मध्यमवर्गीय गडबडी
कुनै कुनै शब्दले नबुझे पनि उत्सुकता जगाइदिन्छन् । त्यस्तै शब्द हो, 'घाचर घोचर' । 'कोड स्विच' जस्तो लाग्ने यो शब्दलाई पहिलो पटक कन्नडभाषी लेखक विवेक शानभागले उपन्यासमा प्रवेश दिए ।
कुनै कुनै शब्दले नबुझे पनि उत्सुकता जगाइदिन्छन् । त्यस्तै शब्द हो, 'घाचर घोचर' । 'कोड स्विच' जस्तो लाग्ने यो शब्दलाई पहिलो पटक कन्नडभाषी लेखक विवेक शानभागले उपन्यासमा प्रवेश दिए । विश्वका दुई दर्जनजति भाषामा अनुवाद भइसक्दा पनि यसले आफ्नो हुलिया बदल्नु परेको छैन, शब्दकोश पल्टाउनु परेको पनि छैन ।
निश्चित अर्थ नभए पनि घाचर घोचरले मोटामोटी त बताउँछ नै, मध्यमवर्गीय जीवनको गडबडी, सहरी व्याकरणको गडबडी या एउटा परिवारको गडबडी । अब थपिरहनु परेन, घाचर घोचर गडबडीको कथा हो । सन् २०१३ मा पहिलो पटक कन्नड भाषामा प्रकाशित अनि न्युयोर्क टाइम्स र द गार्डियनबाट सर्वश्रेष्ठ पुस्तकमा चयनित यो उपन्यास हालै नेपाली भाषामा उही शब्दमा ल्याएका छन्, युग पाठकले ।
दक्षिण भारतको बैंगलुरुमा एउटा संयुक्त परिवार छ - बाबुआमा, काका बैंकटचाला, दिदी मालती, पत्नी अनिता र लेखकसहितको । खासमा घरमूली लेखकको बाबु हुनुपर्ने हो । तर चियापत्ती कम्पनीको मामुली सेल्सम्यानलाई पहिलो दर्जा कसले दिने ? मध्यमवर्गीय परिवारको ड्राइभिङ सिटमा सोना मसलाको बोस बस्ने नै भयो ।
तेस्रो दर्जामा मात्रै छन्, आमा, मालती र लेखक । यिनले कमाउनेको खातिरदारी गर्नैपर्छ । उसका तमाममा व्याभिचारलाई नदेखेजस्तै गरी आँखा चिम्लिदिनुपर्छ । पहिलो नम्बरको काका अविवाहित छ तर हिमचिम धेरै महिलासित छ । उसका लागि मसुरको दालकरी लिएर आउने सुहासिनी नामक महिलालाई सँघारबाटै लखेट्छन्, आमा र मालती । आफ्नो गृहिणी दर्जा कुनै महिलाबाट विस्थापित नहोस् भन्ने मनोविज्ञान छ, आमामा । लोग्नेले दोकानमा धेरै समय दियो, आफूलाई दिएन भनेर माइती बसेकी छे, मालती ।
हैदरावादकी प्रोफेसरपुत्री अनिता खासमा सोना मसलाको डाइरेक्टर भन्ने भ्रममा विवाहबन्धनमा बाँधिएकी हुन्छे । तर हनिमुन उपहार किनमेल प्रकरणपछि उसले थाहा पाउँछे, लोग्ने अर्काको कमाइमा बाँचेको परजीवी हो । कफीहाउस धाएर जवानी बिताएको छ, बस् । अनिता क्रमशः विद्रोही हुँदै गएकी छ ।
परिवारमा कमाउने मान्छे सिर्फ एउटा काका छ । ऊ हुने - नहुने दुवै काम गर्छ । बूढो सेल्सम्यानको लगन, परिश्रम अनि नमिलेको जोडघटाउसँग परिवारका सदस्यलाई कुनै मतलब छैन । पतिसित मोहभंग भएकी अनिता सात दिनका लागि हैदरावाद गएकी छे तर र्फकने कुनै लक्षण छैन । बरु उसको सम्भावित दुर्घटना सोचेर बस्छ पति । सबका सब घाचर घोचर भएको स्थितिमा छ, लेखक ।
सोना मसलाको अस्तित्व नभएको भए त्यो परिवार के हुन्थ्यो ? मालती, लेखक वा अनिताको खुसी फलेफुलेको हुन्थ्यो पक्कै । उपन्यासमा कफी किङ, अन्नदाते, जुग्नु कुरकुरे, रानी एम आदि रमाइला उपनाम छन्, पात्रका । तिनको घर भने बारुदको थुप्रोमाथि बसेजस्तो विस्फोटक परिवेशमा छ । एकअर्कामा कटाक्ष, छेडखानी, घोचपेच अनि जवाफी फायर चलेको चल्यै छ ।
साँच्चै सहरी मध्यमवर्गीय जीवन लम्पट, खोक्रो र यान्त्रिक छ । मानवीय संवेदना क्रमशः मर्दै गएको छ । मानिसले पैसालाई होइन, पैसाले मानिसलाई नियन्त्रण गर्छ । रातारात धनी हुनेहरु जूनको उज्यालोमा पनि छाता ओढ्छन् । आफ्नो स्वार्थका लागि अर्कालाई बलि दिनु सामान्य ठान्छन् ।
घाचर घोचरले भारतीय समाजमा परिवार, विवाहजस्ता पुराना संस्थामा आएको १ सय ८० डिग्रीको अदलबदलबारे छर्लंग्याएको छ । यद्यपि उपन्यासका पात्रमा हाम्रै घरपरिवारको पनि छाया छ । उपन्यासमा सासू र बुहारीको रस्साकसी वास्तवमा आधुनिकता र परम्पराबीचको द्वन्द्व हो । प्रेम र धनको तनावले परिवार विघटनको सँघारमा छ । संयुक्त परिवारको धर्मराउँदो अस्तित्व, बुर्जुवा जीवनको भ्रम अनि सम्बन्धको दरार सटिक ढंगले देखाउन उपन्यास सफल छ ।
कफीहाउसबाट सुरु यो लघु उपन्यास कफीहाउसबाटै अन्त्य भएको छ । चित्रात्मक भाषामा लिखित यो आख्यान पुँजीवादी नैतिक पतनको दृष्टान्त पनि हो । घाचर घोचरको जुन अर्थहीनता छ, त्यही किसिमको विसंगत र निस्सार छ, जीवन ।
त्यसो त अनुवाद अब्जसी काम हो । कहिलेकाहीँ त्यो असफल प्रयत्न मात्रै भइदिन्छ । न मूल लेखकले चित्त बुझाउँछ, न त पाठकले नै । युग पाठक अनुवाद शिल्पमा अब्बल देखिएका छन् । कृतिको लेखनशैली, रोचकता र मिठास जोगाएर नेपाली स्वाद दिनु चानेचुने होइन ।
रुसी लेखक आन्तोन चेखबसित तुलना गरिएका लेखक शानभागले आश्चर्यजनक रुपमा सहरी त्रासदीको कथा भनेका छन् । कम्तीमा उपन्यास भनेको कथाको लम्बाइ होइन भन्ने बोध हाम्रा लेखकलाई समेत गराएका छन् । विवेक शानभागको लेखन-इन्जिनियरिङबाट हाम्रा लेखकले पनि केही न केही सिके हुने !
पुस्तक : घाचर घोचर | लेखक : विवेक शानभाग | अनुवाद : युग पाठक | प्रकाशक : सफू प्रकाशन | पृष्ठ : १२५ | मूल्य : ४०० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...