संस्कृतिकर्मी हरिराम जोशीका प्रिय तीन किताब
नेपाली समाजका विविध आयामलाई बुझ्न यी किताबले विशाल क्यानभास अगाडि सारिदिन्छन् ।
विभिन्न जेलमा रहँदा छोरी इन्दिरालाई उपहार दिन नपाएकामा जवाहरलाल नेहरु दु:खी हुन्छन् र शृंखलाबद्ध पत्र लेख्छन् । तिनै पत्रहरुको संग्रह हो, ग्लिम्सेस अफ वल्र्ड हिस्ट्री ।
नेहरुलिखित यो पुस्तकले मानव जातिको इतिहास मनोहारी शैलीमा वर्णन गर्छ । ग्रिस, रोमदेखि चीन तथा पश्चिम एसियाका विशाल साम्राज्य र सभ्यताको उदय र पतनका साथै अशोक, चंगेज खाँ, महात्मा गान्धी र लेनिनजस्ता व्यक्तिले नेतृत्व गरेका युद्ध, क्रान्ति, लोकतन्त्र र तानाशाही व्यवस्थाको सटिक झलक छ ।
धेरैलाई आफ्नै राष्ट्र र संस्कृति मात्रै राम्रो भन्ने भ्रम हुन्छ । नेहरुलाई भने विद्यालयमा पढाइने एकै देशको संकीर्ण इतिहासमा रुचि थिएन । उनी छोरीमार्फत आफ्नो विश्व दृष्टिकोण र इतिहासबोध अभिव्यक्त गर्थे । अनौपचारिक लयमा उनले समकालीन र व्यक्तिगत घटनालाई पनि उल्लेख गरेका छन् । पुस्तकका कतिपय प्रसंगले राज्यको गठन, प्रमुख व्यक्ति, युद्ध, राजवंश, विज्ञान आदिबारे अद्भुत ऐतिहासिक परिचय दिन्छ । नेहरुको लेखनकालमा सर्वत्र युद्ध र अराजकता फैलिरहेको थियो । किताबको केन्द्रीय चासो युरोपेली र एसियाली इतिहास हो, जो तत्कालीन विश्व परिवेशमा अधिक आकर्षक विषय थियो । नेहरुले अरब विश्व, मध्यएसिया, चीन, जापान र कोरियाको इतिहास पनि चर्चा गरेका छन् ।
किताबले नेहरुको सोच र भारतकै नीतिलाई मूर्तता दिन पनि सहयोग गर्छ । रुसी समाजवादबाट काफी प्रभावित नेहरुले अमेरिका र बेलायतजस्ता पुँजीवादका अनुयायीहरु विचलित भएको देखेकै थिए । उत्पादन, वितरण र आर्थिक सम्बन्धलाई लिएर हुने विमर्शहरुमा छोरी पुस्ता सचेत ढंगले सामेल भएर इतिहासको अन्तर्यसम्म पुगून् भन्ने नेहरुको आकांक्षा छ ।
एकतन्त्री राणाशासन असह्य भएपछि भारत निर्वासनमा रहेका बेला लक्ष्मीप्रसाद देवकोटाले ००५ मा पहाडी पुकार लेखेका थिए । यो काव्यले जनताको असह्य घाउ र पीडालाई मार्मिक शैलीमा प्रस्तुत गरेको छ । नेपालबाटै क्रान्तिकारी पुस्तक निकाल्नु चुनौतीपूर्ण समय थियो, त्यो । यसको छपाइ जन–प्रकाशनालय रक्सौल, चम्पारनबाट भएर पहिलो संस्करण पाँच हजार प्रति हारालुछ भएको थियो । प्राकृतिक प्रतीक र छायावादी शैलीमा लेखिरहँदा देवकोटाले व्यवस्थाका बेथितिबारे खुलेर लेख्न सकिरहेका थिएनन् । तर प्रवासी भूमि पुगेपछि नेपाली दयनीय जीवनको वस्तुवादी चित्रण गर्दै निरंकुशतालाई खुलेआम हाँक दिए ।
जनताको पक्षधर यो काव्यले राणा शासनका कारण आक्रान्त देशको दुर्दान्त तस्बिर देखाउँछ । जनअधिकार कुण्ठित रहेको त्यस युगमा समाज बिस्तारै जुर्मुराउँदै पनि थियो । आम जनतामाथि हुने शोषण र उत्पीडनको अवस्थालाई यथार्थवादी रुपमा देखाइएको यस काव्यमा निरंकुश शासकले क्रान्तिकारीहरुलाई कारागारमा कोचेको, गोली ठोकेको र फाँसीसमेत दिएको पक्षमाथि प्रकाश पारिएको छ । मौलिक जनाधिकार र हकबारे बुझाउँदै यसका लागि संघर्ष र क्रान्तिमा होमिन जनतालाई आह्वान गरिएकाले पनि त्यसबेला यो गीतिकाव्य निकै चर्चित भयो । दीनदु:खीप्रति प्रशस्त सहानुभूति राख्ने देवकोटाले तत्कालीन राजनीतिक, सामाजिक, आर्थिक घटना उजागर गरी अँध्यारोविरुद्ध उठ्न प्रेरित गरेका छन् । सात सालको क्रान्तिमा चेतनाको बीउ छर्ने सांस्कृतिक योगदान कुनै रचनाको छ भने नि:सन्देह पहाडी पुकारको छ ।
नेपाली इतिहासको अध्ययन डीआर रेग्मीलिखित मेडिभल नेपालबिना अपूरो हुनेछ । चार खण्ड र पच्चीस सयभन्दा बढी पृष्ठको यस किताबमा मध्ययुगको समग्र मूल्यांकन गरिएको छ । अनेक तर्क र विमर्श गरिए पनि लिच्छवि राजाहरुको अन्त्यपछि पृथ्वीनारायणले गरेको काठमाडौँ उपत्यका आक्रमणसम्मलाई मोटामोटी रुपमा मध्यकाल मानिन्छ । मध्ययुगीन इतिहासमा उपत्यकाभित्रका कान्तिपुर, भक्तपुर र ललितपुर, नेपाल संवत् अनि शिलालेखबारे रुचि राख्ने पाठकका लागि यो पुस्तक उत्तम खुराक हो ।
केही विदेशी विद्वान्को कटु आलोचना गरिएको किताबले तत्कालीन इतिहास, कला, धर्म, संस्कृति, राजनीतिको सांगोपांगो अध्ययन गरेको छ । त्यसबेलाको समाजका विविध आयामलाई बुझ्न पनि यो किताबले विशाल क्यानभास अगाडि सारिदिन्छ ।
खस साम्राज्यको केही चर्चा भए पनि पुस्तकको मुख्य अध्ययन काठमाडौँ उपत्यकाको राजनीतिक इतिहासमाथि नै केन्द्रित छ । काठमाडौँ उपत्यकाको अनुहार परिवर्तन भए पनि मध्यकालीन प्रशासनिक प्रणाली, अर्थव्यवस्था, धर्म र वास्तुकलाको कालक्रमिकतामा राखेर हेर्न सकिन्छ । मल्ल राजाहरुले गरेका काम र सामाजिक संरचना नै मध्यकालका विशेषता हुन् । प्राचीन सामन्त जीवन पद्धतिमा आधारित शासनले योजनाबद्ध र संगठित आर्थिक नीति बनाउन नसके पनि कलाको स्वर्णकाल मानिन्छ । रेग्मीको बुझाइमा पनि मध्यकाल एक सानदार युग थियो ।
प्रस्तुतिः गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...