कान्तिपुरी, मोफसल र लाहुरे
राजनीतिक र साहित्यिक काल्पनिकीमा प्रभाव पार्ने नेपाल सहरको हेजिमोनी त्यही हो तर त्यसलाई हेर्ने पद्धति फरक छन् ।
इलामको देउमाई साहित्य भेला २३ चैत २०१५ मा मंगलबारेमा घनघोर पानी परेको दिन मैले प्रस्तुत गरेको थिएँ, यो संकथन । विशाल पानीले झोल्लिएको पालको पानी झार्दै बसेका साहित्यिक र त्यो ठाउँका युवाले मेरो प्रस्तुति अविचलित भएर सुनेको देखेर आफैँ तरल भएको त्यो दिन एउटा नबिर्सिने क्षण हो, मेरो साहित्यिक यात्राको । म अघि कहिल्यै नपुगेको त्यो मंगलबारे बजार र वरिपरिका हरित पहाड, चियाका बगान देख्दै भित्रदेखि शान्त तर किञ्चित बढी उत्साहले प्रस्तुत गरेको यो पूर्ण पाठ हो । प्रसंग मूल पाठमा पूर्ण राखिएका भए पनि यहाँ प्रकाशनको प्रयोजनका निम्ति छोटकरीमा राखिएका छन् ।
म इलामको देउमाईमा भएको यो भेलालाई ऐतिहासिक मान्छु किनभने यसअगााडि निकै वर्ष पहिले यहाँ लेखकहरूको भेला भएको थियो । सो भेलामा भाग लिन नेपालका सुविख्यात लेखक पनि यहाँ आएका थिए । आज त्यो इतिहासको सम्झना गर्दा महत्त्वपूर्ण कुरा अगाडि आउँछन् । त्यो सम्मेलनबारे अनेकौँ पाठ निस्केका छन् तर म यहाँ केही भिजुअलको प्रसंग ल्याउन चाहन्छु । र, मेरो प्रस्तुति ‘कान्तिपुरी, मोफसल र लाहुरे’ शीर्षकअन्तर्गत राख्नेछु ।
काठमाडौँमा इलामको साहित्य सम्मेलनमा भाग लिएका भनेर ख्यातिप्राप्त र अरू नेपाली लेखकहरूको एउटा फोटोग्राफ सफा र घुर्मैला अनेकौँ आकारमा लेखकले बनाएर राख्ने गरेका छन्, जसको कथा मैले सूर्य सुवेदीको ‘तीन तस्बिर’ (अन्नपूर्ण पोस्ट, ४ भदौ ०७३) मा प्रकाशित लेखबाट थाहा पाएँ । त्यो पाठका यी हरफ उद्धरण गर्नु सबभन्दा उपयुक्त मानेको छु : ‘यो तस्बिर डा. तारानाथ शर्मा र खेमराज नेपालबाट प्राप्त भएको हो । शर्माका अनुसार ००९ सालमा इलामको करफोक विद्या मन्दिरमा नेपाली भाषा प्रचारक संघ (महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोलसमेतले खोलेको) नामक संस्थाले ००९ सालमा देश–विदेशबाट साहित्यकार झिकाएर साहित्य सम्मेलन गरेको थियो ।’ त्यहाँ भेला भएका साहित्यकारलाई दार्जिलिङको दास स्टुटियोमा लगेर खिचिएको थियो किनभने त्यहाँ यस्तो फोटो खिच्ने ठाउँ थिएन ।
पारसमणि प्रधान र महानन्द सापकोटा त्यस फोटोमा सामेल हुन नसकेको कुरा लेखमा उल्लेख छ । फोटोमा भएका २५ जनामा ख्यातिप्राप्त र अरू साहित्यकार र साहित्यानुरागी छन्, जसका नाम यस प्रकार छन् : चन्द्रकान्ता मल्ल (सहिद शुक्रराजकी बहिनी), पुण्यप्रभादेवी ढुंगाना, बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला, रामप्रसाद मानन्धर र उनका नाबालक छोरा, सूर्यविक्रम ज्ञवाली, नरेन्द्रनाथ बाँस्तोला, देवीप्रसाद उप्रेती, वीरेन्द्र खुँजेली, डा. भीष्मराज प्रसाईं, शंकर लामिछाने, डा. ईश्वर बराल, डा. तारानाथ शर्मा, अग्निराज श्रेष्ठ, डा. गंगानाथ बाँस्तोला, हरिनाथ बाँस्तोला, निर्मलकुमार शर्मा, पीटी लामा, पर्शुराम रोक्का, दीर्घराज कोइराला र फत्तेबहादुर बुढाथोकी ।
