किनाराका कथा
लाग्छ– तत्कालीन पितृसत्तात्मक सामाजले नारी जातिमाथि गरेको अन्याय, अत्याचार र पीडाको पराकाष्ठा बुझ्न सेतो धरतीलाई एक ऐतिहासिक प्रतिवेदन मान्न सकिन्छ ।
आत्मकथा लङ वाक टु फ्रिडमका हरेक पृष्ठमा नेल्सन मन्डेलाको धैर्य, ज्ञान, मानवतावादी भावना उजागर भएका छन् । उनले रंगभेदविरोधी अभियानमा लाग्दा पाएका दु:ख, पीडा, अफ्रिकी राष्ट्रिय कंग्रेसका गतिविधि र आफ्नो लामो जेलयात्रालाई सजीव चित्रण गरेका छन्, पुस्तकमा ।
जनजातिको पारम्परिक संस्कृतिको राजदूतझैँ अग्रस्थान रहेका उनी श्वेत वर्चस्वमुखी राष्ट्रका लागि चुनौती थिए । मन्डेलाको जीवनकालमा एकातिर सोभियत संघ र अमेरिकाबीच शीतयुद्ध जारी थियो भने अर्कातिर भियतनाम युद्ध । यसको असर रंगभेदविरुद्धको आन्दोलनमा पनि पर्यो । २७ वर्ष जेल जीवन बिताउनु परे पनि उनी उत्पीडितको पक्षमा बोल्नबाट कहिल्यै विचलित भएनन् । दक्षिणी अफ्रिकी शासनविरुद्ध तोडफोड, राजद्रोह र हिंस्रक षडयन्त्र रचेको आरोप उनीमाथि थियो । जेलबाट रिहाइ भएपछि उनलाई नैतिक नेताको सम्मान मिल्यो । आफूलाई चरम यातना दिएका श्वेत जातिप्रति समेत देखाएको सहिष्णुताले उनलाई महान राजनेता बनायो । मानव अधिकार र जातीय समानताको संग्राममा महफ्वपूर्ण शक्तिको पर्यायका रुपमा प्रतिष्ठित मन्डेला दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बन्न सफल भए । समावेशी लोकतन्त्र र शान्तिका लागि अटुट संघर्ष गरेकाले नोबेल शान्ति पुरस्कारबाट सम्मानित मन्डेलाको यो पुस्तक व्यक्तिकथा मात्रै नभएर रंगभेदविरोधी आन्दोलन, तत्कालीन समाज र इतिहासको आधिकारिक दस्तावेज पनि हो ।
पर्ल एस बकलिखित उपन्यास द गुड अर्थमा सय वर्षअघिको चिनियाँ किसान वाङलुङको जीवनचरित्र मिहीन ढंगले उतार गरिएको छ । यो चरित्र विश्वका किसानले भोगेको यथार्थ प्रतिविम्बजस्तो लाग्छ ।
तत्कालीन चीनको सामाजिक, आर्थिक र राजनीतिक परिवेश बुझ्न पनि यो उपन्यासले मद्दत गर्छ । यो कथा त्यो कालखण्डको हो, जतिबेला बेलायत र अमेरिकाजस्ता मुलुकको चीनमाथि व्यापारिक वर्चस्व थियो । विश्व साम्राज्यको चेपुवामा परेको चीनमा एकातिर कुलीनहरु थिए भने अर्कातिर सर्वहारा । भुइँमान्छेको ठूलो संख्या थोरै सम्भ्रान्तको शासन–दायरामा थिए । धनी र गरिबबीचको दूरी झन्–झन् बढ्दो थियो । वाङलुङले नवधनाढ्यहरुमा विकसित सामन्ती चरित्रलाई प्रतिनिधित्व गर्छ । सम्पत्ति जोड्नुअघि वाङलुङ एक कर्मयोगी थियो । धनी महिलाकी सुसारे ओलानसँग उसको प्रेम र संघर्ष रोचक लाग्छ । आमा–बा नभएका वाङलुङ आफ्नो गरिबीसँग अहोरात्र लड्छ । माटोप्रति अगाध स्नेह राख्दै कृषिमा समर्पित हुन्छ । निरन्तरको परिश्रमले धनधान्य भएको वाङलुङमा पैसाको मात चढ्छ र गलत महिलाको संगतमा फस्छ । नोकरचाकर राख्न रुचाउने ऊ जुवाको कुलतमा फसेपछि विकट दु:खमा साथ दिने श्रीमतीलाई समेत उपेक्षा गर्न थाल्छ । धरतीजस्तै सारा अप्ठ्यारा पचाउने ओलानमाथि वाङलुङको पुरुषवाद हाबी हुन्छ । बिस्तारै उसले अकल्पनीय दु:खको पहाड बोक्नुपर्छ । आफन्तहरुले समेत धोका दिन्छन् । अनेक धोकाका ढोका उघ्रँदै जान्छन् । इतिहास र संघर्ष कहिल्यै बिर्सन नहुने पाठ वाङलुङको जीवनयात्राबाट लिन सकिन्छ । अमेरिकी साम्राज्यवादलाई टेवा दिएको आरोपमा चिनियाँ क्रान्तिले द गुड अर्थमाथि प्रतिबन्धको ताल्चा झुन्ड्याइदिएको थियो ।
वालविवाहजस्तो सामाजिक कुरीतिप्रति तीखो व्यंग्य गरिएको छ, सेतो धरतीमा । अमर न्यौपानेलिखित यो उपन्यास बाल्यकालमै विधवा भएर देवघाटमा वैधव्य जीवन बिताइरहेकी तारा आमाको वास्तविक जीवनकथामा आधारित छ । न्यौपानेको लेखनीमा सरलता र कल्पनाशीलताको सघन मिश्रण हुनुका साथै दार्शनिक भावको झल्को पनि पाइन्छ । सात वर्षको उमेरमा विवाह भएर नौ वर्षमै विधवा भएकी तारालाई पारिवारिक जीवनबारे उति थाहा हुँदैन । त्यो पुस्ताका आमाहरुले बेहोर्नु परेको बुहार्तन, समाजको अपहेलना आदिलाई उपन्यासमा चित्रण गरिएको छ । विधवा हुनु, माइतीको आश्रयमा रहनु, आमाको निधन हुनु, बुढेसकालमा बाबुले बिहे गर्नु, सौतेनी आमाको व्यवहारबाट आजित हुनु, देवघाट पुग्नु र त्यहीँ जीवन बिताउने निर्णय गर्नु ताराको जीवनका घुम्ती हुन् ।
उपन्यासमा बालविधवा ताराको बालसुलभ अबोधता र उनको सहनशीलता उजागर भएको छ । पितृसत्तात्मक समाज र परम्परामा बाँच्न बाध्य ताराले जीवनभर विवाह गर्दिनन् तर यौवन विकासले यौनचाहना फक्रेपछि कल्पनामा केही पुरुषसँग उनले मनोगत सहवास गरेकी हुन्छिन् । शारीरिक पवित्रताको खासै अर्थ हुँदैन भन्ने दार्शनिक सन्देश पनि उपन्यासले दिन खोजेको भान हुन्छ । वर्णित घटनाहरु नयाँ पुस्ताका लागि काल्पनिक लाग्न पनि सक्छन् । लाग्छ– तत्कालीन पितृसत्तात्मक सामाजले नारी जातिमाथि गरेको अन्याय, अत्याचार र पीडाको पराकाष्ठा बुझ्न सेतो धरतीलाई एक ऐतिहासिक प्रतिवेदन मान्न सकिन्छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...