तीन दशकसम्म बबन्डर मच्चाइरहेको पुस्तक
गम्भीर अध्येताको सर्वथा अभाव हुन थालेको पछिल्लो परिस्थतिमा आएको छ, भाग्यवाद र विकास ।
सय वर्षमा पनि माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी सार्वजनिक जीवनमै छन् । जोशी त अझै ठमठम हिँडिरहेका भेटिन्छन् । यस्तो स्थितिमा ९३ वर्षमै डोरबहादुर विष्ट स्मृतिमा मात्र छन्, कसरी भन्ने ? बेलाबखत सुटुक्क एकान्तबासमा जाने गरेका विष्टको अज्ञातबास रहस्यकै गर्भगृहमा छ ।
पुर्ख्यौली थलो जुम्लाको चौधाबीसामा कर्णाली इन्स्टिच्युट नामक गैरसरकारी संस्था खोलेर सामाजिक अध्ययन र व्यावहारिक अनुसन्धानमा लागेका ऊर्जावान् अभियन्ता ‘विष्ट बुबा’ बेपत्ता भएको पनि २५ वर्ष पुगिसकेको छ । २७ पुस ०५२ मा (शाही) नेपाल वायुसेवा निगमको जहाजमा जुम्लाबाट नेपालगन्ज झरेका मानवशास्त्रका प्राध्यापक विष्ट कहाँ छन् ? जनमनमा प्रश्न छँदै छ । अनुवादक वसन्त थापाले विष्ट हराउनुअघि नै फेटालिजम एन्ड डेभलपमेन्टको उल्था थालिसकेका थिए । विष्ट कहिले फर्केलान् र प्रारम्भिक काम देखाउँला भन्दाभन्दै समयले नेटो काट्यो ।
यसबीचमा बरु केसाङ छेतेनले वृत्तचित्र बनाए, कास्ट अवे म्यान । सन् २०१४ मा बनाएको त्यो वृत्तचित्रमा वसन्त बेपत्ता विष्टको खोजीमा निस्केका पात्रका रुपमा छन् । त्यस क्रममा उनी जुम्लादेखि हरिद्वार (भारत) सम्म धाए तर विष्ट कतै भेटिएनन् । तर उनको मनमा घिडघिडो रहिरह्यो, त्यही अनुवादको ।
ब्रिटिसकालीन भारतीय कम्पनी ओरिएन्ट लङम्यानले सन् १९९१ मा छापेको त्यो पुस्तक नेपाली संस्करणमा आउन रजत वर्ष लाग्नुमा कपिराइटलगायतका झमेला पक्कै थिए होलान् । डोरबहादुर विष्ट परिवारले हालसालै प्रकाशनमा ल्याएको यो किताब बहुचर्चित र विवादास्पद किन छ भने यसका पक्ष र विपक्षमा सम्मति–विमति हाराहारीमै छन् ।
आफूले नेपाली समाजको आलोचनात्मक परीक्षण गर्ने दुष्कर मार्ग रोजेको विष्टलाई थाहा नहुने कुरै भएन । खासगरी भाग्यवाद, बाहुनवाद, आफ्नो मान्छे र चाकरी प्रथालाई उनले विकासको अवरोधका रुपमा लिएका छन् । अझ भाग्यवादले बाहुनवाद जन्मायो अनि बाहुनवाद हिन्दुवादले जन्मायो भन्ने उनको तिखो भाष्यले थुप्रैका कन्सिरी अझै तातिरहेको अनुभव हुन्छ । अंग्रेजी भाषामा लेखिएर पनि तीन दशकसम्म बबन्डर मच्चाइरहेको पुस्तक सम्भवत: यही हो ।