त्यो सामूहिक फोटोको महत्त्व काठमाडौँबाहिर भएको साहित्य सम्मेलन र त्यसमा राजधानीबाट ख्यातिप्राप्त लेखकहरू जानुमा रहेको छ । त्यो फोटोग्राफ एउटा उदाहरण हो । यस प्रकारले ००७ सालको राजनीतिक परिवर्तनपछि राजधानीबाहिर नेपाली साहित्य भेलाहरू त्यति धेरै भएका देखिँदैनन् । तर यो फोटोग्राफले देखाएको विषय एउटा उत्साह हो र यसको अन्तर्यमा राजधानीका लेखकको मोफसलको यात्रा रहेको छ । काठमाडौँ उपत्यकालाई सजिलोका निम्ति नेपाल सहर भनेको छु, यस प्रस्तुतिमा ।
इलामको नेपाल सहरसँग जोड्ने अर्को एउटा तत्त्व छ । त्यो हो– यस ठाउँको दार्जिलिङसँगको सान्निध्यता । यो कुरा अनौठो सुनिन्छ तर दार्जिलिङ र नेपाल सहरको साहित्यिक दृष्टिले गहिरो सम्बन्ध छ भन्ने कारण यहाँ लेखिरहनु आवश्यक छैन । साहित्य समालोचना, भानुभक्तीय रामायण, दार्जिलिङबाटै प्रकाशित चन्द्रिका (१९७५), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८८) पारसमणि प्रधानद्वारा सम्पादित र प्रकाशित साहित्यिक पत्रिका भारती (२००६) अनि यहाँ साहित्य साधना गर्ने र कृति प्रकाशन गर्ने लेखक–कविका नेपाल सहरसँगका सम्पर्क र सम्बन्ध, अनि नेपालका कवि, नाटककारका कृति त्यतातिर पढिनु यसका मुख्य कारण हुन् । माथि भनिएको सम्मेलनमा फोटोमा भएका लेखक कविहरूलाई दार्जिलिङमा फोटो खिच्न लगेको कुरा चाखलाग्दो छ ।
नेपाल सहरबाहिर वा मोफसल भनिने तथा कान्तिपुरीको भावात्मक र राजनीतिक उपस्थिति नेपाली लेखक कविहरूका प्रतिक्रियाजन्य रचनामा व्यक्त भएका उदाहरण छन् । कविता लेख्ने साधारण र गम्भीर कविका निम्ति नेपाल सहर एउटा उपस्थिति थियो । नेपाल सहरमा आएपछि बाहिरका कविहरू कवितामा त्यो व्यक्त गर्न प्रेरित भइहाल्थे । भानुभक्त आचार्य कान्तिपुरीमा आएपछि यो सहर र यस सहरका सौन्दर्य भएका नारी सबै उनका कवितामा आए । मोफसलका कविका निम्ति नेपाल सहर एक अतिरञ्जनात्मक भावोद्गार व्यक्त गराउने नागर परिवेश त्यो बेलादेखि पछिसम्म नै रहिआएको छ ।
भानुभक्तले कान्तिपुरलाई ‘लखनौ पटना मदराससरी’ सहर भने । अझ बढेर ‘कहीँ भोट र लन्डन चीनसरी’ भने जसमा चीन देशलाई नै उनले सहरको संज्ञा दिए । यहाँका गल्लीहरूलाई दिल्लीका गल्लीसँग तुलना गरे । उनले यो अमरावती कान्तिपुरका ‘चपला अबलाहरू एक सुरमा, गुनकेसरीको फूल ली शिरमा’ देखेको यथार्थ हो । नागर वर्णन अतिरञ्जना हो, उद्गार हो र भाव हो । नेपाल सहरको मोफसलका सिर्जनात्मक मनहरूलाई आकर्षित गर्ने एउटा यस्तो तत्त्व हो, जसको सामर्थ्य कवि र साहित्यकारमा मात्र सीमित छैन । यो विषयमा छोटो छलफल राख्न चाहन्छु ।
