्राउनसँग नेतृत्व हस्तान्तरण गर्ने सहमति भएपछि तार्किक र स्पष्ट वक्ता ब्लेयर लेबर पार्टीको प्रमुख हुँदै प्रधानमन्त्री भए । तीन कार्यकाल प्रधानमन्त्री भएका लोकपि्रय ब्लेयरको दोस्रो कार्यकालदेखि ब्राउनसँग सम्बन्ध बिगि्रयो । सहमति कार्यान्वयन नभए पनि ब्लेयरले पूर्ण अधिकारसहित ब्राउनलाई अर्थमन्त्री बनाए । अब्बल अर्थशास्त्री तथा इतिहासविद् ब्राउनले बेलायतको अर्थतन्त्र सुधारिदिए भने ब्लेयरले फेरि मुलुकको बागडोर लिए ।
कम्युनिस्ट व्यवस्था होस् या लोकतान्त्रिक- जसले आफ्नो कुरा लागू गराउन सक्छ, उसलाई शक्तिशाली नेता मानिन्छ । आर्ची ब्राउनको द मिथ अफ द स्ट्रङ लिडरमा संसारका नेतृत्वका प्रकार र प्रभावबारे चर्चा गरिएको छ । ब्राउनका अनुसार नेता तीन प्रकारका छन्- लोकतान्त्रिक, फासीवादी र कम्युनिस्ट या सैन्य अधिनायकवादी । लोकतान्त्रिक नेतृत्व बदल्नु सामान्य कुरा भइहाल्यो । संसद्को सर्वोच्चता र सरकारबाहिरको दबाबका कारण त्यस्ता नेतृत्वलाई मनमौजी हुने छूट हुँदैन । मुसोलिनी, हिटलर, इदी अमीनजस्ता आफूलाई केन्द्रमा राखेर शासन गर्न खोज्ने फासीवादीहरुको चरित्रमाथिको विश्वव्यापी आलोचना हुने गरेको छ । उनीहरुसँग एक प्रकारको प्रणाली हुन्छ नै । जस्तो, हिटलर र मुसोलिनीका आ-आफ्ना पार्टी थिए । सैन्य अधिनायकवादी बाटोबाट सत्ता कब्जा गर्नेहरुसँग कुनै वैधानिक बाटो नभएकाले रोक्न मुस्किल हुन्छ ।
कम्युनिस्ट नेताले पनि पार्टीमा अरुलाई पेलेर नेतृत्व हत्याउने अभ्यास गरेका हुन्छन् । लेनिन, स्टालिन र माओलाई बलशाली नेता नै मानिन्छ तर उनीहरुले पनि मुलुकलाई कहाँ पुर्याए त ? बहुदलपछिका अदूरदर्शी नेतृत्वका कारण नेपालमा पनि ठूल्ठूला गल्ती भएका छन् । ब्राउनको ध्यान शक्तिशालीभन्दा सफल नेतृत्वमा देखिन्छ । सक्षम व्यक्तिलाई अधिकार हस्तान्तरण गर्न सक्ने आँटसहितको सहनशील र ग्रहणशील नेता नै सफल रहने उनको धारणा छ । दोस्रो विश्वयुद्धमा फ्र्याकंलिन रुजवेल्ट बितेपछि दोस्रो वरीयताका ह्यारी एस ट्रयुम्यान अमेरिकी राष्ट्रपति भए । कमजोर नेतृत्व भनिएका ट्रयुम्यानका कामलाई ब्राउनले प्रशंसा गरेका छन् । उनले अमेरिकामा उदार मूल्य-मान्यतालाई उचाइमा पुर्याएको मानिन्छ । हामीलाई पनि जनताका आवश्यताअनुरुपको प्रणालीको खाँचो छ न कि नेताको । लोकतान्त्रिक नेतृत्व नै सफल हुने निचोड किताबको छ ।
फ्रान्सेली मानवशास्त्री जेरार्ड टफिनले लामो समय नेपाल बसेर लेखेको पुस्तक हो, इम्याजिनेसन एन्ड रियालिटिजः नेपाल बिटविन पास्ट एन्ड प्रेजेन्ट । यस किताबले नेपालको इतिहास, सामाजिक संरचना र मानवीय व्यवहारबारे प्रस्ट पारेको छ । हाम्रो चाहना, धरातलीय यथार्थ, संस्कृति आदिलाई तिलाञ्जली दिएर कल्पनाको संसारमा मात्रै डुब्दा नेपालले भोगेको सकसलाई जेरार्डले सिलसिलाबद्ध व्याख्या गरेका छन् ।
भूकम्पीय विनास र यहाँ चलेका अनुमान/छलफल बिर्सेर अजंगका भवनप्रतिको हाम्रो मोहलाई लेखकले उल्लेख गरेका छन् । ०७२ को भूकम्पपछि पनि रातो स्टिकर हटाएर तला थप्ने हर्कत चलिरहेकै छ । जनताको जीउधनको रक्षार्थ काम गर्नुको सट्टा भ्युटावरको अग्लाइमा सरकारले आफ्नो अहं प्रदर्शन गरिरहेको छ । मानव स्वास्थ्य र प्राकृतिक वैभवलाई मिचेर राज्यले अदूरदर्शिता मात्रै उदांगो पारेजस्तो लाग्छ । आधुनिकीकरणमा फाल हान्दा हाम्रा सांस्कृतिक धरातललाई बेवास्ता गरिनु हुन्न भन्ने मूल आशय लेखकको देखिन्छ ।
जब राजनीतिले विगतको प्रणाली र आजको सामाजिक संरचनाबीचको मानवीय सम्बन्धलाई बुझ्न सक्दैन, तब समस्या जन्मन्छन् । हाम्रा संस्कार र प्रणालीमा रहेका सकारात्मक पक्षलाई चिन्न सकेनौँ भने भविष्यको बाटो अन्योलपूर्ण रहने अवधारणा जेरार्डको छ । नेवार समुदायसँग घुलमिल भएरै त्यस समुदायका अन्तरकुन्तर खोतलेका उनको लेखनीमा मानवशास्त्रका सैद्धान्तिक कसी मिहीन रुपमा आइहाल्छ । पुस्तकमा इतिहास र राजनीतिको अन्तरसम्बन्धलाई तथ्य र परिणामका आधारमा सूक्ष्म विश्लेषण गर्दै हाम्रा परिकल्पनामा रहेका कमजोरीसमेत छर्लंग पारिएको छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...