(पुस्तक समीक्षा) रजतपटभित्रको अँध्यारो
पुस्तकमा ग्ल्यामर संसारका यौनदेखि आर्थिक शोषणसम्मका विविध पाटा छन् । कहिले कसैको प्रेममा परेर सम्पन्न बन्छन् भने कहिले कसैको प्रेमका लागि आफूलाई रित्याइदिन्छन् पनि ।
काे सित कसको अफेयर चल्दै छ ? क–कसको सम्बन्ध टुट्यो ? कसको बिहे कोसित हुादै छ ? यिनै सेलिब्रिटी मसलाको खोजीमा हुन्छन् मनोरञ्जन दुनियाँका पत्रकार । निरन्तर यस्तै समाचार, फिचर, टिडबिट्स अनि गसिपको खेतीपाती गरिरहेका हुन्छन् ।
कलाकारको काम हेर्नेभन्दा पनि निजी जीवन पढ्न चाहने नेपाली मनोविज्ञान बुझेका युवा रंगपत्रकार डीबी खड्काले १२ वर्षमा कुरा गर्ने तर नछाप्ने, छाप्ने तर नाम नखुलाउने सर्तबन्दीका कथालाई एकमुष्ट किताबी रुप दिएका छन्, नियत : रंगीन दुनियाँका रंगहीन दृष्टान्त ।
बाहिरबाट हेर्दा रजतपट ग्ल्यामरस हुन्छ नै । चम्किलो आवरणभित्र लुकेको मैलोधैलोको थाहापत्तो कि तिनै मनोरञ्जनकर्मीलाई हुन्छ कि खड्काजस्तै थरीथरीका अभिनेत्री, गायिका र मोडलहरुसित नजिकिएर तिनका अन्तरंग उधिन्न सिपालु पत्रकारलाई ।
अनि त अब्राहम लिंकनकृत प्रजातन्त्र परिभाषाको प्यारोडी लेखिदिन्छन्, मनोरञ्जन क्षेत्र पुरुषले पुरुषद्वारा पुरुषका लागि बनाएको हो । पुरुषका लागि रंगीन, महिलाका लागि फिका । पुस्तकका २० निबन्धमा खासगरी स्थापितभन्दा पनि नवप्रवेशी या संघर्षशील पात्र र प्रवृत्तिलाई केलाएका छन् । पाठकलाई खुल्दुली जाग्छ, आखिर को होला त त्यो पात्र ?
काम दिएबापत वा दिनुअघि कलाकारमाथि हुने यौन दुर्व्यवहार अर्थात् कास्टिङ काउचबाट काठमाडौँको सिने नगरी व्यथित छ । यहाँका निर्माता, निर्देशकदेखि अभिनेतासम्मलाई लाग्छ, महिला अभिनय जगतमा आउनु भनेको भर्जिनिटी गुमाएको प्रमाणपत्र पाउनु हो या बिग्रिएकी केटीको लाइसेन्स हात पार्नु हो । सिर्फ देहदेखि देहसम्मको यात्रा हो । कुनै हिरोइनलाई प्रशंसकले नै धम्क्याउँछ, ‘चाँडै विवाह गर्नुभयो भने हजुर विधवा हुने पक्का छ ।’
नारी कलाकार रातारात सितारा बन्न त चाहन्छन्, त्यसअनुरुप सीप र क्षमता बढाउन सक्दैनन् । र, अन्यायविरुद्ध बोल्ने आत्मविश्वाससमेत छैन । भोलि कसैले काम दिएन भने ? समाजमा इज्जत गयो भने ? सिने नगरीको विद्रूपता सँगसँगै कलाकारमाथिको अत्याचारलाई स्वाभाविक ठान्ने खतरा उत्तिकै छ ।
पुस्तकमा ग्ल्यामर संसारका यौनदेखि आर्थिक शोषणसम्मका विविध पाटा छन् । कहिले कसैको प्रेममा परेर सम्पन्न बन्छन् भने कहिले कसैको प्रेमका लागि आफूलाई रित्याइदिन्छन् पनि । खड्का नारी कलाकारका दु:खलाई नियति मात्र मान्ने पक्षमा छैनन्, बरु पुरुष नियतमै प्रश्न गरेका छन् ।
यो पुरुषले महिलाका निम्ति लेखेको किताब हो भन्नेमा कुनै द्विविधा छैन किनभने उनले महिलाप्रति समानुभूति राखेका छन् । मीटूको बतास आए पनि आन्दोलनको आाधीबेहरी नबनेकामा उनको चित्त बुझेको छैन । फिल्मी फोहोरमैलाका निम्ति जागरुक सफाइकर्मीको आवश्यकता पनि औँल्याएका छन् ।
स्टारको ठेकेदारदेखि नर्क पुगेको एउटा स्कुटीसम्म हेर्दा पुस्तक काव्यिक र चित्रात्मक छ । गुन्डाको भलाद्मी वैरभाव, दरबारमार्ग टू दुबई, मेटामोर्फोसिस : फ्यानबाट एसी, कोटभन्दा कमसल सम्बन्ध, पड्किन ठिक्क परेको सेल्फी, जिन्दगीमा रिटेक हुँदैन, फुपूको अखडा, पहिरन : चरित्रको सोरुम आदि शीर्षक आकर्षक छन् । किताबको शक्ति नै मीठो भाषा र शिल्प हो ।
उपन्यासको उद्यम फलेफुलेका बेला मनोरञ्जन क्षेत्रको कुरुपता उदांगो पारिदिने लेखकको रहर प्रशंसायोग्य नै छ । सागसँगै लेखकमा कताकता नकारात्मक माइन्डसेट भएको भनिने लघुताभास पनि देखिन्छ । साँचो अर्थमा पत्रकार आशावादी र निराशावादीभन्दा पनि यथार्थवादी हुनु जरुरी हुन्छ ।
विगत वर्षमा संसारभरि मौनता भञ्जक मीटू अभियान चल्यो । त्यसमा थुप्रै सेलिब्रिटी मुछिए पनि । तर खड्काले पात्रका रुपमा उभ्याएका कसैले यसमा सामेल हुने अठोट गरेको देखिएन । पात्रहरु खुलेको भए सायद पुस्तकको प्रयोजन पनि हुने थिएन । र, यो किताबको हुलिया शानदार गैरआख्यान हुन जान्थ्यो ।
जतिसुकै वास्तविक पात्रको दाबी गरे पनि पुस्तकमा नाउँ, थर, वतन या तिथिमिति केही उल्लेख छैन । खड्काले आफ्नो पत्रिका र सम्पादकको नाम हरेकजसो निबन्धमा झर्को लाग्ने गरी समेटेका छन् । तर पीडकको नाम लेख्ने आवश्यकता कहीँ देखेका छैनन् । चरीको नामधारी पुरुषलाई कहाँ खोज्ने ? यसमा पाठकले लेखकको नियतमै प्रश्न गर्न सक्छन् ।
पुस्तक : नियत
लेखक : डीबी खड्का
प्रकाशक : युरेका पब्लिकेसन
पृष्ठ : १८०
मूल्य : ३२५ रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...