मृतात्माको सम्झना
कुनै बेला प्यागन (प्रकृतिलाई पूजा गर्ने) संस्कृतिमा मनाइने हलोविन पछिल्लो समय क्रिस्चियानिटीको नामबाट विश्वभर चर्चित भइरहेको छ ।

अक्टोबरमा क्रिस्चियन धर्मावलम्बीले हलोविन मनाए । हलोविन अर्थात् मृतात्मालाई सम्झने दिन ।
मृतकको सम्झनास्वरूप धर्मैपिच्छे विभिन्न चाडपर्व छन् । नेपालमै पनि मृतकको सम्झनामा गाईजात्रा मनाउने चलन छ भने भूतप्रेतलाई पूजा मन्छाउने पर्वको रूपमा गठेमंगल । तर हलोविनजस्तो नेपाली गाईजात्रा र गठेमंगलको ब्रान्डिङ भने त्यहीअनुरूप हुन सकेको छैन ।
कुनै बेला प्यागन (प्रकृतिलाई पूजा गर्ने) संस्कृतिमा मनाइने हलोविन पछिल्लो समय क्रिस्चियानिटीको नामबाट विश्वभर चर्चित भइरहेको छ । खासमा हलोविन मरेका, योगी र सहिदको सम्झनामा मनाउने चलन छ । फर्सीको टाउकोमा बत्ती, आगो बालेर, मुखले च्यापेर स्याउ निकाल्ने र व्यक्तिको भविष्य बताउने भविष्यवाणीजस्ता खेल खेलेर, भूतको चलचित्र हेरेर र भूतका कथा भनेर मनाइन्छ ।
हलोविनको अर्को विशेषता यसको कस्ट्युम अर्थात् पोसाक हो । कसैको आङ नै सिरिंग गर्ने खालका डरलाग्दा मेकअप र कस्ट्युम लगाएर हलोविन मनाइने चलन छ । नेपाल किन पछि पर्थ्यो र ! ३१ अक्टोबरमा ठमेल, दरबारमार्ग, पोखराजस्ता सहरमा त्यस्तै दृश्य देखिए । कालो, सेतो, कतै त्रिशूलजस्तो बोकेको गेटअपमा युवा जमात बाहिर निक्लिए, हलोविन मनाउन । उनीहरूको पोसाक, अनुहारमा लगाएका जंगली मनुवाजस्तो मेकअप, भूतका चलचित्रमा पात्रले लगाएका पहिरनमा सजिएका युवायुवती हेर्ने मान्छेको भीड लागेको थियो ।
हलोविन संसारमा र युवायुवतीमा मात्र होइन, सेलिब्रिटीमाझ पनि उत्तिकै चर्चित छ । हलिउडका सेलिब्रिटी हलोविनको कस्ट्युममा ठूल्ठूला पार्टीमा सहभागी भएका समाचार सञ्चार माध्यममा चर्चित बनेका थिए । मेट्रोडटकोडटयुकेले त उत्कृष्ट हलोविन पहिरन भन्दै १० सेलिब्रिटीको नामै सार्वजनिक गरेको थियो । त्यसमा हेइडी क्लमले लगाएको पहिरन फ्र्यान्केस्टाइन र स्पेसिज चलचित्रबाट प्रभावित एलियन लुक बनाएकी थिइन् । फ्र्यान्केस्टाइनको जस्तो कंकाल शरीर र एलियनको जस्तो टाउकाले उनी डरलाग्दी र अद्भुत देखिन्थिन् ।
तस्बिरहरु हेर्नुहोस् :