दिल्ली फुड वाकको मेनु
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ ।

पैदल यात्रामा स्वादिष्ट स्ट्रेट फुडको खाजी गर्दै हिँडिरहेको दिल्ली फुड वाकले नेपालका मौलिक खानाबारे अन्वेषण गरेको छ । काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ ।
प्रिय आलुचना
अधिकांश नेपालीको बिहानको खाजा हो, आलुचना । सुक्खा आलु, सुक्खा कालो चना र त्यसैमा उसिनेको अन्डा नेपालीको मात्र होइन, दिल्ली फुड वाकमा आउने भारतीय पर्यटकको पनि प्रिय बन्यो । काठमाडौँ दरबार स्क्वायरको सानो पसलभित्र उनीहरुले आलुचनाको मज्जा लिए । उनीहरु भन्छन्, ‘किफायती दाममा पौष्टिक संयोजनयुक्त आलुचना नेपालको उत्कृष्ट मौलिक खानामध्ये एक हो ।’
थकाली थाली
चरेसको थालमा बासनादार भात, कालो दाल, ढिँडो, लोकल कुखुराको मासु, आलु भुजुरी, साग, गुन्द्रुकको अचारसहित थरीथरीका परिकार खुवाउने थकाली थाली नेपालको प्रसिद्ध खाना हो । थकाली थालीलाई दिल्ली फुड वाकमा नेपालको अर्को प्रमुख खानाको रुपमा समावेश गरिएको छ । कार्बोहाइड्ेरटमा धनी ढिँडोलाई उनीहरुले पौष्टिक एवं फरक खानाका रुपमा प्रस्तुत गरेका छन् । उनीहरु भन्छन्, ‘घरमा पकाएको खाना खान समय र अवसर नहुनेका लागि थकाली खाना एक सन्तुलित थाली हो ।’
चाउमिनको स्वाद
दिउँसोको खाजा भन्नासाथ पहिलो रोजाइमा पर्छ, चाउमिन । बच्चादेखि वृद्धसम्म सबैले रुचाउने चाउमिनको स्वाद उनीहरुले रुचाएनन् मात्र, बौद्धनाथ स्तुपा नजिकको पसलमा चाउमिन बनाउने प्रक्रिया पनि सिकेर गए । अम्लेटयुक्त चाउमिनको स्वाद पनि लिए । उनीहरु भन्छन्, ‘चाउमिन सामान्य तर स्वादिष्ट खाजामध्येको एक हो ।’
जोम्साको पोम्चे
पकाएको मासुले बनाइने पोम्चे धेरैको रोजाइमा पर्छ । नरम तथा स्वादिष्ट पोम्चे नेपालको अर्को मौलिक खाना हो । बौद्धनाथस्थित जोम्सा रेस्टुराँ पोम्चेका लागि प्रसिद्ध छ । दिल्ली फुड वाकमा आउने पर्यटकको सूचीमा जोम्सा रेस्टुराँको पोम्चे पनि सूचीकृत छ ।
सेकुवा
सेकुवा कर्नरमा हरेक दिन भीड लाग्छ । सेकुवा प्राय: सबैको मन पर्ने खाना हो । दिल्ली फुड वाकमा आउने पर्यटकको मन लोभ्यायो, याङतारु सेकुवा कर्नरले । काठमाडौँ कपनमा रहेको याङतारु सेकुवा कर्नरमा चिकेन, बफ, मटन र पोर्क सेकुवा पाइन्छन् । उनीहरुले यहाँ चिकेन सेकुवा र चिकेन विङ्ग्सको मज्जा लिए ।