'आर्ट अफ गिभिङ’
सन् १९६९ को एक बिहान ५ बजेको आसपास आमालगायत परिवारका सदस्यहरू अचानक जोडजोडका साथ किन रुँदै छन् भन्ने चारवर्षे बालकले बुझ्न सकेनन् ।
एउटा उद्योगमा ज्यालादारी काम गर्ने घरमूलीको मृत्युसँगै परिवारमा चरम दुःखका दिन सुरु भए । सात लालावालाको पालनपोषणको जिम्मेवारी विधवा नीलिमा रानी सामन्तको काँधमा थपियो । जेठो सन्तानको उमेर १७ वर्ष र कान्छाको उमेर केवल एक महिना थियो । घरमा न अन्न थियो, न त फेरोफारो वस्त्र नै । एउटा मजदुरले आफ्ना सन्तानका लागि सम्पत्ति जगेडा गर्न सम्भव पनि थिएन ।
यस्तै अभावै अभावबीच कठोर संघर्ष र तपस्याबाट हुर्किएका बालक अच्युत सामन्तमा सानैदेखि दुःखी-गरिबका लागि केही गर्ने चाहना थियो । सात वर्षको उमेरदेखि नै उनले गाउँलेलाई सघाउन थालिसकेका थिए । उडिसाको राजधानी भुवनेश्वरबाट ५० किलोमिटरको दूरीमा अति गरिब तथा आदिवासीको बसोवास रहेको कलरावाङ गाउँका ५० वषर्ीय शिक्षासेवी सामन्तको अहिले उडिसामा मात्रै होइन, भारतमै ठूलो ख्याति छ ।
सन् १९९० को दशकमा रसायनशास्त्रमा स्नातकोत्तर पूरा गरेसँगै सामन्तले स्थानीय क्याम्पसमा आंशिक पढाउन थाले । त्यही पारिश्रमिक परिवार र साथीहरूका लागि खर्च गर्न थाले । सन् १९९२ ताका उनले कलिंगा इस्टिच्युट अफ इन्डस्टि्रयल टेक्नोलोजी -किट) र कलिंगा इस्टिच्युट अफ सोसल साइन्स -किस) नामक दुई शिक्षण संस्था खोले । अनि, किटलाई मेडिकल साइन्स, इन्जिनियरिङ, व्यवस्थापनलगायत विश्वका अत्याधुनिक विषयमा धनी विद्यार्थीलाई अध्ययन-अध्यापन गराउने नाफामूलक संस्थाका रूपमा विकसित गर्दै लगे । अर्कोतर्फ किटको नाफा आदिवासी र पिछडिएका गरिब बालबालिकालाई निःशुल्क पढाउने किसका लागि खर्च गर्ने सुन्दर मोडेल बनाए ।
आफन्त र शुभचिन्तकबाट ऋण लिएर सामन्तले दुई शैक्षिक संस्थाको विस्तारका लागि योजना बनाए । केही वर्षमै टाउकोमा २५ लाख रुपियाँको ऋणको दबाब खप्न नसकेर एकपटक आत्महत्या गर्नेसम्मको सोचाइ बनाए । तर, बिस्तारै आफूलाई सम्हाले । दुवै संस्थाको उन्नति हँुदै गयो ।
भाडाको सानो घरमा १२ जना विद्यार्थीबाट सुरु गरेको किट आज २५ हजार विद्यार्थी रहेको भारतकै प्रतिष्ठित विश्वविद्यालयका रूपमा स्थापित छ । संसारमा पढाइने अत्याधुनिक विषयका २० क्याम्पस यसमा आबद्ध छन् । त्यसै गरी १ सय २५ जना आदिवासी गरिब बालबालिकाबाट सुरु भएको किस अहिले गरिब र आदिवासी बालबालिकालाई शिशुदेखि स्नातकोत्तरसम्म आवास, खाना, शिक्षा र स्वास्थ्यलगायत सबै सेवा निःशुल्क उपलब्ध गराउने संसारकै सबैभन्दा ठूलो शैक्षिक संस्था बन्न सकेको छ । दुवै संस्थामा ५० हजार विद्यार्थी छन् ।
