गाउँ नै बन्धकी !
घर, जमिन, सुन, चाँदी बन्धकी राखिएको सुनिरहेका हामीलाई गाउँ नै बन्धकी लिएको कुरा पत्यार नलाग्न सक्छ । तर, डोम समुदायमा बाँसका सरसामान बेच्न बस्ती किन्नुपर्ने अनौठो प्रथा सदियौँदेखि चल्दै आएको परम्परागत व्यवहार हो ।

लहान–१२ की शान्ति मरिक, ३०, लाई १० हजार रुपियाँ जम्मा पार्न महिनौँ लाग्यो । १२ वर्षमा बिहे गरेकी र २५ वर्षमा पति गुमाएकी शान्तिलाई त्यतिका धेरै पैसाको आवश्यकता त्यसै खट्किएको थिएन । एक छोरा र तीन छोरीको पढाइ खर्च जुटाउन वा स्वास्थ्योपचार गर्न पनि उनलाई त्यति रकम चाहिएको होइन । लहानस्थित एक होटलमा झन्डै पाँच महिना भुइँ पुछ्ने काम गरेपछि मात्रै उनले १० हजार रुपियाँ बचत गर्न सकिन् । त्यसपछि बल्ल ‘गाउँ बन्धकी’ लिने शान्तिको सपना पूरा भयो । दुई सय घरधुरी भएको भोटियोटोल बन्धकी लिएको दिन शान्तिको अनुहारमा उज्यालो पोतियो ।
उनले सुनाइन्, “अब काम गरी खान मलाई गाह्रो छैन ।” घर, जमिन, सुन, चाँदी बन्धकी राखिएको सुनिरहेका हामीलाई गाउँ नै बन्धकी लिएको कुरा पत्यार नलाग्न सक्छ । तर, भूमिहीन शान्तिले गाउँका सबै अगुवाको सहमतिमा १० हजार रुपियाँ तिरेर भोटियाटोल बन्धकी लिएकी हुन् । शान्तिले बन्धकी लिएको गाउँमा अब अरू कसैले हातैले बनाइने टोकरी, ढकिया र बाँसका सामग्री बेच्न पाउने छैनन् । गाउँभरि ती सरसामानकी एक्ली आपूर्तिकर्ता हुन्, शान्ति । डोम समुदायमा गाउँ बन्धकी लिने र दिने सदियौँदेखि चल्दै आएको परम्परागत व्यवहार हो ।
बाँसका सामग्री बनाउने परम्परागत सीप भए पनि बेच्ने ठाउँको अभावमा वर्षांैदेखि शान्तिले यस्ता सामग्री बनाउन सकिनन् । किनभने, कुनै गाउँ बन्धकी नलिएसम्म आफूले उत्पादन गरेको सामग्री बेच्न पाइँदैन । अरूले नै बन्धकी लिएका गाउँमा लुकिछिपी बाँसका सामग्री बेचेको थाहा भयो भने गाउँको पञ्चायतले कारबाही गर्छ । सीप भए पनि आफूले उत्पादन गरेको सामग्री बेच्ने गाउँको अभाव भएपछि शान्तिले १७ फागुनमा ढोडना गाउँका दिपेन मरिकसँग १० हजार रुपियाँ तिरेर यो गाउँको ठेक्का लिएकी हुन् । आफ्नो जातीय परम्परा अनुसार समाजका अगुवाको रोहवरमा मौखिक सहमतिमा शान्तिले गाउँ बन्धकी लिएकी हुन् ।
अबको पाँच वर्षसम्म भोटिया टोलमा अरू कसैले बाँसका सामग्री बेच्न पाउँदैनन् । त्यसपछि भने उक्त गाउँ स्वत: दिपेन मरिककै जिम्मामा पुग्छ । दिपेनले भने बाबुबाजेबाट नै भोटियाटोल विरासतमा पाएका हुन् । किनेको र बाबुबाजेबाट पाएको गरी दिपेन डोढना, वीरनगर, तरेगाना, शोभापुर, भोटियाटोलसहित पाँच गाउँको बन्धकी स्याहारिरहेका छन् । भन्छन्, “भोटियाटोल टाढा भएकाले बेचिदिएको हुँ ।”
श्रीमान्को मृत्युपछि माइतीमा बस्दै आएकी शान्तिलाई उनका भाइ लहना मरिकले केही समयका लागि आफूले बन्धकी लिएको गणेशपुर गाउँमा बाँसका ढाकी, चँगेरी, नाङ्लोलगायतका सामग्री बेच्न दिएका थिए । तर, पछि भाइले आफूले दिएको गाउँ उनीबाट खोस्यो । भन्छिन्, “त्यसपछि फेरि मेरो बिचल्ली भयो ।” डोम समुदायका अगुवा सिरहा, धनगढीका रामचन्द्र मरिक तराईका अधिकांश डोमसँग आफ्नो जमिन नरहेको तथ्य सुनाउँछन् । भन्छन्, “तर, दुई–चार गाउँ बन्धकी नभएका भने कोही छैनन् ।” डोम समुदायमा जसले धेरै गाउँ बन्धकी लिन सक्छ, त्यो नै सम्पन्न र धनी मानिने परम्परा छ । दलितहरूको हक अधिकार, पहिचानको क्षेत्रमा काम गर्दै आएका लहान दलित जनकल्याण संस्थाका अध्यक्ष उमेश बिसुंखे आफ्नो गाउँ नभएकाले अरूको गाउँमा गएर काम गर्ने र बाँसको सामग्री बेच्न नपाइने भएकाले गाउँ किन्नु अनिवार्य भएको बताउँछन् ।
डोम समुदायमा जातीय जमिनदारीभित्र गाउँ खरिद–बिक्री गर्ने यो परम्परा अब पहिलेजस्तो छैन । सहरसँगको सम्पर्क र समयसँगै गाउँ किन्ने/बेच्ने परम्परा बदलिएको उमेश बताउँछन् । शान्तिले जस्तै गाउँ खरिद–बिक्री गर्दा कागजी प्रमाण नखोज्ने चलन भने अहिलेसम्म उस्तै छ । डोम समुदायमाथि अध्ययन गरेका भोला पासवानका अनुसार ४० वर्षअघिसम्म खरिद–बिक्रीमा डोम समुदायका जवार/माइन्जन (अगुवा)को उपस्थितिमा चौहद्दीभित्र कत्ता (खुकुरीजस्तो फलामे हतियार)ले हिर्काएर बाँसको मुंग्रो गाडिन्थ्यो । खरिदकर्ताले बिक्रेतासहित माइन्जनलाई सँुगुरको पाठोसहित भोज नै खुवाउनुपथ्र्यो । गाउँ खरिद–बिक्रीको परम्परागत चलनको कुनै वैधानिकता नभए पनि यसलाई डोम समुदाय आफ्नो परम्परा र संस्कृतिकै एक अंग मान्छन् । रामचन्द्र भन्छन्, “जीविकोपार्जनसँग जोडिएकाले पनि यो परम्परा कायमै छ ।”