भारतमा अंग्रेज शासनका बेला कलकत्ताको प्रभुत्व अत्यन्तै बलियो भएको थियो । प्रान्त र बाहिरका जिल्ला र प्रदेशहरूमाथि कलकत्ताको प्रभुत्व भनेको यसको मनोगत र भौतिक प्रभाव थियो । सबै प्रान्त र जिल्लाहरू कलकत्ताजस्तो मानक लिन चाहन्थे । मल्लारिक सिन्हारोयले कन्टेम्पोरेरी साउथ एसिया, जुन, २००९ को अंकमा प्रकाशित एउटा लेखमा यो विषयमा केही चाखलाग्दा कुरा उठाएकी छन्, जसको हाम्रो सन्दर्भमा एकाध प्रसंग जोडिन्छन् ।
सिन्हारोय मोफसल शब्द सीमा विषयका लेखक डेभिड लुड्डेनले हब्सन–जब्सन भन्ने उन्नाइसौँ शताब्दीको शब्दकोशबाट लिएको देखाउँदै भन्छिन्, ‘मोफसल भनेको केन्द्रबाट टाढा र बाहिर रहेका ठाउँहरूको कथा हो । जिल्लाका अधिकारीहरू बस्ने थलो पनि हो, मोफसल । यी थलोमा गाउँले चरित्र हुन्छ तर तिनमा कलकत्ताको नजिक पुग्नु र त्यसको संस्कृति वरण गर्नुलाई एउटा मुख्य अभीष्ट मानियो । कलकत्ताभन्दा हामी अलिक तल्लो तहका हौँ भने मनोग्रन्थि तिनको मोफसल चेतनाको प्रमुख तत्त्व थियो ।’ उत्तरऔपानिवेशिक बंगालमा कलकत्ताको अनुकृति गर्नुको पछाडि सबै कुरा कलकत्तामा रहनु अनि बाहिर खासै केही नहुनुजस्तो परिस्थिति थियो । उनी भन्छिन्, ‘कलकत्ताले सांस्कृतिक प्रभुत्व बलियोसँग कायम गर्यो ।’
सिन्हारोयले यो कलकत्ता हेजिमोनी र मोफसलको सम्बन्धलाई बंगालको नक्सलवादी आन्दोलनसँग जोडेर निकालेको तर्क चाखलाग्दो छ । अरूले लेखेका विचारका पनि प्रसंग राख्दै ती भन्छिन्, ‘नक्सलवादी आन्दोलनबारे लेखिएका धेरै साहित्यिक लेखहरूमा पनि कलकत्ता भेटिन्छ । यस्ता लेखमा नक्सलवादी नायक हुन्छ । ऊ मोफसलबाट आएको हुन्छ । ऊ पुरुष हुन्छ अनि कलकत्तासँग उसको चाउचाउ बढ्छ किनकि ऊ त्यहाँ पुगेर आदर्श क्रान्तिको अनुकरण गर्छ । त्यसपछि ऊ आफ्नै ठाउँमा फर्केर आफूलाई एक नेताको रूपमा प्रस्तुत गर्छ’ (१६३) ।
उनी भन्छिन्, ‘यहाँ एउटा लोकस्मृति वा ‘पपुलर मेमोरी’ मा नक्सलवादीको मिथक जोडिएको हुन्छ । तिनको बलिदान ठूलो मानियो किनभने ती कलकत्ताका शैक्षिक संस्थामा पढ्ने तेजिला युवाहरू गाउँले गरिबका निम्ति राज्यसँग संघर्ष गर्ने अभियानमा लागे ।’ अर्को मिथक कलकत्ता नागरका युवाको काल्पनिकीसँग जोडिएको छ । ‘तिनीहरूले गाउँलाई शुद्ध क्रान्तिका केन्द्रहरूको रूपमा माने’ । नेपाल राज्यको राजधानी र कलकत्ताको एउटा साम्य देखिन्छ । नेपालका युवाहरूले पनि क्रान्ति र गाउँको रोमानी काल्पनिकी गरे । तर उनीहरूले राजधानी केन्द्रित गतिविधि वा राजनीति भनेर गाउँको मिथक र काल्पनिकीलाई दिनदिनै एक असम्पृक्त वा नमिल्ने विषय बनाउँदै गएको देख्न सकिन्छ ।
