एक्ली ट्याक्सी ड्राइभर
काठमाडौँ उपत्यकामा करबि सात हजार ट्याक्सी गुड्छन् । त्यसमा एउटा मात्रै ट्याक्सी छ, महिलाले चलाउने ।

बिहान ९ बजेदेखि उनको यात्रा सुरु हुन्छ, काठमाडौँका सडकमा । बढीमा बेलुका ५ बजेसम्म हो, उनको ड्युटी । त्यसपछि उनी रात्रिकालीन ड्राइभरलाई ट्याक्सी जिम्मा लगाएर डेरातिर लाग्छिन् । बिहानदेखि ट्याक्सी चलाउन पाए कमाइ अलि बढी हुन्थ्यो । तर, छोरीलाई स्कुल पठाउने तयारी र नसाको रोगले थलिएकी आमाको हेरविचार गर्नैपर्छ उनले ।
स्याङ्जाको कालीगण्डकी-८ मा जन्मेहुर्केकी ईश्वरी सानैमा दाइसँग बस्न काठमाडौँ आइन् । १३ वर्षको उमेरमै काभ्रेका वासु थापासँग भागीबिहे गरनि् । १५ वर्षकी हुँदा त छोरी जन्माइसकेकी थिइन् । बिहेपछि श्रीमान् सेनामा जागिरे भए । एक दिन श्रीमान्ले भने, 'सेनामा काम गर्ने एउटी केटीलाई म मन पराउँछु, त्यो नभए बाँच्न सक्दिनँ, के गरूँ ? द्वन्द्वमा मारएिको सिपाहीकी श्रीमती हो । पैसा पनि छ, तिमीलाई पनि हेर्छु ।' गएपछि तिनी फर्केर आएनन् । तैपनि, उनले हिम्मत हारनिन् । फर्केर हेर्दा जीवनप्रति कुनै गुनासो पनि छैन ।
सुरुमा किराना पसल राखिन् । आमाछोरीलाई खान पुग्ने पैसा कमाइ हुन्थ्यो । प्यारालाइसिसबाट पीडित आमालाई ल्याएर उपचार गराइन् र यतै राखिन् । खसी काटेर भाग लगाउँदै मासु बेचिन् । छोरीलाई सकेजति पढाउने सोचले निजी विद्यालयमा भर्ना गराइन् । खर्च धान्न छाडेपछि ट्याक्सी चलाउने सुरले ड्राइभिङ कक्षामा भर्ना भइन् । भन्छिन्, "पढाइका नाममा नाम मात्रै लेख्न आउँछ । तर, जे सिक्यो, त्योचाहिँ छिट्टै आउँछ ।"
सिकेको दुई सातामै सडकमा ट्याक्सी चलाउने भइन् । ट्याक्सी किन्ने धुनले विभिन्न ठाउँ चहारनि् । अन्ततः तीनकुनेस्थित बचत तथा ऋण सहकारीले महिनाको सात हजार रुपियाँ तिर्ने सर्तमा ऋण उपलब्ध गरायो । अब नौ लाख रुपियाँ तिर्न बाँकी छ । रात्रिकालीन सेवाका लागि ट्याक्सी भाडामा लगाएकी छन्, २२ हजार रुपियाँ महिनाको बुझाउने सर्तमा । भन्छिन्, "खान-लाउन र छोरी पढाउन पुगेकै छ । अब ऋण तिर्न पाए शान्ति मिल्ने थियो ।"
छोरी १२ वर्षकी भएपछि बाबुको न्यास्रो गर्न थाली । सासू-ससुरा पनि बेलाबेलामा आउने-जाने गर्थे । तर, छोरो कहाँ बस्छ थाहा छैन भन्थे । 'स्वयम्भूतिर घर बनाएर बसेको छ' भनेर चिनारुले खबर ल्याउँथे । गत साउनमा अरूले दिएको लोकेसन पछ्याउँदै ट्याक्सी लिएर स्वयम्भूस्थित सानो भर्याङ पुगिन्, छोरी लिएर । बाहिर 'थापा निवास' लेखिएको रहेछ । श्रीमान् घरमै रहेछन्, कान्छी श्रीमतीसँग । सुरुमा त नचिनेझैँ गरे । तर, 'छोरीलाई पढाउँछु भनेको खोइ त ?' भनेर प्रश्न गरेपछि बल्ल 'छोरी यहीँ बस्छे भने पाल्छु' भन्ने वाक्य फुट्यो । यत्ति हो, श्रीमान् बोलेको ।
छोरीले १४ वर्षकी हुँदा बाबुको मुख देख्न पाइन् । तर, मन पराएर बिहे गरेको श्रीमान्प्रतिको ईश्वरीको अनुराग त्यहीँ खत्तम भयो । प्रण गरनि्, "म छोरीलाई पाल्न कसैसँग हात थाप्दिनँ । मिहिनेत गरेर खान्छु ।" उसो त श्रीमान्ले खान-लाउन दिएनन् भनेर उजुरी हाल्यो भने सैनिक मुख्यालयले आधा तलब भराइदिन्छ भनेर आफन्तले भनेका पनि थिए । यसमा ईश्वरीले खासै चासो दिइनन् । भन्छिन्, "मान्छे नै आफ्नो नभएपछि उसको सम्पत्ति पनि चाहिएन ।"
ईश्वरीलाई ट्याक्सी चढ्नेले महिलाले चलाएको भनेर हेप्लान् भन्ने लाग्थ्यो सुरुआती दिनमा । तर, सम्मान गरेको पाउँछिन् उनी । भन्छिन्, "मिटरमा उठेको रकमभन्दा केही बढी दिन्छन् तर कम दिँदैनन् । दुःख गरेकी रहिछौ भन्छन् ।" यस्ता व्यवहारले ईश्वरीको उत्साह झन् बढ्छ । भन्छिन्, "अरूको भर परेर बस्यो भने झन् दुःख पाइन्छ । आफ्नो मिहिनेतमा भर गर्यो भने भोकै सुत्नु पर्दैन ।"