[सम्पादकीय] प्रधानमन्त्रीको स्वास्थ्यबारे खोजी पत्रकारिता !
नागरिकलाई आफ्नो करले पालिएका, आफूहरूप्रति उत्तरदायी व्यक्तिको स्वास्थ्यस्थितिबारे समयमा सही सूचना जान्न पाउने अधिकार छ ।
![[सम्पादकीय] प्रधानमन्त्रीको स्वास्थ्यबारे खोजी पत्रकारिता ! [सम्पादकीय] प्रधानमन्त्रीको स्वास्थ्यबारे खोजी पत्रकारिता !](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/sampatdakiya-copy-03112019113120.jpg&w=900&height=601)
भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीको स्वास्थ्योपचारबारे सूचना लुकाएको भनेर केही वर्षअघि भारतमा चर्को आलोचना भएको थियो । हाम्रै देशमा नेताद्वय कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीका अन्तिम दिनबारे समयमै सही सूचना प्रवाह गरिएन । दिवंगत भइसक्दा पनि औपचारिकताका लागि अनावश्यक समय खर्चने प्रवृत्ति छ । समृद्ध लोकतन्त्र मानिने अमेरिका-बेलायततिर पनि कतिपय नेता र सार्वजनिक जीवनमा रहेका व्यक्तिले आफ्नो स्वास्थ्यबारे वास्तविकता सार्वजनिक भए जनतामा गलत सन्देश जाला भनी हच्किने गरेको पाइन्छ ।
कतिपय भन्छन्, 'स्वास्थ्य भन्ने विषय बिल्कुलै व्यक्तिगत मामिला हो, यसमा अरूको चासो किन ?' प्रधानमन्त्री केपी ओली अघिल्लो साता मिर्गौलाको डायलासिस गर्न ग्रान्डी हस्पिटलमा बस्दा उठेका टिप्पणीबारे उनकै सचिवालयका तर्फबाट यस्तो किसिमको जवाफ सुनियो । अनि समयमा सूचना प्रवाह गर्नबाट सचिवालय पछि हटेको देखियो । ओली उपचाररत ग्रान्डीले ढिलो गरी विज्ञप्ति मात्रै प्रकाशित गर्यो । नियमित स्वास्थ्य बुलेटिन जारी गर्न चाहेन ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली उपचारका लागि अस्पताल भर्ना भएको यो पहिलो पटक होइन । देशमा मात्र नभएर उनले विदेशमा समेत उपचार तथा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । तर कुनै पनि समयमा उनको स्वास्थ्यबारे प्रस्ट जानकारी दिने गरिएको छैन ।
यसपल्ट पनि 'स्वास्थ्य स्थिति सामान्य' रहेको दाबी गरिँदै गर्दा प्रधानमन्त्रीको १३ कात्तिकदेखि नै अति सघन कक्ष (आईसीयु) मा राखेर उपचार भइरहेको थियो । मिर्गौला रोगीका लागि डायलासिस नियमित प्रक्रिया हो । हाम्रा संवाददाता रविराज बरालले यसबारे नेपाल अनलाइनमा विस्तृत रिपोर्ट गरेका छन् । तर सम्बद्ध स्रोत नै सूचना लुकाउन लाग्दा राष्ट्रको प्रमुख कार्यकारी व्यक्तिबारे कतिपय सञ्चार माध्यममा अफवाह पनि प्रवाहित भए । कुनै एउटा गल्तीवश जाने खबरका कारण अरूले चुकाउने मूल्य यस्तोमा महँगो पर्न आउँछ ।
पछिल्लो पटक एक साताको फरकमा ओली दुई पटक सिंगापुर पुगेका थिए, उपचारका लागि । १८ देखि २७ साउन र ५ देखि १९ भदौ गरी त्यहाँ ओलीको 'प्लाज्मा फेरेसिस' गरिएको थियो । एक साता नबित्दै पुनः उपचारका लागि सिंगापुर जाने चर्चाबीच प्रधानमन्त्रीको स्वास्थ्यबारे देशवासीलाई थाहा नदिइएको भन्दै सोसल मिडियामा चर्को आलोचना भयो ।
गत ५ भदौमा ओली सिंगापुर जानुअघि निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले विज्ञप्ति जारी गरेकी थिइन् । त्यसअघि ओली १८ देखि २७ साउनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएर फर्किएका थिए । मिर्गौलाले सामान्य अवस्थामा काम गर्न नसक्ने भएकैले नियमित डायलासिस गर्नु परेको हो । तर प्रधानमन्त्रीको निजी सचिवालय उनको स्वास्थ्य अवस्थाबारे नागरिकलाई सही ढंगले जानकारी गराउन भने अनिच्छुक देखिएको छ । बरु सचिवालयका जिम्मेवार अधिकारी सोसल मिडियामा आफूअनुकूल हुने जानकारी वा लिंक सेयर गरिरहेका देखिन्छन् ।
सूचनाको हक र नागरिकका अधिकारबारे विगतमा बोलेर, लेखेर नथाक्नेहरू अहिले शक्तिमा छन् । प्रधानमन्त्रीको स्वास्थ्यबारे समयमा सही सूचना दिएर जनतालाई दिग्भ्रमित हुनबाट तिनले सघाएको खोइ ? सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले केही महिनाअघि पत्रकारलाई क्याबिनेटका निर्णय आफूले लुकाउने सगर्व घोषणा गर्दै त्यसलाई पत्ता लगाएर खोज पत्रकारिता गरिहेर्न चुनौती दिएका थिए । के अब प्रधानमन्त्रीको स्वास्थ्यबारे पनि प्रेसले खोजी पत्रकारिता गर्नुपर्ने बेला आइसकेको हो ?
नागरिकलाई आफ्नो करले पालिएका, आफूहरूप्रति उत्तरदायी व्यक्तिको स्वास्थ्यस्थितिबारे समयमा सही सूचना जान्न पाउने अधिकार छ ।