मेरो आफ्नो अध्ययनमा कलकत्ताको अड्डा–संस्कृति यसको बलियो उदाहरण हो । स्वाती चट्टोपाध्यायले रिप्रिजेन्टिङ कल्कत्ता (२००५) को किताबमा यस विषयमा विस्तृत छलफल गरेकी छन् । नेपालमा माथि भनिएको राजधानी र क्रान्ति अनि राजनीतिक परिवर्तनको एजेन्डा बनाउने काल्पनिकीको नेपाली साहित्यमा, काव्यमा कस्तो प्रभाव छ भन्ने कुरामा खासै अर्थपूर्ण अध्ययन भएको भेट्न सकेको छैन । तर साहित्यिक काल्पनिकी र विगत एकाध दशकदेखिको राजनीतिक उथलपुथलमा नेपाल सहरको, राजधानीको शक्ति केन्द्रको हेजिमोनीको प्रभाव झन्–झन् बलियो भइरहेको छलफलमा आइरहेको छ । यो एउटा अर्ध सत्य, पूर्ण सत्य वा असत्य के हो, त्यसको विषयमा नयाँ किसिमका निर्क्योल निस्किरहेका छन् । तर हामीले साहित्यमा, खासगरी यो प्रस्तुतिमा छानिएको काव्यमा, यो नेपाल सहरको हेजिमोनीको विषयमा एउटा सिद्धान्तले हेर्दा हुन्छ भन्ने मेरो विश्वास छ । त्यो के हो भने, राजनीतिक र साहित्यिक काल्पनिकीमा प्रभाव पार्ने नेपाल सहरको हेजिमोनी त्यही हो तर त्यसलाई हेर्ने पद्धति फरक छन् ।
राजनीतिमा सिन्हारोयले भनेजस्तै सहरको मेधावी ठिटो वा नेपालको सन्दर्भमा ठिटीले गाउँका विपन्न मानिसका निम्ति भनेर संघर्ष गर्नु, लड्नुलाई आफ्नो बलिदानको रूपमा लिए र आफैँ त्यसो गरेबापत ती मनका धनी भए । कता–कता ठूलो काम गरे पनि उपेक्षित किञ्चित मात्रामा सहिद पनि भएको कल्पना गरे । तर साहित्यिकजस्तो काठमाडौँको हेजिमोनीको व्याख्या अर्कै भयो । त्यो राजनीतिक, विद्रोह र परिवर्तनको काल्पनिकीलाई राज्य र शक्तिमा हावी हुने, केही मात्रामा विभ्रान्त पथमा लाने प्रयोग गरे । त्यसो गर्दा साहित्यमा देखिएभन्दा चर्को गरी तिनले मोफसल संघीयताका रचना गरे पनि त्यसको असहज मानसिक र भौतिक स्थितिको कल्पना गर्ने अवस्था सिर्जना गरे । अहिलेको यो अवस्थामा राजनीतिमा राजधानी र मोफसलको सम्बन्धले साहित्यमा भन्दा जटिल रूप लियो । केही राम्रा योजना, छलफल र सद्विचारले काम नगर्ने हो भने राजनीतिक काल्पनिकीको राजधानी र मोफसलको सम्बन्ध एउटा ठूलो भ्रम र समस्याले ग्रसित हुने छैन भन्न सकिँदैन ।
अब प्रश्न आउँछ, के नपालको सिर्जनशील कल्पनामा त्यो काठमाडौँ हेजिमोनी र मोफसलको काल्पनिकीको सम्बन्ध राजनीतिको जस्तै गतिमा चलिरहेको छ त ? उत्तर छ, छैन । कवितामा राजधानी, नेपाल सहर वा यसको हेजिमोनीलाई कविले काल्पनिकीमा रूपान्तरण गरे । धेरै उदाहरण लिने ठाउँ छैन । तर एउटा वाचाल उदाहरणबाट आरम्भ गर्छु ।
त्रिचन्द्र कलेजसँग जोडिएको घन्टाघरको रेखदेख गर्ने गणेश सापकोटा तीन–चार वर्षमा सेवानिवृत्त भएपछि सायद घन्टाघर सदाका निम्ति बिदा हुनेछ । कान्तिपुर टिभीका एक पत्रकारले समाचारमा ती सापकोटासँग कुरा गरे । वीरशमशेरले १९५१ तिर राखेको यो घडीका अवयव बेलायतबाट ल्याइएका हुन् । भित्री र बाहिरी सुईलाई प्रेमले चलाउने, स्थानीय सीपले मर्मत गर्ने अनि घडीलाई कर्रकर्र गरेर दम दिने शान्त र सरल ती समयका गोठालाको यो कान्तिपुर नगरमाथि काल–बेलाका ध्वनि छर्ने समय र कर्म लगभग सकिनै लागेको छ । सापकोटाले किञ्चित् विस्मयको स्वरमा ठोकुवा गरे–उनी सेवानिवृत्त भएपछि यो घन्टाघरले पनि अवकाश लिनेछ । हिजोको कान्तिपुरी नगरको एउटा इतिहास, युगको ध्वन्यात्मक प्रतिविम्बको अवसान हुनेछ । कवि भूपी शेरचनले यो घन्टाघरलाई कान्तिपुर लाहुरे भनेर ‘घन्टाघर’ शीर्षकमा यसरी कविता लेखे :
कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा–नाति
संगी–साथीहरूमा बाँडेर
एक–एक गरी
फौजका सब पुराना जर्सीहरू सिद्धिए ।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिह्न
एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातीमा झुन्ड्याएर
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालका लामा र दिक्दारे दिन बिताउने
एउटा पेन्सनवाल बूढो लाहुरेझैँ
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घन्टाघर ।
काठमाडौँ बाहिरका कविहरूले यहाँ आएपछि यो नगरका सबै अवयवलाई कविताका विषय बनाए । एउटा गोर्खाली भनेर चिनिने गाउँको मानिस तर ब्रिटिस वा अरू मुलुकमा गएर लाहुरे भएर तक्मा पाएको, सायद अवकाश पाएर पिल्सिङ खाने अनि शून्य वृद्धकाल भोगिबसेको लाहुरेको विम्बमा घन्टाघरलाई रूपान्तरण गर्नु नेपाल सहर र यसको तथाकथित आधुनिकतालाई कविता बनाउनु नेपालमा नेपाल सहर र मोफसलको एक अत्यन्त वाचाल रूपक हो, कवितामा ।
नेपालको सबैभन्द ठूलो सहर हो– कान्तिपुरी, जहाँबाट सबै शासकहरूले यो पहाडी र जंगल, फाँट र मैदानले बनेको देशमा हैकम चलाएको इतिहासको नैरन्तर्य हाम्रो यथार्थ र जीवन हो । मूल प्रश्न हो, नेपाल सहर नै यसको आकर्षण केन्द्र किन बनिरह्यो ? के नेपालको भौगोलिक बनावट यसको कारक थियो र छ ? राजनीतिमा राजधानी केन्द्रित आन्दोलन वा कार्यक्रम किन हुन्छन् ? राजधानीमा सबै शक्तिउपासक, धन कमाउने, ‘ज्याक्’ लगाउनेहरू किन आकर्षित हुन्छन् ? यसको उत्तर खोज्ने प्रयास यदाकदा छलफल र लेखहरूमा भएका देखिन्छन् । तर पनि हामीले यी प्रहेलिकाका उत्तर सजिलै पाउन सकेको अवस्था छैन । साहित्यिक कार्यक्रममा नेपाल सहर र बाहिरको विषय प्राय उठिरहन्छ । लेखकहरूले सधैँ उच्चारण गरिरहने विषय भनेको राजधानी र मोफसलको विषय भइरहनुमा अर्थ र भाव छन् ।
तर पनि साहित्यमा सबभन्दा धेरै मोफसल र राजधानीको छलफल व्यापक बनाएका लेखक कवि कृष्ण धराबासी अहिले भने अनुभवसिद्ध बोलीमा कवितामा काठमाडौँ (२०६०) ‘काठमाडौँ’ शीर्षक कवितामा यसरी प्रस्तुत हुन्छन् :
एकपल्ट काठमाडौँ पुगेपछि
नेताको राजनीति सकिन्छ
कविको कविता सकिन्छ
कलाकारको कला सकिन्छ
ऊ चाकडी, चाप्लुसी र दास बन्छ
त्यहाँ पुगेपछि प्रत्येक व्यक्ति
आफ्नो बोलीमा अर्काको स्वर हाँस्छ (पृष्ठ ३०) ।
