सीले तोडेको प्राचीन निषेधाज्ञा
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच लाग्नु वास्तवमै रोचक छ ।
सन् २०१७ को नोभेम्बर ८ तारिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पती र चिनियाँ राष्ट्रपति सी चिनफिङ दम्पती ६ सय वर्ष पुरानो चीनको निषिद्ध दरबारमा देखा परे । यो दरबारलाई प्राचीनकालमा चिनियाँमा ‘च् चिन् छङ्’ भनिन्थ्यो जसको अर्थ अंग्रेजीमा ‘फरबिडन सिटी’ र नेपालीमा ‘निषिद्ध दरबार’ हो ।
तत्कालीन चीनको मिङ् र छिङ् राजवंश (१३६८–१९११) कालमा यो दरबार सम्राटहरूको आवासगृह थियो भने चीनको सबैभन्दा ठूलो राजनीतिक केन्द्र पनि । संसारका धेरै मानिसले यो सहर होला भन्ने सोचेका छन् र किन निषेधित भयो भन्ने ख्याल गरेका छैनन् । वस्तुत: यो सहर नभएर दरबार हो । इतिहासमा यहाँ जो कोही सर्वसाधारणलाई प्रवेश अनुमति थिएन । शाही दरबारका निम्तालु वा सरकारी अधिकारीले मात्रै त्यहाँ प्रवेश गर्न पाउँथे ।
सन् १९४९ मा नयाँ चीनका प्रणेता माओको नेतृत्वमा जनगणतन्त्र चीनको उदय भयो । त्यसयता माओ एकचोटी पनि सो स्थलमा प्रवेश गरेनन् । उनको विचारमा त्यहाँ प्रवेश गर्नु विरोधीको किल्लाभित्र छिर्नुसरह हुन्थ्यो किनकि राजतन्त्र सामन्तवादको प्रतीक हो । आफूलाई जनप्रेमी देखाउन हुनसक्छ, माओले त्यहाँ खुट्टा राख्न सकेनन् वा राख्न चाहेनन् । तथापि सोही दरबार अगाडिपट्टि थ्यानआनमन स्क्वायरमा जनगणतन्त्र घोषणा गर्ने र विशाल प्रशासनिक क्षेत्रबाट शासन चलाउने नेताले दरबारमाथि गरेको अछुतो व्यवहारलाई धेरैले कम्युनिस्ट ढर्राको संज्ञा दिन्छन् ।
यस दरबारको निर्माणका लागि १४ वर्ष (१४०६–१४२०) लागेको थियो । दसौँ लाख निर्माणकर्मी र कलाकर्मी खटिएर बनाएको त्यो ऐतिहासिक धरोहर शाही दरबारको रूपमा ४ सय ९२ वर्षसम्म अर्थात् १४२० देखि १९१२ सम्म रह्यो । मिङ र छिङका २४ सम्राटहरू त्यहाँ बसे । किंवदन्तीअनुसार त्यहाँ जम्मा ९ जति ९ सय ९९ वटा कोठा छन् । तर पछिल्लो आँकडाले त्यो पुष्टि हुँदैन । त्यस्तो भनाइ प्रचलित हुनुका पछाडि पनि एउटा कारण छ ।
प्राचीन चीन एकदमै रूढीवादी मुलुक थियो । चिनियाँहरूको विश्वासमा स्वर्गको दरबारमा मात्रै १० हजार कोठा हुन्छन् । त्यसैले स्वर्ग दरबारभन्दा कम देखाउनका लागि एउटा कोठा आधा मात्रै बनाइएको हो ।
चिनियाँ ज्योतिषवेत्ताहरूले परम्परागत रूपमा आकाशलाई २८ तारामण्डल वा स्वर्गको महलको रूपमा विभाजन गर्थे । तीन विशिष्ट क्षेत्रमध्ये एउटाचाहिँ उत्तरी तारा केन्द्रितलाई ‘च् वै युआन’ भनिन्छ, जुन चिनियाँ किंवदन्तीअनुसार स्वर्गका सम्राटको घर हो । दरबार आकाश मण्डलको केन्द्रमा रहने भएकाले ‘स्वर्गका पुत्र’ को निवासस्थल भनियो । ‘च्’ को अर्थ प्याजी रंग भन्ने हो । चिन्को अर्थ निषेध र ‘छङ्’ भनेको सहर । त्यसैले यो निषिद्ध दरबार हो । यसको छाना पहेँलो भएकोमा धेरै चकित हुन्छन् किनकि यो सम्राटको रंग हो ।