किट पूर्वी भारतको सर्वाधिक उचाइको विश्वविद्यालयमा पर्छ । किटको नाफा सञ्चालकले लिँदैनन् । संस्थापक सामन्तले किट विश्वविद्यालयको नियममै नाफा किसको खातामा जम्मा गर्ने व्यवस्था गरिदिएका छन् । जसबाट उडिसाका सर्वाधिक गरिब समुदायका २५ हजार विद्यार्थीले किसमा आवासीय सुविधासहित निःशुल्क पढ्न पाइरहेका छन् । त्यसैले त किस सञ्चालनका लागि न सरकारी बजेटको भर पर्नुपर्छ, न त दाताहरूको मुख ताक्नुपर्ने बाध्यता छ । किस र किटका संस्थापक सामन्त भन्छन्, "गरिबी निवारण र देशको विकासका लागि शिक्षाबाहेक अर्को उपयुक्त विकल्प छैन । मेरो जीवनको सबैभन्दा सुखद क्षण भनेकै गरिब बालबालिकाको अनुहारमा झल्किने खुसी र मुहारमा देखिने मुस्कान हो ।"
दुई संस्थामा प्राज्ञिक र अन्य गरी १० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । सबै कर्मचारीले हरेक महिनाको पारिश्रमिकबाट किसका लागि तीन प्रतिशत रकम चन्दा दिन्छन् । किट विश्वविद्यालय अन्तर्गतका २० वटै क्याम्पसका लागि आवश्यक सामान वा सेवा खरिदमा आउने कमिसन सीधै किसको खातामा जम्मा हुन्छ ।
किट र किसले छोटो समयमा पाएको युगान्तकारी सफलता कुनै दन्त्यकथाभन्दा कम छैन । सामन्त थप्छन्, "यो सब भगवान्को कृपा हो । यति रफ्तारमा सफल भइएला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।"
सामन्तको सूत्र पछ्याउन सकियो भने शिक्षाको माध्यमबाट गरिबी निवारण गर्ने सबैभन्दा उपयुक्त मोडेल गरिब मुलुकहरूमा स्थापित हुन सक्छ । शिशु कक्षामा भर्ना भएका बालबालिका एकैपटक स्नातकोत्तर सकेर बाहिरिन सक्छन् ।
किसबाट निस्कँदा हरेक विद्यार्थीले केही न केही रकम लिएर जान पाउने मोडेल सामन्तले बनाएका छन् । विश्वविद्यालयमा पढ्ने ५० हजार विद्यार्थी र १० हजार कर्मचारीका लागि नभई नहुने अत्यावश्यक वस्तुको उत्पादनमा विद्यार्थीलाई नै सक्रिय बनाइन्छ । पढाइबाहेक उनीहरूले सिलाइकटाइ, पशुपालन, कृषि, कुखुरापालनलगायतका विषयमा तालिम लिनैपर्छ । उनीहरूले रुचि अनुसार काम गर्छन् र उत्पादन भएको सामान विश्वविद्यालयले नै खरिद गरिदिन्छ ।
किसमा पढ्ने सबै २५ हजार आदिवासी गरिब विद्यार्थीको नाममा बंैक खाता खोलिएको छ । काम गरेबापत पाउने पारिश्रमिकको केही अंश संस्थाका लागि राखेर बाँकी उनीहरूकै खातामा जम्मा हुन्छ । सामन्तको दूरगामी सोच, इमानदार नेतृत्व र कुशल व्यवस्थापनकै कारण किसको माध्यमबाट उडिसामा गरिबी निवारण र समाज विकासको ठूलो क्रान्ति सफलतातर्फ उन्मुख हँुदै गएको छ ।
सामन्तले शिक्षाका लागि नयाँ मोडेल स्थापित गरेका छन्, 'आर्ट अर्फ गिभिङ' अर्थात् सहयोग गर्ने कला । उनको विचारमा अधिकांश मानिस राज्य वा समाजबाट आफूलाई के फाइदा हुन्छ भन्ने सोच राख्छन् । तर, अरूलाई दिएर आफूले सामान्य जीवनयापन गर्नुको आनन्द सबैभन्दा माथि छ । सायद त्यसैलाई स्वर्गीय आनन्द भनिएको होला । एकल प्रयासमा स्थापना भएको संस्थाले दुई दशकको अन्तरालमा मारेको फड््को र पाएको सफलता स्वयं यसका संस्थापक सामन्तका लागि समेत चमत्कारझँै लाग्छ ।
