विवादित नागरिकता कानुनले विभाजित भारत
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।
संविधानबाट धारा ३७० खारेज गरी जम्मु कश्मीरको विशेषाधिकार खोसेको मोदी सरकारले संसद्मा दोस्रो सफलता पाएको छ, नागरिकता संशोधन विधेयकलाई दुई दिनमा संसद्का दुवै सदनबाट पारित गरेर ।
राष्ट्रपति रामनाथ कोविन्दले हस्ताक्षर गरेसँगै यो अब कानुन बनेको छ । तर संसद्बाट पारित भएर कानुन भइसक्दा पनि यो कानुनलाई लिएर बहस रोकिएको छैन । भारतका कतिपय स्थानमा नागरिकता संशोधन ऐनको विरोधमा प्रर्दशनहरू भइरहेका छन् । सरकार प्रर्दशनकारीहरूमाथि निर्मम ढंगले प्रस्तुत भएको भारतीय मिडियाहरूले लेखेका छन् । भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ।
१) नागरिकता संशोधन कानुन के हो ?
अहमदावादमा भएको प्रदर्शनका सहभागीहरू । तस्बिरः रोयटर्स
विवादित नागरिकता संशोधन कानुन भारतमा लामो समयदेखि बस्दै आएका विदेशी आप्रवासी अनागरिकहरूको हितका लागि भनेर भारतको लोकसभा र राष्ट्रिय सभाबाट पारित कानुन हो, जसलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले गत मंगलबार हस्ताक्षर गरेर प्रमाणित गरेका छन् । भारतको दुवै सदनबाट पारित भएको नागरिकता संशोधन कानुनअनुसार अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट भारत आएका हिन्दु, जैन, बौद्ध, शिख, पारसी र इसाई समुदायलाई भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ । कानुनमा मुस्लिम धर्मालम्बी शरणार्थीहरूलाई भने समावेश गरिएको छैन ।
नागरिकता संशोधन कानुनमा ३१ डिसेम्बर २०१४ अघि भारत प्रवेश गरेका अप्रवासीहरूलाई कानुनअनुसार योग्य ठहरिएमा ६ वर्षभित्र नागरिकता दिने प्रावधान राखिएको छ, जुन कानुन लागू भएमा ३१ हजारभन्दा बढी आप्रवासीहरूले भारतीय नागरिकता पाउने छन् । यसमा हिन्दु धर्मालम्बीहरूको संख्या अत्यधिक छ । २५ हजारको संख्यामा भारतको उत्तरपूर्वी क्षेत्रमा बसोवास गर्ने आप्रवासी हिन्दु धर्मालम्बीहरूले नागरिकता पाउनेछन् । त्यस्तै, ५ हजारभन्दा बढी शिख समुदाय लाभान्वित हुनेछन् भने निकै कम संख्यामा अन्य समुदाय लाभान्वित हुने देखिन्छ । साथै, नागरिकता कानुनले यदि कुनै पनि व्यक्ति यसअघिका प्रावधानहरूका कारण नागरिकताबाट वञ्चित छ भने नयाँ व्यवस्थाअनुसार योग्य ठहरिएमा नागरिकता पाउने बाटो समेत खुला गरेको छ ।
२) विरोध किन ?
नयाँ दिल्लीमा भएको प्रदर्शनमा नागरिकता कानुनको प्रतिलिपि जलाउँदै प्रदर्शनकारीहरू। तस्बिरः रोयटर्स
नागरिकता कानुन पारित भएलगतै भारतमा मुख्य दुई आधारमा विरोध बढेको छ । भारतको उत्तरपूर्वी क्षेत्रमा शरणार्थीहरूको बसोबास बढी छ । संशोधित कानुन लागू भएमा उक्त स्थानका रैथानेहरू अल्पमतमा पर्न सक्ने शंकामा एकथरीले यो कानुनको विरोध गरेका छन् । नागरिकता संशोधन कानुनले केही निश्चित समूहका आप्रवासीहरूलाई भारतको नागरिकता लिन बाटो खुला गर्नेछ । यसबाट उत्तरपूर्वी क्षेत्रको संस्कृति, चालचलनमा आँच आउन सक्ने भन्दै यो क्षेत्रमा विरोध भएको छ ।
अन्य क्षेत्रमा भने कानुन बने सँगै धर्मका नाममा शरणार्थीहरूलाई नागरिकता दिने कानुन भारतीय संविधानको मर्मविपरीत भएको भन्दै उक्त कानुनविरुद्ध चर्को प्रर्दशन भइरहेको छ । संशोधित कानुनलाई लिएर प्रतिपक्षी, नागरिक समाज तथा विभिन्न क्षेत्रबाट चर्को विरोध हुँदै आएको छ । भारतको अन्य क्षेत्रमा कानुनले धर्मका नाममा विभेद गरेको भन्दै विरोध चर्किएको छ । हिन्दु, जैन, बौद्ध, शिख, पारसी र इसाईजस्ता धर्मलाई समेटेको कानुनमा मुस्लिम समुदायलाई किन समेटिएन भन्दै अर्काथरीले विरोध गरेका छन् । खासगरी यो समूहमा भारतको बौद्धिक तप्का बढी देखिन्छ ।
जस्तो, भारतीय सांसदसमेत रहेका लेखक शशी थरुरले लेखेका छन्, ‘एउटा समुदायका सदस्यहरूलाई मात्र अलग राखेर बनाएको कानुन आधारभूत रूपमा नै भारतको धर्मनिरपेक्ष र बहुलवादी परम्परा विरोधी छ ।’ यो कानुनले भारतमा वर्षौंदेखि बस्दै आएका अन्य देशका शरणार्थीहरूलाई समेत समेटेको छैन । भारतको तमिल नाडु क्षेत्रमा बसोबास गर्दै आएका श्रीलंकाका हिन्दु शरणर्थीहरूलाई कानुनले संबोधन नगर्दा विरोध झन् बढेको छ ।
३) सडकमा सत्ताको व्यवहार ?