तर यस प्रकारका काव्यात्मक उद्गारबाट साहित्यकारमा यो नेपाल सहरलाई हेर्ने द्वैत आलम्बन वा ‘डबल बाइन्ड’ चेतना प्रमुख भएको देखिन्छ । काठमाडौँ राजधानीको मुटुमा रहेको, राणा शासनको केन्द्र र प्रतीक रहेको, एउटा नित्य समयको रखबारी गरिबसेको, ब्रिटिस शासन भारतमा भएका बेला बेलायतसँग गहिरो सम्बन्ध बनाएको अनि अनुकृति गरेर आएको नेपाल सहको हेजिमोनीलाई कविहरूले भावमा परिणत गरेका उदाहरण भेटिन्छन् । त्यो अतिरञ्चनामा व्यक्त भयो । भानुभक्त र अरू कविका कविताको उदाहरण दिइसकियो । साहित्यमा, कवितामा मोफसल र नेपाल सहरको द्वैत आलम्बन वा दुई अर्थी लाग्ने समस्याले सिर्जना जन्मायो ।
नेपाल सहरभित्र नै रैथाने भएका नेपाली साहित्यकार वा कविहरूको चेतनाले कसरी काम गरेको थियो भन्ने हामीसँग पहिलेको समयका केही उदाहरण वाचाल छन् । पछिल्लो समय वा आज जतिसुकै मोफसल र राजधानी भने पनि एउटा सीमा, बोर्डर सबभन्दा किरिङमिरिङ भएर कोरिने नक्सा वा कार्टोग्राफी भएको छ । कविता यसै पनि भूगोल लेख्ने अस्पष्ट माध्यम हो । यसका आधार लिएर सीमा कोरिबस्ने पद्धतिमा समस्या छन् । क्लेयर मेज् ‘अन् द क्रिएटिभ् टर्न् टु जोग्राफी–पोइट्री, पोलिटिक्स र प्यासन्’ (२०१४) लेखमा ‘भौगोलिक शब्द–चित्र’ लेख्न गरिने कविताको प्रयोग सोझो र प्रस्ट हुँदैन भन्छिन् । राजधानी र मोफसलको सीमा कवितालाई लिएर कोरिबस्ता अर्थपूर्ण रूपमा आउने अनेकौँ प्रश्नमध्ये अहिलेको नेपाली कविता नै हो ।
नेपाल सहरमा नेपाली कविहरूले शक्तिमा आसीन भएकाहरूका वरिपरि रहेर र छुट्टै स्वतन्त्र भएर कविता लेखेका उदाहरण छन् । राजा रणबहादुर शाहको साँढे प्रेमले गर्दा साँड्याका कविता लेखेर उनलाई मख्लेल पारेर बिर्ता पाउने तथाकथित ‘वीरकालीन’ कविहरूका कविता यसरी सभाहरूमा उद्धरण गरेर पढ्न सकिँदैन । तिनले लाजभाँड लेखेका छन् । नेपाल उपत्यकाको भूगोल तिनका कवितामा आउँछ । साँढेको जुरो शिउपुरी जैसो छ । साँड्या पुरुष प्रतीक, अंग्रेजीमा भन्दा माचो छ । त्यो कीर्तिपुर पाँगादेखि बूढानीलकण्ठसम्म आयाम फैलेको तिख्या साँड्या हो । अन्तिम हरफमा कवि लेख्छन्, ‘यो बिर्ता पाउन्या मेलो हो हो’ ।
काठमाडौँभित्र बाहिरका र यहीँकै रैथाने भएका नेपाली कवि नेपाल सहरका नेपाल भाषाका कविहरूसँग कति नजिक थिए वा थिएनन् भन्ने कुराका हामीसँग केही प्रमाण छन् । मोतिराम भट्टको मोतिमण्डलीको कुरा विदित भएको हो । तर नेपालीका कविहरूले जोगवीरसिंह कंसाकारको आतिथ्य र आयोजनामा उनको मच्छिन्द्रवहालमा भेला भएर कविता लेख्ने र सुनाउने गरेका पाठ र घटनासहितको संकलन सम्पादन र खोजी गरेर स्व. शरदचन्द्र शर्माले जोगमण्डलीका कवि र कविता (२०५२) किताब निकाले । यसमा उनको भूमिका ऐतिहासिक महत्त्वको छ । यो मण्डलीका २४ जनाका कविता यसमा संकलित छन् । यी कविमा लेखनाथ पौड्याल, शम्भुप्रसाद ढुंग्याल, बाबुराम आचार्य, चक्रपाणि चालिसे, सिद्धिदास अमात्य थिए, जसमध्ये नेवारी भाषा जानेका कवि लेखक भए पनि मण्डलीमा तिनीहरू वा नेवार कविले कविता लेखेनन् । चक्रपाणि चालिसेले केलटोलमा आफ्नोमा कवि सिद्धिदाससहित अरू कवि छन्द अलंकार सिक्न मेरोमा प्रेमले आउँथे भनेका छन् ।
