(पुस्तक समीक्षा) के छ र जिन्दगी !
‘पम्फा मेरो नाम होइन । ममाथि लगाइएका कपोलकल्पित आरोपहरु कहाँ गएर प्रतिवाद गर्ने ?’

‘मलाई बाबुआमाले दिएको नाम चाँदनी हो । विवाह भएर दरबार भित्रिएपछि मलाई ऐश्वर्य भनेर बोलाउन थालियो । पम्फा मेरो नाम होइन । ममाथि लगाइएका कपोलकल्पित आरोपहरु कहाँ गएर प्रतिवाद गर्ने ?’
कवि कालीप्रसाद रिजालको जीवनकथा काँडामा हाँसेको जिन्दगीमा अप्रत्याशित अध्याय छ, रानी ऐश्वर्यको आँसुमय प्रश्नसहितको । त्यतिबेला भरखरै बहुदलीय व्यवस्था बहाली भएको थियो । जनआन्दोलनका क्रममा रानीलाई स्विस बैंकमा पम्फा ठकुरीका नाममा पैसा राखेको भनी बदनाम गरिएको थियो ।
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्की अध्यक्ष रानीको बिदाइ बैठकमा पूर्वसदस्यसचिवको हैसियतमा पुगेका थिए, रिजाल । अन्तरिम सरकारका मन्त्री नीलाम्बर आचार्य उपस्थित त्यो बिदाइको ३० वर्षपछि उनले रानीको दुखेसोलाई जीवनकथामा समेटेका छन् ।
काँडामा हाँसेको जिन्दगी खासमा कवि रिजालको आत्मकथा हो । तर तीन अध्याय दरबारकै लागि छुट्याएका छन् । नेपाली बजारमा दरबार बिकाउ माल भएको बुझेर होला, उनले १९ जेठ ०५८ मै आफ्नो जीवनकथा टुंग्याइदिएका छन् । यस अर्थमा उनी पाठकमैत्री त भएका छन् तर निजी कथाप्रति निस्पृह ।
परिषदमा चार वर्ष रानीको सान्निध्य पाएका रिजाल पुरुषवादी सोचका आलोचक छन् । बुद्धपत्नीबारे लेखिएको गीतिकाव्य यशोधरा पढ्दा उनको नारी संवेदनशीलता थाहा हुन्छ । रामायणजस्तै ‘सीतायन’ लेखिनुपर्ने धारणा राख्ने कविहृदय आफ्नै आमाप्रति किन
नपोखियोस् ? इन्सोम्निया र हिस्टेरिया रोगी आमालाई व्यथाले च्याप्दा कुटपिट गरी कोठाभित्र थुनिँदो रहेछ । उनी कोठाको झ्यालबाहिर बसेर हेरिरहँदा रहेछन् । उनले काव्य प्रेरणा नै आमालाई मानेका छन् ।
त्यसो त रिजाल रानी ऐश्वर्यका प्रसंगमा एकतर्फी लाग्दैनन् । ढाकीबाट दुइटा आँप झिकेको निहुँमा सुसारेको जागिर खाइदिएको, वीर अस्पतालमा पहिलो प्रसूति गराउँदा तीन–चार वटा थाङ्ना हराउँदा बबन्डर मच्चाएको, ०४५ को भूकम्पमा मदर टेरेसालाई सेवाकार्य गर्न अनुमति नदिएको, अनावश्यक नियन्त्रणका कारण दीपेन्द्र झन् अराजक भएको आदि दृष्टान्त पनि राखेका छन् ।
रिजालले अलच्छिनी भनेको गीत ‘झर्यो जिन्दगी, टुट्यो जिन्दगी’ को अन्तराबाट लिइएको हो, काँडामा हाँसेको जिन्दगी । उनी नियतिको लछारपछारमै देखिन्छन् । धरानको नयाँबजार सिरानको घरमा परिवारको काइँलो छोराका रुपमा जन्मेका उनको बाल्यकाल रवीन्द्रनाथ टैगोरको कथा ‘होम कमिङ’ को पात्र क्षितिज चक्रवर्तीसँग मिल्दोजुल्दो छ ।
डेकोटा जहाजमा काठमाडौँ पस्छन्, ०१३ मा । लेखनाथ, देवकोटा, सम, सिद्धिचरणको सम्पर्कमा पुग्छन् । बनारसमा साहिर लुधियानवी, फिराक गोरखपुरी, शमशेरबहादुर, नागार्जुनलाई सुन्छन् । २४ वर्षको उमेरमा धनकुटा डिग्री कलेजको प्रिन्सिपल हुन्छन् । भलै पत्नी अजिताको पढाइ अघि बढाउन सक्दैनन् ।
कविता सुनाएर राजा महेन्द्रबाट भूमिसुधार अधिकारीको नियुक्ति पाउँछन् । हाकिमी आवरण दिन जुँगा पाल्छन्, धाकरवाफ देखाउाछन् । यी जेबीआर (जााचबुझ केन्द्र रिटर्न) ले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रका कारण नेपाल वायुसेवा निगमको अध्यक्ष र महाप्रबन्धक हुन पाउँदैनन् । जीवनलाई संघर्ष र सम्झौता ठान्छन् ।
नारायणगोपाल, बासु शशी, तीर्थराज तुलाधर, कृष्णबम मल्ल आदिका घतलाग्दा प्रसंग छन्, किताबमा । नारायणगोपालले आाखा छोपी नरोऊ भनी... र झरेको पातझैँ भयो... गाएपछि प्रशंसा पाएका उनलाई खेद छ, संगीत सिक्ने इच्छा अधुरै छ ।
सिर्जनाले निन्दा पनि निम्त्याउँछ । मुटुमाथि ढुंगा राखी... व्यवस्थाविरोधी भन्दै फाँसीको सजाय दिनुपर्ने बिन्तीपत्र हालिन्छ । गाईजात्रामा कविता पाठ गर्दा झन्डै खोसुवा भएन जागिर । कतिपय शंका गर्छन्, रिजालले थमौतीका लागि अर्को कविता लेखेका हुन् । दिल्लीस्थित दूतावासको सांस्कृतिक सहचारी हुन पाउँदैनन् । युएनको छात्रवृत्तिमा अमेरिका जाँदा एक वर्ष बिदा नथपिँदा उनको पीएचडी सकिँदैन । खुला प्रतियोगिताबाट सहसचिव भई कार्यवाहक सचिवसम्म सम्हाल्छन् ।
‘यसैगरी बिताइदिन्छु, दुई दिनको जिन्दगी’, ‘के छ र जिन्दगी बिताइदिन्छु’ जस्तो कविताका संवेदनशील सर्जक रिजाल कुनै बेलाका वामपन्थी रहेछन् । तर पञ्चायतकालमा दाजु चिरञ्जीवीप्रसाद कांग्रेस भएकाले शंकाको घेरामा पर्छन् भने कांग्रेसको पालामा दरबारिया भनी पजनीमा पर्छन्, ०४८ मा ।
रुचिकर हुँदाहुँदै पनि किताबमा केही गडबडी छन् । बाल्यकाल खण्डमा आमाको मृत्यु (०४७) प्रसंग परेको छ । आत्मालोचनाको पाटो लगभग खाली छ । पुनरुक्ति टनाटन छ । एउटै कुरा दस पटकसम्म कसरी पढ्ने ? रिजालले सम्पादक पाएनन् जस्तो छ ।