खुसी लिएर घर फिर्ती
प्रसूतिगृहको भरपर्दो व्यवस्था नहुँदा यहाँका गर्भवती गाईगोठ र ओडारमा असुरक्षित तरिकाबाट बच्चा जन्माउन बाध्य थिए । त्यसरी बच्चा जन्माउँदा धेरै महिलाले अकालमै ज्यान गुमाउँथे ।
पहिलो बच्चा घरमै जन्माए पनि दोस्रो बच्चा जन्माउन प्रसूतिगृह आइन्, सोरु गाउँपालिका सिपगाउँकी मनदेवी कार्की, २७ । सिरुपाटा गाउँकी हेमा विष्टले पनि दोस्रो बच्चा प्रसूतिगृहमै जन्माएकी छन् ।
पछिल्ला वर्षमा आमा र शिशु मृत्युदर घटाउने प्रयासस्वरूप सरकारी र गैरसरकारी संस्थाले गर्भवतीलाई प्रसूतिगृहमै ल्याएर भरपर्दो सुत्केरी सेवा दिन थालेका छन् । “हाम्री आमाले हामीलाई गोठमा जन्माइन्,” उनी भन्छिन्, “मैले दोस्रो बच्चा अस्पतालमा जन्माउन पाएँ ।”
प्रसूतिगृहको भरपर्दो व्यवस्था नहुँदा यहाँका गर्भवती गाईगोठ र ओडारमा असुरक्षित तरिकाबाट बच्चा जन्माउन बाध्य थिए । त्यसरी बच्चा जन्माउँदा धेरै महिलाले अकालमै ज्यान गुमाउँथे ।
ब्याक टु लाइफको आर्थिक सहयोगमा जिल्लामा मानव अधिकार तथा वातावरण विकास केन्द्रले दुर्गम गाउँबस्तीमै भरपर्दो प्रसूतिगृह सञ्चालन गरेपछि गर्भवती आमाको ज्यान सुरक्षित हुन थालेको हेमाको अनुभव छ ।
केन्द्रले जिल्लाको कार्कीवाडा ढुम, रोवा झाकोट, रारा कच्चे, जिमा सिप, तलिकालै, खमाले, गम्था, सेरीतोली, नर्खर्जी, हयाङ्लु ठामलेख र श्रीकोट जिउका गरी ११ स्थानमा जनशक्तिसहित भरपर्दो प्रसूतिगृह निर्माण गरी सञ्चालनमा छ ।
ती प्रसूतिगृहमा सन् २०१२ देखि २०१९ जुनसम्म १ हजार १ सय ४ जना गर्भवतीले बच्चा जन्माउन सफल भएको संस्थाका फिल्ड अफिसर विष्णुबहादुर रावत सुनाउँछन् ।
संस्थाले सञ्चालन गरेको प्रसूतिगृहमा सुत्केरी हुन आउने महिलालाई कम्बल, भित्री कपडा, हर्लिक्ससहित चार छाक खानाको समेत व्यवस्था गरिएको छ । “यसबाट एकातिर आमा र शिशुको ज्यान सुरक्षित, अर्कातर्फ राम्रो सेवा–सुविधाले गर्भवती खुसी हुने गरेका छन्,” सेरी प्रसूतिगृहमा कार्यरत अनमी रंगी रोकाया भन्छिन्, “आमा र शिशुको मृत्युदर शून्यमा झर्दै छ ।”
चैत ०७५ देखि संस्थाले सोरु गाउँपालिकाको सिप गाउँमा सञ्चालन गरेको प्रसूतिगृहमा २५ गर्भवतीले सहजपूर्वक बच्चा जन्माएको तथ्यांक छ ।
अनमी सरिता शाहीका अनुसार प्रसूतिगृहले गर्दा घरमै बच्चा जन्माउने महिला संख्या घटेको छ । महिनाको चार पटक गर्भजाँच र भिडियो एक्सरे गर्न आउने महिला संख्या वृद्धि भएको छ ।
निन्याउरो अनुहार लिएर सुत्केरी हुन प्रसूतिगृह आएका गर्भवती आमाले बच्चा लिएर घर फर्किंदा अनमी र अन्य स्वास्थ्यकर्मीलाई धन्यवाद दिने गरेका छन् । सरकारी निकायमार्फत सञ्चालित प्रसूतिगृहमा पनि विगत वर्षभन्दा सुधार देखिएको छ । उक्त प्रसूतिगृहमा अनमीसहित स्वास्थ्यकर्मी बसेर सेवा प्रवाह हुन थालेको छ ।
