साहित्य
प्रतीकात्मक तस्बिर । सटरस्टक
१३ वैशाख २०७७ शनिबार
लकडाउन र साँझको स्मृति
साँझ पर्यो कि भाउन्न छुट्ने मलाई मात्र हो या तपाईंलाई पनि ? (कविता)

साँझ पर्यो कि भाउन्न छुट्ने
मलाई मात्र हो या तपाईंलाई पनि ?
दिनभरिको आराम
अनि खाजाको समय
त्यसपछि सामाजिक सञ्जाल र बेतुकका गफहरू
र पनि कसैगरि दिन कट्दैन
पेटको भूमरी– केटाकेटीको चकचक
मन एउटै कुरा सोच्न मान्दैन !
बिस्तारै शितल हुन थाल्छन् बार्दली र कौसीहरू
बिस्तारै घाम निल्न थाल्छन् गल्लीका चेपहरू
एक टुक्रा क्षितिज हेर्न पनि बन्देज
प्रत्येक सहर सधैं लकडाउन हो
स्वतन्त्रताको छली घोषणामा रमाउनुपर्ने
निरीह जीवन जहिल्यै लकडाउन हो ।
अबचाहिँ, सक्दिनँ एकोहोरो चार किल्लाभित्र
सहँदै चिया–चुरोट–मदिराको लत
सुखदुःखका गफगाफ र भेटघाटको आदत !
म पैताला कुँज्याएर कसरत गर्न सक्दिनँ
सक्दिनँ खप्न जालझेलको बन्दाबन्दी !
०००
साँझ पर्यो कि भाउन्न छुट्ने
मलाई मात्र हो या तपाईंलाई पनि ?