तस्बिरः पीटीआई
कानुन बनेलगतै सुरु भएको चौतर्फी विरोध दबाउन भारत सरकार प्रर्दशनकारीहरूमाथि निर्मम ढंगले प्रस्तुत भएको भारतीय मिडियाहरूले लेखेका छन् । भारतको उत्तरपूर्वी क्षेत्रमा आन्दोलन हिंसात्मक बनेको छ । आन्दोलनकै क्रममा ६ जनाको मृत्यु भइसकेको छ । आन्दोलनले हिंसात्मक रूप लिएपछि उत्तरपूर्वी क्षेत्रका असमलगायतका क्षेत्रमा भारत सरकारले कफ्र्युसमेत लगाएको छ । सवारी साधनदेखि विद्यालय, सडकसम्म आन्दोलनका कारण ठप्प छन् । ४ जनाभन्दा बढीको संख्यामा भेला हुन प्रतिबन्ध लगाउने भारतको संविधानको धारा १४४ को प्रयोग गरिएको छ । कानुनलाई लिएर विपक्षी, नागरिक समाज तथा विभिन्न क्षेत्रबाट चर्को विरोध हुँदै आएको छ ।
कांग्रेस नेता जयराम रमेश, एआईएमआईएमका असुदुद्दीन ओवैसी, तृणमूल कांग्रेसकी महुआ मोइत्रा, राष्ट्रिय जनता दलका मनोज झा, इतिहासकार रामचन्द्र गुहालगायतले आन्दोलनको अगुवाइ गरेका छन् । आन्दोलनमा अगुवाइ गरिरहेका इतिहासकार रामचन्द्र गुहालगायत केही आन्दोलनकारीहरू बिहीबार बिहान बैंगलोरबाट समातिएसँगै विवादित नागरिकता कानुनबारे अन्तरराष्ट्रिय समुदायको समेत ध्यान तानिएको छ । त्यस्तै, भारतका अन्य सहरहरूबाट समेत आन्दोलनकारीहरू समातिएका छन् ।
Watch | "We are protesting in a non-violent, peaceful manner": Historian Ramachandra Guha, mid-interview, detained by police#CitizenshipAmendmentAct #CAAProtests pic.twitter.com/2XZjcn3WWx
— NDTV (@ndtv) December 19, 2019
४) सञ्चार सम्पर्कमा पावन्दी
तस्बिरः qz.com
भारतका विभिन्न स्थानबाट एकैसाथ नागरिकता संशोधन कानुनको विरोध हुन थालेपछि भारत सरकारले कतिपय स्थानमा इन्टरनेट तथा सञ्चार साधनमा प्रतिबन्ध लगाएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमा चर्को विरोध खेपेको भारत सरकारले उत्तरपूर्वी क्षेत्रको जनआवाज दबाउन डिसेम्बर ११ देखि इन्टरनेट प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
असममा विशेषगरी डिब्रुगड, डिसपुर, गुवाहाटी र जोरहटमा इन्टरनेट तथा सञ्चारमाध्यम प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । बिहीबार गुवाहाटीको उच्च अदालतले सञ्चारमाध्यममाथिको प्रतिबन्ध हटाउन सरकारलाई निर्देशन दिएको छ । साँझ ५ बजे भित्रमा प्रतिबन्ध हटाउन अदालतले निर्देशन दिएको हो ।
- एजेन्सीको सहयोगमा
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...