नदी तर्न बीस किलो धान
कमला नदीमा पुल अलपत्र परेपछि सिरहा र धनुषाका करिब ६ सय मानिस दैनिक जोखिम मोलेरै डुंगामार्फत नदी आउजाउ गर्छन् ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत सप्तरी, सिरहा जोड्ने बलान नदी र सिरहा तथा धनुषा जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसके पनि अलपत्र छ । कमला नदी पुलको पिलर निर्माण अहिलेसम्म अधूरै छ । कमला नदीमा पुल अलपत्र परेपछि सिरहा र धनुषाका करिब ६ सय मानिस दैनिक जोखिम मोलेरै डुंगामार्फत नदी आउजाउ गर्छन् । सिरहा नगरपालिका-६ बाँसबिट्टाका स्थानीय सञ्जय यादव कमला नदीमा वर्षायाम सुरु भएपछि असारदेखि कात्तिकसम्म पाँच महिना डुंगा चल्ने बताउँछन् । "करोडौँ लागतको पुल अलपत्र छ, सर्वसाधारण भने जोखिम मोलेर नदी तर्नुपर्छ," सिरहा नगरपालिका बाँसबिट्टाका ६५ वर्षीय रामविलास साह आठ वर्षअघि बाजागाजासहित पुलको शिलान्यास भएको क्षण सम्झँदै भन्छन्, "पुलको शिलान्यास हुँदा स्थानीयमा हर्षको सीमै थिएन । आफ्नै घरआँगनबाट गाडी चढ्न र पुलबाट नदी वारपार गर्न पाइने आशमा थिए ।"
पुल निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी हिउँदभरि कामै नगरी बस्छन् । वर्षायाम सुरु हुनासाथ आठ-दस जना मिस्त्री लगाएर काम गरेजस्तो गर्ने र कमला नदीको बाढीले सिमेन्ट, रड बगायो भनेर सरकारसँग क्षतिपूर्ति लिने गरेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीले पिलरको आधा काम पनि पूरा नगरेको स्थानीय उर्मिला यादव बताउँछिन् ।
पुल नबन्दा डुंगालाई ५० रुपैयाँ तिरेर जोखिम मोलेरै बजार भर्न सिरहा सदरमुकाम आउनुपर्ने बाध्यता रहेको धनुषा कमला नगरपालिका-३ तेतरियाकी इन्द्रीदेवी दासको गुनासो छ । कमला नदीमा बाढी आएका बेला बिहारको जयनगर भएर आउजाउ गर्नुपर्ने अवस्था छ । साँझ ५ बजेपछि नदीमा डुंगा नचल्ने हुँदा रातबिरात कोही गाउँमा आकस्मिक बिरामी भए अकालमा ज्यान गुमाउनुको विकल्प नरहेको दुःखेसो इन्द्रीदेवीको छ । सिरहा नगरपलिका-६ बाँसबिट्टा घाटमा डुंगा चलाउँदै आएका छेदी मुखिया कमला नदीमा पुल नबनेकाले सर्वसाधारणको आउजाउका लागि डुंगा चलाएबापत सिरहा र धनुषाका १५ गाउँका स्थानीयसँग पाँच महिनाको २० किलो धानबाली लिने गरेको बताउँछन् । त्यस्तै, ५० रुपैयाँ मोटरसाइकलको, साइकलको २० रुपैयाँ लिने गरेको उनको भनाइ छ । डुंगाबाट दैनिक करिब ६ सय मानिसलाई तार्ने गराएको उनले सुनाए ।
कमला नदीमा निर्माण गरिएको अधूरो पिलर
सप्तरी, सिरहा जोड्ने बलान नदीमा २४ करोड ६२ लाख र सिरहा-धनुषा जोड्ने कमला नदीमा २८ करोड १५ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्न सरकार र पप्पु लुम्बिनी जेभी कन्ट्रक्सनबीच ३० मंसिर ०६८ मा ठेक्का सम्झौता भएको थियो । दुई पटक म्याद थपिसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन ।