आपसमा नबोल्ने नारायण गोपाल र अम्बर गुरुङले यसरी तयार पारेका थिए 'मालती–मङ्गले' गीत
राष्ट्रकवि माधव घिमिरेको गीतिनाटक ‘मालती–मङ्गले’को लोकप्रियमा त्यसकाे कलात्मक प्रस्तुतिसँगै अम्बर गुरुङको सङ्गीत, नारायणगोपाल र तारादेवीको स्वरले पनि त्यतिकै गहन भूमिका निर्वाह गरेको थियो । अम्बर गुरुङसँग नारायणगोपालको सम्बन्धमा तुषारापात भएको त्यस समय गीत रेकर्ड गर्न भने सहज थिएन ।
आज स्वरसम्राट नारायणगोपालको २५ औँ पुण्यतिथि । यस अवसरमा उनलाई स्मरण गर्दा उनको गायन–जीवनमा घटेका कतिपय घटनाले रोमाञ्चित पार्छ । यिनैमध्येको एउटा घटना हो– ‘मालती–मङ्गले’ ।
कुनै समय राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ शोककाव्य पाठकमाझ जति लोकप्रिय भएको थियो, आफ्नो जन्मथलो गोर्खाको एउटा फुजेल गाउँको सत्यघटनालाई टिपेर लेखेर २०४४ सालमा प्रदर्शित उनको गीतिनाटक ‘मालती–मङ्गले’ ले दर्शकमाझ त्यति नै लोकप्रियता आर्जन गर्यो । र यस गीतिनाटकको कलात्मक प्रस्तुतिसँगै अम्बर गुरुङको सङ्गीत, नारायणगोपाल र तारादेवीको स्वरले पनि त्यतिकै गहन भूमिका निर्वाह गरेको थियो ।
अझ नारायणगोपालको स्वर नपाएको भए, यो गीतिनाटक त्यस रूपमा सफल हुने कुरामा शङ्कै थियो । तर सुरुमा नारायणगोपाल गुरुङको सङ्गीतमा गाउन तयार थिएनन् । यसको रोचक प्रसङ्ग छ ।
घिमिरे त्यतिखेर नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानका उपकुलपति थिए । अम्बर गुरुङ त्यहाँका सङ्गीत विभाग प्रमुख थिए । (निर्देशक वसन्त श्रेष्ठ नाटकविभाग प्रमुख थिए) । माधव घिमिरेले ‘मालती–मङ्गले’ को पाण्डुलिपिलाई अन्तिम रूप दिएपछि गुरुङलाई सङ्गीतका लागि आग्रह गरे ।
अनि उनले पनि त्यसमा ‘दिल खोलेर’ सङ्गीत भरे । तर ‘मालती–मङ्गले’ लाई निर्देशन–अभिनयबाहेक शिखरमा पुर्याउन यसको गायकीले महत्वपूर्ण भूमिका खेल्थ्यो । त्यतिबेला मङ्गले पात्रका लागि माधव घिमिरेले जुन काव्यसिर्जना गरेका थिए र त्यसको मर्मलाई पक्डेर अम्बर गुरुङले जुन भावपूर्ण धुन भरेका थिए, त्यसलाई न्यायोचित रूपमा पाश्र्वस्वर दिनसक्ने गायक एकजना मात्र थिए– स्वरसम्राट नारायणगोपाल । तर नारायणगोपाललाई गाउन मन्जुर गराउनु ठूलो समस्या थियो । नारायणगोपाल स्वभावैले अलि बाङ्गो, हठी र मुडी मानिन्थे । त्यसमाथि अम्बर गुरुङसँगको उनको सम्बन्धमा तुषारापात भएको समय थियो । दुईबीच संवादसम्म नहुने गरी माइनसमा जम्न पुगेको थियो सम्बन्ध ।
यो कुरा घिमिरेले ‘मालती–मङ्गले’ आफ्ना हातबाट गएर अम्बर गुरुङको सुरमा सुसेल्न थालेपछि थाहा पाए । उनको कल्पनामा मङ्गलेको ओठबाट निस्किने विरह र वेदनापूर्ण आरोह–अवरोह अभिव्यक्ति दिन नारायणगोपालको गलाबाट मात्र सम्भव थियो । तर सङ्कट– कसरी गर्ने यो ‘आइस–ब्रेक’ । अनि कतैबाट केही उपाय ननिस्केपछि आफैँ मध्यस्थता गर्ने निश्चय गरेर एकदिन घिमिरे पुगे नारायणगोपाललाई भेट्न उनको निवास महाराजगञ्ज ।
माधव घिमिरे सम्झिन्छन्– “म त्यस दिन नारायणगोपाललाई भेट्न उनको निवास पुगेँ र भनेँ– ‘तपाईंको सहयोग चाहिन्छ’ । नारायणगोपालले आफ्नै शैलीमा जवाफ दिए अनि आवाज फुल्याएर– ‘कस्तो सहयोग ?” घिमिरेले कुरा अगाडि बढाए– “म नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिको हैसियतले होइन, कवि भएर एउटा कलाकारलाई भेट्न आएको हुँ । अम्बरजीसँग मिलेर ‘मालती–मङ्गले’ मा गाइदिनुपर्यो ।” त्यस दिन नारायणले यति मात्र भने ‘कविजी म तपाईंलाई एकदुई दिनमै भेट्न आउँछु, बाँकी कुरा त्यही बेला गरौँला नि है !’
