प्रतिमामा मजाक !
गोल गरेपछि सलाहले व्यक्त गरेको खुसी मूर्तिमा उतार्न खोजिएको छ । तर, न उनको कपाल वास्तविक लाग्छ, न त अनुहारको भावभंगिमा ।

सर्वाधिक सफल र लोकप्रिय खेलाडीमध्ये दरिन्छन्, इजिप्टका फुटबल स्टार मोहम्मद सलाह । उनको आगमनसँगै लिभरपुलले फड्को मार्यो । आक्रामक शैलीमा बल पोस्टमा छिराउने सलाहका करोडौँ फ्यान छन् । तर, यतिबेला मजाकको पात्र बनिरहेका छन् । कारण अरु केही नभएर उनकै बेढंगको प्रतिमा हो, जुन १८ कात्तिकमा इजिप्टको उत्तर–पूर्वी सहर सिनाई पेनिन्सुलामा सार्वजनिक गरिएको थियो ।
गोल गरेपछि सलाहले व्यक्त गरेको खुसी मूर्तिमा उतार्न खोजिएको छ । तर, न उनको कपाल वास्तविक लाग्छ, न त अनुहारको भावभंगिमा । टाउको असुहाउँदो ढंगले ठूलो छ भने हात र छातीमुनिको भाग असाध्यै सानो । त्यसैले जब यस मूर्तिको तस्बिर फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा पोस्ट गरियो, सलाहलाई उडाउन थालियो ।
त्यो मूर्तिलाई कतिले अमेरिकाको कार्टुन–क्यारेक्टर टोड फ्लान्डेससँग त कतिले बेलायती गायक लियो सयेरसँग तुलना गरेका छन् । इजिप्टकै माई अब्दुल्लाहले मूर्ति बनाएकी हुन् । विवाद खेपेपछि उनले आलोचकलाई शिष्ट र सम्मानजनक व्यवहार देखाउन आग्रह गरेकी छन् । तर, सलाहको कुनै आधिकारिक प्रतिक्रिया बाहिरिएको छैन ।
केही समयअगाडि क्रिस्टियानो रोनाल्डोको कृत्रिम हाँसोयुक्त मूर्तिमाथि पनि मजाक भएको थियो । पछि त्यसलाई हटाएर अर्को राखियो । यसैगरी, सलाहको मूर्ति ‘रिप्लेस’ होला ? प्रशंसकले चाहेको त्यही त हो ।