लालबहादुर घरभित्रै छ
मलाई बस् डर यत्ति छ त्यसलाई जुलुसको तलतल लाग्यो भने यस्तो महामारीमा पनि त्यो सडकमा निस्कनेछ (कविता)
ढुक्क हुनुस्, सरहरू !
लालबहादुर
कदापि–कदापि
घरबाहिर निक्लने छैन
कुनै खतरनाक साम्राज्यको
उन्नाइसौँ सम्राटजस्तो
कोभिड नाइन्टिनसँग
तपाईंहरूजस्तै
लालबहादुर पनि थर्कमान छ
यहाँहरू जो
मानव जातिकै रक्षाको
अभिभारा उठाइरहनुभएको छ...
लालबहादुर यस्तो ठूलो कुरा गर्न जान्दैन
निुमखा देशमाथि बम खसाल्नुअघि
सुपरपावरले गर्जन गरेझैँ
टेलिभिजनको बार्दलीमा उभिएर
सरहरू उसलाई चेतावनी दिइरहनुभएको छ–
‘घरभित्रै बस
बस घरभित्रै
भित्रै...घरभित्रै’
यो शहरको
एउटा सानो कोठामा
युगौँदेखि आइसोलेसनमा छ ऊ
पति–पत्नी, दुई छोरी र एक छोरा...
कालकोठरीमा घुमिरहेको छ
मतापमा एउटा पृथ्वी
दूरीका निम्ति यति धेरै चिन्ता गर्नुपर्दैन
शदियौँदेखि हुने र नहुनेबीच
विकराल छँदै छ दूरी
लालबहादुरसँग कसले हात मिलाउँछ ?
कसले अंकमाल गर्छ उसलाई ?
(फेरि हाम्रो लाले छ पनि उस्तै...
गरिब भए पनि एक नम्बरको घमण्डी छ
अझ पाँच–छ गिलास ठर्रा चढाएको साँझ त
दुइटा ट्रम्प र तीनटा पुटिन बन्छ )
ग्यास सिलिन्डर होस् या चामलको बोरा
कहिल्यै जानेन उसले अतिरिक्त राख्न
दु:खको स्टक भने कैयौँ जुनीलाई पुग्नी छ
दु:ख बालेर
वेदनाको भात पकाएर
खानेछ लालबहादुर
निर्धक्क हुनुस्, सरहरू !
लालबहादुर मरिगए घरबाहिर निक्लने छैन
तर, ऊ
हात धुने सरकारी उर्दी मान्न
असमर्थ छ
स्वयं काकाकुल शहरले उसलाई
यति पानी कसरी देओस् कि
ऊ बी–बीस मिनेटमा हात धुन सकोस्
त्यो घमण्डीले एक दिन मलाई भनेको थियो–
‘कविजी, मेरा हात मान्छेका रगतले रंगिएका छैनन्
मिची–मिची धोइरहनु पर्दैन’
कालो बजारले मास्कहरू गायब पारेको दिन
उसले घोषणा गरेको थियो–
‘कविजी, म स्वास्नीले रजस्वलामा प्रयोग गर्ने
टालोलाई माक्स बनाउँछु’
मेरो ग्यारेन्टी भो, सरहरू !
लालबहादुर
घरबाहिर निक्लने छैन
तर, बेला–बेला
जुलुसमा हिँडिरहने नशा छ उसको
अरूका निम्ति मरेर
इतिहासमा नाम लेखाउने पाराको
सनक पनि चढ्छ उसमा कहिलेकाहीँ
एक पटक जुलुसमा उफ्रिएपछि
ऊ केही वर्ष शान्त भई बस्छ
मलाई बस् डर यत्ति छ
त्यसलाई
जुलुसको तलतल लाग्यो भने
यस्तो महामारीमा पनि
त्यो सडकमा निस्कनेछ
‘तख्त–नशीं’ सरहरू !
यहाँहरू उसको कोठामा पुग्नुभएन भने
लालबहादुर
जहाँ पनि पुग्न सक्छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...