यतापट्टिका केही प्रसंग राख्नुको कारण नेपाली कविताका मोफसल र राजधानीको सीमाका द्वैतता र आज आएर ती सीमा किरिङमिरिङ हुँदै गएको कुरा संकेत गर्नु मात्र हो । मेरा पुर्खा, दाइ पर्ने व्यक्ति पहलमान सुवेदीले झन्डै एक शताब्दीअगाडि यहाँ आएर रचेको कवितामा नेपाल सहर एउटा आश्चर्य, अर्कै जगत्, देवी–देवताको प्रत्यक्ष उपस्थिति भएको नागर आश्चर्य थियो, जसको वर्णन उनले यसरी गरे :
वरिपरि महाभारत पर्वत उठी टम्म
बीचमा ठूलो मडिमैदान (जगत्) मधेसजस्तो सम्म
सूक्ष्म–सूक्ष्म भन्छु मता सवाइमा यस्तो
बयान गरी सकिँदैन यो नेपाल देशको
भादगाउँ पाटन, इन्द्रचोक ठूला सहर छन्
सहरबीचमा पुग्दाखेरि शुद्धिबुद्धि भागो
ठूला काली समुद्रमा डुबेजस्तो लागो
कहीँ देख्छु देवगण कहीँ देख्छु बाघझैँ
त्यतिखेर कुदेछु म कुहिराको कागझैँ
हिँड्दै गएँ बायाँ लागी अघिपछि सर्दै
साइकल कुद्छन् वरपर चिटिङ् टिङ्टिङ् गर्दै
त्यो बेलाको नेपाल सहर र मोफसल शासकीय, सांस्कृतिक, शोषण र सामन्ती पद्धतिको हिसाबले यथार्थ थियो । तर पछि गएर नेपाल सहर र मोफसलको बीचमा द्वैत आलम्बन विकसित हुँदै गयो । राजनीतिमा त्यो डबल बाइन्डले अलिक फरक किसिमले काम गर्यो । राजनीति शक्ति ग्रहण गर्ने विषय भएकाले त्यसले यो नेपाल सहरलाई अव्यवस्थित बनायो, एउटा टमस बेकेटको विसंगत नाटक ‘गोडोको प्रतीक्षा’ जस्तो गरेर अमुक हिमाली खोलाको पानी ल्याउने आशामा यो नेपाल सहर खन्यो, धुलाम्मे पार्यो, खाडल बनायो, जथाभावी सडक र अपूर्ण योजनाले राजधानी घेर्यो । केही सडक र घरका योजना बनायो । सडक अलिक फराकिला गर्यो । तर हेजिमोनीको मोह र वितृष्णाका द्वन्द्व राजनीतिका डबल बाइन्ड हुन् भने कवितामा खासगरी त्यो सिर्जनाको परिवेशभित्रै रह्यो ।
त्यो डबल बाइन्डमा कवि एउटा अनौठो प्रतिक्रिया गर्छ । ऊ काठमाडौँलाई निरीह देख्छ तर यसको खास मर्म भनेको व्यंग्य रचनामा देखिन्छ । विराटनगरका कवि सुमन पोखरेल कवितामा काठमाडौँ (२०६०) मा प्रकाशित ‘काठमाडौँ हिँड् जौँ’ शीर्षकमा भन्छन् :
काठमाडौँ
सम्पूर्ण देश बोकेको भ्रममा रहेर
तिमीले एक घुट्को पानी पिउन सकेनौ
सभ्यता बोकेको आडम्बरमा
तिमीले जिउ ढाक्ने गरी लाउन जानेनौ
तर मोफसल चेतना र काठमाडौँ हेजिमोनीको आकर्षणको द्वैतता एउटा गतिशील विषय हो । कवि विस्तारै द्वैत आलम्बनबाट निस्केर प्रस्ट अभिव्यक्ति दिन्छन् । काठमाडौँको अवस्था अहिले अनेकौँ दृष्टिले परिवर्तन भएको हुनाले कवि कृष्णभूषण बलले विराटनगरबाट ‘काठमाडाँै एक्लैले अब काठमाडाँै बोक्न सक्दैन’ शीर्षकमा एउटा प्रसिद्ध कविता लेखे । त्यसमा केही हरफ यस्ता छन् :
‘काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन
‘काठमाडौँ एक्लैले अब सिंगै नेपालको अर्थ लाउन सक्दैन
...