सन् २०१३ सम्म किट र किससँग आश्रति भएर प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिनेको संख्या १० लाखको हाराहारी पुगेको छ । सन् २०२० सम्म यो संख्यालाई एक करोड पुर्याउनेे लक्ष्य सामन्तको छ । किटले सन् २००४ मा विश्वविद्यालयको मान्यता पाएको हो । १० वर्षको छोटो अवधिमा किट भारतका उत्कृष्ट विश्वविद्यालयको सूचीमा परेको छ । गरिब र आदिवासी बालबालिकालाई निःशुल्क शिक्षा दिने किसमा अहिलेसम्म ५० भन्दा बढी मुलुकका सरकार र राष्ट्रप्रमुखले भ्रमण गरिसकेका छन् । हरेक वर्ष एक वा दुई जना नोबेल पुरस्कार विजेता किसका विद्यार्थीसँग अन्तरक्रिया गर्न आउँछन् । अहिलेसम्म १० जना नोबेल पुरस्कार विजेता किसमा आइसकेका छन् । किट विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला प्रमुख प्राध्यापक विश्वनाथ रथ भन्छन्, "किसका विद्यार्थी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत उत्कृष्ट भएका छन् । पढाइमा समेत अब्बल छन् । प्रायः सबै कक्षामा शतप्रतिशत उत्तीर्ण हुन्छन् ।"
किसबाट उत्कृष्ट हुने पाँच प्रतिशत विद्यार्थीले किट विश्वविद्यालयमा मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, नर्सिङलगायतका प्राविधिक विषय पढ्न पाउँछन् । त्यसै गरी संस्थापक सामन्तले किट र किसबाट उत्पादित जनशक्तिलाई आफ्नै संस्थामा रोजगारी दिने गरेका छन् ।
किसका विद्यार्थी वर्षमा दुई महिना घर जान्छन् भने बाँकी १० महिना आवासीय सुविधासहित पढ्छन् । दुई छाक पौष्टिक खाना नपाउने बालबालिकाका लागि सामन्तले ८० एकड जमिनमा १५ लाख वर्ग फिटको सुविधासम्पन्न भौतिक पूर्वाधार तयार गरेका छन् । १५ हजार वर्गफिटमा २० हजार शीर्षकका पुस्तकसहितको सुविधासम्पन्न पुस्तकालय बनाइदिएका छन् ।
सामन्तको चाहना जीवनको अन्तिम क्षणसम्म गरिब-दुःखी बालबालिकाको सेवा गर्ने छ । किट विश्वविद्यालयमै अध्ययन पूरा गरी त्यहीँ इन्जिनियरका रूपमा कार्यरत रोशन रथ भन्छन्, "सामन्तलाई जनस्तरबाट जुन तहको सम्मान प्राप्त छ, उडिसामा त्यो तहको सम्मान अरू कसैले पाएका छैनन् ।"
नेपाल कनेक्सन
किट र किस दुवै शैक्षिक संस्थाले उडिसाको राजधानी भुवनेश्वरमा वाषिर्क १ सय २० करोड रुपियाँको कारोबार गर्छन् । तर, त्यसका पिता अविवाहित अच्युत सामन्त भने आफ्ना नेपाली सहयोगी प्यूठानका चित्रप्रसाद बहादुरका साथ सानो दुईकोठे एउटा भाडाको घरमा सामान्य जीवनयापन गर्छन् ।
उनी दैनिक १८ घन्टा खटिन्छन् । आध्यात्मिक चिन्तनमा उनको रुचि छ । गान्धी र बुद्धको विचारबाट प्रभावित सामन्तको पहिलो विदेश भ्रमण नेपाल हो र उनी नेपालका गरिब-दुःखी बालबालिकाका लागि कसैले प्रयास गरे सक्दो सहयोग गर्ने चाहना राख्छन् । धनी र गरिबबीचको खाडल पुरेर मुलुकलाई शान्ति र समृद्धिको बाटोमा लैजान आर्ट अफ गिभिङबाहेक अर्को उपयुक्त मोडेल दक्षिण एसिया र गरिब मुलुकका लागि छैन भन्ने उनको विश्वास छ । भन्छन्, "नेपालका गरिब बालबालिकालाई निःशुल्क शिक्षा दिन नेपालमै सार्थक प्रयास हुनु जरुरी छ । हामीले त आफ्नो अनुभवबाट सक्दो सहयोग गर्ने मात्र हो ।"
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...