प्रवासिएका नेपालीको आँसुको व्यथा
रेमिट्यान्सले नेपालीलाई थातथलो छाडेर उपभोक्तावादी जीवन बाँच्न सदरमुकाम पुर्यायो ।
रिपोर्टिङ गर्दागर्दै स्थिति यस्तो पनि आउँछ, जतिबेला विषयले पुस्तक माग गर्छ । डम्बरकृष्ण श्रेष्ठलाई पनि सायद यस्तो भयो । वैदेशिक रोजगारीलगायत विषयमा रिपोर्टिङ गरिरहेका श्रेष्ठलाई लाग्यो, रिपोर्टिङ अझै अपुग छ । यसैले त जन्मियो, नेपाली प्रवासन : नियति र रहर । यसलाई उनको रिपोर्टिङको एकमुष्ट प्याकेज भन्दा हुन्छ । उनले हिमालमा ०५७ देखि ०७२ सम्म लेखेका ४१ रिपोर्टिङको संग्रह हो, यो किताब ।
वैदेशिक रोजगार र नेपाली समाज एकअर्कासँग जोडिएका छन् । लाहुरे संस्कृतिको पौराणिक यात्राले अझै पनि निरन्तरता पाइरहेकै छ । उदेकलाग्दो कुरा– कुल गार्हस्थ उत्पादनमा ४० प्रतिशतभन्दा बढी योगदान रहेको वैदेशिक रोजगारीमा सरकारको लगानी दुई प्रतिशत पनि छैन । अनि, वैदेशिक रोजगारीले पैसा मात्र होइन, समस्या पनि आयात गर्नु अस्वाभाविक भएन । श्रेष्ठको किताब नेपाली प्रवासनको दुई दशकको कम्प्याक्ट डिस्क हो । श्रेष्ठ आफैँ पनि प्रवासनमा रहेका कारण उनले प्रवासीको घामछाया नजिकबाट देखेका छन् ।
वैदेशिक रोजगार भन्नासाथ दु:ख मात्र छैन, नेपालीले प्राप्त गरेका सफलताका कथा पनि छन् । जस्तो, झापाका हाकिम श्रेष्ठलाई मलेसियामा भेटौँ । ४९ वर्षीय हाकिम मलेसियाका सफल व्यवसायी हुन् । डेढ दशकअघि सेक्युरिटी गार्डमा त्यहाँ पुगेका पूर्वभारतीय सैनिक उनले १२ वर्षअघि खोलेको मनकामना स्टोर कोतराय, बुकिबिन्ताङ, केलाङ र जोहरबारुमा विस्तार भएको छ । सेक्युरिटी गार्डमा चार वर्ष काम गरेपछि १९ सय रिङगिटमा छुर्पी पसल खोलेका उनका चार पसलमा चार मलेसियालीसहित २२ कामदार छन् भने दैनिक ६ लाख नेपाली रुपैयाँको बिक्री हुन्छ ।
प्रवासमा हाकिम यस्ता एक मात्र उदाहरण होइनन् । पछिल्लो दुई दशकमा ‘मालिकको काम गर्ने मात्र होइन, आफू नै मालिक हुनुपर्छ’ भन्ने मान्यता नेपालीमा देखिन थालेको छ । यसैले त अमेरिकादेखि युगान्डासम्म आफ्नै क्षमताले आफ्नै व्यवसाय खडा गर्ने नेपाली अहिले प्रशस्तै भेटिन्छन् । प्रवासिएका नेपाली युवाकै कारण स्वदेशमा चेतना मात्र बढेको छैन, सीप पनि भित्रिएको छ । मलेसियादेखि खाडी अनि इजरायलदेखि अमेरिकासम्म अनेक जुक्ति लगाएर पुगेका सबै नेपाली धर्म, भूगोल, संस्कृति र शासन व्यवस्थामा पनि रोजगारीका लागि स्वीकार्य छन् । जसोतसो विदेशमा काम गरेर आर्जन गरेको सीपलाई स्वदेशमा प्रयोग गर्ने युवा पछिल्लो समय विशेषगरी रेस्टुराँदेखि तरकारी खेतीसम्ममा आफूलाई होमिरहेका भेटिन्छन् ।