छाम्दै हातहरूले काँडाहरू अब टेक्न सक्नु
अन्तमा
यो प्रस्तुतिको सारको रूपमा भन्दा नेपाल सहर र मोफसलको अस्तित्वको नेपाली यथार्थ भौगोलिक, मानसिक, साहित्यिक र राजनीतिक चरित्रले बनिएको छ । यो समयअनुसार बदलिँदै गएको छ । तर पछिल्लो समय जब राजनीतिका शक्तिहरूले पनि नेपाल सहर र मोफसलको अन्तर देखे र त्यसलाई राजनीतिक डबलबाइन्ड, शक्ति सञ्चय र शासनको केन्द्रीयताको रूपमै हिजोदेखिको परम्परालाई कायम गर्न खोजे, कविहरूले देखेको र प्रयोग गरेको अनि सिर्जना गरेको द्वैत आलम्बनभन्दा त्यो अलग देखिँदै गयो । नेपाली कवितामा देखिने सिर्जनशील सीमा चेतना र राजनीतिका सीमा चेतनामा अन्तर देखियो । तर एउटा यथार्थ हामीले बिर्सनु हुँदैन ।
कविहरूले नेपाल सहरलाई मोफसल चेतनाले व्याख्या गरे । त्यो व्याख्या गर्दागर्दै उनीहरू नेपाल सहरमै पसे, बसे, शिक्षित भए अनि रैथाने भए । तर उनीहरूले नेपाल सहरलाई एउटा आश्चर्य, एउटा भानुभक्तले देखेको कहीँ भोट र लन्डन चीनसरी चेतनालाई कायमै राखेको देखियो । मोडर्निस्ट भनेका कविहरूले पनि नेपाल सहरलाई प्यारिस, बर्लिन, लन्डन सबै पश्चिमी नागर देखेर लेखेका अभिव्यक्ति भेटिनु त्यही भानुभक्तीय डबल बाइन्ड हो । तर कविहरूले अर्को चेतनाले पनि काम गरे । कवि भूपी शेरचनको घन्टाघर कविता त्यसको ज्वलन्त उदाहरण हो । उनीहरूले नेपाल सहरको चित्र आफ्नो मोफसल परिवेशको चेतनाबाट गरे । काठमाडौँको असरल्ल बन्दै गएको अवस्थामाथि लेखे । बाहिरबाट भ्रमणमा आएकाहरूले जस्तो गरेर लेखे । नेपाल भाषा वा नेवारी भाषामा लेखिएका कविताहरूको अनुवाद र ज्ञान हुनु यस विषयमा महत्त्वपूर्ण छ । त्यसबाट नेपाल सहर र मोफसलको चेतनाको डबल बाइन्ड नभएर अर्को सिर्जनशील चुनौती थाहा हुन्छ भन्ने कुरा मेरो नेवारी कविताहरूको सीमित अध्ययनको आधारमा भन्न सक्छु ।
मोफसलको चेतनाको अर्को आयाम छ । मोफसलका अर्को मातृभाषा भएका नेपाली कविहरूले आफ्नो संस्कृति र परिवेश अनि राजधानीको विषयमा लेखेका कविता महत्त्वपूर्ण छन् । यही क्षेत्र लिम्बुवानकी कवि विमला तुङ्खेवाको काठमाडौँलाई सम्बोधन गरेर लेखिएको कविता अत्यन्त वाचाल छ । यो क्षेत्रका अरू लिम्बूभाषी कविका कवितामा मोफसल तथा यो क्षेत्रको संस्कृति र सिर्जनशील मिथक र काव्यिक परिवेशको वर्णन हुन्छ । मैले यस विषयमा दिल्लीको सार्क लेखक सम्मेलनमा प्रस्तुत गरेको पत्र प्रज्ञा प्रतिष्ठानको अंग्रेजी जर्नलमा प्रकाशित गरेको छु । त्यसको सार अहिले यहाँ राख्ने ठाउँ नभएकाले र प्रस्तुति पनि लामो भएकाले यति मात्र भन्छु– नेपाल सहर र मोफसलको कवितामा देखिने चित्र भानुभक्त आचार्य, पहलमान सुवेदीले एक शताब्दीअगाडि रचेको कविताजस्तो सोझो र एक आयामिक छैन । त्यो बहुल चेतना, बहुल प्रयोग र बहुल सामर्थ्य बोकेको रचना पद्धति हो ।
राजनीति र केन्द्रीयताका विषयले यसलाई प्रभावित पारे पनि यो अलग चेतनाको धार हो । यो मोफसल र नेपाल सहर भनिने सीमा एक भावनात्मक र सिर्जनशील कलेवर हो । हामी कविताको सामर्थ्यमा विश्वास गर्छाैं । त्यसलाई भौगोलिक सीमा र सहर रचनाले झन् नयाँ रूपमा प्रस्तुत गर्न सक्छन् । यो एउटा प्रयोगशील र गतिशील पक्ष हो, नेपाली कविताको ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...