साहित्य
प्रतीकात्मक तस्बिर । सटरस्टक
१४ वैशाख २०७७ आइतबार
भित्रै थुनिँदा
सोध्न मन लाग्यो, भोकैप्यासै, तातोपीचमा घिर्सिँदै घर हिँडेका यात्री कहाँ पुगे ? (कविता)

झ्यालको सिसाबाट
बाहिर हेर्दा
आकाशमा मैले देखेँ
चन्द्रागिरीबाट एक बथान सुगा उडेको
सोध्न मन लाग्यो
भोकैप्यासै, तातोपीचमा घिर्सिँदै
घर हिँडेका यात्री
कहाँ पुगे ?
झ्यालको सिसाबाट
बाहिर हेर्दा
धरतीमा मैले देखेँ
धतुरो, जाइ र गुलाफ फक्रिएको
सोध्न मन लाग्यो
रातोदिन पीपीईमा कैद
डाक्टर नर्सहरूसम्म
बसन्त पुग्यो ?
झ्यालको सिसाबाट
बाहिर हेर्दा
हावामा मैले देखेँ
उकुसमुकुस फैलिएको
सोध्न मन लाग्यो
यो छुट्टिएकाहरूको छटपटी हो
वा,
एक्लिएकाहरूको उदासी ?
झ्यालको सिसाबाट
बाहिर हेर्दा
रातमा मैले देखेँ
टहटह जुन लागेको
टोलाइरहे नसोधी केही
लाग्यो,
म जस्तै लाखौंले हेरिरहे होलान्
यो जुन
अनि आफैँलाई थपथपाए होलान्
‘एकदिन सबै ठिक हुनेछ !’