अभावका साथी
नियमित ग्राहकबाहेक उनले चुलो निभ्ने अवस्थामा परेका र अति आवश्यक सेवाका लागि समेत उही मूल्यमा ग्यास उपलब्ध गराउन तयार रहन्छन् ।
लाममा बस्दा पनि आधी सिलिन्डर ग्यास पाउन कठिन छ । मधेस आन्दोलनका कारण सिर्जित संकटको फाइदा उठाउँदै कालोबजारी गर्नेको कमी छैन । यस्तोमा कुनै व्यवसायीले निजी स्वार्थका पछि नलागी अप्ठ्यारोमा परेकालाई ग्यास उपलब्ध गराउनु भनेको नि:सन्देह प्रेरणादायी र उदाहरणीय कार्य हो ।
विराटनगर मधुमाराका ग्यास बिक्रेता ज्ञानु भट्टराई, ३८, को दिनचर्या अचेल यस्तै सहयोगमा बितिरहेको छ । ग्यास झर्नासाथ उनी उपभोक्तालाई फोनमार्फत खबर मात्र गर्दैनन्, पुरानै मूल्यमा ‘ग्यास आयो, ग्यास आयो’ भन्दै घरको ढोकासम्मै पुर्याइदिन्छन् । नियमित ग्राहक मात्र नभएर चुलो बल्न छाडेको धेरै परिवारलाई उनले सघाएका छन् ।
पेसागत रूपले किसान भट्टराईले सामान्य अवस्था हुँदा पनि वर्षमा दुई–तीनपटक ग्यास नपाउने समस्या भोगेपछि ६ महिना अगाडिदेखि यो व्यवसायमा लागेका हुन् । “अरू बेलासमेत ११ महिना सहज हुँदा पनि बजेट भाषणका बेला ग्यास अभाव भइहाल्थ्यो,” उनले भने, “म पनि यसबाटै पीडित थिएँ ।”
छरछिमेक, मित्र एवं विपत्मा परेकालाई सहयोग हुने र खेतीपाती नभएका बेला समय कट्ने हुनाले घरमै ग्यास एवं त्यसका सामग्रीको पसल खोलेको उनले बताए । “मन जितेर व्यापार वा ग्राहक संख्या बढाउने उद्देश्य छैन, आज अरूलाई पर्दा मैले सहयोग गरिरहेको छु,” उनले भने, “भोलि मलाई पर्दा अरूले पनि सहयोग गर्लान् भन्नेसम्म आशा राखेको छु ।”
मोरङको थलाहा–७ र दर्वेशामा पुर्खौंली बसोवास भएका भट्टराई परिवार ०४८ सालमा विराटनगर बसाइ सरेका हुन् । विराटनगरको मधुमारा, देवकोटा चोक, हाटखोला र तीन टोलियासम्मका ग्यास उपभोक्ताले उनकहाँ लाम लाग्नुपर्दैन । “डिलरहरूले ग्यास झार्न लागेको सूचना दिनेबित्तिकै ग्राहकलाई फोन गरेर खाली सिलिन्डर मगाउँछु,” उनले भने, “कोही कोही यहीँ लिन आउँछन्, अधिकांशलाई घरमै पुर्याइदिन्छौँ ।”
नियमित ग्राहकबाहेक उनले चुलो निभ्ने अवस्थामा परेका र अति आवश्यक सेवाका लागि समेत उही मूल्यमा ग्यास उपलब्ध गराउन तयार रहन्छन् । “विद्यार्थी, बिरामी, अशक्त, व्रतबन्ध र मृत्यु संस्कारलाई प्राथमिकतामा राखेको छु,” भट्टराईले भने, “सय दिनभन्दा बढीको ग्यास अभावमा छटपटिएर आएका पाँच जनालाई ग्यास उपलब्ध गराउन पाउँदा खुसी लाग्यो ।”
उनले सरकारले तोकेको नयाँ मूल्य अनुरूप भरी सिलिन्डरको १ हजार ३ सय ८० रुपियाँ हुँदा र र अहिले आधीको सात सय रुपियाँ मूल्यभन्दा एक पैसा पनि बढी लिन्नन् । “थोरै रकम बढी लिए पनि कालोबजारी नै हो,” भट्टराईले भने । अहिले स्थानीय बजारमा ७.१ किलोग्राम ग्यास ७ सय ५० रुपियाँदेखि २ हजार ५ सय रुपियाँसम्म बिक्री भइरहेको छ । ढुवानी खर्च भन्दै प्रतिसिलिन्डर ग्यासमा सय–दुई सय रुपियाँ बढी लिनु सामान्य भएको छ । मुस्किलले ग्यास पाइरहेको हुनाले कसैले पनि विरोध गर्दैनन् ।
“एक दिनको व्यापार होइन, नाकाबन्दी पनि सधैँ रहन्न,” उनले भने, “जस्तोसुकै परिस्थितिमा समेत ग्राहकसँग समान व्यवहार गर्नुपर्छ ।” सबैलाई बरोबरी ग्यास पुर्याउन उनले ग्राहकलाई स्टक नराख्न आग्रह गर्छन् । ग्यास नपाउने त्रासमा थप ग्यास सिलिन्डर किन्नु र चाहिनेभन्दा बढी घरमा राख्दा पनि अभाव हुने गरेको उनको ठम्याइ छ । उनले बन्दीका बेलामा पनि नियमित ग्राहकबाहेक सयभन्दा बढी अभावग्रस्त परिवारलाई ग्यास उपलब्ध गराएको सूची देखाए ।
“दुईवटा ग्यास स्टक राख्नेसँग मागेर पनि चुलो नबल्ने अवस्थामा पुगेको परिवारलाई दिन्छु,” उनले भने, “आफ्नै लागि पनि एउटाभन्दा बढी सिलिन्डर राख्दिनँ ।”
सरकारले तोकेको भन्दा ग्यासको बढी मूल्य लिने र बढी दाममा बेच्ने प्रवृत्तिको उनी घोर विरोधी हुन् । दुई महिनाअघि हाटखोलाका एक डिलरले उपभोक्ताका लागि आएको ४२ ग्यास सिलिन्डरलाई एक ठूलो होटेललाई बेचेपछि उनले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरी पक्रिन लगाएका थिए ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...