दाइ हराएको सूचना
त्यस दिनदेखि आजसम्म, तिम्रो खबर पाएको छैन, मेरो दाइ तिमी कहाँ छौ ? (कविता)
म थुनिएको छु
यतै गाउँमा
तिमी हरायौ
उतै बिरानो सहरमा
लकडाउनको पहिलो साँझ
फोनमा भनेका थियौ–
‘इँटाभट्टाको साहुले
कामबाट निकाल्यो
काँचो इँट्टाले बनाको
छाप्रो पनि भत्काइदियो
अब म कहाँ जाऊँ ?’
त्यस दिनदेखि आजसम्म
तिम्रो खबर पाएको छैन
मेरो दाइ
तिमी कहाँ छौ ?
मध्य राती लालाबाला लिएर
राजमार्ग, जंगलैजंगल हिँडिरहेको
अनि नदी तरिरहेको लावालस्करमा पनि
कतै छैन, तिम्रो अनुहार
रातको दोस्रो प्रहरमा
भाग्दै–भाग्दै गाउँ पसेको मिनी बस
कोसीमा खस्यो
मृतक र घाइतेको सूचीमा
छैन तिम्रो नाम
जर्सापको घर रंग्याएर
रंगको खाली बाल्टिनभित्र
सोयाबिन र चाउचाउ बोकेर
फित्ता छिनेको चप्पलले
राजमार्ग नापिरहेको मजदुरलाई
जर्सापकै कासनमा रोकियो
रंगहरूले पनि नरंगाएको धमिलो कमिज
छाती खोलेर देखाउँदै गरेको
ती पेन्टरसँग पनि
तिम्रो अनुहार मिल्दैन
दुई पोका चाउचाउ दिएर
सेल्फी खिच्ने ‘मनकारी’ को
भीडले थिचिएको अनुहार पनि
तिम्रो जस्तो छैन
पाँच सय किलोमिटर टाढा
साइकलमा भाउजूलाई राखेर
गइरहेको तिम्रो तस्बिर पनि
फेसबुकले छापेको छैन
धरतीको सबैभन्दा प्रकृतिप्रेमी
सबैभन्दा दयालु मान्छे
ओर्लिएको छ, दयनीय मान्छेहरूको उद्दार गर्न
पुगेको छ मठमन्दिर, चर्च र गुम्बावरपर
छरिदिएको छ बाटोमा
रोटी र अन्नका दाना
छेउमा थरथर काम्दै उभिएर
धुलोमा मिसिएको रोटीको टुक्रा हेर्दै
थुक निलिरहेको त्यो श्रमिकको अनुहार पनि
तिमीसँग मिल्दैन
च्यामे दिदीले
पाँचतारे होटलको जुठो फ्याँक्ने
फोहोरको डंगुरछेउ
एउटा ख्याउटे लास भेटियो भनेर
कतै भनेको पनि सुनिएन
वाग्मती, विष्णुमती,
धोबीखोलाको किनारतिर
कुनै बेवारिसे लास भेटियो
भन्ने हल्ला पनि चलेको छैन
दाइ तिमी कहाँ छौ ?
तीन वर्षअघि तिमीले
कतारबाट भनेका थियौ–
‘मेरो कमाइ मासिक १२ हजार
भाउजूलाई औषधि मात्रै लाग्छ
महिनाकै १० हजार
भन्, मेरो भाइ
सधैँ यतै बसूँ कि नेपाल फर्किऊँ ?’
मेरो स्तब्धतालाई
तिमीले जवाफ ठान्यौ सायद
र, फर्कियौ देश
जोतियौ फेरि उही इँटाभट्टामा
तीन महिनाअघि तिमीले भनेका थियौ–
‘आज झन्डै भट्टामा आफैँ पोलिएन’
कहिल्यै स्कुल नटेकेका तिमीलाई
लकडाउन भनेको थाहा भयो कि भएन ?
सधैँ सहर बनाएर
सहरबाट टाढा बस्ने तिमीलाई
आइसोलेसन भनेको थाहा भयो कि भएन ?
सधैँ अरूको घर बनाएर
घरबाहिरै बस्ने तिमीलाई
‘स्टे होम’ भनेको थाहा भयो कि भएन ?
म थुनिएको छु
यतै गाउँमा
तिमी हरायौ
उतै बिरानो सहरमा
मेरो दाइ
भन, तिमी कहाँ छौ ?
तिम्रो पसिनाको दहमाथि
डुंगा सयर गर्नेहरूको लकडाउन डायरी
छापिएको छ, अखबारहरूमा
सेलिब्रिटी भन्नेहरू
क्वारेन्टाइन टिप्स सुनाइरहेका छन्
एफएम रेडियोहरूमा
इम्युनिटी पावर बढाउन
खानुपर्ने परिकारको सूची
देखाइरहेका छन् नेताहरू
टेलिभिजनको पर्दामा
एक्लै बस्दा हेर्नुपर्ने
नीलो, पहेँलो, हरियो
फिल्मका सूचीहरू
छापिएका छन्
अनलाइन पोर्टलहरूमा
तर,
तिमी बेपत्ता भएको खबर
कहीँ–कतै छापिएको छैन
कहीँ पनि देखाइएको छैन
राज्यको सूचीबाट
हराएकै थियौँ हामी
यो विपतमा तिमी झन् हरायौ
मेरो दाइ,
तिमी कहाँ छौ ?
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...