देवेन्द्रराज पाण्डेले उठाएका प्रश्नहरू
पाण्डेले नेपालको वर्तमान समाजलाई औँल्याउँदै यो नागरिक समाज नभएको, नागरिक गण मात्रै भएको निष्कर्ष दिएका छन् ।
मार्टिन चौतारी स्थापना–व्याख्यान दिने क्रममा नागरिक अगुवा देवेन्द्रराज पाण्डेले ४ पुसमा केही आधारभूत सवाल उठाए । राजधानी काठमाडौँमा ‘नेपालमा लोकतन्त्रको प्राण–प्रतिष्ठा’ शीर्षकमा एक घन्टा बोल्दै उनले आजको दिनमा लोकतन्त्रका मूलभूत मान्यताउपर कसैले पैरवी गरे उसलाई ‘आदर्शवादी’ भनी गिज्याउने गरिएको टिप्पणी गरे । भारत र विश्वभरि अन्तर्राष्ट्रिय भावना कमजोर हुँदै गएका बेला नेपाल पनि त्यसको हावाबाट पूरै अछुतो छैन । दलीय चुनावलाई देखाएकै भरमा लोकतन्त्र रहेको जिकिर गर्नेहरूमाथि सन्देह गर्दै पाण्डेले भने, ‘हेर्दाखेरि यहाँ पनि अन्यत्रझैँ लोकतन्त्रको शरीर त हट्टाकट्टा नै देखिन्छ तर आत्मा भने छैन ।’
पाण्डेका प्रश्नहरूका लागि आज दक्षिण एसियाको राजनीतिक जमिन उति अनुकूल भने छैन । भारतलाई हेरौँ, त्यो आज संसदीय बहुमतको आडमा राज्य–आतंक सामना गरिरहेको छ । खास धर्म मान्नेलाई नागरिक, अरूलाई अनागरिक ठान्ने घातक मानसिकताको सिकार विश्वको ठूलो लोकतन्त्र होला भन्ने कल्पना आधुनिक भारतका निर्माताहरूलाई सायद थिएन । नेपालको यो अंकमा हामीले तयार गरेको विशेष प्याकेजले पाण्डेकै प्रश्नहरूलाई आधार दिन्छन्, ‘के चुनाव गरेको भरमा लोकतन्त्र छ भनेर मान्न सकिन्छ ? उसो भए त्यस्तो चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो ।’
अनुदार लोकतन्त्र सामना गरिरहेको भारतमा अघिल्लो साता इतिहासकार रामचन्द्र गुहा प्रेसलाई अन्तर्वार्ता दिइरहेकै ठाउँबाट गिरफ्तार भए । नागरिकता संशोधन ऐनबाट भारतीयबीच विभाजनको रेखा कोरिएको ठान्दै सडकमा ओर्लिएका थुप्रै लेखक, बौद्धिक, कलाकार र अगुवा नागरिक प्रशासनिक धरपकडको सिकार भएका छन् । जामिया मिलिया इस्लामियाभित्रै छिरेर प्रहरीले अराजकता मच्चाएको छ । नरेन्द्र मोदीको दोस्रो प्रधानमन्त्रीकालमा गृहमन्त्री अमित शाहको उग्रवादी सोच कार्यान्वयनका क्रममा अहिले सिंगै भारतभर अशान्ति फैलिएको छ ।
विशाल भारत कहिले पनि सम्पूर्ण रूपमा शान्त थिएन, छैन । तर यसले आफूभित्रका असन्तुष्टिहरूलाई बृहत् संवैधानिक भावनाको संरक्षणमार्फत साम्य गर्ने प्रयास गर्दै आयो । आज भारतको त्यो छवि विघटित हुने संकेतहरू प्रस्टै देखिन थालेका छन् । दिल्ली संस्थापनमा आएका नयाँ प्रतिनिधिहरूमा देखिएको प्रतिबौद्धिक विम्ब आज सिंगै भारतका लागि महँगो पर्दै छ । नेपालतिर त्यस्तो संकटको बाछिटा नपरोस् भन्नेमा हामी सतर्क रहनु परेको छ ।
हामी त दक्षिणको हेपाइमा किचिँदै आएका नेपाली । यो राष्ट्रिय पीडालाई सम्बोधन गर्ने दायित्व लिनुको साटो नेपालका दलहरू प्रतिपक्षमा छँदा आफूलाई पायक पर्ने गरी चर्का नारा दिन्छन् तर सत्तामा पुगेका बेला समस्या समाधानमा अग्रसरता देखाउँदैनन् । त्यसको दोब्बर मार खेप्ने त नागरिक नै हुन् ।
जीवन्त लोकतन्त्रमा नागरिक सदैव प्रश्नहरूका लागि तयार हुन्छन् । तिनको आलोचक चेतले मात्रै व्यवस्था फल्ने–फुल्ने हो । पाण्डेले नेपालको वर्तमान समाजलाई औँल्याउँदै यो नागरिक समाज नभएको, नागरिक गण मात्रै भएको निष्कर्ष दिएका छन् । नागरिक समाज संगठित नहुने भए पनि त्यसको प्रखर चेतनाले सत्तासीनलाई सधैँ झक्झक्याउनुपर्नेमा त्यसो नभएको र सत्तापक्षले इतिहासकै अनुकूल अवस्थाको फाइदा उठाइरहेको उनको विश्लेषणमा खास अर्थहरू छन् । ठूला भ्रष्टाचार काण्डहरू, शक्तिको दुरुपयोग अनि स्वार्थ समूहको जालोबारे प्रेसले रिपोर्टिङ गरिरहेको छ । यी आलोचनाप्रति उत्तरदायी हुने ठाउँ पनि छन् ।
सत्तापक्षले पाण्डेका यी प्रश्नहरूलाई ध्यान दिएर सुन्ला कि ‘आदर्शवादी’ बिल्ला भिराएर पन्छाउला ?
सम्बन्धित
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, र...
रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र...
स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय]
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका न...
कोरोना सन्त्रासबीच अभिभावक-राज्यको खोजी
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कार...
कोरोनाको नाममा कालाबजारियाको संक्रमण
निश्चित व्यक्तिको इच्छापूर्तिका लागि सिंगो प्रक्रिया बन्धक बनाउने कृत्य अब रोकिनुपर्छ ।...
प्रधानमन्त्रीले सरकारको बदनाम गरे, नेकपा सचिवालयले आफ्नै पार्टीको
भ्रष्टाचार आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताको वास्तवि...