हत्यारा समुद्र
जे भइसक्यो, त्यसका लागि चिन्तामा नरहनु उपयुक्त होला । हार्ने, जित्ने, गुमाउने, पाउने, सुख–दु:ख सबै सहेर मनलाई विचलित नबनाउनू । (कथा)
कोरोना भाइरसले आजभोलि दिनचर्या फेसबुक र म्यासेन्जरमा छ । खोज्दै जाँदा अनफ्रेन्ड भएका र साथी नबनेका भए पनि म्यासेन्जरमा म्यासेज त हुन्छ तर त्यो अर्कोपट्टिको म्यासेज बक्समा बसिराख्छ । धेरै पछि कसैको म्यासेज रहेछ, जो पुरानो परिचित थिई ।
उसले यसरी लेखेकी रहिछ ।
‘प्रिय,
यति धेरै निष्ठूरी पनि नहुनू । समुद्रको छालले लैजाला ?’
उसले भनेको शब्द यही हो । त्यसपछि फेसबुकको म्यासेन्जरमा ब्लक नै ठोकिदिई । ‘युरोप छु भन्दैमा समुद्रमै घुमेका फोटाहरू मात्र पोस्ट गर्छौ’ भन्थ्यौ ।
‘प्रिय परिचित,
वास्तवमा मलाई समुद्र मन पर्छ । म समुद्र नभएको देशमा हुर्केको । समुद्र कस्तो होला ? मनमनै सपना देख्थेँ ।’
मैले यही लेखेर उसलाई पठाइदिएँ । उसको म्यासेज कयौँ दिन, महिना नआएको रहेछ । मेरो पेन्डिङमा बसेको रहेछ । ब्लक हुनु र नहुनुबीचको पेन्डिङ ।
त्यसपछि ।
ठ्याक्कै अस्ति म्यासेन्जर अनब्लक गरिछ । उसले फेरि लेखी, ‘यो वर्ष तिम्रो फोटो हाल्ने सपना कोरोनाले खाइदियो ।’ त्यसको तल आँसु झरेका इमोजीका चिह्न पठाई ।
मैले बिनासम्बोधन सीधैँ लेखिदिएँ ।
‘हुन पनि हो । युरोपमा कोरोना भाइरसका कारण सन्नाटा छ । चारैतिर हाहाकार र निरास छ, समुद्र पनि सुनसान छ ।’
म समुद्रको किनारामा गएँ भने ती गोरा छालाहरू बालुवामा लतपन्न परेर नांगै पल्टेका देखिन्थे । समुद्र जिस्कीजिस्की उनीहरूलाई छुन माथिमाथि आउँथ्यो । फेरि तलतल जान्थ्यो । यो रमाइलो धेरै पटक देख्थेँ ।
आजभोलि मसानघाटजस्तो सुनसान र एक्लो देखिन्छ, समुद्र । किनाराहरू शून्य छन् । स–साना पानीजहाजदेखि ठूल्ठूला टाइटनिक आकारका जहाजहरूलाई आफ्नो कोखिलामा बसाल्ने समुद्र यतिबेला कसैलाई बसाल्न नपाएको झोकमा ऊ पनि शान्त र निरास छ ।
के गर्ने, समुद्र देख्ने सपना त पूरा भयो । देख्ने सपना पूरा भएपछि नजिक जाने चाहना जाग्दो रहेछ । नजिक जाने सपना पूरा भएपछि छुने सपना जाग्दो रहेछ । छुने सपना पूरा भएपछि लिप्त हुने सपना जाग्दो रहेछ । म समुद्रमा यसरी नै पौडिएर लिप्त भएँ, एक दिन ।
उसका वरिपरि खुसी भएर हजारौँ/लाखौँ मानिसहरू पौडिएका थिए । मलाई भने ती मान्छेको खुसीभित्र समुद्र बेखुसी लाग्यो ।