जिल्ला अस्पतालका साथै पिना, गम, ढुंगेधारा, पुलु, बाम, नार्थपु, चिमाढुंग्री र रातापानी गरी ९ वटा सरकारी प्रसूतिगृह छन् । खत्याड गाउँपालिकाभरि सञ्चालित सरकारी प्रसूतिगृहमा मात्र आर्थिक वर्ष ०७५/७६ मा १ सय ९ जना सुत्केरी भएको गाउँपालिका स्वास्थ्य इन्चार्ज दीपबहादुर कार्की बताउँछन् ।
गत आर्थिक वर्षमा जिल्ला अस्पताल ठिनीमा २ सय ५३ जना सुत्केरी भए भने सोरु गाउँपालिकाको नार्थपु सरकारी प्रसूतिगृहमा ५८ जना । जिल्लादेखि दुर्गम गाउँसम्म सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका प्रसूतिगृहमा भरपर्दो र दक्ष जनशक्तिको व्यवस्था भएपछि गर्भवती आमाको ज्यान सुरक्षित बन्दै गएको जिल्ला अस्पतालका डा निर्मल नगरकोटी सुनाउँछन् । घरमै बच्चा जन्माउँदा असुरक्षित त हुने नै भयो, केही सुविधा नपाइने, रक्तअल्पता हुने डर र सेवा–सुविधाबाट वञ्चित हुने सम्भावनाले गर्भवती आमाको मन प्रसूतिगृहतिर तानिन थालेको डा नगरकोटीको धारणा छ ।
उनका अनुसार प्रसूतिगृहमा बच्चा जन्माउन आउने गर्भवतीलाई आतेजातेसहित ३ हजार ८ सय नगद, आमा र शिशुलाई न्यानो कपडासहितको झोला उपलब्ध गराउन थालिएको छ । “दुर्गम गाउँबस्तीमा अब सुत्केरी गराउन स्वास्थ्य केन्द्र लैजानुपर्छ भन्ने चेतना बढ्दै गएको छ,” नगरकोटी भन्छन्, “राम्रो सेवा प्रवाहले गर्भवती उत्साहित छन् ।”
स्थानीय तहले बच्चा जन्माउन आउने महिलालाई चोली, २० किलो चामल, दुई किलो नुन, एक पाकेट, अन्डा र बाबुलाई टोपी दिने घोषणा गरेपछि झन् प्रसूतिगृहमा बच्चा जन्माउने महिला संख्या वृद्धि भएको जनप्रतिनिधिको भनाइ छ ।
जिल्ला अस्पताल मुगुमा गत वर्षदेखि शल्यक्रिया सेवा पनि सुरु भएपछि ज्यान जोखिममा रहेका गर्भवतीलाई थप सुविधा भएको छ । पहिले अस्पतालमा गर्भवती शल्यक्रिया नहुँदा महँगो हवाई भाडा तिरेर बच्चा जन्माउन सुर्खेत या नेपालगन्ज जानुपर्थ्यो ।
गत आर्थिक वर्षमा जिल्ला अस्पतालमा १३ जना जोखिम गर्भवती महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएको जिल्ला अस्पतालले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट दुर्गम जिल्लामा सुत्केरी हुन नसकी ज्यान जोखिममा पर्न थालेसँगै तत्काल हेलिकप्टरबाट उद्धार गरी सुर्खेत या नेपालगन्ज लैजाने सेवा पनि सुरु भएको छ । “गत आवमा मात्रै जिल्लाबाट ४ जना गर्भवतीको हवाइ उद्धार गरियो,” सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालको दाबी छ, “हवाइ उद्धारले गर्भवतीको ज्यान सुरक्षित बन्दै गएको छ ।”
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...