समावेशी खाजा
पूर्वी नेपालमा जाडो यामको लोकप्रिय खाजा भक्का
झिसमिसेमै विराटनगरको सडक छेउछाउमा टाढाबाटै माटाको चुलो दनदनी बलिरहेको देखिन्छ । घैलाबाट निस्किरहेको पानीको वाफमा गोलो र चेप्टो आकारको परिकार पाकिरहेको हुन्छ । वरिपरि विद्यार्थीदेखि बटुवासम्म अचार, नुन वा चिनीसँग त्यसको तात्तातो स्वाद लिइरहेका हुन्छन् ।
ग्यास अभावले बिहान अरू खाजा नपाइए पनि यो पाइलापिच्छै सर्वसुलभ उपलब्ध हुन्छ । यो सहरमा मात्र नभएर तराईकै चोक, बजार र गल्लीमा बिहान–बेलुकी जाडो याममा बेचिने यो लोक खाजालाई स्थानीय भाषामा भक्का भनिन्छ । पानीको वाफमा भकभकी पकाइने हुनाले भक्का नाम रहेको स्थानीयको भनाइ छ ।
मंसिरमा सबैको घरमा धान उपलब्ध हुन्छ । तुलनात्मक रूपमा चामल सस्तो पनि हुन्छ । पुरानोभन्दा नयाँ चामलबाट राम्रो र नरम भक्का बन्छ । तातै खाँदा स्वाद लाग्ने, पचाउन सजिलो र शरीर न्यानो रहने हुनाले जाडोमा भक्का पकाइने गरिएको हाटखोलावासी राजेन्द्र गुप्ता बताउँछन् ।
हुन त राजधानीलगायत सहरमा फाट्टफुट्ट रूपमा तराईको यो स्वादिष्ट परिकारको विस्तार भएको छ । ठूला सहरका शिक्षण संस्थाबाहिर बिहानीपख ठेला गाडीमा यसको बिक्री भइरहेको हुन्छ । तर, यसले हरेक परिस्थितिमा रमाउन सक्ने मुलुककै ऐतिहासिक सहर विराटनगरवासीको उही पुरानो रंग, ढंग र शैलीलाई दर्शाउँछ ।
मुख्यत: थारू, राजवंशी र ताजपुरिया समुदायका महिला यसको व्यवसाय गर्छन् । तर, यसलाई सबै जातिकाले मीठो मानी खाने गरेका छन् । धेरैले पुर्खौंदेखि र केहीले अरूबाट सिकेर यो हिउँदे व्यापार गर्छन् । सबैको उद्देश्य अतिरिक्त आम्दानीबाट परिवारलाई सहयोग पुर्याउनु हो ।
उनीहरू बिहान–बेलुका बाहेकको समयमा खेती मजदुरी वा अरूको घरमा काम गर्छन् । अधिकांश महिलाका पति यातायात मजदुर, ज्यालादारी श्रमिक र वैदेशिक रोजगारीमा छन् । केहीका पति बेरोजगार भएकाले दुई छाक टार्न र छोराछोरी पढाउन उनीहरू सडकछेउमा भक्का बेच्छन् । विद्यालय बिदा भएका बेला छोराछोरीले समेत सहयोग गर्छन् ।
विराटनगरमै घर भएकाले साँझबिहान र मोरङकै वरिपरिका गाउँबाट यहाँ आउनेले एक पहर मात्र बेच्छन् । ओहोरदोहोर गर्न समय लाग्ने हुनाले दुवै समय बेच्न नसकेको मोरङ कटहरी–९ की व्यवसायी कुशन्ती ताजपुरिया बताउँछिन् । ग्राहकको रुचि अनुरूप केहीले बिहान भक्का र बेलुकी चप एवं कचौरी बेच्छन् ।
एक समय मात्र भक्काको व्यवसाय गर्नेले न्यूनतम ५० देखि २ सय ५० रुपियाँसम्म नाफा गर्दै आएको सन्ध्यादेवी बनियाँ सुनाउँछिन् । बिहानबेलुकी बेच्न सकेमा नौ सय रुपियाँसम्मको बिक्री हुँदा आधा बचत हुन्छ । नाफै नभए पनि लगानी निस्केर बच्चाबच्चीलाई खान पुग्ने गरेको केहीको अनुभव छ ।
भक्का पारखीको उमंगलाई मधेस आन्दोलनले सिर्जना गरेको अभाव र महँगीले पनि प्रभावहीन बनाउन सकेको छैन । दाउरा र चामलको मूल्य बढेकाले यो मौलिक परिकारको आकार घटेको छ । प्रतिगोटा सानोको मूल्य पाँच रुपियाँ र ठूलोको १० रुपियाँ पर्छ । “दाम त उही हो, सामग्रीको दाम बढेर आकार घटाउनु परेको हो,” विक्रेता जानकी राजवंशी भन्छिन् ।
भक्का हरेक जाति, वर्ग, रङ र समुदायको प्रिय खाजा हो । बालबालिकादेखि बूढापाकासम्मले मन पराउने समावेशी परिकार हो । नजानिँदो पाराले यसले सबै जातजातिका नेपालीलाई जोडिरहेको छ । “भक्का बनाउने कुन जात वा समुदायको हो भन्ने कुराको मतलब राखिँदैन, मीठो भए पुग्छ,” धरानरोडका समिर थापा भन्छन् ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...