कहर
न हिजो रहरले सहर पसेको थिएँ म, न आज रहरमा गाउँ फर्कँदै । यो सब बाँच्नकै लागि, आउनु र जानुभित्र पनि कहर छ । (कविता)

सुन,
ए सहरका मान्छेहरु !
न हिजो रहरले सहर पसेको थिएँ म
न आज रहरमा गाउँ फर्कँदै
यो सब बाँच्नकै लागि
आउनु र जानुभित्र पनि कहर छ ।
तिमीले जस्तै,
दुईछाक खान पाएको भए
ओतमा बस्न पाएको भए
दश नंग्राको मजबूरीमा बाँचेको म
रातबिरात सहरबाट किन लखेटिनु पर्थ्यो र ?
ए सरकारका मान्छेहरु !
लकडाउन उल्लंघनको डण्डा बर्साउन सक्ने तिमी
चार भञ्ज्याङबाट दपेटिएको किन देख्दैनौ हँ ?
कात्रोमासमेत कमिसन खोज्नेको जमात
मेरै नामको राहत आफ्नै भण्डारमा त पुर्याएनौ ?
भो चाहिएन अब,
गरिब र मजदूरका नामका खोक्रा आश्वासन
चाहे डण्डा बर्साऊ वा जेल नै हाल
मैले उल्लंघन गरें लकडाउन
किनकि, सहरमा गाँसबास नपाएर मरेको खबर
गाउँमा पुर्याउनु छैन मलाई ।
राम्ररी थाहा छ मलाई,
गाउँमा पनि स्वागत हुनेछैन
बरु लाग्नेछ, कोरोना भित्र्याउन लागेको आरोप
तर, यो सब स्वीकार छ मलाई ।
सुन, ए सहरका मान्छेहरू
ए सरकारका मान्छेहरू
फेरि एकपटक सुन
म न रहरले आएको थिएँ, न रहरमा फर्कंदै
यहाँभित्र कहर छ, कहर ।