यतिका स्रोत–साधन हुँदाहुँदै पनि नेपाल किन उँभो लागेन त भनेर उहिल्यै माथापच्ची गरिसकेका रहेछन्, विष्टले । पौरखभन्दा नियतिलाई निर्णायक ठान्ने नेपाली समाजको सटीक चित्र यसले खिचेको छ । नेपालका आदिवासी जनजाति, मधेसी, दलितलगायत पिछडिएको वर्गले जातीय, क्षेत्रीय, सांस्कृतिक, भाषिक विभेदबारे बुझ्ने आदिग्रन्थका रुपमा लिएको छ र उनको छवि कट्टर ब्राह्मणविरोधीका रुपमा स्थापित छ ।
नेपाली जनताप्रति समर्पित गरिएको यो पुस्तकले नेपाली समाजको मूल्य प्रणाली र सामाजिक–सांस्कृतिक पक्ष खोतलेको छ । भाग्यवादमाथिको विश्वासले गरिखाने भावना नष्ट गरेको, लेखेको मात्र पाइन्छ भन्ने (अन्ध) विश्वास सिर्जना गरेको र कुनै पनि समस्याको उद्देश्यमूलक समाधान खोज्न प्रेरित नगरेको विष्टको निष्कर्षमा असहमत हुन पनि गाह्रै छ ।
नेपाली मानवशास्त्रका पिता भनिने विष्ट सामाजिक मूल्य परिवर्तन चाहने र भिन्न तरिकाको सोच्ने चिन्तक लाग्छन् । नेपाली समाजको चिन्तन शैलीमा यसले ल्याएको उथलपुथल अविस्मरणीय छ । विष्टको विचारमा सहमत हुन नसकिए पनि यसको सामयिकता ज्वलन्त छ । सामाजिक विमर्शमा यसले अझै लामो समय ठाउँ पाउने नै छ ।
पुस्तक अद्योपान्त पठनीय किन छ भने अनुवादक प्राज्ञिक लेखनको पोयो फुकाउन सफल भएका छन् । पुस्तकको भाव र भाषा, ढब र शैलीमा उनले चमत्कार नै गरेका छन् । जानेर गल्ती नहोस् र गल्तीजति मेरा भन्ने विनयशीलता पनि उनमा छ ।
मूल कृतिको भाव र स्वभाव नबिगारीकन बोधगम्य बनाउनु अनुवादकको चुनौती हो । आफू मानवशास्त्रको विद्यार्थी नहुँदानहुँदै पनि वसन्तले पारिभाषिक र प्राविधिक शब्दमा गरेको परख सराहनीय छ । यसको अनुवाद किन जटिल छ भने सन्दर्भ सामग्री नै १८ पृष्ठको छ । मानवशास्त्र र समाजशास्त्रका ठेलीमा घोत्लिएर गरिएको अनुवाद विशिष्ट खालको छ ।
अनुवाद शिल्पमा वसन्त आठै अध्यायमा खह्रो उत्रेका छन् । फेटालिजम एन्ड डेभलपमेन्टको उपशीर्षक ‘नेपाल्स स्ट्रगल फर मोडर्नाइजेसन’ को खास्सा अनुवाद गरेका छन्, ‘आधुनिकीकरण हेतु नेपालको जमर्को ।’ यिनै ‘हेतु’ र ‘जमर्को’ नै वसन्त–छाप उल्थाका दृष्टान्त हुन् ।
गम्भीर अध्येताको सर्वथा अभाव हुन थालेको पछिल्लो परिस्थतिमा आएको छ, भाग्यवाद र विकास । नेपाली समाजको मानवशास्त्रीय अध्ययनमा महत्त्वपूर्ण ग्रन्थ बनेको यो अनुवादले सामान्य पाठकलाई समेत झकझकाउने विश्वास व्यर्थ हुने छैन ।
भाग्यवाद र विकास
लेखक : डोरबहादुर विष्ट
अनुवाद : वसन्त थापा
प्रकाशक : डोरबहादुर विष्ट परिवार
पृष्ठ : १८२
मूल्य : ५५० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...