एक मध्याह्न उनीसँग
के थियो हामीबीचको साइनो ? हामी थियौँ यथार्थ ? [कविता]

यो त्यस मध्याह्नकाे कुरा हो
जुन दिन हाम्रो भेट भएको थियो ।
हामी को थियौँ ?
फगत शरीर थियौँ ? आत्मा थियौँ ?
या परदेशी ?
के थियो हामीबीचको साइनो ?
हामी थियौँ यथार्थ ?
या थियौँ कुनै लीलाका दुई काल्पनिक पात्र ?
यसअघि हामी कहाँ भेटिएका थियौँ ?
हामी सम्झन सक्दैनौँ सायद
किन भेटिएका थियौँ ?
न भन्न सक्छौ तिमी, न म भन्न सक्छु
केही समय बरालिएर कतै फेरि भेटिन्छौँ कि
तर त्यसको कुनै ठेगान छैन
त्यस मध्याह्नमा जब हाम्रो भेट भयो
हामीबीच केही कुरा भए
कुन किसिमका कुरा थिए ती ?
त्यसमा के मिसिएको थियो–
माया, बलिदान या कुनै प्रेमदर्शन ?
के थियो त्यस कुराकानीमा–
छुट्टिनुको दर्द थियो कि बिदाइको खुसी थियो ?
कि फेरि हामी कहिल्यै नभेटौँको भाव ?
त्यस दिन
हामीले भेट्यौँ एकअर्कालाई
कफी अर्डर गर्यौँ
कुरा गर्यौँ, बिल तिर्यौँ, उठ्यौँ
अनि बडो न्यानो आगालो मार्यौँ
र, तिमी गयौ
म त्यस बाटोलाई हेरीहेरी टोलाइरहेँ
जसले तिमीलाई डोर्याएर म छेउसम्म ल्याएको थियो
म त्यही बाटोलाई हेरिरहेँ धेरै बेरसम्म
जसले तिमीलाई मबाट खोसेर कतै अन्तै लिएर गयो ।