सो दरबारलाई सन् १९१२ मा राजतन्त्र निर्मूल भएर ‘गणतन्त्र चीन’ हुँदा पहिलोपटक मानिसहरूले ‘कुकुङ’ दरबार भन्ने नाम राखे । सन् १९२५ मा संग्रहालयको रूपमा नामकरण भयो । हाल चिनियाँले गर्ने उच्चारण नै ‘कु कुङ’ हो ।
सन् १९८७ मा युनेस्कोमा सूचीकृत भएपछि यो दरबार सर्वसाधारणका लागि पटकपटक गरेर खुल्ला गरियो । कहिले कुन भाग त कहिले कुन भाग गर्दै अझै पनि दैनिक ८० हजार पर्यटक पुग्ने गर्दछन् । ७२ हेक्टर क्षेत्रफलमा फैलिएको विशाल दरबारमा सन् २०१७ मा चिनियाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानियालाई चिनियाँ राष्ट्रपति सी चिनफिङ र फङ् ली युआनले पहिलो पटक स्वागत गरे ।
यसअघि पनि अमेरिकी पूर्वविशिष्ट पाहुनाहरू रिचार्ड निक्सन, बिल क्लिन्टन, बाराक ओबामालगायतले फरबिडन सिटीको भ्रमण गरेका थिए । तर राजकीय भ्रमणमा आएका बेलामा सीधै सोही दरबारमा स्वागत पाउने र पहिलोपटक राजकीय भोज पनि त्यही स्थलमा गर्न पाउने नेताचाहिँ ट्रम्प नै थिए ।
चीनको भ्रमणमा सबैभन्दा पहिलो गन्तव्यको सूचीमा फरबिडन सिटी पारिएकोमा ट्रम्पले ट्वीट गरे, ‘अद्वितीय स्वागतका लागि धन्यवाद ! मेलानिया र मैले यो क्षण कहिल्यै बिर्सिने छैनौँ ।’
ट्रम्प नै एक मात्र त्यस्तो विदेशी नेता हुन्, जसले सबैभन्दा धेरै समय त्यहाँ बिताए, रात्रिभोजको स्वागत पनि पाए । ट्रम्पका विचारमा पहिलो पटक चीन भ्रमण गर्दा फरबिडन सिटीमा पुग्ने छनोट हुनु वास्तवमा गज्जबको कदम थियो । भ्रमणका क्रममा सीले व्याख्या गरे, ‘निषिद्ध दरबार चिनियाँ इतिहास र संस्कृति बुझ्ने अभिन्न झ्याल हो । यसका दुइटा नाम छन्, प्यालेस म्युजियम ९० वर्ष पुरानो । अर्को ६ सय वर्ष पुरानो फरबिडन सिटी भन्ने नाम ।’
प्राचीन शैलीका भवनहरू, शानदार दरबार, भव्य हलहरू, ठूल्ठूला स्तम्भहरू, अद्भुत मण्डपहरू र मनोरम उद्यानहरू देख्न सकिन्छ । त्यहाँ देखिने छाना, पर्खाल, रेलिङ, पिल्लर तथा फर्निचरले मन तान्छन् । असंख्य बहुमूल्य सांस्कृतिक सम्पदा त्यहाँ देख्न सकिन्छ । वास्तुकलाको अनुपम कला समेटिएको यो दरबारमा नपुग्ने कुनै पनि विदेशीको चीन यात्रा पूर्ण मानिँदैन ।
चीनमा जनगणतन्त्र आएको यतिका वर्ष भइसक्यो । चिनियाँ राष्ट्रप्रमुखहरू कहिल्यै पनि भित्र छिरेनन् । उनीहरू पटकपटक सो दरबारको नजिकसम्म पुगेर बार्दलीबाट चोकमा रहेका जनतालाई सम्बोधन गरे तर भित्रैसम्म कहिल्यै पुगेनन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूमा पनि ‘माओलगायतका केही नेता यति मिटरभित्रसम्म छिरे, उति मिटर बिच्छ्याएको रातो कार्पेटमा टेके’ भन्ने खालका समाचार देखिन्थ्यो ।
तर त्यति भित्रैसम्म छिर्ने साहस सी चिनफिङले नै बटुले । यति गहन रूपमा भित्रैसम्म छिर्ने, मज्जासँग समय बिताउने, गफगाफ र हँसीमजाक गर्ने, इतिहासको पुनरावलोकन गर्ने क्रममा सी चिनफिङले नै प्राचीन निषेधाज्ञा तोडे । हालसम्म विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच लाग्नु वास्तवमै रोचक विषय छ ।
(लेखक चिनियाँ अन्तराष्ट्रिय रेडियो (सीआरआई) मा कार्यरत छन् ।)
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...