नोबेल मनोनयनमा १६ वर्षीया किशोरी
उनले जलवायु परिवर्तनका सवालमा हजारौँ विद्यार्थीलाई स्कुल छाडेर यस विषयमा आवाज उराल्न प्रोत्साहन गर्दै आएकी छन् । यसको प्रभाव स्वीडेनमा मात्रै नभएर युरोपभरि पर्दैछ ।

युवालाई जलवायु परिवर्तनबारे आवाज उठाउन पहल गर्ने स्वीडेनकी वातावरण अभियन्ता किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छन् । १६ वर्षीया ग्रेटा थनबर्गलाई नर्वेका तीन कानुनविद्ले नोबेल पुरस्कारका लागि छनोट गरेका हुन् ।
उनले जलवायु परिवर्तनका सवालमा हजारौँ विद्यार्थीलाई स्कुल छाडेर यस विषयमा आवाज उराल्न प्रोत्साहन गर्दै आएकी छन् । यसको प्रभाव स्वीडेनमा मात्रै नभएर युरोपभरि पर्दैछ । उनकै पहलमा हजारौँ युवा जलवायु विषयमा आन्दोलनमा होमिएका छन् ।
नर्वेली एक सांसदले भनेका छन्, 'हामीले ग्रेटालाई मनोनीत यसकारण गरेका हौँ कि जलवायुको चुनौती युद्ध र संघर्षका प्रमुख कारणसमेत बन्न सक्छ ।’ ग्रेटा सन् २०१८ मा टाइम म्यागजिनको प्रभावशाली किशोरीको सूचीमा समेत समेटिएकी थिइन् ।
नर्वेली नोबेल कमिटीले सार्वजनिक रुपमा केही सूचना नदिए पनि उनीहरुले ग्रेटाको नाम नोबेल पुरस्कार मनोनयनका लागि १ फेब्रुअरीमै पठाएको सञ्चार माध्यमले उल्लेख गरेका छन् । ग्रेटाले पुरस्कार हात पारिन् भने सबैभन्दा कान्छी नोबेल विजेता मलालाको कीर्तिमान् तोडिनेछ ।