थाहा छ, समुद्र त अजिबको हुँदो रहेछ । हेर त । समुद्र किनारमा एक दिन एउटा बच्चा खेलिरहेको थियो । किनारमा राखेको बच्चाको चप्पल समुद्रको छालले बगाएर लग्यो । मैले हेरिरहेँ । बच्चाले एकछिनपछि त्यस बालुवामा लेख्यो, ‘समुद्र चोर हो ।’ म मनमनै हाँस्दै अगाडि बढ्दै थिएँ । अलि पर समुद्रमा बल्छी खेलेका रहेछन्, केही माछा मार्नेहरू । तिनको दिनप्रतिदिनको कमाइ र आहार भनेको माछा मार्ने, खाने र बेच्ने रहेछ । उनीहरूले समुद्र किनारको एउटा ढुंगामा लेखेका रहेछन्, ‘समुद्र हाम्रो पालन आहार हो ।’
केही दिन पहिले पोर्चुगलमा दुई दाजुभाइलाई समुद्रको छालले बगाएर लग्यो । विचरा ! कत्रो सपना थियो होला, उनीहरूको त्यस दिन । लाग्यो, मलाई पनि समुद्र हत्यारा हो । ठूल्ठूला पानीजहाजलाई सहजै बोकेर ल्याउने समुद्र देख्दा मलाई लाग्छ, यो पहलमान हो । किनाराका मान्छेहरूलाई पालेको देख्दा मलाई लाग्छ, यो पालनकर्ता हो ।
प्रिय, एक दिन समुद्रमा अचानक बाढी आउँछ । जो–जोले, जे–जे उपमा दिएका थिए, मैलेजस्तै । सबैलाई एकैचोटि सोहोरेर लैजान्छ । समुद्रका अनेक रूप र रंग छन्, तिम्रोजस्तै ।
त्यतिबेला मलाई कलेजी रंगको तिमीले लगाएको लिपिस्टिक खुबै मन पथ्र्यो । आजभोलि पर्दैन । कलेजोको रंग र तिम्रो लिपिस्टिकको रंग उस्तै लाग्न थाल्यो । मलाई तिम्रो लिपिस्टिक मात्रै होइन, तिमी पनि मन पर्न छाड्यो ।
किन होला ?
किनभने तिमी पनि कोरोना भाइरसजस्तै भइदियौ । नजानिँदो गरी मेरो श्वासप्रश्वासमा बसिदियौ । त्यो निकाल्न मैले अरू लाखौँ मानिसले झैँ एकान्तबास बस्नुपर्यो । फरक त्यत्ति हो, भाइरस निकाल्न दुई साता बस्नुपर्दो रहेछ । तर भाइरसजस्तै निकाल्न कयौँ वर्ष बस्नुपर्यो ।
मैले भनेँ नि, तिम्रा पनि अनेक रूप छन्, समुद्रजस्तै । एक दिन छाल आएर किनारामा लेखिएका सारा कुराहरू मेटाएर लगे जसरी तिमीले पनि मेरा जिन्दगीका रेखाहरू मेटेर लगिदियौ । आजभोलि लाग्दो छ, जिन्दगीमा जे गर्नु छ, आफ्नै हिसाबले गर्नु छ । जे हुनेवाला छ, त्यो हुने नै छ । जे भइसक्यो, त्यसका लागि चिन्तामा नरहनु उपयुक्त होला । हार्ने, जित्ने, गुमाउने, पाउने, सुख–दु:ख सबै सहेर मनलाई विचलित नबनाउनू । यदि सुख–शान्तिबाट भरिएको जिन्दगी हुन्थ्यो भने मान्छे जन्मेका बेला किन रुनुपर्थ्यो ? जन्मेका बेला रुनु र मरेर रुवाउनुबीचको अन्तर नै जीवन संघर्ष रहेछ भनेर सिकेँ । यसैलाई जीवन भन्दा रहेछन् ।
अर्को कुरा सुन । समुद्र हत्यारा हो । कोरोना भाइरस पनि हत्यारा हो र तिमी पनि ।
मैले उसलाई यसरी नै म्यासेज गरेर म्यासेन्जरमा पठाइदिएँ । उताबाट उसको कुनै रिप्लाइ आएको छैन । लाग्यो, कतै कोरोना भाइरसले ऊ पनि एकान्तबासमा त छैन ?
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...