यो विदेशका महँगा सहरमा विलासी जीवनमा हाँसिरहेकादेखि नेपालमा ऋण लिएको साहूको ब्याज र घरधन्दा चलाउनेहरुको कथा हो, व्यथा पनि । किनभने विगतमा भारतीय नागरिकको हकमा भनिएजस्तै पछिल्लो समय विश्वको कुन भूगोलमा पुगेका छैनन्, नेपाली ? कुन काममा छैनन्, जहाँ नेपालीले काम गरेका छैनन् ? तर सबैको कथा हाकिम श्रेष्ठको जस्तो नहुन पनि सक्छ । महिलाको हकमा अझै पनि वैदेशिक रोजगार सुरक्षित छैन, त्यसमाथि ठगी पनि उस्तै । जस्तो, किताबमा उल्लेख गरिएकी काठमाडौँकी रोजिना रिसाललाई सुनौँ– ‘राम्रो संस्थामा काम राम्रो भए पनि धेरै कमाउने र संसार घुम्ने लोभमा मलेसिया आएँ । तर अक्सन कन्सल्टेन्सीले भनेजस्तो यहाँ केही थिएन ।
ठगिएको थाहा पाएपछि लेन्स एकेडेमीविरुद्ध रकम फिर्ता र क्षतिपूर्तिको मागसहित मुद्दा हालेकी छु । डुबेको रकम फिर्ता नलिई घर फर्कन्नँ ।’
अरनिको चीनतिर मूर्ति बनाउन गए अनि बलभद्र कुँवर लाहोरका शासकको फौजमा भर्ती भए । वैदेशिक रोजगारको प्रारम्भकाल सम्झिरहेका हामीले त्यसैलाई निरन्तरता दिइरहेका छौँ । लाग्छ, पछिल्लो समय ‘एक घर एक वैदेशिक रोजगार’ को स्थिति छ । यसैले हाम्रा अर्थशास्त्रीहरु भन्छन्, नेपाली युवाहरु वैदेशिक रोजगारमा नभइदिएको भए, उताबाट उनीहरुले पैसा नपठाइदिएको भए यो देशको अर्थतन्त्रले उहिल्यै उल्टो टाङ गरिसकेको हुन्थ्यो ।
०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सबै नेपालीका लागि राहदानी लिने व्यवस्था सहज बनाइदिए । त्यतिबेलादेखि वैदेशिक रोजगार यात्रा उकालो लाग्यो । अनि सुरु भयो, रेमिट्यान्स भित्रिने लहर । तर रेमिट्यान्स मात्र आएन, विदेसिएका श्रमिक नेपालीको लास पनि कफिनमा सँगसँगै भित्रिन थाल्यो । रेमिट्यान्सले नेपालीलाई थातथलो छाडेर उपभोक्तावादी जीवन बाँच्न सदरमुकाम पुर्यायो । पारिवारिक कलह र श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि खलबलिएका धेरै घटना छरपस्ट भए । यस्तै भोगाइहरुको आँखीझ्याल हो, श्रेष्ठको यो किताब ।
यो किताब प्रवासिएका नेपालीको आँसुको व्यथा हो । गर्वको कथा हो । सूचना छ, रोमान्चकता पनि उत्तिकै । सम्बन्धको मर्म छ, भोगाइका बांगाटिंगा रेखा उस्तै । नेपाली प्रवासनको नियतिलाई बुझ्न किताब उपयोगी छ ।
नेपाली प्रवासन : नियति र रहर
लेखक:डम्बरकृष्ण श्रेष्ठ
प्रकाशक:हिमाल किताब
पृष्ठ:२७२
मूल्य:३९० रुपैयाा
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...