नारायणगोपालको स्वभावलाई बुझेका घिमिरेलाई, धेरै कर गर्दा उनी बिच्किन्छन् कि भन्ने संशय भयो । त्यसैले त्यस दिन उनी कुनै निर्णयमा नपुगी फर्किए ।
त्यसको तीन दिनपछि नारायणगोपाल प्रज्ञा–प्रतिष्ठानस्थित उपकुलपतिको कार्यालयमा पुगे माधव घिमिरेसँग भेट्न । घिमिरेले चिया मगाए र त्यहीबीचमा अम्बर गुरुङलाई आफ्नो कार्यकक्षमा आउन खुसुक्क खबर पनि पठाए । अम्बर आउँदा नारायणगोपाल चियाको सुर्पी लगाउँदै थिए । यी दुई कलाकार एकअर्कालाई हेरेर एकैछिन् त किंकर्तव्य विमूढ भए ।
तर नारायणगोपालले जुरुक्क उठेर अम्बरलाई गम्लङ्ग अँगालो हालेपछि लामो समयदेखिको तिक्तता एक निमेषमा ‘आइस ब्रेक’ भयो । अनि उनीहरू दुवैले घिमिरेलाई भने– ‘हामीबीच खासे कुनै मनमुटाव थिएन । वास्तवमा हामी फेरि सम्बन्ध बनाउन चाहन्थ्यौँ । तर सही मध्यस्थकर्ता भेटिएको थिएन । कविजी, आज तपाईंले यो पुण्य काम गरिदिनुभयो, हामी तपाईंप्रति सदा आभारी रहेने छौँ ।’
त्यसपछि ‘मालती–मङ्गले’ को गायनमा नारायणगोपालको स्वरले यस्तो जादु गर्यो, जसका कारण मङ्गले भन्ने पात्र मात्र होइन ‘मालती–मङ्गले’ नै जीवन्त हुनपुग्यो ।
तर नारायणको अम्बरसँग भन्दा धेरै तारादेवीसँगको सम्बन्ध चिसिएको थियो । उनीहरू त एकअर्कालाई हेर्न पनि चाहँदैनथिए । लामो समयदेखि नारायणगोपालको रेडियो नेपालसँग बिग्रिएको सम्बन्धको घानमा तारादेवी परेकी थिइन् । किनभने उनी रेडियोमै काम गर्थिन् । त्यसैले घिमिरेले अम्बर गुरुङ र नारायणगोपालको सम्बन्ध त सुमधुर बनाए तर घिमिरे र गुरुङ दुवैजना कस्सिएर लाग्दा पनि तारादेवीको मामलोमा नारायणगोपाललाई चटपटाउन सकेनन् ।
गाउनुपर्ने युगल तर कसरी रेकर्ड गर्ने ? उनीहरूमा एकअर्कालाई हेर्नसम्म नचाहने । यसका लागि एउटा जुक्ति निकालियो । जसअनुसार प्रज्ञा–भवनको रेकर्डिङ् कक्षका बीचमा अग्लो पार्टेसन खडा गरी दुइटा बेग्लाबेग्लै बुथ बनाइयो । र, उनीहरूले एकअर्काको अनुहार हेर्दै नहेरी ‘मालती–मङ्गले’ को सम्पूर्ण गीतको रेकर्ड सिद्ध्याए ।
त्यसैले स्वरले नारायणगोपाल जति विलक्षण मानिन्थे, उनी जीवनभरि आफ्नो स्वभावका कारण पनि त्यतिकै चर्चित रहे ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...